२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

राँके-रवि सडकखण्डमा भारतीय ठेकेदारको ‘होल्ड’, स्थानीयलाई बर्षेनी सास्ती

भारतीय ठेकेदार कम्पनीले काम ‘होल्ड’ गरिदिदा राँके–भेडेटार सडक खण्डको कालोपत्रे गर्ने काम अन्योल भएको छ। बर्खायाम सुरु भएसँगै सडक लथालिङ भएको छ भने अब सडक कालोपत्रे होला भन्ने आशा पनि हराउँदै गएको स्थानीय बासिन्दा बताउँछन्।

कालोपत्रे गरिसक्ने ३६ महिनाको म्याद सकेर थपिएको १ वर्ष पनि डिसेम्बरमा सकिँदै छ। तर कामको प्रगति अत्यन्त न्यून रहेको छ। आयोजना प्रमुख विदुर पोखरेलका अनुसार केबल १८ प्रतिशतमात्र काम भएको छ। अहिले बन, क्षेत्राधिकारको केहिको पनि अवरोध नभएपनि ठेकदार कम्पनीले कामलाई तीव्रता दिएको छैन्। वर्षमा एकदुई पल्ट काम गरेजस्तो गरेपनि कालोपत्रे गर्नेकामलाई गति दिएको छैन्।

यो क्षेत्रका बासिन्दाले पटक–पटक सम्बन्धीत निकायलाई ध्यान आर्कषण गराएका छैन। ठेकेदार कम्पनीले टेरेको छैन्। ‘हामीले पटक पटक प्रयास गर्दापनि काम अघि बढेन। थपिएको समयसिमामा काम सकिएन देखिँदैन। हामीलाई थाहा छ यो क्षेत्रका बासिन्दाले ठूलो दु:ख पाउनु भएको छ। तर ठेकेदार कम्पनीले काम गर्दै गरेन’ आयोजना प्रमुख पोखरेल भन्छन्, ‘माथिल्लो निकायबाट प्रयास हुनु पर्ने देखिन्छ।’ बर्खा लागेसँग यो सडकमा कन्तविजोक भएको छ। एम्बुलेन्स लगायतका अत्यावश्यक सेवाका गाडी चल्ने आवस्था छैन्। दु:खले चलिरहेका सिमित गाडीहरु ‘भगवान भरोसा’ मा छन्।  

२०७५ पुषमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सडकको शिलान्यास गरेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला भएको सहयाग सम्झौतामा यो सडक पनि परेको थियो। १९ नोभेम्बर २०१८ मा  २ डिम्बसर २०२१ सम्ममा काम सक्ने ठेक्का गरी सम्झौता भएको थियो। एक्जीन बैक अफ इण्डीयाको ऋण सहयोगमा यो सडकको काम अघि बढेको थियो   भारतीय ठेकेदार कम्पनी एफको इन्फ्राको प्रालीसँग ३ करोड २६ लाख १८ हजार ५ सय ४१ अमेरीकन डलरमा कालोपत्रेका लागी ठेक्का सम्झौता भएको थियो।  

वर्षौँदेखि सास्ती खेपेका यो क्षेत्रका बासिन्दा कालोपत्रे हुने भयो भनेर खुसी थिए। तर त्यो खुसी टिक्न सकेन। ठेकेदार कम्पनीले काम गर्दा अब कहिले यो बाटो नबन्ने रहेछ भन्ने टिप्पणी गर्छन्। मिक्लाजुङ गाँउपालीकाको कुरुम्बा कि स्वस्तीका लावतीले झापाको दमक पुगेर घुमेर फिदिम आएको सुनाइन्। बर्खामा दक्षिणी लिम्बा, दुर्दिम्बाका मोरङ, झापा, इलाम हुदै सदरमुकाम फिदिम आउँछन्। बर्खामा गाडी नचल्दा विरामी स्वास्थ्य संस्थामा लैजान साह्रै कठिन हुने गरेको फाल्गुनन्द गाँउपालीकाका देविचन्द्र आङदेम्बेले बताए।

ठेक्का लागि सकेको ठुलो प्रजेक्ट भएकाले स्थानीय तहले सडक स्तर उन्नती गर्न पनि पाएको छैन। यही सडकमा जोडिएका ग्रामिणसडहरु ग्राबेल स्तरका छन्। तर मुख्य सडक गाडी कुदाउनै नमिल्ने गरी बिग्रिएको छ।  

पाँचथर, इलाम, धनकुटाका विभिन्न गाँउहरु छोएको १ सय किलोमीटर लामो सडक खण्डमा हरेक बर्खामा स्थानीयले सास्ती भोग्नु पर्छ। ठूलो क्षेत्र समेट्ने यो सडकको भविष्य नै अन्योल बन्दै गएको छ। पाँचथरका फाल्गुनन्द, मिक्लाजुङ, इलामका देउमाई, फाफोकथुम, माङ्सेबुङ र धनकुटाको चौबेसे र सागुरीगडी स्थानीय तह छोएरअघि बढ्छ। विभिन्न स्थानीय तहका केन्द्र यही सडकले जोड्छ। राँके बजारबाट घुर्विसे पन्चमी, दशमी, रवि, लेखगाँउ, ६ नम्बर बुधबारे, डाँडाबजार, सौर्ये, राजारानी हुदैँ भेडेटारसम्म जोडिन्छ।

प्रकाशित: १३ असार २०७९ १२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App