विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
०२ असोज २०८३
•
८ मिनेट पाठ
विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
सुदूरपश्चिममा विद्यालय प्रवेश गर्ने बालबालिकाको सङ्ख्या धेरै भए पनि सबै विद्यार्थीको शैक्षिक यात्रा माथिल्लो कक्षासम्म पुग्न सकेको छैन। यहाँ अझै पाँचदेखि १२ वर्ष उमेर समूहका करिब २७ हजार बालबालिका विद्यालय बाहिर छन्। यस्तै, विद्यालयमा रहेका विद्यार्थीको तहगत सङ्ख्या, विद्यालय छाड्ने, कक्षा दोहोर्‍याउने र माथिल्लो कक्षामा उक्लिने दरले पनि विद्यालयमा प्रवेश गरेपछि विद्यार्थीलाई निरन्तरता दिन चुनौती रहेको देखाएको छ।  




प्रदेशको सामाजिक विकास मन्त्रालय र प्रदेश शिक्षा निर्देशनालयको तथ्याङ्कले कक्षा १–१२ मा अध्ययनरत विद्यार्थीको सङ्ख्या २०८० सालमा सात लाख ४४ हजार ६५१ रहेकामा २०८१ सालमा सात लाख २५ हजार ६२७ र २०८२ सालमा सात लाख चार हजार ६९२ मा झरेको देखाउँछन्। यसले दुई वर्षमा विद्यार्थी सङ्ख्या ३९ हजार ९५९ ले घटेको र माथिल्लो कक्षामा विद्यार्थीको निरन्तरताको चुनौती रहेको प्रष्ट पारेको छ।  

विसं २०८२ मा कक्षा १–५ मा तीन लाख ३४ हजार ९७७ विद्यार्थी रहेकामा कक्षा ६–८ मा एक लाख ९५ हजार ७५२, कक्षा ९–१० मा एक लाख ९९२ र कक्षा ११–१२ मा ६४ हजार ७०० विद्यार्थी छन्। यसरी आधारभूत तहबाट माध्यमिक तहको माथिल्लो कक्षामा पुग्दा विद्यार्थीको सङ्ख्या उल्लेख्य रूपमा घट्दै गएको विवरणमा उल्लेख छ।  

कक्षा ९–१० मा पनि २०८० सालको एक लाख १४ हजार २७७ विद्यार्थीबाट २०८२ सालमा एक लाख ९९२ मा झरेको छ। कक्षा ११–१२ को विद्यार्थी सङ्ख्या भने सोही अवधिमा ७७ हजार ७७१ बाट घटेर ६४ हजार ७०० पुगेको छ। दुई वर्षमा कक्षा ११–१२ को विद्यार्थी सङ्ख्या १३ हजार ७१ अर्थात् करिब १७ प्रतिशतले घटेको हो।  

सामाजिक विकास मन्त्रालयका शिक्षा निर्देशक उपसचिव जयदेव महरा यी तथ्याङ्कले बालबालिकालाई विद्यालय भित्र्याउनेसँगै भर्ना भएका विद्यार्थीलाई टिकाउने, सिकाउने र माथिल्लो तहसम्म पुर्‍याउने चुनौती देखाएको बताउँछन्।

कक्षा बढ्दै जाँदा निरन्तरताको खाडल  

प्रदेश शिक्षा निर्देशनालयका अनुसार सुदूरपश्चिममा कक्षा ५ सम्मको निरन्तरता दर ८५ दशमलव पाँच प्रतिशत र कक्षा ८ सम्मको ७९ दशमलव एक प्रतिशत छ। कक्षा ८ सम्मको यो दर राष्ट्रिय औसत ७९ दशमलव आठ प्रतिशतभन्दा केही कम हो। माथिल्लो तहमा पुग्दा खुद भर्नादरको अन्तर अझ फराकिलो बन्दै जाने गरेको विवरणमा उल्लेख छ।

सन् २०२५/२६ को शैक्षिक सूचकअनुसार सुदूरपश्चिममा कक्षा ९–१० को खुद भर्नादर ६९ दशमलव तीन प्रतिशत र कक्षा ११–१२ को २९ दशमलव तीन प्रतिशत छ। राष्ट्रिय स्तरमा यी दर क्रमशः ७३ दशमलव छ र ३५ दशमलव एक प्रतिशत छन्।  

जिल्लागत रूपमा कक्षा ११–१२ को खुद भर्नादरमा पनि ठूलो अन्तर छ। डोटीमा १३ दशमलव सात प्रतिशत, डडेल्धुरामा १६ प्रतिशत र दार्चुलामा २१ दशमलव सात प्रतिशत हुँदा कैलालीमा ३४ दशमलव तीन र कञ्चनपुरमा ३२ दशमलव नौ प्रतिशत छ।  

शिक्षा निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले आधारभूत तहमा विद्यालयमा रहेका विद्यार्थीलाई माध्यमिक तहको माथिल्लो कक्षासम्म पुर्‍याउनु प्रदेशका लागि ठूलो चुनौतीका रूपमा देखिएकाले अब त्यहीअनुसार सम्बोधनको प्रयास आवश्यक रहेको बताएका छन्।

समस्या कक्षा १ बाटै सुरु हुन्छ  

विद्यार्थीको निरन्तरतामा देखिएको समस्या माथिल्लो तहमा मात्र नभई कक्षा एकबाटै सुरु हुने गरेको प्रदेशको पछिल्लो शैक्षिक तथ्याङ्कले देखाएको छ। त्यसआधारमा यहाँ कक्षा १ मै विद्यालय छाड्ने दर ११ दशमलव सात प्रतिशत छ। कक्षा १–५ मा आठ दशमलव पाँच, कक्षा ६–८ मा चार दशमलव नौ र कक्षा ९–१० मा चार दशमलव आठ प्रतिशत विद्यार्थीले विद्यालय छाड्ने गरेका छन्।  

कक्षा १ को विद्यालय छाड्ने दर राष्ट्रिय औसत नौ दशमलव एक प्रतिशतभन्दा दुई दशमलव छ प्रतिशत बिन्दुले बढी छ। कक्षा ६–८ मा भने प्रदेशको दर राष्ट्रिय औसत पाँच दशमलव चार प्रतिशतभन्दा कम छ। यसले प्रारम्भिक कक्षामै विद्यार्थीलाई विद्यालयमा टिकाइराख्ने विषयमा विशेष ध्यान आवश्यक रहेको देखाउँछ।  

विद्यालय छाड्नुका साथै एउटै कक्षा दोहोर्‍याउने दर पनि प्रारम्भिक तहमा उच्च छ। कक्षा १ मा १९ दशमलव तीन प्रतिशत विद्यार्थीले कक्षा दोहोर्‍याएका छन्। कक्षा १–५ मा ११ दशमलव तीन, कक्षा ६–८ मा १२ दशमलव पाँच र कक्षा ९–१० मा चार दशमलव दुई प्रतिशत छ।  

कक्षा १ को कक्षा दोहोर्‍याउने दर राष्ट्रिय औसत १३ प्रतिशतभन्दा छ दशमलव तीन प्रतिशत बिन्दुले बढी हो। कक्षा १–५ र ६–८ को दर पनि राष्ट्रिय औसतभन्दा बढी छ।  

प्रदेशमा कक्षा उक्लिने दरमा पनि समस्या देखिएको छ। कक्षा १ बाट दुईमा उक्लिने दर सुदूरपश्चिममा ६९ दशमलव एक प्रतिशत छ भने राष्ट्रिय दर ७८ प्रतिशत छ। कक्षा १–५ मा प्रदेशको दर ८० दशमलव दुई र राष्ट्रिय ८३ प्रतिशत तथा कक्षा ६–८ मा प्रदेशको ८२ दशमलव छ र राष्ट्रिय ८७ दशमलव चार प्रतिशत छ।  

विद्यालयबाहिरै छन् २७ हजार  

प्रदेशमा विद्यालयमै नपुगेका बालबालिकाको सङ्ख्या पनि ठूलो छ। विसं २०८२ को तथ्याङ्कअनुसार पाँचदेखि १२ वर्ष उमेर समूहका २६ हजार ९८५ बालबालिका विद्यालय बाहिर छन्।  

जिल्लागत रूपमा सबैभन्दा बढी कैलालीमा नौ हजार नौ बालबालिका विद्यालय बाहिर छन्। यस्तै कञ्चनपुरमा चार हजार ९१०, अछाममा दुई हजार ४८२, डोटीमा दुई हजार २०९, बैतडीमा दुई हजार २०० र बझाङमा दुई हजार १३८ जना छन्। बाजुरामा एक हजार ५४५, दार्चुलामा एक हजार २७२ र डडेल्धुरामा एक हजार २२० जना विद्यालय बाहिर छन्।  

कैलाली र कञ्चनपुरमा मात्रै विद्यालय बाहिर रहेका बालबालिकाको सङ्ख्या १३ हजार ९१९ छ, जुन प्रदेशको कुल सङ्ख्याको आधाभन्दा बढी हो। यसले विद्यालय बाहिर रहेका बालबालिकाको समस्या दुर्गम पहाडी जिल्लामा मात्र सीमित नरहेको देखाउँछ।  

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कैलालीका प्रमुख जीवन न्यौपाने कैलाली–कञ्चनपुरमा जनसङ्ख्याको चाप बढी भएकाले विद्यालय बाहिर रहेका बालबालिकाको सङ्ख्या पनि बढी देखिएको बताउँछन्। तर आर्थिक अवस्था, रोजगारी, शिक्षाप्रतिको लगाव र चेतनालगायत बहुआयामिक कारणले शिक्षा क्षेत्रमा समस्या रहेको उनी बताउँछन्।  

'यहाँ जनसङ्ख्याको चाप पनि बढी छ। त्यससँग बहुआयामिक समस्या पनि जोडिएका छन्। आर्थिक अवस्था, रोजगारी, शिक्षाप्रतिको लगाव, चेतनालगायत कारणले शिक्षा क्षेत्रमा विविध समस्या छन्। ठूलो सङ्ख्यामा बालबालिका विद्यालय बाहिर रहनु गम्भीर समस्या हो। यसका कारण र समाधानका लागि सबै गम्भीर बन्नुपर्ने आवश्यकता छ', उनले भने।  

जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका प्रमुख दीपकराज कलौनीले स्थानीय तहसँग मिलेर विद्यालय शिक्षाको पहुँच सुनिश्चित गर्न प्रयास भइरहेको बताए। संविधानले तीनै तहका अधिकारबारे प्रष्ट व्यवस्था गरेकाले सोही अधिकारअनुसार समन्वय इकाई र जिल्लामा रहेका स्थानीय तहले कार्ययोजना बनाएर काम गरे पनि अभिभावकलाई थप जिम्मेवार बनाउने गरी क्रियाशील हुनुपर्ने आवश्यकता बोध गरिएको उनले बताए।

तराईका १० पालिकामा बढी समस्या  

धेरै बालबालिका विद्यालयबाहिर रहेका स्थानीय तह पनि कैलाली र कञ्चनपुरमै छन्। प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा पाँचदेखि १२ वर्ष उमेर समूहका एक हजार ८२५ बालबालिका अझै विद्यालयको पहुँचमा आउन सकेका छैनन्।  

त्यसपछि गोदावरी नगरपालिकामा एक हजार ४२२, लम्कीचुहा नगरपालिकामा एक हजार २२९, भीमदत्त नगरपालिकामा एक हजार २२७, कृष्णपुरमा ९१३, टीकापुरमा ८८३, घोडाघोडीमा ८४०, गौरीगङ्गामा ६९१, पुनर्वासमा ६०८ र बेदकोटमा ५२३ जना बालबालिका विद्यालयबाहिर रहेका छन्।  

सामाजिक विकास मन्त्रालयका निर्देशक महरा जनसङ्ख्या बढी भएकाले यी स्थानीय तहमा सङ्ख्या बढी देखिनसक्ने भए पनि सुगम मानिएका कैलाली–कञ्चनपुरमै विद्यालय बाहिर धेरै बालबालिका रहेको देखिनु थप अध्ययनको विषय भएको बताउँछन्।  

'आधारभूत तहको शिक्षासम्बन्धी अधिकार स्थानीय तहको प्रत्यक्ष सरोकार भएकाले स्थानीय सरकार यसमा गम्भीर बन्नुपर्ने आवश्यकता छ। त्यसमा प्रदेश तथा सङ्घीय सरकारले पनि थप गम्भीरताका साथ सहयोग गर्नुपर्ने देखिन्छ', उनले भने।  

गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख वरिष्ठ शिक्षा निर्देशक हरिश पन्त पालिकामा रहेका शिक्षासम्बन्धी समस्या समाधानका लागि रणनीति निर्माणको काम भइरहेको बताउँछन्। वडा तहबाट वास्तविक समस्या पहिचान गर्ने र त्यसका आधारमा थप क्रियाकलाप अघि बढाउने काम भइरहेको उनले बताए।

अबको बाटो : पहुँच वृद्धि र निरन्तर सिकाइ  

प्रदेश शिक्षा निर्देशनालयका महानिर्देशक विष्ट करिब २७ हजार बालबालिका विद्यालयको पहुँचमा नरहनु तीनै तहका सरकार तथा शिक्षा क्षेत्रका सरोकारवालाका लागि चिन्ताको विषय भएको बताउँछन्। विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउनुका साथै विद्यालयमा रहेका विद्यार्थीलाई माथिल्लो तहसम्म टिकाउने काम पनि उत्तिकै महत्वपूर्ण भएकाले सबैले मिलेर काम गर्नुपर्नेमा उनको जोड छ।  

सामाजिक विकास मन्त्रालयका निर्देशक महराले शिक्षा क्षेत्रमा रहेका समस्या समाधानका लागि प्रदेश सरकारले विभिन्न कोणबाट पहल गरिरहेको बताएका छन्। उनले अभिभावकविहीन, अपाङ्गता भएका, समस्यामा परेका तथा सीमान्तकृत समुदायका बालबालिकालाई लक्षित गरी छात्रवृत्ति, आवासीय विद्यालय र विशेष विद्यालयजस्ता कार्यक्रम सञ्चालन गर्न थालिएको बताए।  

'हाम्रो ध्येय हाल देखिएका सबै समस्याका कारण, परिणाम र समाधानका लागि सरोकार भएका सबैले मिलेर काम गर्नुपर्ने आवश्यकता छ। प्रदेश सरकार एक्लैले सबै समस्याको समाधान गर्न सक्दैन, संविधानप्रदत्त शिक्षाको हक कार्यान्वयनका लागि स्रोतसाधनले भ्याएसम्म हामीले काम गरिरहेका छौँ', निर्देशक महराले भने।  

यहाँ शिक्षामा बहुआयामिक समस्या छन्। एउटा समूह विद्यालयको पहुँचमै पुगेको छैन। विद्यालय पुगेको अर्को समूह प्रारम्भिक कक्षाबाट हराइरहेको छ। अर्को समूह कक्षा दोहोर्‍याइरहेको छ। आधारभूत तह पार गरेको ठूलो समूह माध्यमिक तहको माथिल्लो कक्षासम्म पुग्न सकेको छैन। यी सबै पक्षलाई हेरेर तीनै तहका सरकार र विकास साझेदारले पनि आफ्नो रणनीति बनाउनुपर्ने देखिएको छ।  

त्यसका लागि संविधान र प्रचलित कानुनले सुनिश्चित गरेको शिक्षाको हक कार्यान्वयनका लागि तीनै तहका सरकारबीच जिम्मेवारी र समन्वयको निरन्तर समीक्षा आवश्यक छ। विद्यालय बाहिर रहेका बालबालिकाको पहिचानदेखि विद्यालयमा टिकाइ, सिकाइको गुणस्तर र माध्यमिक तहसम्मको निरन्तरतासम्म स्थानीय, प्रदेश र सङ्घीय सरकारका कार्यक्रमबीच समन्वय आवश्यक छ।  

नागरिकको शिक्षा पाउने हक बृहत् मानव अधिकारको विषयसमेत भएकाले यसको प्रभावकारी कार्यान्वयनमा राष्ट्रिय मानव अधिकार आयोग, संसद्का विषयगत समिति तथा नियमन र अनुगमनकारी निकायको भूमिका पनि महत्वपूर्ण हुने जानकारहरू बताउँछन्। यी निकायले आफ्ना संयन्त्रमार्फत राज्यका निकायलाई थप जिम्मेवार बनाउने र अभिभावकको कर्तव्यपालनाका लागि जागरुक बनाउन लाग्नुपर्ने जरुरी छ। रासस
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
१८ घण्टा अघि
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस