२०७७ वैशाख ४ गते मुगु जिल्लाको खत्याड गाउँपालिकाको खमालेका दत्त बुढामा कोरोना पोजेटिभ देखियो। यो नै कर्णाली प्रदेशको पहिलो कोरोना पोजेटिभ केश थियो। पहिलो पटक कोरोना पोजेटिभ देखिएपछि कर्णालीभर त्रास फैलियो। स्थिती भयावह बन्यो।
पहिलो पटक आरडिटी परीक्षणमै कोरोना पोजेटिभ देखिँदा कर्णालीमा कोरोना संक्रमणले प्रवेश पायो। कर्णाली कोरोनाको हटस्पट बन्न सक्ने देखियो। उतिबेला कामका शिलशिलामा कालापहाड जाने कर्णालवासी फर्कने क्रम जारी थियो। भारत हुँदै आएका नागरिकमा कोरोना संक्रमण फैलन सक्ने तीव्र खतरा बढ्यो।
खत्याडमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सकको टोली खटायो। त्यो टोलीको नेतृत्वमा थिए, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बालरोग विभाग प्रमुख सुनिल बुढाथोकी। उनी यसअघि कोरोनाबारे जानकारी दिने कर्णाली प्रतिष्ठानका सूचना अधिकारीका रुपमा तोकिएका थिए।
डा. बुढाथोकीका लागि आफ्नो टोलीलाई सुरक्षित बनाउँदै सिंगो नागरिक सुरक्षित बनाउने चुनौति थियो। नयाँ रोग, नयाँ भुगोल र नयाँ अनुभूतिसहित डा. बुढाथोकीले टोली खत्याड पुर्याए। पहिलो पटक पोजेटिभ देखिएकोले मनमा त्रास थियो। तर स्वास्थ्य सुरक्षाका हरेक क्रियाकलापका बारेमा जानकार भएकोले खासै समस्या थिएन। उनले भने,‘कोरोना पनि एक प्रकारको लडाइँ बन्यो। मानवको अस्तित्व संकट पार्ने गरि सिर्जना भएको कोरोनाको रोकथाम तथा नियन्त्रण कम चुनौति थिएन। तर स्वास्थ्यकर्मीको सक्रियता, नागरिकको जागरुकता र सरकारको जिम्मेवारीताका कारण खत्याडमा संक्रमणदर बढेन।’
डा. बुढाथोकीको टोली वैशाख ५५ गते नै खत्याड तिर प्रस्थान गर्यो। जतिसक्दो आरडिटी परीक्षण गर्ने, कोरोना सचेतना फैलाउने र बिरामीको रेखदेख र उपचार गर्ने त्यो टोलीको जिम्मेवारी थियो। टोलीले रातापानी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन बनाएर संक्रमितलाई राख्यो। लक्षण अनुसारको औषधि प्रयोग गर्न र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न भन्यो। १४ दिनको आइसोलेसन बसाइपछि संक्रमितको रिपाेर्ट कोरोना नेगेटिभ आयो। बिस्तारै गाउँबस्तीमा खुसीयाली छाउन थाल्यो।
खत्याड गाउँपालिकाका सबै वडामा टोली पुग्यो। आरडिटी परीक्षण गर्न थाल्यो। त्यो समयमा स्थानीयमा निकै त्रास थियो। कोरोना पोजेटिभलाई गर्ने व्यवहार निकै फरक थियो। कोरोना के हो? कोरोनाको पहिलो चरण के हो भन्ने विषयमा अन्यौल थियो। जुम्लादेखि हिँडेको चिकित्सकको टोली देखेर बाटोमा स्थानीय आत्तिन्थे।
डा. बुढाथोकीले भने,‘कोरोनाको पहिलो संक्रमित भएको क्षेत्रमा खटिएर काम गर्न पाउँदा निकै उत्साहित थियौँ। जनता आत्तिएका थिए। हरेक बस्तीमा त्रास फैलिएको थियो। ’टोलीले संक्रमितको पिसिआर गर्यो। रिपाेर्ट नेगेटिभ आयो। गाउँमा पोजेटिभ देखिँदा फैलिएको त्रास कम भयो।’ झण्डै ७ सय जनाको आरडिटी तथा पिसिआर गरिएको थियो।
जनतालाई स्वास्थ्य शिक्षा, बिरामीको जाँच तथा उपचार र स्वास्थ्य परामर्शमा टोली केन्द्रित भयो। आफू पनि सुरक्षित हुने र नागरिकलाई पनि सुरक्षित बनाउने कार्यमा जुट्यो। चिकित्सकको टोली १३ दिन खत्याडमै बसेर फर्कियो। आरडिटी नगर्दा त्रास थियो। कोरोनाले गर्दा ज्यान खतरामा रहेको अनुभूति हुन्थ्यो। तर चिकित्सको टोली पुगेपछि स्थानीयले शान्तिको सास फेरे। औषधि बोकेर टोली गएकोले खासै समस्या थिएन।
यो रोग नयाँ भएकोले मृत्युदर बढ्ने र संक्रमण भयावह हुने निश्चित थियो। औषधि उपचार र उच्च सतर्कता अपनाउन थालिएको थियो। खत्याडमा पुगेर टोली जुन हिसावले प्रस्तुत भयो। त्यही हिसावको हार्दिकता स्थानीयले देखाए। संकटभित्रको खत्याड बसाइँ निकै आनन्ददायी र उपलब्धिपूर्ण बन्यो। डा. बुढाथोकीले भने,‘कोरोना मैदानको सेता एप्रोनधारी लडाकु भएर प्रस्तुत भएर जनताको स्वास्थ्य सेवा दिन पाउँदा निकै खुसी छु। सजिलोमा सबैले साथ दिन्छन् तर संकटमा साथ दिनुको मज्जा अर्के रहेछ।’
डा. बुढाथोकीसंगै डा. विशाल पोखरेल, डा. कपिल गुरागाइँ, निशान्त लामा, विष्णुदत्त आचार्य र नवराज खड्का खटिएका थिए। मुगुको खत्याडबाट फर्किएको टोली १० दिन क्वारेन्टिनमा बस्यो। खत्याडबाट फर्कन लागेको बेला डा. बुढाथोकीको टीमलाई चौतर्फी स्वागत तथा सम्मान गरिएको थियो।
त्यो लगत्तै जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले जिल्लाका हरेक पालिकामा चिकित्सक खटाउने निर्णय गर्यो। डा. बुढाथोकी तातोपानी गाउँपालिकामा खटिए। क्वारेन्टिन व्यवस्थापन, पिसिआर तथा आरडिटी परीक्षण र आइसोलेसन सेन्टर स्थापना गर्नुपर्ने जिम्मेवारी थियो। उनी संगै फार्मेसिस्ट सुक्ष्मा काफ्ले थिइन्। तीन हप्ता तातोपानीमा खटिएका उनले हरेक बस्तीमा पुगे। गाउँबस्तीमा कोरोना संक्रमणविरुद्धको कार्यक्रम गर्न थाले। सचेतना फैलाउन थाले।
उनले भने,‘जबसम्म नागरिक सचेत हुँदैनन्। तबसम्म कोरोना भाइरस नियन्त्रणमा भएका प्रयासले मुर्त रुप पाउँदैनन्। त्यही भएर पहिलो जोड नै सचेतना बन्यो।’
संक्रमित बसेको क्वारेन्टिनमा प्रवेश गर्न निकै कठिन थियो। बाहिरैबाट खाना पोका पारेर फाल्ने गरिन्थ्यो। जब चिकित्सकको टोलीभित्र जान थाल्यो अनि क्वारेन्टिनमा प्रवेश गर्न थालियो। पछिल्लो समयमा नजिकै गएर खाना पानी छोड्न थालियो। जसले संक्रमितको मनोबल बढ्यो। उनले भने,‘चिकित्सकको टोली एप्रोन लगाएर आइसोलेसनमा प्रवेश गर्ने वित्तिकै संक्रमित निकै उत्साहित हुन्थे। कोरोना संक्रमणको अवस्था र उपचार प्रक्रियाका बारेमा चासो राख्थे।’
दोस्रो लहरमा जुम्लामा संक्रमितको संख्या बढ्न थाल्यो। सबैलाई अस्पतालमा ल्याएर राख्न नसकिने अवस्था रह्यो। बिरामीको प्रकृति अनुसार निगरानी गर्नुपर्ने भयो। हरेक पालिकामा कोभिड अस्पताल बने। सामान्य लक्षण देखिएका, लक्षण नदेखिएर संक्रमित भएकालाई पालिकामै निगरानी गर्ने भन्ने परिपत्र भयो।
डा. बुढाथोकी पातारासी गाउँपालिकामा खटिए। उनी एक महिना बसे। गाउँमा गएर कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सचेतना फैलाउने, पिसिआर टेस्ट गर्ने र संक्रमितको अवस्था हेरेर उपचार विधि अपनाउन थाले। उनी कोरोनाकालमा निकै जोखिमपूर्ण ठाउँमा खटिए। उनले त्यही ठाउँबाट नै औधि माया पाए। अहिले उनी पुगेको हरेक बस्तीमा उनकै चर्चा हुन्छ। स्थानीय टेलिफोन गरेर स्वास्थ्य परामर्श लिन्छन्। स्वास्थ्यकर्मी फोन गरेर स्वास्थ्य क्षेत्रमा देखिएको समस्या राख्छन्।
डा. बुढाथोकीले भने,‘कोरोनाले मानिस-मानिसबीचको भौतिक दूरी मात्र बढाएन। एक मानवले अर्को मानवलाई गर्ने सहयोगका बारेमा समेत राम्रो पाठ सिकायो। स्वास्थ्य शिक्षा दिलायो। मानवीय स्वास्थ्य प्रति संवेदनशिल हुन प्रेरित गर्यो।’
पछिल्लो समयमा कोरोना भाइरसको रुपमा परिवर्तन भइरहेकोले सचेत रहन आग्रह गरिएको छ। सामाजिक दूरी कायम नगर्नु, मास्कको प्रयोग नहुनु र कोरोनालाई खेलाँची सम्झनु अहिलेको सबैभन्दा ठूलो चुनौति हो। बिगत तीन वर्षदेखि डा. बुढाथोकीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा दिँदै आएका छन्। दुर्गममा स्वास्थ्य सेवा र शिक्षा दिन असजिलो छ। उनले भने,‘स्थानीय साधनस्रोतको भरपुर प्रयोगले कार्यसम्पादनमा सहजता पैदा गर्न सकिन्छ।’
डा. बुढाथोकीले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर मात्र अघि बढ्नको लागि आग्रह गरे।
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।
अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।
शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।
स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।
गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'
गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।
प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।
सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।
तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।
स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'
उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...