नेपालगञ्जको कार्यक्रम पछि सुदूरपश्चिमका पहाडी जिल्लातर्फ लाग्ने योजना थियो हाम्रो। सोहीअनुसार त्यस क्षेत्रमा कार्यरत मित्रसँग सल्लाह पनि भइरहेको थियो। तर काठमाडौबाट सँगै गएका साथीहरूले सुर्खेत–दैलेखतर्फ ताकेपछि एक्लै उता जानु भन्दा सहयात्रालाई नै प्राथमिकतामा राख्ने निधो गरियो।
त्यहीअनुसार २०७४ कात्र्तिक २० गतेका दिन कोहलपुर हुँदै मध्यान्ह सुर्खेत पुगियो। त्यहाँबाट दिउँसो २ बजे दैलेख तर्फ लागियो। नौ जनाको हाम्रो टोली सुर्खेत उपत्यकाको सुन्दरता नियाल्दै गुराँसे डाँडा, गुराँसेबजार हुँदै हुँंदै अगाडी बढेको थियो। साँगुरो सडकमा ओह्रालोमा यात्रा गर्दा मनभित्र कताकता एकप्रकारको भय पनि थियो। तर नयाँ गन्तव्यको यात्रा भएकाले कौतुहल र रोमाञ्चकता नै बढी थियो।
परपरसम्म देखिने पहाड, वस्ती र खनिंदै गरेका सडकका धर्सा हेर्दै र त्यस क्षेत्रका जानकार मित्र विष्णुजीले औंलाको इशाराले देखाएका स्थानलाई नचिने, नदेखे वा पहिल्याउनै नसके पनि चिने र देखेझैं गर्दै अगाडी बढियो। सियाकोटबाट पश्चिम तर्फ, लोहरे खोलामा कर्णाली राजमार्ग भेट्ने सडक छाडी उत्तरपूर्व लागेपछि दैलेख सदरमुकाम तर्फको यात्रा एकोहोरिएको थियो । लोहोरे खोलाको किनारैकिनार अघि बढ्दा पराजुल खोला, चुप्राबजार र त्यहाँदेखि प्रारम्भ भएको उकालो हुँदै झमक्क साँझमा दैलेखबजार पुगियो।
दैलेख बजारमा हामीले घुमफिरको योजना बनायौं। झिसमिसेमै भैरवको दर्शन गर्ने, द्वन्द्वकालमा अन्यायपूर्वक मारिएका पत्रकार डेकेन्द्र थापाको सालिकमा पुगी सम्मान व्यक्त गर्ने, महाकवि देवकोटाको सालिकमा पुगि उनीप्रति श्रद्धाभाव व्यक्त गर्ने तथा नारायणस्थान दर्शन र ऐतिहासिक गढीको अवलोकन गर्ने। त्यसपछि ज्वालाजीको दर्शन गरेर दुल्लु लाग्ने योजना पारित भयो।
दैलेख बजारमा पत्रकार डेकेन्द्र थापाको प्रतिमा। अन्य पहाडी बजार जस्तै सांगुरो र एकोहोरो बजार रहेछ दैलेख सदरमुकाम पनि। बजार बाक्लिंदो छ। अग्ला घर बन्नेक्रम जारी छ। यही बजार हुँदै वासस्थलसम्म पुगियो। त्यसपछि भोलिको योजना बनाई विश्राम गर्नुको विकल्प थिएन। किनकि नयाँ ठाउँ, पहाडी बजार, रातिको समयमा घुमफिरको सम्भावना थिएन। त्यसै मेलोमा भोलिको योजना बनाइयो।
विहान झिसमिसेमै माथि डांडामा रहेका भैरवको दर्शन गर्ने, त्यसपछि बजारको अवलोकन गर्ने, सशश्त्र द्वन्द्वकालमा अन्यायपूर्वक मारिएका पत्रकार डेकेन्द्र थापाको सालिकमा पुगी उनीप्रति श्रद्धाञ्जली र सम्मान व्यक्त गर्ने, मध्य बजारमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिकमा पुगि उनीप्रति श्रद्धाभाव व्यक्त गर्ने तथा नारायणस्थानको दर्शन र ऐतिहासिक गढीको अवलोकन गर्ने। त्यसपछि ओरालो झरी ज्वालाजीको दर्शन गर्ने र दुल्लुतर्फ लाग्ने। योजना पारित भयो।
भोली बिहान मित्र शशी आचार्य, जो उमेरमा टोलीका सदस्यमध्ये सबैभन्दा ज्येष्ठ हुनुहुन्थ्यो, चार नबज्दै उठी नुहाई धुवाई गरी नित्य पाठ गर्न लाग्नुभयो। यसले हामीमाथि पनि दबाब सिर्जना भयो। त्यसपछि अघिल्लो रातको रसरंगले ढिलो निदाएका समेत सबै मित्रहरुलाई ब्युँझाइयो। नित्यकर्म सकी पूर्व योजना अनुसारका सबै स्थानको अवलोकन गरियो। त्यसपछि दैलेख सदरमुकाम छाडी तल फेदीमा अवस्थित प्रशिद्ध श्रीस्थान ज्वालाजी तर्फको यात्रा प्रारम्भ गरियो।
यो स्थान प्रायः सबैका लागि नौलो थियो, चर्चा परिचर्चा सुने पनि हामीमध्ये यसअघि त्यहाँ पुग्ने कोही थिएन। यस स्थानमा पद्मावती र मालती गंगा समेत भनिने छामघाट खोलाको किनारमा ठाँंठाउँमा प्राकृतिक ग्यास निस्कीरहेको र बलिरहेको दृष्य देख्दा एकातिर अत्यन्तै रमाइलो महसुस भइरहेको थियो भने अर्कोतिर खेर गइरहेको ऊर्जा देखेर चिन्ता पनि लाग्यो। यसको व्यावसायिक उपयोगका लागि पूर्वाधारहरूको विकास गर्न सके कस्तो हुँदो हो ? भन्ने लाग्यो। अझ त्यहाँका योगीबाट बेलाबेलामा नेता र मन्त्रीहरु पुग्ने र आश्वासन दिने गरेपनि फर्केपछि त्यसप्रति कुनै चासो नदिने गरेको सुन्दा अत्यन्त दुःख लाग्यो।
त्यस स्थानका एक पुजारी लक्ष्मणनाथ योगीसँग सो स्थानका सम्बन्धमा केही जानकारी लिएपछि हाम्रो टोली ठाडो उकालो चढदै दैलेखको डांडाबाट हेर्दा पश्चिमतर्फ लमतन्न फैलिएको देखिने अर्को डाँडामा रहेको ऐतिहासिक स्थल दुल्लु भेट्न अगाडि बढ्यो।
दुल्लुमा नेपाली भाषाको पहिलो शिलालेख छ। ‘कीर्तिखम्ब’ वा ‘कीर्तिखम्म’ भनिने राजा पृथ्वी मल्लको पालामा निर्मित स्तम्भको संरक्षण गरिएको भएपनि अन्य स्तम्भ सडकको छेउमा यत्तिकै असुरक्षित अवस्थामा रहेछन्।
पञ्चकोशी तीर्थको ज्वालादेवी। विहान साढे सात बजे दैलेखबाट ओरालो लागेका हामी दुल्लु पुग्दा झन्डै साढे नौ बजेको थियो। दुल्लुतर्फ उकालो लाग्दा ठाउँठाउँमा रिठा, टिमुर, खल्लुक आदि देखिए। दुल्लु बजार छेउमै रहेको रातो भित्ता भएको एउटा घरमा हाते फोन र ससाना रेडियोमा एफएम सुन्ने यो जमानामा बाहिर किलामा पुरानो मोडलको रेडियो झुण्ड्याएको देख्दा झण्डै चार दशक अघि आफ्नो घरको अवस्थाको सम्झना भयो, जतिखेर छरछिमेकीहरू समाचार र गीत सुन्न हाम्रो आंगनमा जम्मा हुने गर्थे।
काखमा रेडियो लिएर गाउँ डुल्नुलाई प्रतिष्ठाको विषय मानिने त्यस समयमा हाम्रा हजूरवुवा पनि यदाकदा रेडियो बोकेर खान्दुलाको चौपारीमा बसी माडीफाँट तर्फको गतिविधि नियाल्ने गरेको सम्झना आयो।
दुल्लुमा थुप्रै शिलालेख सहितका स्तम्भ रहेछन्। नेपाली भाषाको पहिलो शिलालेख पनि यहीं नै छ। ‘कीर्तिखम्ब’ वा ‘कीर्तिखम्म’ भनिने राजा पृथ्वी मल्लको पालामा निर्मित प्रमुख स्तम्भको संरक्षण गरिएको भएपनि अन्य स्तम्भ सडकको छेउमा यत्तिकै असुरक्षित अवस्थामा रहेछन्। शिलालेख समेत रहेका इतिहास बोलिरहेका यी प्राचीन सम्पदा उपेक्षित थिए। यस्ता गहकिला सम्पदा जोखिममा रहेको महसुस भयो। यस्तो अवस्थाले मन कुंडियो। यी स्तम्भमा नेपाल र नेपालीको इतिहास तथा गौरवगाथा अंकीत भए पनि त्यसै हराएर जाने जोखिम देख्दा अत्यन्त दुःख लाग्यो।
दुल्लुबाट झन्डै तीन किलोमिटर दूरीमा अवस्थित नेपाल वंशको उद्गम थलोमा पुग्दा मन यसैयसै रोमाञ्चित र पुलकित मात्र भएन खुशीले गदगद पनि भयो। त्यहाँ पुग्दा पाल्पाको आफ्नै गाउँमा पुगेको महसुस भयो। कूल सम्झी, त्यहाँको माटोलाई नमन गरें मैले।
पङ्तिकारले लगभग तय भईसकेको डोटी–डडेलधुरा तर्फको यात्रा स्थगित गरी सुर्खेत–दैलेख हानिने निर्णय लिनु पछाडिको प्रमुख कारण थियो आफ्नो वंशको मूल थलो ‘नेपा’ गाउँ पुग्ने लालसा। त्यसो त ‘नेपा गाउँ’ पुग्नुपर्छ भन्ने मनभित्र निकै अघिदेखि थियो तर यस्तो संयोग जुर्ला र यतिखेरै पुगिएला भन्ने लागेको थिएन। यस दृष्टिले यो भ्रमण आकस्मिक थियो र दुल्लु पुगिसकेपछि नेपा पुग्न यो अत्यन्त आतुर थियो।
‘नेपा गाउँ’ हेर्ने हतार भएकाले खाना अघि नै त्यसतर्फको दृष्यावलोकन गर्ने प्रयत्न भयो। स्थानीय एक भद्र महिला, सम्भवतः शिक्षिका हुनुहुन्थ्यो, संग सोधपुछ गर्दा उहाँले ‘यताको पादुका, उतापट्टी देखिने चाहिं नेपा हो’ भनि औंलाको इशाराले चिनाईदिनुहुँदा त्यस सुन्दर गाउँलाई देखेर मन गदगद भयो। आफ्नो वंशको उद्गमस्थल अर्थात मूल थलोलाई टाढैबाट नमन गर्न मन लाग्यो। ती भद्र महिलालाई धन्यवादसहित विदा गरेपछि नेपा गाउँको तस्वीर खिच्न थालेको त त्यस ऐतिहासिक र सुन्दर गाउँको तस्वीर जतिधेरै खिचेपनि मन अघाएन। तर समयको घचेडाई र पेटको भोकले तस्वीर खिच्न छाडेर खानातर्फ लाग्न बाध्य बनायो।
दुल्लुका मित्र ताराजीले नेपा गाउँका एक नेपाल बन्धुसँगै भेट गराउने चांजोपांजो मिलाउनुभएको जानकारी पाएपछि त झन् तस्वीर खिच्ने अलमल गर्नु भन्दा खाना खाई नेपा गाउँ पुग्न मन हतारियो। खाना खाने चाँजोपँंजो टिका कार्कीले सञ्चालन गरेको भोजनालयमा भएको रहेछ। कार्की पनि गोतियार सुतार कार्की रहेछन्। यो थाहा पाउनासाथ सगोत्री मित्र उद्धव खनालजी, उनी र मैले संयुक्त तस्वीर लियौं। खाना पछि कच्ची सडक हुंदै दुल्लुबाट पश्चिमतर्फ अवस्थित ‘नेपा गाउँ’ पुग्दा मध्यान्ह १२ बजेको थियो।
दैलेखको दुल्लुबाट खिचिएको नेपा गाउँ। दुल्लुबाट शान्ति बजार हुँदै झन्डै तीन किलोमिटर दूरीमा अवस्थित नेपाल वंशको उद्गम अर्थात् पुख्यौली मूल थलोमा पुग्दा मन यसैयसै रोमाञ्चित र पुलकित मात्र भएन खुशीले गदगद पनि भयो। त्यहाँ पुग्दा पाल्पाको आफ्नै गाउँमा पुगेको महसुस भयो। कूल सम्झी, त्यहाँको माटोलाई नमन गरी स्थानीय बन्धु लक्ष्मीप्रसाद नेपालसहित सगोत्री एवं सहकर्मी मित्र उद्धव खनालसंगै मूल थलोमा उभिई तस्वीर लिइयो। सामान्य अवलोकन गर्दा उत्तरपश्चिम फर्केको ‘नेपा’ गाउँ अत्यन्त उर्वर भूमि रहेको महसुस भयो। फराकिलो र खुला उक्त भूखण्ड पुर्खाले सांच्चिकै विचार पु¥याएर रोजेका रहेछन् भन्ने लाग्यो। र, पुर्खाप्रति श्रद्धाभाव मात्र होइन गर्व समेत गर्न मनलाग्यो।
नेपाल वंशको वंशावली अनुसार ‘नेपा’ गाउँ ‘नेपाल’ वंशको उद्गमस्थल हो। इतिहासतर्फ जाँदा नवौं र दशौं शताब्दीको सन्धितिर पश्चिम नेपालमा खस साम्राज्यको उदय भएको र खस साम्राज्यको राजधानी सिंजा कायम भएको पाइन्छ। ऐतिहासिक प्रमाण एवं अन्य विभिन्न आधारबाट यो मान्यता अकाट्य नै भएको छ। ‘कुशदीप’ अर्थात् ‘कश्यप गिरी’ वा ‘हिन्दूकुश पर्वत’ देखि पूर्वतर्फ बढेर कर्णाली प्रदेशको भूभाग ढाकी त्रिशुली नदिसम्म फैलिएको खस साम्राज्यको निर्माणमा घृतकौशिक गोत्रीय पूर्वजको उल्लेखनीय योगदान रहेको अनुमान छ। यसैगरी मध्यकालमा नेपाल वंशका पूर्वजको मूल थलो कर्णाली प्रदेश थियो भन्ने लगभग प्रष्ट छ। प्रमाणले यस वंशका ऐतिहासिक पुरुषमा पूर्वज भाष्कर पण्डितलाई देखाएको पनि नेपाल वंशको वंशावलीमा उल्लेख छ। उनका जयगुणाकर र जयविद्याधर नामका दुई छोरा थिए।
जेठा जयगुणाकरको सम्बन्धमा जानकारी गराउने प्रमाण उपलब्ध नभएको तर उनी सिंजा राजप्रासादमा सम्मानित थिए भन्ने अनुमान गर्न सकिन्छ। किनकि बाबु भास्कर पण्डित अत्यन्त प्रतिष्ठित र सम्मानित थिए भने कान्छा छोरा जयविद्याधरका सम्बन्धमा धेरै कुरा भेटिएकाले तिनलाई नै प्रमाणका रुपमा लिंदा जयगुणाकर पनि अवश्य कम थिएनन्।
नेपाल वंशजहरुको ‘नेपाल’ रहेका सम्बन्धमा योगी नरहरीनाथले लेखेका छ्न, ‘दैलेख जिल्लामा नेपा गाउं बिर्ताको रुपमा शाके ११९२ अर्थात् सम्बत् १३२७ सालमा खस राजा अक्षयमल्लद्वारा जयविद्याधर पण्डितले पाएका र सो बिर्तामा रहने अर्थात् त्यहां ‘आलय’ बनाई बस्ने सबैलाई नेपाल भनियो।’
स्मरणीय छ, जय विद्याधरले शाके ११९२ मा खस राजा अक्षयमल्ल देवबाट नेपा बिर्ता पाएका थिए र यही नै ‘नेपाल’ थरको उत्पत्तिसँग जोडिएको अर्थात मूल स्थान हो ।
नेपाल वंशजहरुको ‘नेपाल’ थर कसरी रह्यो भन्ने सम्बन्धमा योगी नरहरीनाथले ‘दैलेख जिल्लामा नेपा गाउं बिर्ताको रुपमा शाके ११९२ अर्थात् सम्बत् १३२७ सालमा खस राजा अक्षयमल्लद्वारा जयविद्याधर पण्डितले पाएका र सो बिर्तामा रहने अर्थात् त्यहां ‘आलय’ बनाई बस्ने सबै सन्ततिलाई नेपाल भनिएको’ भनी ऐतिहासिक तथ्यसहितको जानकारी ग्रन्थ मार्फत गराएका थिए।
पण्डित जयविद्याधर दुल्लु राजप्रासादका प्रतिष्ठित विद्वान थिए। राजा हिउँदमा दुल्लू र वर्षाकालमा सिंजामा रहने गर्दथे भन्ने इतिहासमा उल्लेख छ। यसैले शीतकालीन राजधानी दुल्लू र ग्रीष्मकालीन राजधानी सिंजा दुई अलग राजधानी भएकाले दुई
राजधानीमा दुई पण्डितले सम्मान र प्रतिष्ठा प्राप्त गर्दै आफ्नो भूमिका निर्वाह गरेका थिए भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
यिनै जयविद्याधरका सर्वज्ञधर, यशोधर, जयधर र गुणरत्नाकार समेत चार छोरा भए। जेठा सर्वज्ञधरले ‘नेपा’ बिर्ता पाए भने माहिला यशोधर सुतारकोटका कार्कीमा नियुक्त भए,जसका आधारमा एउटा थर नै बन्यो। साहिंला जयधरले अछाम जिल्लाको बारला गाउं विर्ता पाए, कान्छा गुणरत्नाकरले हालको अर्घांखांचीको ‘खन’ बिर्ता पाए। यसरी नेपाल, सुतारकार्की, बराल र खनाल थर बन्यो। नेपालहरू यहींबाट अन्यत्र छरिए भन्ने नेपाल वंशज परिषदद्वारा प्रकाशित ‘नेपाल वंशको वंशावली’मा उल्लेख छ।
स्थलगत भ्रमणका अवसरमा जानकारी प्राप्त भयो नेपा गाउँका नेपालले आफ्नो थर ‘खनाल’ पनि लेख्दा रहेछन्। नेपाल नै भए पनि कसैले ‘खनाल’ र कसैले ‘नेपाल’ थर लेख्ने गरेको, कसैको बाबु खनाल र छोरो नेपाल तथा कसैको बाबु नेपाल र छोरो खनाल भएको जस्ता रमाइला प्रसंगबारे स्थानीय बन्धु लक्ष्मीप्रसाद नेपालबाट जानकारी भयो। नेपा गाउँकै तलपट्टी सुतार कार्की वस्ती रहेछ, हेरियो। तल फेदीमा नेपागाढ र पादुका खोला रहेछन्। पारिपट्टी धामीगाउँ, जम्मुकांध, सानागाउँ, दहथान आदि स्थान रहेछन्। त्यसपछि मध्य गाउँमा रहेको नेपाल वंशले पूजाआजा गर्ने ‘तियाडी मन्दिर’ अर्थात ‘तियाडी थान’को दर्शन गरी हाम्रो टोली झन्डै एक घण्टाको अलमलपछि नेपा गाउँबाट बिदा भयो।
आफ्नो वंशको नै उत्पत्ति गर्ने उदगमस्थल अर्थात पवित्र भूमीमा अझै केही समय रहने, रम्ने र अझ धेरै जानकारी बटुल्ने चाहना थियो। तर बाध्यता थियो कर्मभूमिमा फर्कने। यसैले त्यस ऐतिहासिक भूमिलाई सम्झंदै त्यसको चित्र मनभित्र राख्दै र सम्मानभाव राख्दै टाढिनुको विकल्प थिएन। पुग्न नपाई विछोडिनु परेकामा नमिठो मान्दै त्यस स्थानलाई पिठ्यू फर्काएर र केही समय बस्न पाए हुन्थ्यो भन्ने बन्धु लक्ष्मीप्रसाद नेपालको अनुरोधसमेत ‘अर्को पटक आउने’ आश्वासनसहित कूटनीतिक शैलीमा अस्वीकार गर्दै गन्तव्यतर्फ लम्केको स्मरण मानसपटलमा ताजै छ। फेरि त्यहाँ पुग्ने अवसर मिल्ला नमिल्ला? भविष्यकै गर्भमा छ। पुग्न पाएमा त्यस्तो ‘आगो लिन गएझैं’ हतार हतार होइन एक दुई दिन आनन्दले स्थानीय बन्धुहरुकहाँं आश्रय लिई धेरै कुरा बुझ्ने चाहना छ। मन अघाएको छैन, हेरौं समयले साथ दिन्छ दिंदैन।
(नेपालको विसं २०७६ चैतमा प्रकाशित कृति ‘देश र विदेश’ नियात्रा संग्रहबाट। कोभिड–१९ का कारण सार्बजनिक भैनसकको पुस्तकमा २५ वटा नियात्रा संग्रहित छन्।)
‘अहिले तपाईं हिँड्नुपर्ने उकालो ऊ त्यही जङ्गलबिच देखिएका बाङ्गाटिङ्गा सेता धर्साजस्ता बाटा हुन्। जङ्गलमाथि देखिएका घरहरू तेङ्बोचेका होटल हुन्। त्यही ठाउँमा हो तपाईंको आजको बास।’ सनासाको बिसौनीमा एकजना यात्रीले मेरो जिज्ञासा यसरी मेटाइदिएका थिए। आफ्ना औंलाले पूर्वको पहाड औंल्याउँदै आजको मेरो गन्तव्यबारे मलाई यसरी जानकारी दिएका थिए।
‘उकालो त गाह्रो होला जस्तो पो छ। दुई घण्टामा त उकालो चढिएला नि भाइ?’ मैले उनलाई सोधें।
‘एक घण्टामा तेङ्बोचेको उकालो काट्नुहुन्छ,’ उनले आफूले हिँडिरहेको बाटो हिँड्न सजिलै सकिने अनुभव सुनाए।
यति भन्दै आफ्नो झोला बोकेर उनी नाम्चेतिर उकालिए। तीनचार दिनदेखि सोलु जिल्लाको खुम्बु क्षेत्रमा म हिँडिरहेछु। सगरमाथा आधार शिविरको पैदल यात्रामा पाइलैपिच्छे यात्रीहरूको भिडमा हराउँछु। लुक्लाबाट नाम्चे हुँदै रमाइलो, रोमाञ्चक र कौतुकमय पदयात्रा प्रारम्भ भएको छ।
नाम्चे तेङ्बोचे पुग्न सनासाबाट म लैसासाको ओरालो झर्न थालें। बाटैभरि पदयात्री, विदेशीहरूको भिडाम भिड। सामान बोकेका घोडा र झम्पेहरूको उस्तै लस्कर। बाटो छेउको बडेमान ढुङ्गामा ‘ऊँ माने पेमेँ हूँ’ लेखिएका सुन्दर अक्षर कुँदिएका। यति ठुलो पहाडजस्तो ढुङ्गामा पनि कसरी अक्षर कुँदेको होला भन्ने कौतूहल हुन्छ। उत्तरतिर यस्तै ठुलो चट्टानी पहाड गजधम्म उभिएको।
पूर्वी भागमा हिमाली लस्करैमुनि तेङ्बोचे पाहुना पर्यटक पर्खिएर बसिरहेझैं लाग्छ। लुङ्दर फरफराइरहेका जताततै। ती ध्वजापतकामा बुद्धका शान्त मुद्रा र लेखिएका अनेक अक्षरहरू चलायमान छन्।
तेर्सो बाटो, फेरि ओरालो, फेरि त्यस्तै तेर्सो। कतै बोटवनस्पति केही नभएको पाखो। फाट्टफुट्ट झारपात र बुट्यान मात्र। पाखामा निस्फिक्री नाउर चरिरहेका देखिन्थे। अनेक जातका चरा उडिरहेका, च्याँच्याँचुँचुँ कराइरहेका। बल्ल जङ्गलको ओरालो बाटो हुँदै बिसौनी, लज, रेस्टुरेन्ट। सफा, कञ्चन दुधजस्तै सेतो दुधकोसी उन्मुक्त जलप्रवाहमा बगिरहेको। एकछिन त्यही पानीको छाल, तरङ्ग र भेल हेरेर आनन्दित हुन्छु।
फुङ्गिताङ्गा भन्ने यो ठाउँ पहाडको काखमा पारिलो घामले न्यानो पारिरहने बेंसी। दुधकोसीको झोलुङ्गे पुल तरेर पारि जानुअघि पुलछेउमै चिटिक्कको रेस्टुरेन्ट देखिन्छ। फुलिरहेका फूलहरू गमलामा सजाइएका। सफासग्घर त्यस्तै। त्यहाँ पसेर चियाखाजाले पेटपूजा गर्छु।
‘भाइ, तेङ्बोचेको उकालो काट्न कति समय लाग्ला मलाई ? कत्तिको गाह्रो होला?’ उकालो काट्न अलि कठिन हुने सोच्दै जिज्ञासा राख्छु। रेस्टुरेन्टका शेर्पा भाइले धेरै कुरा सुनाए। हौसला दिएर मलाई हिम्मतिलो पारे। उनको कुरा सुनेर म सजिलै छिनभरमै तेङ्बोचे पुगेजस्तै महसुस भयो।
कोसीको सुसाइले कान टालिएको। हेर्छु सुन्दरताका दृश्यहरू बाटोघाटो, पुलपुलेसा, पाखा, खोल्सा, वन, बगर सबैतिर बिस्कुन सुकाइएझैं। तिनैलाई हेरेर धित मार्न विदेशी पारखी यता ओइरिएका होलान् भन्ठान्छु। त्यसपछि कोसीको बगर हेर्दै, होटल, लज, निकुञ्जको सुरक्षा पोस्ट हुँदै तेङ्बोचेको उकालो सुरु हुन्छ।
त्यहाँका होटल, लजहरूमा पर्यटकहरू आराम गर्दै चियाखाजा खान निकै घुँइचो देखिन्छ। भरियाहरू भारी बिसाइरहेका, बोकेर हिँड्ने तयारी गरिरहेका र पर्यटकहरू फोटो खिच्न व्यस्त छन्। कति त गफमा मस्तले हाँसिरहेका तर कोसीको प्रवाहसँगै पानीको आवाजले आवाज बुझिन्न। उनीहरूको रमाइलो हेर्दै म उकालोमा पाइला चाल्न थाल्छु।
तेङ्बोचेको उकालो छिचोल्नु थकित ज्यान भएको बेला निकै कठिन हुने रहेछ। मुस्किलले पाइला उचाल्दै फेरि अर्को पाइलालाई अघि बढाउनु कम गाह्रो नहुने। कहिले तेङ्बोचेको थाप्लामा पुगिएला र थपक्क पिठ्युँको झोला बिसाउँला भन्ने हतारो तर जति पाइला हिँडाए पनि पुग्न सकेको होइन।
उकालोमा कति पर्यटक ओहोरदोहोर गरिसके। कति जनाले उकालो काटिसके। कति जना ओरालो झरिसके। बटुवा नहिँड्दा एकलास जङ्गलको बाटो। सुनसान वातावरणमा चराचुरुङ्गी उडेको आवाज सुनिन्छ। जमिनमा जनावर हिँडेको आवाजले मन झस्याङ्ग हुँदै हठात् झस्किन्छ। अलिकति डर पनि लाग्छ। लुकाएर लुकाउन नसकिँदो रहेछ डरलाई। एकान्तमा अचानक कतै बाघ निस्कियो भने के गर्ने?
यहाँ यतिबेला ‘गुहार’ भन्दै चिच्याउने कि भाग्ने? रुख चढ्ने कि बाघमाथि जाइ लाग्ने? त्यसबेला मलाई बचाउन को आउने? वनको एकान्तमा कसले सुन्ने मेरो अरण्य रोदन?
यस्तो घना वनको बाटो छ, जहाँका पशुपक्षीलाई मानिसले केही गर्नुहुँदैन। सगरमाथा राष्ट्रिय निकुञ्जले निगरानीमा राखेको छ। आज बिहान चिया खाँदै गर्दा एकजना स्थानीयले भनेका थिए, ‘चराको बच्चा चिसोले मर्न लागेको भेटेर घरमा ल्याएको, बेलुका त सेनाका मानिस सोध्दैखोज्दै आए। किन ल्याएको वनका चरा भनेर सातो खाए। मर्छ होला भनेर न्यानोमा राख्न ल्याएको भन्दा पनि उनीहरूको चित्त बुझेन। यसरी ल्याउनु हुँदैन भन्ने कुरा थाहा भएन भनेपछि बल्ल छुट्कारा दिए। चराको बच्चा पनि उनीहरूले नै लिएर गए।’
तिनले अलि अफसोस माने-‘बिचरा! ती बच्चाले न्यानो पाए होलान् कि पाएनन्, चारा दिए कि दिएनन् होला? मर्न त मरेको छैन होला कि! बेकारमा मैले जङ्जंगलबाट उठाएर ल्याएछु। तर मैले यसरी बच्चा घरमा ल्याएको कुरा चाहिँ ती सेनाका मान्छेलाई कसरी थाहा भयो? कसले भन्यो होला? मैले घरमा ल्याएको कसैले देखेजस्तो त लागेको थिएन।’
त्यसैले यहाँको यो उकालोको बाटो वन्यजन्तुहरूबाट निकै खतरनाक नहोला भन्न सकिन्न। कति हिंस्रक जनावरहरू होलान्। मानिसले केही गर्न नभएपछि तिनीहरू कतिसम्म मात्तिएर महसुर हुँदै डुलिरेहका होलान्। बाघ, भालु, हिउँचितुवा पनि होलान्।
जङ्गलमा घाँसदाउरा गर्न निषेध भएकाले मानिसहरू वनतिर पस्नु पनि भएन। यसो हुँदा वनजङ्गल धेरै झोरझाडी र बोटवनस्पतिले घना भएको होला। बाटा छेउछाउका रुखहरू बुढा भएर लेउझेउले जेलिएका, कुनै सुकेका देखिएकै हुन्। कति ठाउँमा त रुख ढलेर मक्किइसकेका र त्यहींबाट च्याउ, झ्याउ, उन्युजस्ता विरूवा पलाएर अनौठो रूप देखिन्थ्यो।
‘यस्तो जङ्गलको बाटोमा कुनै जनावरहरू आउँदैनन्? कसैलाई आक्रमण गरेको छैन?’ मैले गरेको प्रश्नमा चियापसलका सबैले ‘यस्तो नराम्रो घटना चाहिँ आजसम्म नघटेको’ बताए। तर मलाई विश्वास लागेन किनभने मान्छेले सिकार गर्न पनि नपाउने र जङ्गलभित्र जानु नै एकप्रकारले बन्देज भएपछि त्यहाँका जनावर डरलाग्दा नहोलान् र?
स्थानीयले मलाई आश्वस्त पार्दै भनेका कुरा पुनः सम्झिन्छु-‘जङ्गलको बाटो भए पनि कुनै डर, त्रास केही हुँदैन। राति एक्लै हिँड्दा पनि केही हुँदैन। जनावरले आक्रमण गर्ने वा चोरी, लुटपाट हुने केहीको पनि डर मान्नु पर्दैन। निर्धक्क भएर हिँड्नु भए हुन्छ।’
तथापि मन शान्त हुँदैन। बेचैनीले छट्पटिँदै बाटो छिटो छोट्याउन खोज्छु। कोसीको सुसाइ पनि अब टाढिँदै गइसकेको छ। त्यसैले उकालो बाटो आधाउधी त भयो होला भन्ने अनुमान गर्छु। आफू आएको बाटो फर्केर हेर्छु। जानुपर्ने बाटो घाँटी तन्काएर मास्तिर हेर्छु। अघिसम्म हिँड्नेहरूको कति धेरै हुल ओर्लिरहेका। उछिनापाछिन हुँदै यात्रीहरूको ओहोरदोहोर कति हो कति ? बाटामा भेटिने र छुटिने कति कति यात्री।
बिसौनीमा बिसाएर भरियाहरू खाजा खाइरहेका। भारीलाई तोक्मामा टेकाएर खुइड्ढय गर्दै लामो सास फेरिरहेका। उकालोको साँघुरो घुम्तीमा त बाटो पाउन एकछिन पालो पर्खिनुपर्ने। सामानले लादिएका घोडा, झम्पेहरूका घाँटीमा बाँधिएका घण्टीको आवाज सुनेपछि त बाटोको भित्तातिर सुरक्षित नबसे बित्याँसै पर्ने। तिनले बोकेका सामानको धक्काले लडाउन सक्ने। कुनैले त लात्तीले उछिट्याउने। त्यसैले यिनीहरू आएको देख्ना साथ पहिले नै सतर्क हुनुपर्ने रहेछ। बाटो छोड्नु र भित्तातिर आड लिएर बस्नु बुद्धिमानी हुने रहेछ।
त्राहिमाम् त्राहिमाम् हुँदै छिटो छिटो, झन् छिटो फड्को मार्छु। खुट्टा उकालोमा उक्लिन मुस्किल हुन्छ। नाम्चेदेखि दिनभरि ओरालो झरेकाले खुट्टा थाकिसकेको हुनुपर्छ। त्यसैले उकालोमा पाइला सार्नै हम्मे हम्मे भइरहेको छ। जङ्गलतिर आँखा नियाल्छु, लालीगुराँसको जङ्गल देखापर्छ।
ओहो! हाम्रो राष्ट्रिय फूल लालीगुराँस ! तर चिसोले खाएर होला, फूल फुल्नका लागि कोपिला लाग्ने सुरसारै भएको छैन। फुल्ने, फैलिने कहिले होला भनी सोच्छु। गुराँस फुल्दा वनै रङ्गीन, सुगन्धित भएर मगमगाउँदो होला।
कहिल्यै नदेखेका, नचिनिएका चराहरू निर्धक्क भुइँमा चारा खोज्दै खाँदैछन्। अनि आत्मबल बढाउँछु– यिनलाई त केही डर छैन भने म मान्छे किन डराउनु? यदि बाघ आउने भए यी बिचरा चरा कहाँ यसरी आरामले चारा खोज्दै बस्थे होलान् र?
मन बुझाउँछु। तथापि कानहरू चनाखा हुन्छन्। आँखाहरू जङ्गलतिर नियालिरहन्छन्। पाइला बाटोमा दौडाउँछु। चुपचाप चुपचाप मौन सन्नाटाले उकालो केहीछिन चकमन्न हुन्छ। झन् अनेकौं कुरा मनमा खेल्न थाल्छन्। डरले अन्यौलमा पर्छु। निधार खुम्च्याएर बाटो तलतिर यसो नियाल्छु।
पर्यटक भरिया कोही पनि उकालो निस्किरहेका देखिँदैनन्। बाटो पनि एकदमै सुनसान छ। विस्फारित लोचनले ठाडो उकालो मास्तिर हेर्छु– चरामुसाको पनि कुनै चालचुल छैन। पात खसेको, चरा चलबलाएको फिटिक्क केही आवाज सुनिँदैन।
मधुर गुञ्जन एक्कासी मेरो चनाखो कानमा पर्छ। सास रोकेर सुन्छु– यो गुञ्जन मान्छेको हो कि कुनै अज्ञात पशुपक्षीको हो? म ठम्याउन सक्दिनँ। मान्छेले खासखुस कुरा गरेजस्तो पनि लाग्छ। चराले पातपतिङ्गर खोस्रिएजस्तो पनि। कुनै जनावर बिस्तारै हिँडिरहेजस्तो पनि। आङ सिरिङ्ग हुन्छ। पछि थाहा भयो आखिर त्यो त सरर हावा चलेको सुस्तरी गुञ्जन मात्रै रहेछ।
दिन ढल्किसकेको छ। सायद घाम अस्ताउने तर्खरमा होला। हेलिकोप्टरको चर्को आवाज पनि आउन छाडिसकेको छ। चिसोको मात्रा पनि बढ्न थालिसकेको छ। त्यसैले होला, बाटोमा मानिसको हिँड्डुल कम हुँदै गइरहेको। चित्त बुझाउने प्रयत्न गर्छु। डर भगाउने उपाय खोज्छु। सोच्छु, सम्झन्छु, आफैंलाई सम्झाउँछु।
तेङ्बोचेबाट विदेशी पदयात्रीहरू प्रायः दिउँसै बास बस्छन्। र, आफूलाई वातावरण अनुकूल राख्न आराम गर्दै हिँड्छन्। ओरालो झरिरहेका भरियालाई सोध्छु– ‘अब तेङ्बोचे पुग्न कति समय लाग्ला?’
‘अँ, तपाईंलाई आधा घण्टा जति हो।’ मलाई यसो हेर्दै अनि आफू आएको उकालोतिर फर्केर हेर्दै तिनले मलाई लाग्ने समयको अनुमान गरी भने। तर तिनको त्यो अनुमान कति सही हो तिनैले जानून्। मलाई चाहिँ जति हिँड्दा पनि उकालो काटेर भन्ज्याङमा बिसाउन पुग्ने समय बितेर गइरहेकामा दिक्क लाग्नु स्वाभाविक हो।
आधा घण्टा भनेको एक घण्टामा त जसरी पनि पुगिहाल्छु भन्दै म फेरि उकालो चढ्छु। एकछिन बस्छु, बिसाउँछु। अब बास बस्न पुग्ने भनेकै त्यही तेङ्बोचे हो, के को हतार र!
झोला बोक्छु। लट्ठी टेक्छु। हिँड्छु। उही उकालो, उस्तै ढुङ्गाका सिँढी आउँछन्। तिनलाई टेक्दै मास्तिर निस्किन्छु। तर माथि पुग्ने छेकछन्दै आउँदैन। फेरि उस्तै कुइनेटो आउँछ। उही उकालो भेटिन्छ। उही बोटबुट्यानहरू आउँछन्।
आधा घण्टा कटेर एक घण्टा पुग्छ समय। तर मरिगए तेङ्बोचे आउँदैन। म जङ्गलकै उकालो बाटोमा छु। हरे, हैन थाकेको बेला पुग्नुपर्ने गन्तव्य पनि कति टाढिँदै गएको हो? आखिर म हिँडिरहेकै छु।
‘हैन, तेङ्बोचे अब आइपुगेन?’ अर्का बटुवासँग प्रश्न गर्छु।
‘अब अलिकति मात्रै हो। आधा घण्टा जतिमा पुगिहाल्नुहुन्छ,’ सजिलै उत्तर दिएर उनी खुरुरु ओरालो झर्छन्। म तिनको हिँडाइ र भारीको बोझ हेर्छु। यसरी भारी बोकेर सजिलै बाटो काट्नेहरूको कैयौं ताँतीले डाँडा काटिसके। म भने सोध्दैमा जहाँको तहीं छु जस्तो लाग्छ। कहिले पुगिने हो त्यो तेङ्बोचे? हैन कति टाढा भएको हो? आफैं हैरान हुन थाल्छु।
लालीगुराँसका बोटबुट्यानका जङ्गल हुँदै उकालो चढिरहँदा पाइपबाट पानी झरिरहेको आवाजले झस्काउँछ। पानी पिएर जाँगर बटुल्नुपर्ला भन्ने सोच्दै झोला बिसाउँछु। आँखै सामु एकदमै नजिकबाट पानी पिउन आएका एक जोडी डाँफे देखेर खुसीले उफ्रिन्छु। एकदमै नजिकबाट डाँफे देख्न पाउँदा खुसीले रमाउँछु। डाँफेका प्वाँख र पखेटाका रङहरू।
भाग्ला कि भनेर बिस्तारै चाल मारेर फोटो खिच्ने कोसिस गर्छु। एउटा डाँफे भुर्र उडेर जङ्गलतिर पस्यो। अर्को डाँफेले भने मलाई फोटो खिच्नका लागि मजाले ‘पोज’ दियो। यसरी राष्ट्रिय फूल र राष्ट्रिय पक्षी एकसाथ देख्न पाउँदा थाकेर हिरिक्क हुन लागेको ज्यानले पनि आनन्द महसुस गर्न पाउँदा आफैंलाई धन्य सम्झिँदै उकालो लाग्छु।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...