२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

निजी अस्पताल पोस्न रेडियोथेरापी सेवा बन्द

क्यान्सर रोगको रोकथाम र उपचारमा संलग्न काठमाडौं उपत्यकामा सञ्चालित एक मात्र सरकारी अस्पताल भक्तपुर क्यान्सर अस्पतालले रेडियोथेरापी सेवा बन्द गर्ने भएपछि हजारौं क्यान्सरका रोगीलाई मर्का पर्ने भएको छ। कतिपय अवस्थामा क्यान्सरको शल्यक्रिया गरेको २१ दिनभित्र रेडियोथेरापी उपलब्ध गराइसक्नुपर्छ भने किमोथेरापीपछि पनि दिनुपर्ने हुन सक्छ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णुदत्त पौडेलले २०७९ फागुन १ गते नै रेडियसन अन्कोलोजी विभागलाई लेखेको पत्रमा २०७९ चैत १ देखि अर्को व्यवस्था नभएसम्मका लागि यस्तो सेवा बन्द गरेको जानकारी गराएका थिए। जसमा करिब २ सय बिरामीलाई रेडियोथेरापीका लागि समय दिइसकेकाले फागुन मसान्तसम्म यस्तो सेवा उपलब्ध गराइसक्न पनि भनिएको थियो। सो सूचनाअनुसार अब बुधबार (चैत १) देखि भक्तपुर क्यान्सर अस्पतालमा विस्तारित स्वास्थ्य सेवा (इएचएस) अन्तर्गतको रेडियोथेरापी सेवा सञ्चालन हुनेछैन। सो सेवा सञ्चालन भइहाले पनि निर्धारित समय तोकेर हुनेछ, जसले बढ्दो सेवाग्राहीको माग धान्न असम्भव हुनेछ। अर्थात् प्रतिदिन १ सय जनाभन्दा बढीले सेवा पाइरहेकोमा तोकिएको समयभित्र मात्र काम हुँदा ४० जनाले मात्र सेवा लिने अवस्था रहन्छ।

सञ्चालन भइरहेको सेवा रोक्ने निर्णयप्रति अस्पतालकै वरिष्ठ डाक्टरहरूसमेत विरोधमा उत्रिएका छन्। उक्त अस्पतालका पूर्वमेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्टेन्ट सर्जन प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठ कुनै हालतमा यस्तो सेवा रोक्न नहुने बताउँछन्। उनले भक्तपुर क्यान्सर अस्पताल विकास समितिका पदाधिकारीहरूलाई सम्बोधन गरेर यसबारे पत्र नै पठाएका छन्। त्यसमा भनिएको छ, ‘इएचएस बन्द भए गरिब, निमुखा क्यान्सर बिरामीहरूलाई सस्तो, सुलभ र गुणस्तरीय सेवाबाट वञ्चित भई निजी अस्पतालमा महँगो शुल्कमा रेडियोथेरापी गराउनुपर्ने बाध्यता हुन्छ।’

अस्पताल प्रशासनको यस्तो कामलाई निजी अस्पताल पोस्ने षड्यन्त्रका रूपमा धेरैले लिएका छन्। प्रा.डा. श्रेष्ठले त आफ्नो पत्रमा स्पष्टै भनेका छन्, ‘केही व्यक्ति अस्पतालभित्र सञ्चालन भइरहेको इएचएस बन्द गराई निजी अस्पतालमा रेफर गरी कमिसनतन्त्र स्थापित गर्न चाहन्छन्।’ अस्पतालमा रेडियोथेरापी सेवा उपलब्ध गराउने मेसिन एक थान मात्र छ। त्यसैले सेवाग्राहीको मर्कालाई ध्यानमा राखी कार्यालय समयबाहेक पनि बिहान र बेलुका गरी अस्पतालले उक्त सेवा उपलब्ध गराउँदै आएको थियो। यो अस्पतालमा रेडियोथेरापी गरेको ७५ हजारदेखि १ लाख १५ हजार रूपैयाँसम्म शुल्क लाग्छ भने निजी अस्पतालहरूमा २ लाखबाट सुरु भएर ३ लाख ५० हजार रूपैयाँसम्म लिने गरिन्छ। निजी अस्पतालमा रेफर गरेर आर्थिक फाइदा लिनकै लागि आफ्नो अस्पतालको सेवा बन्द गर्न लागेको दाबी गर्दै श्रेष्ठ भन्छन्, ‘यसमा केही समस्या भए सुधार गर्न सकिन्छ, सेवा नै बन्द गर्नुको अर्थ नत्र के हुन्छ त ?’

अस्पताल प्रशासन क्यान्सर रोगीका लागि अपरिहार्य सेवा बन्द गर्ने निर्णयमा पुग्नुमा आन्तरिक कारण पनि भएको एक कर्मचारी बताउँछन्। उनका अनुसार यो सेवा रेडियसन अन्कोलोजी विभागअन्तर्गतका कर्मचारीले उपलब्ध गराउँछन्। आफ्नो ड्युटी आवरबाहेकको समयमा काम गरेबापत उनीहरूले तहअनुसार मासिक २ हजारदेखि ७ हजार रूपैयाँसम्म भत्ता पाउँछन्। यो विभागबाहेकका कर्मचारीले यस्तो भत्ताको विरोध गरेका कारण पनि प्रशासन यस्तो निर्णय लिन पुगेको ती कर्मचारीको भनाइ छ।

अन्कोलोजी विभागमा २२ कर्मचारी संलग्न छन्। उनीहरूले ड्युटी आवरभन्दा अघि वा पछि पनि यस्तो सेवा उपलब्ध गराउँछन्। त्यसबापत प्राप्त हुने आम्दानीमध्ये निश्चित प्रतिशत अस्पताललाई राखी बाँकी तहअनुसार भत्ताका रूपमा वितरण गरिँदै आएको छ। अहिले यो सेवा नै बन्द गर्ने निर्णय हुनुको मुख्य कारण यसलाई पनि मानिँदै आएको छ। यसरी जगेडा समयमा सेवा उपलब्ध गराएबापत प्राप्त हुने आम्दानी सेवा प्रदानमा संलग्न नहुने अन्य कर्मचारीलाई समेत भाग लगाउनुपर्ने एकथरीको माग रहँदै आएको छ।  

जबकि विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ ले यस्तो आम्दानीबाट प्रत्यक्ष खर्च कटाएर आम्दानीको २० प्रतिशत रकम अस्पताल विकास समितिलाई छुट्याएर बाँकी ८० प्रतिशतलाई १०० प्रतिशत मानी चिकित्सक र अन्य स्वास्थ्यकर्मी (इन्कुलिडङ प्रेसक्राइबर) लाई ९० प्रतिशत र लेखा, प्रशासन, स्टोर काउन्टर मेडिकल रेकर्डर, बायोमेडिकल, सरसफाइलगायत कर्मचारीलाई १० प्रतिशत उपलब्ध गराउने उल्लेख गरेको छ।

फागुनअघिसम्म दैनिक करिब १२० जनाले यस्तो सेवा लिने गरेका थिए। फागुनभर २०० जनाले मात्र लिन सके। अब चैत १ देखिका लागि रेडियोथेरापीका बिरामी लिने कि नलिने भन्ने अन्योल कर्मचारीमा देखिएको छ। भक्तपुर क्यान्सर अस्पताल, कर्मचारी युनियनका अध्यक्ष शिवराम धुख्वा कुनै पनि हालतमा यस्तो सेवा बन्द गर्न नहुने पक्षमा आफूहरू रहेको तर प्रशासनका कारण केही अन्योल भने रहेको बताउँछन्।

भक्तपुर क्यान्सर अस्पताल विकास समितिमा भक्तपुर नगरपालिकाका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्य तथा भक्तपुर–९ का अध्यक्ष रवीन्द्र ज्याख्व समितिको बैठक लगातार बसिरहेको र बिरामीलाई उपलब्ध गराइने सेवा प्रभावित नहुने गरी निर्णय गरिने दाबी गर्छन्। उनका अनुसार जगेडा समयमा उपलब्ध गराइएको सेवाबाट प्राप्त हुने शुल्क बाँडफाँटको व्यवस्थापन गर्ने क्रममा केही समस्या देखिएको हो, जुन चाँडै समाधान हुनेछ। सबैलाई उपचार प्रदान गर्न नसकिए डक्टरले कमिसनकै लागि रिफर गर्न सक्ने सम्भावना उक्त अस्पतालका प्रशासन प्रमुख राजाराम तजले पनि औंल्याउँछन्। उनका अनुसार सरकारले जारी गरेको विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०७७ अनुसार अतिरिक्त आम्दानी बाँडफाँटका लागि सेवा केही प्रभावित भए पनि अब केही दिनभित्र सुधारिनेछ।

डब्लुएचओका अनुसार प्रति १० लाख जनसङ्ख्याका लागि एउटा यस्तो मेसिन आवश्यक पर्छ। यसरी हेर्दा नेपालमा कम्तीमा पनि ३० वटा रेडियोथेरापी मेसिन आवश्यक हुन्छ। तर करिब २० करोड रूपैयाँ पर्ने यो मेसिन मुलुकभर १० वटा मात्र रहेको सम्बन्धित विज्ञले बताएका छन्। त्यही कारण पनि रेडियोथेरापीका लागि ५–६ महिनाअघिदेखि नाम लेखाउनुपर्छ। यस्तो अवस्थामा अस्पतालले सेवा कटौती गर्दा विशेषगरी गरिब क्यान्सरपीडितहरू थप मारमा पर्ने प्रा.डा. ऋषिकेशको भनाइ छ।

 

प्रकाशित: ३० फाल्गुन २०७९ ००:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App