२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेपालको अग्लो स्थानबाट चिज उत्पादन सुरु गर्ने

नेपालको पहिलो चिज उत्पादन केन्द्र लाङटाङले अर्को वर्षदेखि अग्लो स्थानबाट चिज उत्पादन सुरु गर्ने भएको छ। २००९ सालमा स्थापना भएको केन्द्रले यालाखर्कबाट चिज उत्पादन सुरु गर्र्न लागेको हो।  

यो समुन्द्री सतहदेखि ५ हजार ५ सय मिटर उचाइमा रहेको छ। केन्द्रले अहिले जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्यान्जिन, छेप्चे र लाङसिसाबाट चिज तथा मखन उत्पादन गर्दै आएको छ। भूकम्प जानुपूर्व यालाखर्कमा कृषक जाने गरेका भएपनि पछिल्लो समय गएका थिएनन्। तर अर्को वषदेखि चौरीपालक कृषक यालाखर्क जानेछन्।

केन्द्रले वार्षिक ५ हजार केजीसम्म चिज उत्पादन गर्ने गरेको केन्द्र प्रमुख ग्याल्बु तामाङले बताए। ‘अहिले हामीले तीन स्थानबाट वार्षिक ५ हजार केजीसम्म चिज उत्पादन गर्दै आएका छौं’, उनले भने, ‘आगामी दिनमा ६ हजार केजीसम्म चिज उत्पादन गर्ने लक्ष्य छ।’ यो केन्द्रको  वार्षिक ६ हजार केजी चिज उत्पादन गर्ने क्षमता छ।  

कोभिड–१९ सुरु हुनुभन्दा पहिले यहाँ उत्पादन भएको चिज लाङटाङ तथा क्यान्जिनमा रहेका होटलमा खपत हुन्थ्यो। केही चिज पर्यटकले लाने गर्थे। तर पछिल्लो समय उत्पादन भएको चिज दुग्ध विकास संस्थानमा लैजाने गरिएको छ। यो दुग्ध विकास संस्थान अन्तर्गत सञ्चालित केन्द्र हो। केन्द्रमा उत्पादन भएको मखन चाहि त्यही खपत हुन्छ। ‘यहाँ वर्षेनी विभिन्न मेला सञ्चालन हुन्छ’, उनले भने, ‘यसकारण मखन बिक्रीमा समस्या आउँदैनन्।’  

केन्द्रले बैशाखदेखि कार्तिकसम्म चिज उत्पादन गर्दै आएको छ। तर यसपटक भने केन्द्रले असारबाट मात्र चिज उत्पादन सुरु गरेको छ। ‘कोभिड–१९ का कारण चिज उत्पादन ढिलो गरी सुरु भयो’,उनले भने, ‘यसपटक ५ हजार केजी चिज उत्पादन गर्ने लक्ष्य राखिएको छ।’

असारदेखि हालसम्म २ हजार केजी चिज उत्पादन भइसकेको छ। केन्द्रका अनुसार अहिले दैनिक रूपमा १ सय ५० देखि २ सय लिटरसम्म दुध संकलन भइरहेको छ। भूकम्प गएपछि केन्द्रले पूर्ण क्षमतामा चिज तथा मखन उत्पादन गर्न सकेको छैन। भूकम्पपछि चौरीपालक कृषक घटेको, उपकरणको अभाव, जनशक्तिको अभाव, कोभिड–१९ लगायतका कारण क्षमता अनुसार चिज उत्पादन हुन नसकेको केन्द्र प्रमुख तामाङले बताए।  

केन्द्रले चिज प्रतिकेजी १ हजार ४ सय र मखन प्रतिकेजी १ हजार २ सय रुपैयाँमा बिक्री गर्दै आएको छ। रसुवामा दुग्ध विकास संस्थान अन्तर्गत चारवटा केन्द्र सञ्चालनमा छन्। जिल्लाको गोसाइँकुण्ड गाउँपालिकास्थित पाङ्लेखर्क, चन्दनबारी र लाङटाङ तथा आमाछोदिङ्मो गाउँपालिकाको गत्लाङमा चिज उत्पादन हुँदै आएको छ।  

चारवटा केन्द्रमा वार्षिक ३६ हजार केजी चिज उत्पादन गर्ने क्षमता रहेको छ। गत्लाङ, धुन्चे र चन्दनबारीको केन्द्रमा वार्षिक १० हजार किलो र लाङटाङमा ६ हजार किलो चिज उत्पादन गर्ने क्षमता रहेको छ। जिल्लामा बैशाखदेखि असोज मसान्तसम्म चीज उत्पादन हुने गरेको छ। 

प्रकाशित: २५ भाद्र २०७८ ०७:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App