पत्रकार किशोर श्रेष्ठ पक्राउ : हस्तक्षेप वा विधिसम्मत
२८ साउन २०८३
•
६ मिनेट पाठ
पत्रकार किशोर श्रेष्ठ पक्राउ : हस्तक्षेप वा विधिसम्मत
वरिष्ठ पत्रकार किशोर श्रेष्ठको पक्राउपछि नेपालको सञ्चार क्षेत्र अहिले दुईवटा प्रश्नको बीचमा उभिएको छ।  




पहिलो: के पत्रकारले समाचार प्रकाशन गरेकै विषयलाई आधार बनाएर प्रहरीले सञ्चारगृहमा छापा मार्दै हिरासतसम्म पुर्याउनु पर्ने अवस्था सिर्जना हुनु प्रेस स्वतन्त्रतामाथिको दबाब हो?

दोस्रो: प्रेस स्वतन्त्रताको नाममा कसैको वैयक्तिक गोपनीयता, प्रतिष्ठा वा अधिकारमाथि अतिक्रमण गर्न पत्रकारलाई छुट हुन सक्छ?

यी दुवै प्रश्नको जवाफ सजिलो छैन। तर एउटा कुरा स्पष्ट छ, लोकतन्त्रमा प्रेस स्वतन्त्रता र कानुनी उत्तरदायित्व एकअर्काका विरोधी होइनन्।

श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा परेको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीको दाबी छ। जनआस्थामा प्रकाशित सामग्रीलाई लिएर सम्बन्धित व्यक्तिले प्रहरीमा जाहेरी दिएको विवरण पनि सार्वजनिक भएको छ। यस अर्थमा घटनालाई ‘समाचार लेखेकै कारण पत्रकार पक्राउ’ भनेर निष्कर्षमा पुर्यााउनु अपूरो हुन सक्छ।

यसको अर्को पाटो अझै गम्भीर छ।

श्रेष्ठ पक्राउ परेपछि उनको निवासमा राति छापा मारिएको छ । ल्यापटप, कम्प्युटर र मोबाइलजस्ता विद्युतीय सामग्री नियन्त्रणमा लिइएको छ। बिहीबार अपराह्न पुनः उनको निवासमा छापा मार्न प्रहरी पुग्यो। थप अनुसन्धानका लागि अदालतले प्रहरीलाई तीन दिनको म्याद पनि दिएको छ। अदालतमा उपस्थित गराउँदा श्रेष्ठलाई हथकडी लगाएको थियो। बिहीबारै सञ्चारगृहको समाचारकक्ष र सम्पादकको कार्यकक्षमा समेत प्रहरी पुगेको विषयले प्रेस स्वतन्त्रताको बहसलाई थप पेचिलो बनाएको छ।

अब यसमा अर्को प्रश्न जन्मिएको छ, प्रहरीले के खोजिरहेको जनआस्थाको कार्यालय र श्रेष्ठको निवासमा? अनुसन्धानका लागि कति सामग्री आवश्यक थियो? ती सामग्रीमा पत्रकारका गोप्य सूचना स्रोत थिए कि थिएनन्? ती स्रोतको गोपनीयता कसरी सुरक्षित गरिन्छ?

यी प्रश्नको स्पष्ट जवाफ राज्यले दिनुपर्छ, किनभने पत्रकारको सबैभन्दा महत्वपूर्ण सम्पत्ति उसको कम्प्युटर वा मोबाइल मात्र होइन, त्यसमा सुरक्षित रहेको सूचना स्रोत पनि हो। कुनै पत्रकारले राज्य, राजनीतिक दल वा शक्तिशाली व्यक्तिसँग सम्बन्धित संवेदनशील सूचना प्राप्त गर्न सकेको छ भने त्यसको स्रोत सार्वजनिक हुने डरले भविष्यमा कसैले पत्रकारलाई सूचना दिनै नचाहने अवस्था आउन सक्छ। त्यसले अन्ततः पत्रकारलाई मात्र होइन, सार्वजनिक सूचनाको अधिकारलाई नै कमजोर बनाउँछ।

यहाँ प्रेस स्वतन्त्रताको अर्को परीक्षा पनि छ।

पत्रकारिता भनेको कसैको निजी जीवनमा असीमित प्रवेश गर्ने लाइसेन्स होइन। कुनै व्यक्तिको गोपनीयता, प्रतिष्ठा वा चरित्रमाथि प्रश्न उठाउने सामग्री प्रकाशित गर्दा त्यसको आधार, सार्वजनिक हित र तथ्यगत सत्यताको जिम्मेवारी पत्रकार र सञ्चारमाध्यमले लिनैपर्छ।

‘पत्रकार हो, त्यसैले जे लेखे पनि हुन्छ’ भन्ने मान्यता पनि लोकतान्त्रिक हुन सक्दैन।

त्यसैगरी ‘पत्रकारले गल्ती गरेकाले पक्राउ स्वाभाविक हो’ भन्ने तर्क पनि पर्याप्त छैन। पक्राउको आवश्यकता र त्यसको प्रक्रिया नै मुख्य प्रश्न हो। स्रोत र आधार सुरक्षित गर्दै लेखिएका समाचारकै आधारमा कसैले उजुरी गर्दैमा पक्राउ नै गर्नु कत्तिको न्यायपूर्ण छ भन्ने विषय पनि अगाडी आउछ।  

समाचारमा चित्त नबुझेमा खण्डन, कानुनी उपचार, प्रेस काउन्सिललगायतका संस्थागत संयन्त्र प्रयोग गर्न सकिने अवस्था हुँदाहुँदै प्रहरी हस्तक्षेप कति आवश्यक थियो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। विशेषगरी सञ्चारसम्बन्धी विवादमा राज्यले सबैभन्दा कम हस्तक्षेपकारी उपायबाट समाधान खोज्नुपर्ने लोकतान्त्रिक मान्यता महत्वपूर्ण हुन्छ।

यही कारण नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटीलगायतका संस्थाहरूले घटनाप्रति आपत्ति जनाएका छन्। राजनीतिक दलका विभिन्न नेताहरूले समेत श्रेष्ठको तत्काल रिहाइको माग गरेका छन्। यसलाई पत्रकार समुदायको पेसागत बचाउ भनेर खारेज गर्नु उचित हुँदैन, किनभने आज किशोर श्रेष्ठ परेका होलान् भोलि अर्को पत्रकार पक्राउ पर्न सक्छन्। आज आलोचना गर्ने पत्रकार परे होलान्, भोलि सरकारको पक्षमा लेख्ने पत्रकार नै पर्न सक्छन्। प्रेस स्वतन्त्रताको वास्तविक अर्थ आफूलाई मन पर्ने पत्रकारको मात्र स्वतन्त्रताको रक्षा गर्नु होइन। आफूलाई मन नपर्ने पत्रकारले बोल्दा पनि उसको अधिकारको रक्षा गर्न सक्नु पर्छ।

पत्रकार महासंघ र सञ्चार क्षेत्रले पनि आफ्नो पक्षमा उठेको समर्थनलाई आत्मसमीक्षाको अवसर बनाउनुपर्छ।

प्रकाशित सामग्रीले वास्तवमै कसैको गोपनीयता वा प्रतिष्ठामाथि अन्याय गरेको छ भने पत्रकारिताभित्र त्यसको जवाफदेहिताबारे बहस पनि हुनुपर्छ। प्रेस स्वतन्त्रताको रक्षा गर्ने नाममा समाचारको तथ्य, भाषा, शीर्षक, थम्बनेल वा प्रकाशनको नैतिकताबारे प्रश्न उठाउनै नहुने वातावरण बनाउनु स्वयं प्रेस स्वतन्त्रताका लागि घातक हुन सक्छ।

यस घटनाले सरकारलाई पनि एउटा महत्वपूर्ण सन्देश दिएको छ।

सरकारले कानुन कार्यान्वयन गर्न पाउँछ, तर कानुन कार्यान्वयन गर्ने हरेक कदम लोकतान्त्रिक हो भन्ने दाबी भने हुँदैन। राज्यसँग प्रहरी छ, अनुसन्धान संयन्त्र छ, कानुन छ। सञ्चार माध्यमसँग नागरिक हुन्छ, त्यस्तो शक्ति हुँदैन। त्यसैले राज्यले सञ्चारमाध्यमसँग व्यवहार गर्दा थप संयम र पारदर्शिता देखाउनुपर्छ।

विशेषगरी सञ्चारगृहमा प्रहरी प्रवेश गर्ने, समाचारकक्षमा अनुसन्धान गर्ने र पत्रकारका विद्युतीय उपकरण नियन्त्रणमा लिने जस्ता कदमले पत्रकारिताभित्र  अब के लेख्ने? भन्दा पहिले ‘यो लेखेपछि के हुन्छ?’ भन्ने डर पैदा गर्यो भने त्यसको प्रभाव एउटा पत्रकारमा मात्र सीमित रहँदैन।

त्यसैले सरकारले स्पष्ट पार्नुपर्ने विषय श्रेष्ठमाथि लागेको आरोप के हो, पक्राउ किन आवश्यक थियो, घर तथा कार्यालयमा छापा किन मारियो? नियन्त्रणमा लिइएका सामग्रीबाट सूचना स्रोतको गोपनीयता कसरी सुरक्षित गरिन्छ भन्ने हो। अदालतले पनि पत्रकारलाई स्रोत खोल्न बाध्य पार्न सक्दैन भन्ने विषयमा गृह मन्त्रालय जानकार छ छैन ? 

अर्कोतर्फ, पत्रकारिता क्षेत्रले स्पष्ट सन्देश दिन सक्नु पर्छ। उसले स्वतन्त्र प्रेसको माग गरिरहँदा जिम्मेवारीबाट भाग्न पाउँदैन। यसैगरी सार्वजनिक चासोको विषयमा कठोर प्रश्न सोध्ने अधिकार यथावत् रहिरहन्छ तर वैयक्तिक गोपनीयता र प्रतिष्ठालाई अनावश्यक रूपमा क्षति पुर्याउने काम भने गर्न हुँदैन। 

अन्ततः किशोर श्रेष्ठ दोषी हुन् होइनन् भन्ने फैसला अदालतले गर्छ सडकको प्रदर्शनले होइन। अर्थात् निष्पक्ष कानुनी प्रक्रिया अवल्मबन गरेकै हुनुपर्छ। यहाँ त्यस्तो प्रक्रिया निष्पक्ष र पारदर्शी छ कि छैन भन्ने प्रश्न उठाउने अधिकार समाज र सञ्चारमाध्यमसँग सधैँ रहिरहन्छ। 

आजको सबैभन्दा ठूलो प्रश्न, किशोर श्रेष्ठलाई पक्राउ गर्न हुन्थ्यो कि हुँदैनथ्यो? मात्र होइन। नेपालको लोकतन्त्रमा असहमतिलाई राज्यले कसरी सम्बोधन गरिरहेको छ भन्ने हो। 

आलोचनात्मक समाचारको जवाफ पक्राउबाट दिने हो कि तथ्य र कानुनबाट? सञ्चारमाध्यमको गल्ती सच्याउने बाटो दबाब हो कि संस्थागत प्रक्रिया? र पत्रकारको गल्ती भए पनि सूचना स्रोत, प्रेस स्वतन्त्रता र अभिव्यक्तिको अधिकारलाई कसरी सुरक्षित राख्ने सोचनीय विषय हो। 

यी प्रश्नको जवाफ किशोर श्रेष्ठको व्यक्तिगत मुद्दाभन्दा धेरै ठूलो छ। किनभने स्वतन्त्र प्रेसको परीक्षा पत्रकारले सरकारको प्रशंसा गर्दा हुँदैन बरु सरकारमाथि प्रश्न उठाउँदा हुन्छ। सरकारको लोकतान्त्रिक चरित्र उसले आफूविरुद्ध उठेको आवाजलाई कति सहन सक्छ, त्यसले मापन गर्छ। कानुनी र संयमित ढंगले जवाफ दिन सक्छ सक्दैन त्यो स्थापित मापदण्ड हो। 
अर्को समाचार
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
०९ मंसिर २०८३
•
७ मिनेट पाठ
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
नेपालमा प्रजातन्त्र स्थापना गर्ने देखी सबै खाले राजनैतिक आन्दोलनहरूमा आफ्नो दर्बिलो उपस्थिति देखाउँदै यस देशको विकास क्रममा नेपाली कांग्रेस कहिले खुम्चिएर त कहिले आम जनताको अभुतपूर्ण समर्थनमा करिब आठ दशकदेखि नेपालको राजनीतिको अग्रमोर्चामा छ।




पहिलो पटक जनताले आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनेदेखि, मौलिक हकहरू, समावेशिता, विकास(?)का अनेक पूर्वाधार निर्माणका सवालमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको कुरा अकाट्य छ। नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राजनैतिक व्यवस्था , शान्ति प्रक्रिया हुँदै नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रूपमा संविधानमै सुनिश्चित गराउने सम्मका काममा नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा रह्यो। 

तर कांग्रेसबाट जनताको अपेक्षा यतिमा मात्रमा सीमित थिएन। हिजोको जहानिया राणाशासन , पञ्चायती व्यवस्थाको विषम परिस्थितिमा समेत डटेर लडेको कांग्रेस आजको यत्तिको अवसरका बिचमा किन लरखराएको छ ? यो नै आम चिन्ताको विषय बनेको छ।

संविधानको कार्यान्वयन , सरकारको पारदर्शिता , भ्रष्टाचार , महँगी , बढ्दो बेरोजगारी , युवा पलायन लगायतका अनकन विषयहरूमा कांग्रेस र यहाँका मुख्य दलहरूमाथि जनताको जबरजस्त अविश्वास पैदा भयो। यही अविश्वासको जगमा समाजमा आक्रोश पैदा गराई देशका महत्त्वपूर्ण धरोहरहरू ; संसद् भवन , राष्ट्रपति कार्यालय ,सिंहदरबार लगायत थुप्रा नेताका घरहरू , व्यावसायिक स्थलहरू , छापाखाना क्षणभरमै खरानी बनाइए। 

नेपाली कांग्रेसको समर्थनमा रहेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार शान्ति सुरक्षाको मामिलामा निरीह मात्र रहेन सत्तासीन मन्त्री र सांसदहरूलाई ज्यान जोगाउनै धौधौ पर्‍यो। अझै पूर्वप्रधानमन्त्री समेत बनिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा आफ्नो धर्मपत्नीकै साथ कुटाइ खानुपर्‍यो। अहिले उनको पछिल्लो अभिव्यक्ति अनुसार आफूलाई मार्ने षड्यन्त्रमा आफ्नै पार्टीका तत्कालीन महामन्त्री गगन थापाले व्यक्तिहरू परिचालन गरेको गम्भीर आरोपसमेत आएको छ। समयले थप सत्यहरू उजागर गर्दै पनि जाला।

तर राजनीतिका यी अनकन फोहोरी हर्कतभन्दा माथि आजको मुख्य सवाल नेपाली कांग्रेसको वैचारिक धरातलको हो। नेपालको राजनीतिमा आफूलाई जेठो पार्टी दाबी गरेर मात्रै वा हिजोका अग्रजहरूको योगदानको ब्याज खाएर मात्रै कांग्रेसले भोलिको समयमा आफ्नो औचित्य पुष्टि गरिरहन सक्दैन। 

स्थापनाको समयदेखि अहिलेसम्ममा सायदै काँग्रेस सबैभन्दा बढी विचार शून्य अवस्थामा छ र केवल पद प्राप्तिको लडाइँमा मात्र सीमित देखिन्छ। विशेष र नियमित महाधिवेशनको नाममा कांग्रेस अब प्राविधिक रूपमा मात्र विभाजित हुन बाँकी रहेको छ। तर यो विभाजन कुनै वैचारिक जगमा उभिएको विभाजन भने पटक्कै होइन। यो केवल राजनीतिलाई सतरन्जको खेल सम्झिनेहरूको परिणामहीन कुकृत्य मात्र हो। यसलाई पुष्टि गर्ने केही आधारहरू छन्। 

गत वर्षको भाद्रमा जेनजीआन्दोलनको भावना/मर्मको नाममा भाद्र २२ गतेसम्म भागबन्डामा मग्न नेताहरू भाद्र २५ देखि नेतृत्व हत्याउने हतारमा देखिन पुगे। भातृ संगठनको जगमा पार्टीको महामन्त्रीजस्तो जिम्मेवार पदमा आसीन नेताहरू आफ्नो पूरा कार्यकालभरि कुनै भातृ संगठनको अधिवेशनको पक्षमा न कतै बोले न त कुनै पहलकदमी देखाए। 

अझै भद्दा नेविसंघ र तरुण दलमा आफ्ना मान्छेहरू भन्दै भागबन्डाको बार्गेनिङमा यिनलाई निकम्मा बनाउन लागिपरे , त्यसकै फलस्वरूप युवाहरूको असङ्गठित आवाजले जेनजी आन्दोलनको नाममा विनाशको रूप लियो। फेरि उल्टै सारा दोष अरूमाथि पन्छाएर आफू पानीमाथिको ओभानो देखिन रत्तीभर लाज मानेनन्,हिचकिचाएनन्।

अब प्रश्नहरू आउँछन् , नेपाली कांग्रेसको मुख्य समस्या नीति हो वा नेतृत्व ? शेरबहादुर देउवाको अनुहार फालेर गगन थापा वा कसैको अनुहार देखाउँदैमा पार्टी मजबुत भइहाल्ने भए हालै सम्पन्न निर्वाचनको परिणाममा कांग्रेसको नयाँ सभापति बनेर आएँ भनेकै व्यक्तिको र पार्टीका सबैजसो उम्मेदवारहरूको निर्वाचनमा लज्जास्पद पराजय कसरी हुन पुग्यो ?

महाधिवेशन भनेको सभापति वा पदाधिकारी फेर्ने अभ्यास मात्र हो वा वैचारिक मन्थनको प्रक्रिया पनि हो ?

नेपालको शासन व्यवस्थामाथि जनताको जबरजस्त अविश्वास पैदा भयो , किन? त्यो अविश्वास पैदा हुनुमा तत्कालीन माओवादसहित सबै दल जिम्मेवार छन्। तर कांग्रेस किन र कुन अर्थमा के के कारण बढी जिम्मेवार छ? त्यसको रिफ्लेक्सन कांग्रेसको अन्तर पार्टी संघर्षमा देखिन्छ , कसरी?

अहिलेको कांग्रेसको आन्तरिक अवस्थाले देशको सकारात्मक रूपान्तरणमा सिर्जना हुन सक्ने अवरोधहरू कस्ता छन्? ती अवरोधहरू सिर्जना हुनुमा कांग्रेसको आन्तरिक शक्तिसङ्घर्ष किन र कसरी जिम्मेवार छ?

अहिले जसरी विशेष महाधिवेशन जसलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको भनिएको छ , त्यो समूहलाई आवश्यक लाग्यो भन्ने बित्तिकै अर्को पक्षलाई निषेध गरेर आफ्नै पार्टी पङ्क्तिलाई दास र लासको संज्ञा दिने हर्कतले कांग्रेसको भलो हुन्छ ?  

हिजो स्थापना कालदेखि कांग्रेसमा बिपी सुवर्णको बिचमा होस् वा केही समय अघिसम्म शेरबहादुर देउवा र कोइराला परिवारको अन्तर सङ्घर्षको बिचमा ! सबै समयमा नेताहरूले संवाद र सहमतिकै बाटो रोजेर पार्टी एक राखेका हुन् भने अहिले विशेष महाधिवेशनको गलत प्रयोग (लुप होल)को सहारा लिएर पार्टी विभाजन गर्नुको प्रयोजन के हो ?

यावत् प्रश्नहरू इतिहासले सोध्ने नै छ।

आज जे सतहमा देखिएको छ यो सरासर वैचारिक स्खलनको दिशातर्फ उन्मुख हर्कतहरु हुन् । तर , सङ्कटले आविष्कारको अवसर पनि दिएकै हुन्छ। अबको कांग्रेस फेरिपनी तब मात्र जनताको अघि सार्थक साबित हुनसक्छ जब कांग्रेस आफ्नो वैचारिक स्खलनको बाटोबाट वैचारिक पुनर्ताजगीको बाटोमा आइपुग्नेछ।

वैचारिक पुनर्ताजगी के हो ? बिपी कोइरालाले समाजवादको सन्दर्भमा भन्नुभएको एक हरफको मद्दत लिन चाहन्छु , "हाम्रो मुलुक गरिब छ , हाम्रो मुलुक किसान छ , जुन नीति र कार्यक्रमबाट गाउँमा बस्ने किसानहरूको भलाई हुन्छ त्यही अवधारणा नै नेपालको समाजवादी अवधारणा हो।" तर आजको दिनमा उत्पादनको साधन बदलिएको छ। 

हिजो बिपीको समयको हलो,कोदालो वा दुहुनो गाईलाई हामी बिम्बात्मक रुममा मनन गर्दै आजको प्रविधियुक्त विश्वमा नेपालका जनतालाई कसरी समृद्धितर्फ उन्मुख गर्न सकिन्छ भन्नेमा मुख्य ध्यान दिनु आवश्यक छ। भूमण्डलीकरण वा पुजीवादबाट समाजको बढ्दो उचनीचको खाडललाई कसरी भर्न सकिन्छ भन्नेमा अबको चासो देखिनु आवश्यक छ। 

शिक्षा , स्वास्थ्य लगायतका मुख्य विषयमा सबैलाई कसरी समान अवसर प्रदान गर्न सकिन्छ भनेर राज्यले र राजनैतिक दलहरूले सोच्न जरुरी छ। जाति, पेसा, भाषा, वर्ण, लिङ्ग, भूगोलको आधारमा हुने विभेदलाई हटाई नेपाललाई अनेकतामा एकता भएको देशको रूपमा सिद्ध गर्न गरिनुपर्ने कार्यक्रमहरूको चर्चा हुनु जरुरी छ।  

बदलिँदो विश्व राजनीति र यसको प्रभावको सन्दर्भमा हाम्रो मुलुकको साझा लक्ष र चुनौतीहरूको बिस्तारमा  छलफल हुनु आवश्यक छ। यी सबै उत्तरदायित्व नेपालको राजनीतिमा अझैसम्म पनि नेपाली कांग्रेसकै हो। अन्तरपार्टी संघर्षमा अनकन बिचारहरूको साझा प्रतिनिधित्व खोज्दै , राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा एकताको मध्य बिन्दु खोज्न सक्ने क्षमता कांग्रेसमा छ र सबै विषयहरूलाई निष्कर्षमा पुर्‍याउनुपर्ने अभिभारा समेत अझैसम्म पनी कांग्रेसको काँधमा छ। तर कांग्रेस बरालिएको देखिएको छ। 

'मियो बिनाको दाइँ ' भनेझैँ वा ' कुहिरोको काग ' भनेझैँ कांग्रेसले अहिले आफ्नो गति, दिशा र लक्ष पहिल्याउन सकिरहेको छैन। लामो वादविवादबाट सही बिचार ठम्याउन सक्नुपर्ने अवस्थामा अहिले तर्कभन्दा बढी कुतर्क , एकतामा भन्दा बढी आपसमा अनावश्यक पौठेजोरी खोज्नमा कांग्रेस मग्न देखिन्छ। अब सारा समस्याको एक मात्र हल भनेको पानी धमिल्याएर माछा मार्ने पदलोलुप , महत्वाकांक्षी र अवसरका भोगिहरुविरुद्ध कांग्रेसका सम्पूर्ण युवा , तरुण र अग्रजहरू एक ढिक्का भई तिनको सही पहिचान गरी तिनलाई परास्त गर्नुमा नै छ। 

भोलिको दिनमा कांग्रेसको वैचारिक धरातलको जग नै यहाँको लोकतन्त्र र देशको भविष्यसँग जोडिएको छ। यसरी आदर्श र बिचारलाई तिलाञ्जली दिँदै फगत चिन्हको लडाइँमा कांग्रेस मग्न रहने हो भने यो कांग्रेसजनका लागि मात्र होइन समग्र देश र यहाँको समग्र लोकतान्त्रिक व्यवस्थाकै लागि अभिशाप सिद्ध हुने निश्चित देखिन्छ। 

जनताको ठुलो त्याग , तपस्या र साहदत्तपश्चात् प्राप्त यो व्यवस्थाको जगमा अझै थुप्रा उपलब्धिहरू हासिल गर्नतर्फ उद्धत हुनुपर्ने कांग्रेस अहिलेको निर्णायक समयमा पतन (स्खलन)को  बाटो नरोजोस् , एउटा उन्नत र परिष्कृत बिचारको साथ जनताको मनमा हाजिर बनोस्। 

केन्द्रमा जुँघाको लडाइँमा मग्न बन्दै जाँदा कसैको आफ्नो व्यक्तिगत अभीष्ट त पूरा होला तर वडा,पालिका तहमा निस्वार्थ भावनाले पार्टीमा आबद्ध लाखौँ सदस्यहरूको मनमा ठेस पुग्नेछ। यसरी शिथिल अवस्थामा आसन्न निर्वाचनमा होमिँदै गर्दा पार्टीको कुन हबिगत रहने हो भन्नेमा पार्टीका जिम्मेवार नेतृत्व पंक्ति बेलैमा होसियार हुनु आवश्यक छ। समयमै कुवा खने पछि सहज होला , घरमा आगो लागिसकेपछि कुवा खन्न हिँड्नुको कुनै तुक हुनेछैन । (नेपाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।)
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस