५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

त्रिकोणात्मक शृंखलाको तयारी सुरु

स्कटल्यान्ड, नामिबिया र नेपालबीच स्पेनमा तय भएको क्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबारबाट अभ्यास सुरु गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा नेपाली टोलीले स्पेन भ्रमण सफल बनाउन प्रशिक्षण सुरु गरेको हो। एक साताअघि मात्र नेपाल फर्किएका प्रशिक्षक डेभ ह्वाटमोरले यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेका खेलाडीलाई समावेश गरेर तयारी सुरु गरेका हुन्। घोषित २० खेलाडीमध्येका पृथु बास्कोटाले व्यक्तिगत कारणले शृंखला नखेल्ने बताएका छन्।  

जुलाई २० देखि ३० तारिखसम्म आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग त्रिकोणात्मक एकदिवसीय शृंखला हुँदै छ। उक्त शृंखलाका लागि सहभागी हुने खेलाडी र अफिसियल्सको सोमबार कोरोना परीक्षण गरिएको थियो। सबै खेलाडी तथा अफिसियल्सको रिपोर्ट नेगेटिभ आएसँगै शृंखलाको तयारी सुरु भएको हो। कोरोना महामारीपछि अन्तर्राष्ट्रिय भ्रमण गर्ने लक्ष्यमा रहेको टोलीलाई अहिले मौसम प्रतिकूल भएको छ।  

धेरै समयपछि एकदिवसीय खेल खेल्न लागेको नेपालले शृंखलाका लागि धेरै मिहिनेत गर्नुपर्ने कप्तान ज्ञानेन्द्र् मल्ल बताउँछन्। मौसमका कारण समयमा नै अभ्यास गर्न नसकेको भन्दै कप्तान मल्लले बलिया राष्ट्रसँग हुने प्रतिस्पर्धाका लागि मिहिनेत गर्नुपर्ने बताए। ‘एकदिवसीय खेलमा कुनै पनि टिम सजिलो हुँदैन। स्कटल्यान्ड र नामिबिया पछिल्लो समयमा आफ्नो खेल निखार्न लगातार खेलिरहेका छन्। 

सोही कारणले गर्दा हामीले कडा मिहिनेत गर्नुपर्छ,’ कप्तान मल्लले भने, ‘एसोसिएट राष्ट्रबाट माथि जानका लागि नेपालले स्कटल्यान्ड र नामिबियाजस्ता टोलीलाई हराउनुपर्छ। हामी एसोसिएट राष्ट्रमा अगाडि बढ्ने हो भने हामीले उनीहरूलाई पराजित गर्ने सोच्नैपर्छ। दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्दै अगाडि बढ्न जरुरी छ।’

कप्तान मल्लले भनेजस्तै स्पेनमा हुने एकदिवसीय शृंखला तयारीका लागि मौसम प्रतिकूल भएको भन्दै प्रशिक्षक ह्वाटमोरले मौसमअनुसारको तयारी गर्नुपर्ने औंल्याए। पहिलो पटक ट्वान्टी–२० संरचनाको खेल खेलाएका प्रशिक्षक ह्वाटमोरले नेपाली टोलीले अघिल्लो पटकको भन्दा फरक संरचनाको खेल भएकाले फरक शैलीमा तयारी गर्नुपर्ने बताए।  

‘अहिलेको मौसमअनुसार तयारी गर्नुपर्नेछ। केही प्रशिक्षण केही घन्टामा सीमित हुन सक्छन्,’ मुख्य प्रशिक्षक ह्वाटमोरले भने, ‘हामीले अरू टोलीलाई पनि नेपालको खेल कस्तो छ भन्ने देखाउनुपर्नेछ, त्यसका लागि आफ्नो क्षमताअनुसार खेलेको खण्डमा लक्ष्य हासिल गर्न सकिन्छ। तयारी राम्रो हुनेमा म विश्वस्त छु।’ प्रशिक्षक ह्वाटमोरले पहिलो पटक टोली सम्हाल्दा ट्वान्टी–२० खेलमा नेपालले नेदरल्यान्ड्स र मलेसियासँगको शृंखलामा उपाधि हात पारेको थियो।

लिगअन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ। लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ। नेपाल छैटौं स्थानमा छ। ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा छ। १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ। लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज कोरोनाका कारण यसअघि नै स्थगित भएको थियो। पछिल्लो समय आइसिसीले परिमार्जन गरेको नयाँ विश्वकप सहभागिता ढाँचामा नेपालको सम्भावना बलियो रहेको भन्दै कप्तान मल्लले दीर्घकालीन योजना बनाएर कार्यन्वयन गरे सुखद नतिजा प्राप्त हुने बताए।  

कप्तान मल्लले टिमको ब्याटिङ पक्षमा सुधार देखिएको भन्दै नयाँ र पुराना खेलाडीले नेपालको ब्याटिङ सम्हाल्ने बताए। ‘हाम्रो ब्याटिङ राम्रो भइरहेको थिएन। तर, पछिल्लो ट्वान्टी–२० मा हामीले राम्रो गर्न सक्यौं,’ कप्तान मल्लले थपे, ‘ट्वान्टी–२० मा जस्तो एकदिवसीयमा नहोला। एउटाको ब्याटिङ नचल्दा अर्कोले सम्हाल्ने गरी नयाँ र पुराना खेलाडीले पछिल्लो खेलमा सम्भावना देखाइरहेका छन्। ब्याटिङ सम्हाल्नेमा मैले विश्वास राखेको छु।’

स्कटल्यान्डमा तय भए पनि कोरोना भाइरसका कारण शृंखला स्पेनको डेजर्ट स्प्रिङ्स क्रिकेट मैदानमा सरेको हो। सन् २०२३ को विश्वकप छनोटको आधार रहेको लिग–२ प्रतियोगिताको शीर्र्ष तीनमा अटाउन सकेको खण्डमा नेपालले ग्लोबल छनोट खेल्ने मौका पाउनेछ। 

प्रकाशित: ९ असार २०७८ ०५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App