६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

ई-सिगरेटमाथि प्रतिबन्ध

जनस्वास्थ्यमा गम्भीर असर पार्ने देखिएपछि सरकारले ई–सिगरेटमा प्रतिबन्ध लगाएको छ। नेपाली बजारमा खुलेआम आयात, बिक्री र प्रयोग भइरहेको अवस्थामा सरकारले यसमा प्रतिबन्ध लगाएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रले विद्यमान कानुनी व्यवस्था तथा सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रणसम्बन्धी निर्देशिका–२०७१ बमोजिम प्रतिबन्ध लगाउन निर्देशन दिएको छ। केन्द्रका अनुसार स्वास्थ्य सेवा विभागको निर्णयअनुसार ई–सिगरेटमा प्रतिबन्ध लगाउन निर्देशन भएको हो।

ई–सिगरेटमा प्रतिबन्ध लगाउने वैशाख १६ को निर्णय कार्यान्वयन गर्न १७ गते नै सरोकारवाला कार्यालयहरूमा पत्राचार गरिसकिएको केन्द्रका प्रवक्ता डा. भक्तबहादुर केसीले बताए।

उनका अनुसार अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, भन्सार विभागलगायतलाई पत्राचार भइसकेको छ। ‘सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण निर्देशिकामा ई–सिगरेट प्रतिबन्धित छ। यसको पालना गर भन्ने पत्र सबैलाई पठाएका हौं,’ उनले भने।

निर्देशिकाको दफा २८ मा टेकेर ई–सिगरेटमा प्रतिबन्ध लगाइएको डा. केसीले बताए। यसले जनस्वास्थ्यमा व्यापक असर गर्ने भएकाले प्रतिबन्ध लगाइएको उनले बताए। उनका अनुसार अब आयातकर्ता पनि कारबाहीमा पर्नेछन्। तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्र नेपाल ३२ लाख ई–सिगरेट आयात भएको र २१ करोड मूल्यबराबरको व्यापार भएको देखिन्छ।

हुक्का र भेप प्रयोगको डिभाइस १० देखि १३ हजार मूल्य पर्छ। भन्सार विभागको तथ्यांकअनुसार पाँच वर्षमा ३५ लाख ६९ हजार पाँच सय ६३ थान ई–सिगरेट नेपाल भित्रिएको छ। जसको मूल्य २३ करोड ४० लाख रुपैयाँ बराबर हुन्छ।

विभागका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा १ लाख २८ हजार ६ सय ६५ थान ई–सिगरेट आयात भएको देखिन्छ। ई–सिगरेट गैरधूमपानको रूपमा प्रचार गरी नेपाली बजारमा व्यापक रूपमा खपत भएको तथ्यांकले आंैल्याएको छ।

चिकित्सकका अनुसार ई–सिगरेटको प्रयोगले दम हुने, श्वास–प्रश्वासमा समस्या देखिने र पछि गएर फोक्सोको क्यान्सरसमेत हुन्छ। जनस्वास्थ्यमा गम्भीर असर पर्ने देखिएपछि विभिन्न ४६ वटा देशहरूले ई–सिगरेटमा प्रतिबन्ध लगाइसकेका छन्। प्रतिवन्ध लगाउनेमा नेपाल ४७औं देश बनेको छ।  

प्रकाशित: २६ वैशाख २०८१ ०७:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App