अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा विशेषज्ञ डाक्टरसहित दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। ग्रामीण क्षेत्रका बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
सामान्य उपचारका लागि सन्धिखर्क, बुटवल तथा काठमाडौं जानुपर्ने बाध्यता शिविरले हटाएको भन्दै स्थानीय खुसी भएका छन्। बिरामीहरूले निःशुल्क रुपमै स्वास्थ्य परीक्षण सेवा, स्त्री रोग सम्बन्धी सेवा, टाउको तथा नशा रोग सम्बन्धी सेवा, नाक कान तथा घाँटी रोग, फिजिसियन तथा परामर्श सेवा, सुगर रोग, तथा भिडियो एक्सरे सेवा, फिजियो थेरापी सेवा लिन पाएपछि उनीहरु खुसी थिए।
विगत ७ वर्षदेखी बुटवलमा नशा रोगको उपचार गराउँदै आएका छत्रदेव ८, अर्घातोषका ८४ वर्षिय रामनाथ पाण्डेले गाउँ ठाउँमै उपचारमा गराउन पाएपछि बुटवल जाने आउने खर्च जोगिएको बताए।
‘बेलाबेला उपचार गराउन बुटवल गईराख्न पर्थ्यो,उनले भने,‘चेकजाँच यँहीं गर्न पाइयो, जाने आउने खर्च पनि जोगियो।’
छत्रदेव ४, बलकोका ८१ वर्षिय मोतिलाल सुनार पनि घरदैलोमै निःशुल्क उपचार गराउन पाएपछि हर्षित थिए। सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) बुझेर उपचार गराउने योजनामा रहेका सुनार गाउँपालिकाले निःशुल्क उपचारसँगै औषधी पनि निःशुल्क नै प्रदान गरेपछि उनले धन्यवाद दिए।
‘वृद्ध भत्ता बुझेर जँचाउन जाम्ला भन्ने सोचेको थिएँ। यहीँ जँचाउन पाएँ, औषधी पनि सित्तैमा पाइयो। वृद्ध भत्ता जोगिने भयो’ उनले भने।
स्वास्थ्य शिविरबाट गाउँपालिकाका ७ सय ६८ जनाले सेवा लिएको अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिए। जसमध्ये १४४ जनाले सुगर जाँच, १०९ जनाले भिडियो एक्सरे, ९६ जना महिलाले पाठेघरको जाँच गराएका उनले बताए। गाउँपालिकाले नागरिकको सहजताका लागी निःशुल्क उपचारको व्यवस्था गरेको उनले बताए।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपानेका अनुसार ९६ जनाले पाठेघर जाँच गराएकामा दुई जनालाई बाहिर रिफर गरिएको बताए। दुई जनामा क्यान्सरसंग मिल्दोजुल्दो लक्षण देखिएकाले थप परीक्षणका लागी रिफर गरिएको उनले बताए।
भिडियो एक्सरेबाट मिर्गौलाको पत्थरी, पित्त थैलीको पत्थरी, कलेजोमा बोसो भए–नभएको पत्ता लाग्ने भएपछि भिडियोमा बिरामीको चाप भएको स्वास्थ्य शाखा प्रमुख न्यौपानेले बताए। साथै शिविरमा औषधी पनि निःशुल्क प्रदान गरिएको उनले जानकारी दिए।
डा. विकास अर्याल, डा. तिलकराज खनाल, डा. उर्मिला श्रेष्ठ, डा. रीता प्रधान, डा.राजेन्द्र श्रेष्ठ, डा.कपिल ज्ञवाली, डा.देवेन्द्र बेल्वासे लगायतको टिमले शिविरमा उपचार गरेको थियो।
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।
अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।
शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।
स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।
गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'
गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।
प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।
सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।
तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।
स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'
उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...