वर्षातका स्वास्थ्य समस्या
०१ असोज २०७५
•
११ मिनेट पाठ
वर्षातका स्वास्थ्य समस्या
गर्मी मौसममा तापक्रमको वृद्धिसँगै भिँगा, लामखुट्टे, उडुस, उपियाँको वृद्धिका कारण विभिन्न थरिका संक्रामक रोग उत्पन्न हुन्छन् । गर्मी मौसममै सर्पको टोकाइ, बहुला कुकुरको टोकाइका घटना पनि बढ्ता हुने गरेको छ । महामारी फैलिन सक्छ । हावाहुरीको कारणले आँखाको तथा छालाको स्वास्थ्यमा असर गर्न सक्छ । 

दूषित खाना, पानी, फोहोर हात, भाँडाकुँडा, झिँगा, लामखुट्टे आदिको माध्यमबाट सरुवा रोगहरु संक्रमित व्यक्तिबाट निरोगी व्यक्तिमा सर्दछ । यस्ता खाले संक्रामक रोगहरु ब्याक्टेरिया, भाइरस, प्रोटोजोआ आदिको कारणले लाग्दछ । टाइफाइड (म्यादे ज्वरो), रगत मासी, हैजा, घाउ, खटिरा ब्याक्टेरियाका कारण लाग्ने सरुवा रोगहरु हुन् भने दादुरा, मेनिन्गोइन्सेफलाइटिस, हेपाटाइटिस ए तथा फाट्टफुट्ट रुपमा सुख्खा मौसममा पनि रुघाखोकी तथा श्वासप्रश्वाससम्बन्धी संक्रमण भाइरसका कारण हुने गर्दछ । मेनिन्जाइटिस, झाडापखाला तथा घाउ खटिराजस्ता संक्रमणहरु सुुरुमा भाइरसका कारण उत्पन्न हुन्छन् । 

औलो, कालाज्वर, आउ“जस्ता रोगहरु प्रोटोजोआको कारण लाग्ने सरुवा रोग हुन् । तराईंको जस्तै उष्ण हावापानी भएका भित्री मधेस, टार, खोंचमा लामखुट्टेको टोकाइबाट औलो, इन्सेफलाइटिस तथा कालाज्वरजस्ता सरुवा रोगहरु पनि देखिन सक्छ । 

आँखा पाक्ने समस्या

आँखालाई ढाक्ने एउटा पातलो पारदर्शी झिल्लीमा ब्याक्टेरिया, भाइरस, एलर्जीको कारणले संक्रमण हुँदा आँखा पाक्ने रोग लाग्छ । दूषित पानी र सरसफाइको कमीले वर्षात् मौसममा यसको प्रकोप अलि बढ्ता हुन्छ । आँखा पाक्दा आँखा रातो हुनुको साथै चिप्रा लाग्ने, आँसु बग्ने, बिझाउने, आँखाको गेडा दुख्ने, टाउको दुख्ने, पातलो सिँगान आउने, उज्यालोमा हेर्न अप्ठयारो हुने हुन्छ ।

रोकथाम 

आँखा पाक्ने समस्या हुँदा आँखा छोइराख्नु हुँदैन । पटक–पटक साबुन पानीले हात धुनुपर्छ । आँखा पाक्ने समस्या अत्यन्त सरुवा प्रकारको हुनसक्ने हुनाले संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टाबेललगायतका सामान अन्य व्यक्तिले प्रयोग गर्नु हुँदैन । चर्को उज्यालोबाट बच्न कालो चश्मा लगाउनु राम्रो हुन्छ । दिनमा ३–४ पटक आँखा पखालेर औषधि हाल्नु पर्छ । समस्या गम्भीर भएमा सम्बन्धित विशेषज्ञलाई देखाई थप औषधि खानुपर्छ ।

कीटजन्य सरुवा रोग

कीट वा मसिना कीरा भन्नाले रोगी वा संक्रमित व्यक्तिको शरीरमा रहेका जीवाणु वा परजीवीलाई निरोगी मानिसमा सार्ने माध्यमलाई बुझाउँछ । नेपालमा पनि धेरै थरिका कीटजन्य स्वास्थ्य समस्या अथवा सरुवा रोगहरु व्याप्त छ । लामखुट्टे, भुसुना, टिक्स बढी जसो जिम्मेवार मानिस तथा जनावरमा यस्ता खाले सरुवा रोगहरु गराउन सक्षम छन् । लामखुट्टेले औलो, डेंगुका साथै हात्तीपाइले, चिकनगुनिया तथा ऐलो फिभर पनि गराउँछ । यीमध्ये औलो सबभन्दा डरदाग्दो कीटजन्य स्वास्थ्य समस्या हो ।

रोकथाम

अभिभावकको सहयोगमा घर वरिपरिको वातावरण सफा राख्नुपर्दछ । विशेषतः खाल्डो, ड्रम तथा टायरमा पानी जम्न दिनु हुँदैन । लामखुट्टे तथा अन्य कीटहरुको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने गर्नुपर्दछ । लामखुट्टेबाट बच्न क्वाइल तथा लिक्विड बाल्नुभन्दा झुलको प्रयोग गर्नु बुद्धिमानी हुन्छ ।

खाना तथा पानीजन्य सरुवा रोग

ब्याक्टेरिया, परजीवी, विषाणु, रासायानिक पदार्थको उपस्थितिका कारण खाना तथा पानी दूषित हुनसक्छ । खाना तथा पानी प्रदूषित हुने सम्भावनाका धेरै चरण छन् । खाद्य पदार्थको उत्पादन, प्रशोधन, ढुवानी, भण्डारण, वितरण, तयारी तथा ग्रहणमा गएको आधा दशक व्यापक परिवर्तन आएको छ । प्रदूषित खानाकै कारण संक्रमण यताउती पुग्न सक्छ । कमजोर आर्थिक तथा सामाजिक स्थिति भएका विपन्न वर्गका मानिसका साथै शिशु, गर्भवती महिला, जीर्णरोगी, वृद्धमा खानाजन्य संक्रमण बढ्दा प्राणघातक साबित हुन्छ । 

प्रदूषित खाना तथा पानीका कारण साल्मोनेल्ला, इ कोलाइ, लिस्टेरिया, भिब्रिओ कोलेरा, नोरोभाइरस, हेपाटाइटिस ए भाइरस, विभिन्न खाले जुका, इन्टामोबिया हिस्टोलाइटिका, शिगेल्ला, जियारडिया, प्राओनजस्ता जीवाणु तथा प्राकृतिक तवरमै हुने टक्सिन (माइकोटक्सिन, बायोटक्सिन, एफ्लाटक्सिन) एवं हेभी मेटलले कालान्तरमा क्यान्सर, स्नायु जन्य रोग, मिर्गौला तथा रोगसँग लड्न सक्ने क्षमता कम गराउने समस्या निम्त्याउँछ ।

रोकथाम 

चकलेट, आईसक्रिम तथा मिठाइ पाउँदा चाटी चाटी खाने बानी हुन्छ । खेल्दाखेल्दै, बाहिरबाट आउने बित्तिकै खान हतारिने स्वभाव हुन्छ । खेलिसकेपछि, दिसा गरिसकेपछि, खाना खानु अघि तथा पछि साबुनपानीले हात धुने गर्नुपर्दछ । हात धुने मामिलामा भाईबहिनीहरु अलि अल्छि गर्ने बानी हुन्छ । त्यसैले प्रत्येक पटक दुई पटक हात धुनु बुद्धिमानी हुन्छ । बासी सडेगलेका खानेकुरा खानुहुँदैन । पानी उमालेको वा फिल्टर गरिएको मात्र पिउनु पर्दछ । नियमितरुपमा जुकाको औषधि खाने गर्नुपर्दछ । हैजा, झाडापखाला लागि हालेमा जलवियोजनबाट बच्न जीवनजल जस्ता पुनर्जलीय उपचार थालिहाल्नु पर्दछ । 

सर्पको टोकाइ, बहुला कुकुरको टोकाइको समस्या

तराई तथा भित्री मधेसमा सर्प तथा सहरी क्षेत्रमा बेला मौकामा बहुला कुकुरको टोकाइ भइरहेको हुनसक्छ । 

रोकथाम 

त्यसो भएर दुलोमा हात घुसार्ने, अँध्यारोमा हिँड्ने गर्नु हुँदैन । यस समयमा गम्बुट जस्तो जुत्ता लगाउनु राम्रो हुन्छ । अभिभावकबाट बौलाहा कुकुरका लक्षण चिह्नहरू थाहा पाउनु पर्दछ । बहुला कुकुरको बिगबिगी हुँदा सजगता अपनाउनु पर्दछ । अन्य बेला पनि कुकुरलाई जिस्काउने गर्नु हुँदैन ।

छालाको समस्या

भाइबहिनीहरु, गर्मी मौसम छालाको समस्या हुने मौसम पनि हो । गर्मीयाममा घाउ खटिरा आउने, दाद आउने, लुतो आउने, पिलो आउने, जिउ चिलाउने जस्ता समस्या आइपर्छ । 

रोकथाम

हात, खुट्टा तथा शरीर पूरैको सरसफाइ राख्नु नै छालाबाट बच्ने राम्रो उपाय हो । हप्तामा कम्तीमा दुईपटक नुहाउने गर्नु पर्दछ । स्कुलबाट फर्किनेबित्तिकै तथा खेलेर आईसकेपछि हातखुट्टा धुनुपर्दछ । नुहाउने समय छैन भने टावेल भिजाएर जिउ पुछ्नु पर्दछ । सुकिलो तथा सफा कपडा मात्र लगाउनु पर्दछ । मोजा तथा जुत्ताको सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्दछ । 

गर्मी बिदामा स्वास्थ्यको हेरचाह

गर्मी बिदाको समय पारेर छोटो यात्रामा निस्कने योजना बन्न सक्छ । भारी वर्षात्को कारण ठाउँ–ठाउँमा बाढी, पहिरोको कारण निश्चित गन्तव्यसम्म पुग्न तथा त्यहाँबाट फर्किन कठिनाइ हुन सक्द । त्यस्तै परे बाटोमा जाममा पर्ने तथा बाटोमै, गाडीमै रात कटाउनुपर्ने हुनसक्छ । यो पक्षमा अभिभावकहरुले आवश्यक ध्यान दिनुहुन्छ तर बालबालिकाले अनावश्यक दुःख दिनुहुँदैन । साथीभाईसँग मिली पौडी खेल्न जाने वा वनजंगल तिर जाने योजना बन्न सक्दछ । सम्भावित बाढी तथा जुका अनि वन्यवन्तुको आक्रमणबाट सतर्कता अपनाउनु पर्दछ । जाडोको मौसममा भन्दा गर्मीयाममा घरबाहिरका खानेकुरा खाने, हात खुट्टा नधोई खाने बानी गर्नु हुँदैन । 

रोकथाम

कहीँ घुम्न जानुअगाडि मौसमको अपडेट अनि त्यो ठाउँको वर्तमान खैखबर लिनु राम्रो हुन्छ । अभिभावकको निगरानीमा मात्र पौडी खेल्ने तथा वनपाखामा हाइकिङ, छोटो ट्रेक गर्नु बुद्धिमानी हुन्छ । पानीपुरी, चटपटे तथा ममः एवं चाउमिन लगायतका अन्य फास्टफुड घरमै बनाएर खानु राम्रो हुन्छ । सबैभन्दा मुख्य कुरा त जाडो याममा भन्दा तीन चार गुणा हातखुट्टा धोई राख्ने गर्नु पर्दछ ।
अर्को समाचार
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
१४ घण्टा अघि
•
१ मिनेट पाठ
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
काठमाडौं। जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन। कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्छन्। त्यतिबेलासम्म रोगले गम्भीर रूप लिइसकेको हुन सक्छ। समयमै रोग पहिचान हुन नसक्दा उपचार जटिल बन्नुका साथै शिशुको ज्यानै जाने जोखिम हुन्छ।

यस्तो जोखिम न्यूनीकरण गर्न जन्मेको केही दिनभित्रै गरिने नवजात शिशु स्क्रिनिङ महत्वपूर्ण मानिन्छ। यस परीक्षणबाट बाहिरबाट स्वस्थ देखिने शिशुमा समेत लुकेर रहेका जन्मजात तथा मेटाबोलिक रोगको जोखिम पहिचान गर्न सकिन्छ।

चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को प्रतिवेदनअनुसार नेपालमा हाल प्रति एक हजार जीवित जन्ममा १७ नवजात शिशुको मृत्यु हुने गरेको छ। नवजात शिशु मृत्युदर घटाउन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आए पनि जन्मजात तथा वंशाणुगत रोग समयमै पहिचान गर्ने परीक्षण प्रणालीको विस्तार आवश्यक देखिएको छ।

यसैलाई ध्यानमा राखेर परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले २०८१ असोज २० गतेदेखि नवजात शिशु स्क्रिनिङ सेवा औपचारिक रूपमा सुरु गरेको हो।

अस्पतालको बालरोग विभागका वरिष्ठ कन्सल्टेन्ट डा. शैलेन्द्र वीर कर्माचार्यका अनुसार जन्मँदा सामान्य देखिने शिशुमा पनि मेटाबोलिक तथा वंशाणुगत रोग हुन सक्ने भएकाले लक्षण देखिनुअघि नै परीक्षण गरी जोखिम पहिचान गर्न सके उपचार सहज हुन्छ।

'सुरुमा हेर्दा यसमा बढी लगानी गर्नुपर्ने जस्तो देखिए पनि दीर्घकालीन रूपमा यो निकै सस्तो हुन्छ। रोगको पहिचान र उपचार समयमै गर्न सकियो भने बच्चाले पछि धेरै दुःख पाउनुपर्दैन,' उनले भने।

प्रारम्भिक स्क्रिनिङमा कुनै रोगको जोखिम देखिएमा त्यसको पुष्टि गर्न थप परीक्षण गरिन्छ। स्क्रिनिङले रोगको सम्भावना मात्र देखाउने भएकाले त्यसैका आधारमा शिशुलाई रोग लागेको निष्कर्ष निकाल्न मिल्दैन। थप परीक्षणबाट रोग पुष्टि भएपछि आवश्यक उपचार सुरु गरिन्छ।

अहिले अस्पतालमा यो सेवा निःशुल्क उपलब्ध छ। तर अभिभावकमा पर्याप्त जनचेतना नहुँदा अपेक्षाअनुसार सबै नवजात शिशु परीक्षणको दायरामा आउन नसकेको डा. कर्माचार्यले बताए।

'हामी अझै सफलताको चरणमा पुगिसकेका छैनौँ, सुरुवाती चरणमै छौँ। यसबारे पर्याप्त रूपमा सचेतना फैलाउन सकिएको छैन। अब स्क्रिनिङको दायरा अझै बढाउनुपर्ने छ,' उनले भने।

परीक्षणको दायरामा सबै शिशुलाई समेट्न चुनौती

अस्पतालले २०८१ साउनदेखि परीक्षणका रूपमा यो सेवा सञ्चालन गरेको थियो। सुरुमा एक हजार ४० नवजात शिशुको निःशुल्क स्क्रिनिङ गरी कार्यक्रम अघि बढाइएको थियो। पहिलो वर्षमै ५० प्रतिशत नवजात शिशुलाई सेवाको दायरामा ल्याउने लक्ष्य राखिए पनि अपेक्षाअनुसार परीक्षण हुन सकेको छैन।

अस्पतालमा वार्षिक करिब २४ हजार शिशुको जन्म हुने गरेको छ। तर जन्मेको केही समयमै शिशुलाई डिस्चार्ज गरेर लैजाने र अभिभावकमा परीक्षणबारे पर्याप्त जानकारी नहुँदा सबैलाई सेवामा समेट्न कठिन भएको अस्पतालको भनाइ छ।

अस्पतालकी प्याथोलोजी विभाग प्रमुख डा. करिश्मा मल्ल वैद्यका अनुसार सेवा सुरु भएदेखि कात्तिकसम्म १५ हजारवटा परीक्षण गरिएको छ। तीमध्ये १६५ वटाको नतिजा शंकास्पद पोजिटिभ आएको छ भने ५० भन्दा बढीमा थप परीक्षणबाट रोगको पुष्टि भएको छ। शंकास्पद नतिजा आएका कतिपय शिशुका अभिभावक थप परीक्षणका लागि नआउने गरेकाले रोग पुष्टि भएका शिशुको सङ्ख्या कम देखिएको उनले बताइन्।

'हाल हामीले सातवटा प्यारामिटरमा परीक्षण गरिरहेका छौँ। भविष्यमा बजेट थपिएमा परीक्षणको दायरा पनि बढाउँदै लैजाने सोच छ। अस्पतालमा बिरामीको चाप धेरै छ। सबै शिशुको परीक्षण गर्ने प्रयास गरे पनि धेरैलाई समेट्न सकेका छैनौँ। अभिभावकलाई परामर्श दिने गरेका छौँ, तर अझै सबै शिशु परीक्षणको दायरामा आएका छैनन्,' उनले भनिन्।

शिशु जन्मेको २४ घण्टापछि रगतको नमुना सङ्कलन गरेर परीक्षण गरिन्छ। सियोले कुर्कुच्चामा घोची थोरै रगत निकालेर विशेष विधिबाट परीक्षण गर्ने गरिएको छ। परीक्षणमा रोगको जोखिम देखिएमा थप परीक्षण आवश्यक हुन्छ।

डा. वैद्यका अनुसार सरकारी स्तरमा नवजात शिशुको यस्तो स्क्रिनिङ सेवा उपलब्ध गराउने अस्पताल हाल प्रसूति अस्पताल मात्र हो। अहिले अस्पतालमा जन्मिएका शिशुको मात्र परीक्षण भइरहेको छ। आगामी दिनमा अन्य अस्पतालमा जन्मिएका शिशुको समेत निश्चित शुल्क लिएर परीक्षण गर्ने योजना रहेको उनले बताइन्।

सात प्रकारका रोगको परीक्षण

नवजात शिशु स्क्रिनिङ जन्मेको केही समयभित्र गरिने परीक्षण प्रक्रिया हो। यसबाट बच्चा बाहिरबाट स्वस्थ देखिए पनि शरीरभित्र लुकेर रहेका केही जन्मजात, मेटाबोलिक तथा वंशाणुगत रोगको जोखिम पहिचान गरिन्छ। सामान्यतया जन्मेको २४ देखि ७२ घण्टाभित्र रगतको नमुना लिएर गरिने यस परीक्षणलाई ‘ब्लड स्पट टेस्ट’ पनि भनिन्छ।

प्रसूति अस्पतालमा हाल सात प्रकारका रोग तथा अवस्थाको स्क्रिनिङ भइरहेको छ। तीमध्ये जन्मजात थाइराइड हर्मोनको कमी, जी–६–पीडीको कमी, फेनाइलकेटोनुरिया, सिस्टिक फाइब्रोसिस, ग्यालेक्टोसेमिया, जन्मजात एड्रिनल हाइपरप्लासिया र बायोटिनिडेजको कमी रहेका छन्।

यी रोगले शिशुको शारीरिक तथा मानसिक विकासमा असर पार्न सक्छन्। जन्मजात थाइराइड हर्मोनको कमी हुँदा समयमै उपचार नभए मस्तिष्कको विकास प्रभावित हुन सक्छ। जी–६–पीडीको कमी भएका शिशुमा केही औषधि, संक्रमण वा अन्य कारणले रातो रक्तकोषिका फुट्ने जोखिम हुन्छ।

त्यस्तै, फेनाइलकेटोनुरिया भएका व्यक्तिको शरीरले फेनाइलएलानाइन नामक एमिनो एसिड प्रशोधन गर्न सक्दैन भने ग्यालेक्टोसेमियामा दूधमा पाइने ग्यालेक्टोज प्रशोधन गर्न समस्या हुन्छ। सिस्टिक फाइब्रोसिसले फोक्सो र पाचन प्रणालीमा असर गर्छ। बायोटिनिडेजको कमी हुँदा शरीरले बायोटिन भिटामिन प्रभावकारी रूपमा प्रयोग गर्न सक्दैन। जन्मजात एड्रिनल हाइपरप्लासियामा एड्रिनल ग्रन्थिबाट हर्मोन उत्पादनमा समस्या हुन्छ।

यीमध्ये कतिपय रोग भएका शिशु जन्मँदा सामान्य देखिए पनि केही दिनपछि लक्षण देखिन थाल्छन्। समयमै पहिचान र उपचार हुन नसके गम्भीर स्वास्थ्य समस्या, मानसिक विकासमा अवरोध, अपाङ्गता तथा मृत्युको जोखिम हुन सक्छ। त्यसैले लक्षण देखिनुअघि नै परीक्षण गरेर जोखिम पहिचान गर्नुलाई महत्वपूर्ण मानिन्छ।

नवजात शिशुको मृत्युका प्रमुख कारणमा संक्रमण, जन्मने क्रममा निस्सासिनु, समय नपुगी जन्मनु र कम तौल हुनु रहेका छन्। तर कतिपय अवस्थामा मृत्युको वास्तविक कारण पहिचान गर्न कठिन हुने गरेको अस्पतालका निर्देशक डा. अधिकारीले बताए। केही अवस्थामा मेटाबोलिक रोग पनि मृत्युको कारण हुन सक्ने भएकाले यस्ता रोग पहिचान गर्न विशेष परीक्षण आवश्यक रहेको उनको भनाइ छ।

'नवजात शिशुमा हुन सक्ने मेटाबोलिक रोग पहिचान गरी समयमै उपचार गर्न सके मृत्युदर घटाउन सहयोग पुग्छ। यस परीक्षणले केही हदसम्म योगदान पुर्‍याएको छ,' उनले भने।

विकसित देशमा व्यापक, नेपालमा सीमित

विश्वका विकसित मुलुकमा नवजात शिशु जन्मिएपछि विभिन्न जन्मजात, वंशाणुगत तथा मेटाबोलिक रोगको स्क्रिनिङ गर्ने व्यवस्था छ। देशअनुसार परीक्षण गरिने रोगको सङ्ख्या फरक भए पनि धेरै मुलुकमा रगत परीक्षणसँगै श्रवण र मुटुसम्बन्धी स्क्रिनिङलाई नवजात शिशु स्वास्थ्य सेवाको हिस्सा बनाइएको छ।

उदाहरणका लागि अमेरिकामा सिफारिस गरिएको मुख्य परीक्षण सूचीमा ३५ प्रकारका रोग तथा अवस्था समावेश छन्। बेलायतमा १० र जर्मनीमा १९ प्रकारका रोगको स्क्रिनिङ गरिन्छ। अन्य मुलुकमा पनि स्वास्थ्य नीति र उपलब्ध प्रविधिअनुसार परीक्षणको दायरा निर्धारण गरिएको छ।

यस्ता कार्यक्रमले जन्मजात रोग समयमै पहिचान गरी उपचार सुरु गर्न सहयोग पुर्‍याउँछन्। यसबाट रोगका कारण हुन सक्ने दीर्घकालीन स्वास्थ्य समस्या, अपाङ्गता तथा केही अवस्थामा मृत्युको जोखिम कम गर्न सकिन्छ।

दिगो विकास लक्ष्य हासिल गर्न पनि स्क्रिनिङ आवश्यक

दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म नेपालले नवजात शिशु मृत्युदर प्रति एक हजार जीवित जन्ममा १२ मा झार्ने लक्ष्य राखेको छ। हालको मृत्युदर १७ रहेकाले लक्ष्य हासिल गर्न थप प्रयास आवश्यक देखिन्छ।

नेपालमा नवजात शिशु मृत्युदर घटाउन गर्भावस्थादेखि नै गुणस्तरीय मातृ तथा नवजात स्वास्थ्य सेवा, दक्ष स्वास्थ्यकर्मी, समयमै उपचार र स्वास्थ्य प्रविधिमा पहुँच विस्तार गर्नुपर्ने हुन्छ। त्यससँगै जन्मजात तथा वंशाणुगत रोग पहिचान गर्ने परीक्षणलाई पनि स्वास्थ्य सेवाको नियमित हिस्सा बनाउनुपर्ने विज्ञहरूको जोड छ।

नवजात शिशु स्क्रिनिङ सामान्य र तुलनात्मक रूपमा छिटो हुने परीक्षण प्रक्रिया भए पनि यसले भविष्यमा देखिन सक्ने गम्भीर स्वास्थ्य समस्याको जोखिम पहिचान गर्न मद्दत गर्छ। परीक्षणबाट जोखिम देखिएका शिशुलाई थप परीक्षण र उपचारको पहुँचमा पुर्‍याउन सके शारीरिक तथा मानसिक विकासमा हुन सक्ने क्षति न्यूनीकरण गर्न सकिन्छ।

बालरोग विभागका वरिष्ठ कन्सल्टेन्ट डा. कर्माचार्यका अनुसार सबै नवजात शिशुलाई स्क्रिनिङको पहुँचमा ल्याउन सके जन्मजात विकारका कारण हुने रोकथामयोग्य मृत्यु घटाउन सहयोग पुग्नेछ। त्यसका लागि सेवा अस्पतालमा मात्र सीमित नराखी विस्तार गर्न, पर्याप्त बजेट व्यवस्था गर्न, नमुना सङ्कलन प्रणाली प्रभावकारी बनाउन र अभिभावकमा जनचेतना अभिवृद्धि गर्न आवश्यक छ।

जन्मेको केही दिनमै गरिने सामान्य परीक्षणले शिशुको जीवनभरको स्वास्थ्यमा महत्वपूर्ण प्रभाव पार्न सक्छ। त्यसैले नवजात शिशु स्क्रिनिङलाई वैकल्पिक परीक्षणका रूपमा मात्र नभई नवजात स्वास्थ्य सुरक्षाको महत्वपूर्ण आधारका रूपमा विकास गर्नु आवश्यक रहेको उनको भनाइ छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस