बदलिँदै राजी समुदायको दिनचर्या
१६ असोज २०८३
•
१० मिनेट पाठ
बदलिँदै राजी समुदायको दिनचर्या
“पहिले जङ्गलमा गएर काम गर्नुपर्थ्याे अनि मात्र खान पाइन्थ्यो, अहिले सरकारले सामाजिक सुरक्षा भत्ता दिन्छ। त्यसले खानलाउन र जीविकोपार्जन गर्न सहज भएको छ”, ७० वर्षीया झिना राजीले विगत सम्झिंदै भनिन्।




जीवनको लामो समय जङ्गलसँग जोडिएर बिताएका झिना अहिले आफ्नो समुदायमा आएको परिवर्तन आफ्नै आँखाले देखिरहेकी छन्। कुनै समय परिवारको गुजारा चलाउन जङ्गली पस्नुपर्ने अवस्था थियो। अहिले भने राज्यबाट सामाजिक सुरक्षाभत्ता, आवास, शिक्षा र स्वास्थ्य लगायत सेवासुविधा पाउन थालेपछि जीवनयापन सहज भएको उनी बताउँछिन्।

झिना राजीको पुस्ताले जङ्गलीसँग जोडिएको जीवन बाँच्यो भने नयाँ पुस्ता त्यही समुदायबाट विद्यालय, प्राविधिक शिक्षा, रोजगारी र सामाजिक नेतृत्वको बाटोमा अघि बढिरहेको छ। एक पुस्ताले जङ्गलबाट प्राप्त स्रोतमा निर्भर भएर परिवारको जीवन धानेको थियो भने अर्को पुस्ताले शिक्षा हासिल गरेर सरकारी सेवामा प्रवेश गर्ने अवस्था बनेको छ।

कैलालीको भजनी, टीकापुर, गौरीगङ्गा, घोडाघोडी लगायतका क्षेत्रमा राजी समुदायको बसोबास छ। समुदायमा देखिएको यो परिवर्तन जीविकोपार्जनको शैलीमा आएको परिवर्तनमा मात्र सीमित छैन। शिक्षा, रोजगारी, सामाजिक सुरक्षा, महिला सहभागिता, स्थानीय तहमा प्रतिनिधित्व र आफ्ना अधिकारबारेको चेतनासमेत विस्तार हुँदै गएको छ।

नेपाल सरकारले आदिवासी जनजातिअन्तर्गत १० जातिलाई लोपोन्मुख जातिका रूपमा सूचीकृत गरेको छ। तीमध्ये राजी जाति पनि एक हो। नेपालको संविधानले सामाजिक न्याय, समानता र समावेशितालाई मौलिक अधिकारका रूपमा स्थापित गर्दै सामाजिक तथा सांस्कृतिक रूपमा पछाडि परेका, अल्पसङ्ख्यक तथा लोपोन्मुख समुदायको संरक्षण, सशक्तीकरण र विकासका लागि विशेष व्यवस्था गर्न सकिने उल्लेख गरेको छ।

संविधानको धारा ४२ मा लोपोन्मुख जातिका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र खाद्यान्नमा विशेष अवसर तथा संरक्षणको हक सुनिश्चित गरिएको छ।

त्यस्तै धारा ५१ ले लोपोन्मुख समुदायको पहिचान, भाषा, लिपि, संस्कृति र इतिहासको संरक्षण तथा विकासका लागि विशेष अवसर र व्यवस्था गर्ने राज्यको नीति अघि सारेको छ। धारा २६१ ले आदिवासी जनजातिको हकहितको संरक्षण, सम्वर्द्धन र सशक्तीकरणका लागि आदिवासी जनजाति आयोगको व्यवस्था गरेको छ।

संवैधानिक व्यवस्थासँगै सरकारले राजी समुदाय लक्षित गरी सामाजिक सुरक्षा, छात्रवृत्ति, शिक्षा, आवास लगायत कार्यक्रम चलाउँदै छ। स्थानीय तहले पनि समुदायको अवस्था अनुसार कार्यक्रम अघि बढाएका छन्।

भजनी नगरपालिकाले राजी जातिका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको नगरप्रमुख केवल चौधरी बताउँछन्। उनका अनुसार नगरपालिकाले निःशुल्क शिक्षासँगै राजी समुदायलाई लक्षित अन्य कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।

जङ्गलसँग जोडिएको जीवनबाट शिक्षातर्फ अघि बढेको पुस्ता राजी समुदायको परम्परागत जीविका जङ्गली, खेतीपाती र माछा मार्ने कामसँग गहिरोसँग जोडिएको थियो। जङ्गलबाट मह, जडीबुटी, कन्दमूल, कुरिलो, माछा लगायत वस्तु सङ्कलन गर्ने, घरमा प्रयोग गर्ने र बाँकी बिक्री गरेर घरखर्च चलाउने गरिन्थ्यो। वनजन्य वस्तु सङ्कलन गर्न कतिपय अवस्थामा दिनसँगै रातभर जङ्गलीमै बस्नुपर्ने अवस्था थियो।

भजनी नगरपालिका–९ भुरुवाका ३५ वर्षीय हर्षबहादुर राजीका लागि त्यो समय अझै सम्झनामा ताजा छ। उनका अनुसार पहिले परिवारका सबै सदस्य कुनै न कुनै रूपमा जङ्गलीसँग जोडिएका हुन्थे। “पहिले हाम्रो मुख्य जीविकोपार्जन खेतीपाती र जङ्गलीमै निर्भर थियो। म सानै थिएँ, बुवासँगै जङ्गली जान्थें। जङ्गलीबाट मह, जडीबुटी तथा अन्य वनजन्य वस्तु ल्याएर खाने र बाँकी ठेकेदारलाई बेचेर घरखर्च चलाउने गर्थ्याै ”, उनले भने।

आम्दानी सीमित भएकाले परिवारको दैनिक आवश्यकता पूरा गर्न समेत कठिन हुने गरेको उनी बताउँछन्। त्यतिबेला शिक्षा धेरै परिवारको प्राथमिकतामा पर्न सकेको थिएन। आर्थिक अभावका कारण बालबालिकाले विद्यालय जानुभन्दा घरको काममा सहयोग गर्नुपर्ने अवस्था थियो।

हर्षबहादुरले पनि पढाइलाई निरन्तरता दिन सकेनन्। बुवाको निधन भएपछि र जेठो दाइ छुट्टिएर गएपछि परिवारको जिम्मेवारी उहाँकै काँधमा आयो। आफूले पढ्न नपाएका अवस्थालाई भने उनले भाइको जीवनमा दोहोरिन दिएनन्। भाइहरूलाई पढाउनुपर्छ भन्ने सोचका साथ उनले आफ्नोतर्फबाट सकेको सहयोग गरे।

हर्षबहादुरका एक भाइ ३१ वर्षीय अरमान अहिले घोडाघोडी नगरपालिकामा सबइन्जिनियरका रूपमा कार्यरत छन्। अरमानको बाल्यकाल भने पढाइप्रति विशेष रुचि भएका अवस्थाबाट सुरु भएको थिएन। विद्यालय जाने उमेरमा उनलाई पढ्नुभन्दा गाईबाख्रा चराउन बढी रुचि लाग्थ्यो। “स्कुल पढ्दा हप्तामा एक दिन मात्र विद्यालय जाने गर्थें। विद्यालय जानुपर्छ भन्ने सोच नै थिएन, गाईबाख्रा चराउन नै राम्रो लाग्थ्यो”, उनले भने।

पढाइप्रतिको त्यही सुरुआती उदासीनताका कारण उनको शैक्षिक यात्रा पनि सहज भएन। एसएलसीमा एकपटक असफल भए तर असफलतापछि पनि उनले पढाइ छाड्नुभएन। परिवारको साथ र आफ्नै प्रयासले माध्यमिक तहको शिक्षा पूरा गरे।

माध्यमिक शिक्षा पूरा गरेपछि उनको ध्यान प्राविधिक शिक्षातर्फ मोडियो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को प्रवेश परीक्षा उत्तीर्ण गरेपछि छात्रवृत्तिको अवसर पाउनुभयो। त्यसपछि चितवनमा डिप्लोमा तहको सब–इन्जिनियरिङ अध्ययन गरे। “प्राविधिक शिक्षा के हो, डिप्लोमा तहको पढाइ कसरी गर्ने भन्ने सुरुमा मलाई पनि धेरै जानकारी थिएन। पछि भर्ना भएपछि बाटो खुल्दै गयो”, उनले भने।

प्राविधिक शिक्षा पूरा गरेपछि अरमानले लोकसेवा आयोगको परीक्षा दिए। परीक्षा उत्तीर्ण गरेपछि २०७६ सालदेखि उनी घोडाघोडी नगरपालिकामा सब–इन्जिनियरका रूपमा कार्यरत छन्।

जङ्गलीमा परिवारको गुजारा चलाउने पुस्ताकै परिवारबाट शिक्षा हासिल गरी सरकारी सेवामा प्रवेश गरेकाे उनको यात्रा राजी समुदायमा आएको पुस्तान्तरणको एउटा उदाहरण बनेको छ। दाइ हर्षबहादुरको बाल्यकाल जङ्गलमा बित्यो। उनले पढाइलाई निरन्तरता दिन सकेनन् तर भाइ अरमानले कठिनाइका बाबजुद पढाइ अघि बढाउँदै प्राविधिक शिक्षा हासिल गरे र सरकारी सेवामा प्रवेश गरे। हर्षबहादुरका अर्का भाइले पनि इलेक्ट्रिकल इन्जिनियरिङ पूरा गरी लोक सेवाको तयारी गर्दै छन्।

आफ्नो सफलतालाई अरमान व्यक्तिगत उपलब्धिका रूपमा मात्र हेर्नु हुन्न। उनका अनुसार पछिल्लो समय राजी समुदायका बालबालिका तथा युवामा शिक्षाप्रतिको रुचि बढ्दै गएको छ। विद्यालय, छात्रवृत्ति र प्राविधिक शिक्षाका अवसरबारे जानकारी बढ्दै जाँदा नयाँ पुस्ताले आफ्नो भविष्यका लागि विभिन्न बाटो रोज्न थालेको उनको अनुभव छ। “पहिलेभन्दा अहिले धेरै परिवर्तन आएको छ। नयाँ पुस्ताले धेरै कुरा सिक्ने र अगाडि बढ्ने अवसर पाएको छ। अब त्यसलाई उपयोग गरेर अझ अघि बढ्नुपर्छ”, उनले भने।

यसरी हर्षबहादुर र अरमानको एउटै परिवारको कथाले राजी समुदायमा आएको पुस्तागत परिवर्तनलाई देखाउँछ। जङ्गलीमा निर्भर भएर परिवारको जीवन धान्नुपर्ने पुस्ताबाट शिक्षा र सीप हासिल गरी रोजगारीको बाटो रोज्ने पुस्तासम्म आइपुग्दा समुदायको जीवनशैलीसँगै भविष्यप्रतिको सोचसमेत परिवर्तन हुँदै गएको छ।

सामाजिक सुरक्षा र शिक्षाले बदलिँदै परिवारको सोच

शिक्षातर्फको परिवर्तनसँगै सामाजिक सुरक्षा र आवासका कार्यक्रमले विपन्न राजी परिवारको दैनिकीमा सहजता थपेको छ। सरकारले राजी समुदायका लागि प्रतिव्यक्ति चार हजार रुपैयाँ का दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ। हर्षबहादुरका अनुसार परिवारको सीमित आम्दानीका बीच सामाजिक सुरक्षा भत्ता भाइहरूको पढाइ अघि बढाउने महत्त्वपूर्ण आधार बनेको थियो।

उनका अनुसार सुरुमा यही भत्ताको सहाराले दुई भाइको पढाइ अघि बढाउन सहयोग पुगेको थियो। एक भाइले प्राविधिक शिक्षा हासिल गरी इन्जिनियर बनेपछि परिवारलाई अर्को भाइको पढाइका लागि खर्च व्यवस्थापन गर्न थप सहज भयो। “सामाजिक सुरक्षा भत्ता नभएको भए भाइहरूलाई पढाउन गाह्रो हुन्थ्यो। सुरुमा त्यही भत्ताले दुई भाइलाई पढाउन सहयोग गर्‍यो। एक भाइ इन्जिनियर भएपछि अर्को भाइलाई पढाउन पनि सहज भयो”, उनले भने।

सरकारले सामाजिक सुरक्षा भत्तासँगै राजी समुदायका लागि एकीकृत नमूना बस्तीसमेत निर्माण गरिदिएको छ। मैतु राजीको परिवारका छ सदस्यले सामाजिक सुरक्षा भत्तासँगै आवासको सुविधा पाएका छन्। सरकारले घर निर्माणमा सहयोग गरेपछि आवासको समस्या समाधान भएको उनी बताउँछन्। “पहिले हामीलाई धेरै समस्या थियो। सरकारले सामाजिक सुरक्षा भत्ता दिनुका साथै घर पनि बनाइदिएको छ। यसले धेरै सहज भएको छ”, उनले भने। सामाजिक सुरक्षा भत्ताले बालबालिकाको पढाइमासमेत सहयोग पुगेको उनको भनाइ छ।

आर्थिक अभावका कारण पहिले शिक्षा प्राथमिकतामा पर्न नसके पनि अहिले राज्यबाट प्राप्त सहयोग र परिवारको सोचमा आएको परिवर्तनसँगै बालबालिकालाई विद्यालय पठाउनेक्रम बढेको छ। यसले राजी परिवारमा शिक्षा केबल तत्कालीन आवश्यकता नभई भविष्य निर्माणको आधार हो भन्ने बुझाइ विकास हुँदै गएको देखाउँछ।

तुलसी राजीका अनुसार विगतमा गरिबीका कारण बालबालिकालाई विद्यालय पठाउन कठिन थियो। परिवारको दैनिक गुजारा चलाउनकै लागि बालबालिकाले सानै उमेरमा काम गर्नुपर्ने अवस्था थियो भने छोरीहरूको कम उमेरमै विवाहसमेत हुने गरेको थियो। अहिले भने राज्यबाट प्राप्त सुविधा र शिक्षाको महत्त्वबारे बढेको चेतनाले परिवारको प्राथमिकता परिवर्तन भएको छ। “पहिलेभन्दा अहिले धेरै सुविधा आएको छ। अहिले हामीले पनि आफ्ना हकअधिकार पाउनुपर्छ भन्ने कुरा बुझ्न थालेका छौं”, उनले भने।

पुरानो पुस्ताको अनुभवले पनि शिक्षाप्रतिको बदलिँदो सोचलाई देखाउँछ। पार्वती राजीले पारिवारिक परिस्थितिका कारण विद्यालयको शिक्षा निरन्तरता दिन सकिनन्। आमाको स्वास्थ्य अवस्था र पारिवारिक परिस्थितिका कारण १५ वर्षकै उमेरमा उनको विवाह भयो। कक्षा ५ सम्म मात्र पढ्न पाएकी उनी अहिले आफ्ना सन्तानको शिक्षाप्रति सचेत छिन्। “मैले पढ्न पाइनँ तर मेरा बच्चाले पढ्नुपर्छ भन्ने लाग्छ”, उनले भनिन्।

मैतु राजीको अनुभव पनि उस्तै छ। आफूले विद्यालय जाने अवसर नपाए पनि अहिले उनका छोराछोरी विद्यालय जान्छन्। आफूले भोगेको अभाव र शिक्षाबाट वञ्चित हुनुपरेको अवस्थाले नै सन्तानको शिक्षाप्रति उनलाई थप सचेत बनाएको छ।

राजी समुदायमा शिक्षा र जीवनस्तरप्रतिको सोचमा पुस्तान्तरण हुँदै गएको देखिन्छ। पहिले परिवारको दैनिक गुजारा चलाउनु नै मुख्य प्राथमिकता थियो भने अहिले छोराछोरीलाई विद्यालय पठाउनु, उनीहरूको शिक्षा पूरा गराउनु र सीप तथा रोजगारीका अवसर खोज्नु भविष्य निर्माणको आधारका रूपमा लिन थालिएको छ। सामाजिक सुरक्षा, आवास तथा शिक्षामा राज्यको सहयोगसँगै परिवारको सोचमा आएको यो परिवर्तनले राजी समुदायलाई परम्परागत जीवनशैलीबाट नयाँ अवसरतर्फ अघि बढाइरहेको छ।

महिलाको सहभागितादेखि समुदायको नेतृत्वसम्म

राजी समुदायमा आएको परिवर्तन शिक्षा र रोजगारीमा मात्र सीमित छैन। महिला पनि विस्तारै सामाजिक सेवा, आयआर्जन र समुदायका गतिविधिमा सहभागी हुन थालेका छन्। तुलसी राजी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका रूपमा समुदायमा काम गर्दै आएकी छन्। स्वास्थ्यसम्बन्धी सेवा र सचेतनाको कामसँगै समुदायमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा अधिकारका विषयमा चेतना बढ्दै गएको उनले अनुभव गरेका छन्।

महिला सामाजिक गतिविधिमा सहभागी हुनका साथै आफ्नै आम्दानीको बाटो पनि खोज्न थालेका छन्। भजनीकी पार्वती राजीका श्रीमान् मिल चलाउँछन् भने पार्वती अटो चलाएर आफ्नै आम्दानीको बाटो खोज्दै छिन्। यसले राजी महिलामा आत्मनिर्भर बन्ने चाहना बढ्दै गएको देखाउँछ। समुदायको सामाजिक नेतृत्वमा पनि राजीहरूको सहभागिता बढ्दै गएको छ। हर्षबहादुर अहिले भजनी नगरपालिका–९ स्थित सोनपाल सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षसँगै नेकपा एमालेको वडा कमिटी हुन्।

स्थानीय तहको कार्यपालिका तहमासमेत राजी समुदायको प्रतिनिधित्व हुँदै आएको छ। यसले समुदायका सदस्यलाई स्थानीय सरकारका योजना तथा निर्णय प्रक्रियामा आफ्ना आवश्यकता राख्ने अवसर दिएको छ।

हर्षबहादुरका अनुसार केही वर्षअघिसम्म आफ्नो समस्या राख्नसमेत हिच्किचाउने समुदाय अहिले अधिकारका विषयमा बोल्न थालेको छ। “पहिले आफ्नो समस्या राख्न पनि डराउने अवस्था थियो। अहिले हामी आफैँ नेतृत्वमा बसेर समुदायका समस्या र अधिकारका विषयमा बोल्न थालेका छौँ”, उनले भने।

आज राजी समुदायमा परिवर्तनको अर्थ जङ्गलीमा निर्भर जीवनबाट बाहिर आउनुमा मात्र सीमित छैन। आफ्ना सन्तान विद्यालय पठाउन सक्ने अवस्था, रोजगारीको बाटो रोज्ने आत्मविश्वास, राज्यबाट प्राप्त अधिकारबारे जानकारी राख्ने चेतना र स्थानीय तहमा आफ्नै प्रतिनिधि देख्न सक्ने अवस्थासमेत परिवर्तनका सङ्केत बनेका छन्।

एक पुस्ताले जङ्गलबाट परिवारको जीवन धान्यो। अर्को पुस्ताले शिक्षा लिएर सरकारी सेवाको बाटो समात्यो। राजी समुदायमा आएको यो परिवर्तन पुस्तौँदेखि भोगिएको अभाव, पछिल्ला वर्षमा विस्तार भएको राज्यको पहुँच र नयाँ पुस्ताको बदलिँदो सोचले निर्माण गरेको यो क्रमिक यात्रा हो। जङ्गलसँग जोडिएको जीवनबाट शिक्षाको उज्यालोसम्म आइपुगेको राजी समुदाय अब प्राप्त अवसरलाई रोजगारी, आत्मनिर्भरता, नेतृत्व र पहिचान संरक्षणसँग जोड्दै अघि बढ्ने चरणमा पुगेको देखिन्छ।

- इन्द्राकुमारी केसी/रासस 
अर्को समाचार
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
०९ मंसिर २०८३
•
७ मिनेट पाठ
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
नेपालमा प्रजातन्त्र स्थापना गर्ने देखी सबै खाले राजनैतिक आन्दोलनहरूमा आफ्नो दर्बिलो उपस्थिति देखाउँदै यस देशको विकास क्रममा नेपाली कांग्रेस कहिले खुम्चिएर त कहिले आम जनताको अभुतपूर्ण समर्थनमा करिब आठ दशकदेखि नेपालको राजनीतिको अग्रमोर्चामा छ।




पहिलो पटक जनताले आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनेदेखि, मौलिक हकहरू, समावेशिता, विकास(?)का अनेक पूर्वाधार निर्माणका सवालमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको कुरा अकाट्य छ। नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राजनैतिक व्यवस्था , शान्ति प्रक्रिया हुँदै नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रूपमा संविधानमै सुनिश्चित गराउने सम्मका काममा नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा रह्यो। 

तर कांग्रेसबाट जनताको अपेक्षा यतिमा मात्रमा सीमित थिएन। हिजोको जहानिया राणाशासन , पञ्चायती व्यवस्थाको विषम परिस्थितिमा समेत डटेर लडेको कांग्रेस आजको यत्तिको अवसरका बिचमा किन लरखराएको छ ? यो नै आम चिन्ताको विषय बनेको छ।

संविधानको कार्यान्वयन , सरकारको पारदर्शिता , भ्रष्टाचार , महँगी , बढ्दो बेरोजगारी , युवा पलायन लगायतका अनकन विषयहरूमा कांग्रेस र यहाँका मुख्य दलहरूमाथि जनताको जबरजस्त अविश्वास पैदा भयो। यही अविश्वासको जगमा समाजमा आक्रोश पैदा गराई देशका महत्त्वपूर्ण धरोहरहरू ; संसद् भवन , राष्ट्रपति कार्यालय ,सिंहदरबार लगायत थुप्रा नेताका घरहरू , व्यावसायिक स्थलहरू , छापाखाना क्षणभरमै खरानी बनाइए। 

नेपाली कांग्रेसको समर्थनमा रहेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार शान्ति सुरक्षाको मामिलामा निरीह मात्र रहेन सत्तासीन मन्त्री र सांसदहरूलाई ज्यान जोगाउनै धौधौ पर्‍यो। अझै पूर्वप्रधानमन्त्री समेत बनिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा आफ्नो धर्मपत्नीकै साथ कुटाइ खानुपर्‍यो। अहिले उनको पछिल्लो अभिव्यक्ति अनुसार आफूलाई मार्ने षड्यन्त्रमा आफ्नै पार्टीका तत्कालीन महामन्त्री गगन थापाले व्यक्तिहरू परिचालन गरेको गम्भीर आरोपसमेत आएको छ। समयले थप सत्यहरू उजागर गर्दै पनि जाला।

तर राजनीतिका यी अनकन फोहोरी हर्कतभन्दा माथि आजको मुख्य सवाल नेपाली कांग्रेसको वैचारिक धरातलको हो। नेपालको राजनीतिमा आफूलाई जेठो पार्टी दाबी गरेर मात्रै वा हिजोका अग्रजहरूको योगदानको ब्याज खाएर मात्रै कांग्रेसले भोलिको समयमा आफ्नो औचित्य पुष्टि गरिरहन सक्दैन। 

स्थापनाको समयदेखि अहिलेसम्ममा सायदै काँग्रेस सबैभन्दा बढी विचार शून्य अवस्थामा छ र केवल पद प्राप्तिको लडाइँमा मात्र सीमित देखिन्छ। विशेष र नियमित महाधिवेशनको नाममा कांग्रेस अब प्राविधिक रूपमा मात्र विभाजित हुन बाँकी रहेको छ। तर यो विभाजन कुनै वैचारिक जगमा उभिएको विभाजन भने पटक्कै होइन। यो केवल राजनीतिलाई सतरन्जको खेल सम्झिनेहरूको परिणामहीन कुकृत्य मात्र हो। यसलाई पुष्टि गर्ने केही आधारहरू छन्। 

गत वर्षको भाद्रमा जेनजीआन्दोलनको भावना/मर्मको नाममा भाद्र २२ गतेसम्म भागबन्डामा मग्न नेताहरू भाद्र २५ देखि नेतृत्व हत्याउने हतारमा देखिन पुगे। भातृ संगठनको जगमा पार्टीको महामन्त्रीजस्तो जिम्मेवार पदमा आसीन नेताहरू आफ्नो पूरा कार्यकालभरि कुनै भातृ संगठनको अधिवेशनको पक्षमा न कतै बोले न त कुनै पहलकदमी देखाए। 

अझै भद्दा नेविसंघ र तरुण दलमा आफ्ना मान्छेहरू भन्दै भागबन्डाको बार्गेनिङमा यिनलाई निकम्मा बनाउन लागिपरे , त्यसकै फलस्वरूप युवाहरूको असङ्गठित आवाजले जेनजी आन्दोलनको नाममा विनाशको रूप लियो। फेरि उल्टै सारा दोष अरूमाथि पन्छाएर आफू पानीमाथिको ओभानो देखिन रत्तीभर लाज मानेनन्,हिचकिचाएनन्।

अब प्रश्नहरू आउँछन् , नेपाली कांग्रेसको मुख्य समस्या नीति हो वा नेतृत्व ? शेरबहादुर देउवाको अनुहार फालेर गगन थापा वा कसैको अनुहार देखाउँदैमा पार्टी मजबुत भइहाल्ने भए हालै सम्पन्न निर्वाचनको परिणाममा कांग्रेसको नयाँ सभापति बनेर आएँ भनेकै व्यक्तिको र पार्टीका सबैजसो उम्मेदवारहरूको निर्वाचनमा लज्जास्पद पराजय कसरी हुन पुग्यो ?

महाधिवेशन भनेको सभापति वा पदाधिकारी फेर्ने अभ्यास मात्र हो वा वैचारिक मन्थनको प्रक्रिया पनि हो ?

नेपालको शासन व्यवस्थामाथि जनताको जबरजस्त अविश्वास पैदा भयो , किन? त्यो अविश्वास पैदा हुनुमा तत्कालीन माओवादसहित सबै दल जिम्मेवार छन्। तर कांग्रेस किन र कुन अर्थमा के के कारण बढी जिम्मेवार छ? त्यसको रिफ्लेक्सन कांग्रेसको अन्तर पार्टी संघर्षमा देखिन्छ , कसरी?

अहिलेको कांग्रेसको आन्तरिक अवस्थाले देशको सकारात्मक रूपान्तरणमा सिर्जना हुन सक्ने अवरोधहरू कस्ता छन्? ती अवरोधहरू सिर्जना हुनुमा कांग्रेसको आन्तरिक शक्तिसङ्घर्ष किन र कसरी जिम्मेवार छ?

अहिले जसरी विशेष महाधिवेशन जसलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको भनिएको छ , त्यो समूहलाई आवश्यक लाग्यो भन्ने बित्तिकै अर्को पक्षलाई निषेध गरेर आफ्नै पार्टी पङ्क्तिलाई दास र लासको संज्ञा दिने हर्कतले कांग्रेसको भलो हुन्छ ?  

हिजो स्थापना कालदेखि कांग्रेसमा बिपी सुवर्णको बिचमा होस् वा केही समय अघिसम्म शेरबहादुर देउवा र कोइराला परिवारको अन्तर सङ्घर्षको बिचमा ! सबै समयमा नेताहरूले संवाद र सहमतिकै बाटो रोजेर पार्टी एक राखेका हुन् भने अहिले विशेष महाधिवेशनको गलत प्रयोग (लुप होल)को सहारा लिएर पार्टी विभाजन गर्नुको प्रयोजन के हो ?

यावत् प्रश्नहरू इतिहासले सोध्ने नै छ।

आज जे सतहमा देखिएको छ यो सरासर वैचारिक स्खलनको दिशातर्फ उन्मुख हर्कतहरु हुन् । तर , सङ्कटले आविष्कारको अवसर पनि दिएकै हुन्छ। अबको कांग्रेस फेरिपनी तब मात्र जनताको अघि सार्थक साबित हुनसक्छ जब कांग्रेस आफ्नो वैचारिक स्खलनको बाटोबाट वैचारिक पुनर्ताजगीको बाटोमा आइपुग्नेछ।

वैचारिक पुनर्ताजगी के हो ? बिपी कोइरालाले समाजवादको सन्दर्भमा भन्नुभएको एक हरफको मद्दत लिन चाहन्छु , "हाम्रो मुलुक गरिब छ , हाम्रो मुलुक किसान छ , जुन नीति र कार्यक्रमबाट गाउँमा बस्ने किसानहरूको भलाई हुन्छ त्यही अवधारणा नै नेपालको समाजवादी अवधारणा हो।" तर आजको दिनमा उत्पादनको साधन बदलिएको छ। 

हिजो बिपीको समयको हलो,कोदालो वा दुहुनो गाईलाई हामी बिम्बात्मक रुममा मनन गर्दै आजको प्रविधियुक्त विश्वमा नेपालका जनतालाई कसरी समृद्धितर्फ उन्मुख गर्न सकिन्छ भन्नेमा मुख्य ध्यान दिनु आवश्यक छ। भूमण्डलीकरण वा पुजीवादबाट समाजको बढ्दो उचनीचको खाडललाई कसरी भर्न सकिन्छ भन्नेमा अबको चासो देखिनु आवश्यक छ। 

शिक्षा , स्वास्थ्य लगायतका मुख्य विषयमा सबैलाई कसरी समान अवसर प्रदान गर्न सकिन्छ भनेर राज्यले र राजनैतिक दलहरूले सोच्न जरुरी छ। जाति, पेसा, भाषा, वर्ण, लिङ्ग, भूगोलको आधारमा हुने विभेदलाई हटाई नेपाललाई अनेकतामा एकता भएको देशको रूपमा सिद्ध गर्न गरिनुपर्ने कार्यक्रमहरूको चर्चा हुनु जरुरी छ।  

बदलिँदो विश्व राजनीति र यसको प्रभावको सन्दर्भमा हाम्रो मुलुकको साझा लक्ष र चुनौतीहरूको बिस्तारमा  छलफल हुनु आवश्यक छ। यी सबै उत्तरदायित्व नेपालको राजनीतिमा अझैसम्म पनि नेपाली कांग्रेसकै हो। अन्तरपार्टी संघर्षमा अनकन बिचारहरूको साझा प्रतिनिधित्व खोज्दै , राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा एकताको मध्य बिन्दु खोज्न सक्ने क्षमता कांग्रेसमा छ र सबै विषयहरूलाई निष्कर्षमा पुर्‍याउनुपर्ने अभिभारा समेत अझैसम्म पनी कांग्रेसको काँधमा छ। तर कांग्रेस बरालिएको देखिएको छ। 

'मियो बिनाको दाइँ ' भनेझैँ वा ' कुहिरोको काग ' भनेझैँ कांग्रेसले अहिले आफ्नो गति, दिशा र लक्ष पहिल्याउन सकिरहेको छैन। लामो वादविवादबाट सही बिचार ठम्याउन सक्नुपर्ने अवस्थामा अहिले तर्कभन्दा बढी कुतर्क , एकतामा भन्दा बढी आपसमा अनावश्यक पौठेजोरी खोज्नमा कांग्रेस मग्न देखिन्छ। अब सारा समस्याको एक मात्र हल भनेको पानी धमिल्याएर माछा मार्ने पदलोलुप , महत्वाकांक्षी र अवसरका भोगिहरुविरुद्ध कांग्रेसका सम्पूर्ण युवा , तरुण र अग्रजहरू एक ढिक्का भई तिनको सही पहिचान गरी तिनलाई परास्त गर्नुमा नै छ। 

भोलिको दिनमा कांग्रेसको वैचारिक धरातलको जग नै यहाँको लोकतन्त्र र देशको भविष्यसँग जोडिएको छ। यसरी आदर्श र बिचारलाई तिलाञ्जली दिँदै फगत चिन्हको लडाइँमा कांग्रेस मग्न रहने हो भने यो कांग्रेसजनका लागि मात्र होइन समग्र देश र यहाँको समग्र लोकतान्त्रिक व्यवस्थाकै लागि अभिशाप सिद्ध हुने निश्चित देखिन्छ। 

जनताको ठुलो त्याग , तपस्या र साहदत्तपश्चात् प्राप्त यो व्यवस्थाको जगमा अझै थुप्रा उपलब्धिहरू हासिल गर्नतर्फ उद्धत हुनुपर्ने कांग्रेस अहिलेको निर्णायक समयमा पतन (स्खलन)को  बाटो नरोजोस् , एउटा उन्नत र परिष्कृत बिचारको साथ जनताको मनमा हाजिर बनोस्। 

केन्द्रमा जुँघाको लडाइँमा मग्न बन्दै जाँदा कसैको आफ्नो व्यक्तिगत अभीष्ट त पूरा होला तर वडा,पालिका तहमा निस्वार्थ भावनाले पार्टीमा आबद्ध लाखौँ सदस्यहरूको मनमा ठेस पुग्नेछ। यसरी शिथिल अवस्थामा आसन्न निर्वाचनमा होमिँदै गर्दा पार्टीको कुन हबिगत रहने हो भन्नेमा पार्टीका जिम्मेवार नेतृत्व पंक्ति बेलैमा होसियार हुनु आवश्यक छ। समयमै कुवा खने पछि सहज होला , घरमा आगो लागिसकेपछि कुवा खन्न हिँड्नुको कुनै तुक हुनेछैन । (नेपाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।)
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
यो पनि पढौँ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस