५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

गौरीटार रंगशालामा २१ वटा संरचना बन्ने

हेटौंडा ६ मा रहेको गौरीटार रंगशालामा पछिल्लो समय धमाधम खेलकुदका संरचना बन्ने क्रमले तीव्रता पाएको छ। लामो समयदेखि अलपत्र रहेको यो रंगशालालाई बाग्मती प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा अघि बढाउँदै लगानी गर्नुका साथै बाग्मती प्रदेश खेलकुद विकास परिषद्ले अपनत्व लिएपछि खेलकुदको संरचना निर्माणको कामले तीव्रता पाएको हो। गौरीटार रंगशालालाई ‘खेलकुदको हब’ बनाउने उद्देश्यसहित खेलकुद विकास परिषद्ले योजनाबद्ध काम गरिरहेको छ।

२२ बिघा १८ कट्ठा १९ धुर क्षेत्रफलमा फैलिएको गौरीटार रंगशालामा क्रिकेट रंगशाला र स्विमिङ पुल निर्माणको काम सुरु भएको छ। शनिबार एक कार्यक्रमबीच बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकासमन्त्री कुमारी मोक्तानलगायतले क्रिकेट रंगशाला र स्विमिङ पुलको शिलान्यास गरेका छन्। मुख्यमन्त्री जम्कट्टेलले गौरीटार रंगशालालाई खेलाडी उत्पादन गर्ने कारखानाको रूपमा विकास गर्ने बताए। ‘यस रंगशालालाई प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा अघि बढाएर योजनाबद्ध काम गरिरहेको छ। फुटबल मैदान निर्माणसँगै प्यारापिटको काम अन्तिम चरणमा पुगेको छ। क्रिकेट रंगशाला र स्विमिङ पुलको काम तीव्र गतिमा भैरहेको छ’, उनले भने, ‘आगामी वर्ष कभर्ड हल निर्माण हुनेछ। खेलाडीको गुजारा खेलक्षेत्रबाटै चलाउन सक्ने वातावरण बनाउनेछौं।’

 

फुटबल रंगशालाको अहिले छाना र कुर्सी हाल्ने काम भइरहेको छ। उनले तोकिएको समयमै रंगशाला र स्विमिङ पुलको काम सम्पन्न गर्न अनुरोध गर्दै बजेटको अभाव नहुने आश्वासन दिए। सामाजिक विकासमन्त्री मोक्तानले गौरीटारलाई प्रदेशको नमुना रंगशालाका रूपमा विकास गरिने बताइन्। बाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीका अनुसार क्रिकेट रंगशाला र स्विमिङ पुल १५ महिनामा निर्माण सम्पन्न हुनेछ। ‘सम्झौता भएको डेढ महिना भइसकेको छ। आगामी आर्थिक वर्षभित्र दुवै संरचना निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ’, भण्डारीले भने, ‘रंगशालाको पिच, खेलमैदान, भिआइपी प्यारापिटलगायतको संरचना बन्नेछ। स्विमिङ प्रतियोगिता गर्न मिल्ने र पछिल्लो प्रविधियुक्त स्विमिङ पुल निर्माण हुनेछ।’ काठमाडौंमा रहेको सातदोबाटोको भन्दा राम्रो स्विमिङ पुल बन्ने उनले दाबी गरे। क्रिकेटको पनि ‘मोडल प्रोजेक्ट’ रहेको उनले जानकारी दिए। दुवै योजनाका लागि २१ करोड बजेट रहेको छ।

गौरीटार रंगशालाको गुरुयोजनाअनुसार फुटबल चौरको काम करिब सम्पन्न हुने चरणमा रहेको भण्डारीले बताए। ‘रंगशालाको विकासका लागि योजनाबद्ध र द्रुत गतिमा काम अघि बढाइरहेका छौं,’सदस्यसचिव भण्डारीले थपे, ‘यहाँ विभिन्न खेलका २१ वटा संरचना बन्नेछन्।’

प्रकाशित: २३ वैशाख २०८१ ०८:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App