२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

मिल्स गोल्डकप: झापालाई हराउँदै सशस्त्र फाइनलमा

सुनसरी पकलीको सशस्त्र प्रहरी बल (एपिएफ) विराटनगरमा जारी चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

प्रतियोगिता अन्तर्गत बुधबार भएकाे खेलमा झापा सुरुङ्गाको कनकाई स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा २–० गोल अन्तरमा हराउँदै एपिएफले फाइनलसम्मकाे यात्रा पक्का गरेकाे हाे।

दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट भएको थियो। एपिएफका लागि दीपेश धिमाल र हरि कार्कीले गोल गरे भने उज्जवल चाम्लिङले गोल गर्न सकेनन्।

झापाका अनोज मगर, संजीव रसाइली, रोजन धिमाल र मिरक लिम्बूले गोल गर्न चुकेपछि पराजय भोग्नु पर्‍यो। प्लेयर अफ द म्याच एपिएफका गोलरक्षक सुजन विकले ३ हजार रुपैयाँ प्राप्त गरे।

खेलको २९ औं मिनेटमा झापाका मिरक लिम्बूले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ६० औं मिनेटमा झापाका खेलाडीले डिबक्सभित्र एपिएफका खेलाडीलाई लडाएपछि फउल भएको थियो। फउलमा पाएको पेनाल्टीमार्फत हरि कार्कीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

मिल्स गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिता अन्तर्गत बिहीबारको सेमिफाइनल खेल विराटनगरको पेमा युवा क्लब र विराटनगरकै कोशी प्रदेश प्रहरी कार्यालयबीच हुनेछ। 

प्रकाशित: १२ वैशाख २०८१ २१:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App