जोहानेसबर्ग (दक्षिण अफ्रिका)-महिला र बालबालिकाको मृत्युदर घटाउन एकीकृत प्रयासका लागि पाटनर्स फोरम २०१४ ले विश्वभरका मुलुकलाई आग्रह गरेको छ। विभिन्न मुलुकबाट यहाँ आएका जनस्वास्थ्य क्षेत्रका ८ सयभन्दा बढी विज्ञ, नीतिनिर्माता र सरकार तथा संसदका प्रतिनिधि सहभागी भेलाबाट साझा प्रयासका लागि आह्वान गरिएको हो।
विश्वभरका ८० संघ–संस्थाले सन् २००५ मा स्थापना गरेको 'द पार्टनर्सिप फर मेटरनल, न्यु बर्न एन्ड चाइल्ड हेल्थ (पिएनएसिएच)' महिला प्रजनन, बाल र नवजात स्वास्थ्यका क्षेत्रमा कार्यरत ६ सय २५ भन्दा बढी गैरसरकारी संस्था साझा रूपमा काम गर्छन्। यसले यी क्षेत्रमा ठोस उपलब्धि हासिल गर्नका लागि स्रोत बाँडफाँट र रणनीति साझेदारीका लागि मञ्च उपलब्ध गराउँछ।
दक्षिण अफ्रिकामा जुन ३० देखी जुलाई २ सम्म (असार १६–१८ गते) आयोजित पार्टनर्स फोरममा सहस्राब्दी विकास लक्ष्य २०१५ प्राप्तिका सन्दर्भमा विज्ञहरूले महिला र बालबालिकासँग सम्बन्धित तथ्यांक समीक्षा गरेका थिए। फोरममा जानकारी गराइएअनुसार अहिले पनि संसारभर प्रत्येक वर्ष २ लाख ८९ हजार महिलाको मृत्यु बच्चा पाउन नसकेर हुन्छ। ६६ लाख बालबच्चा पहिलो जन्मदिन मनाउन पाउँदैनन्।
विज्ञहरूले विश्वभर नै नवजात स्वास्थ्यका क्षेत्रमा सफलताको क्रम सुस्त रहेको बताएका छन्। फोरममा सार्वजनिक तथ्यांकअनुसार करिब ३० लाख नवजात (२८ दिनभित्रै) को मृत्यु हुन्छ। थप २६ लाखको एक वर्षभित्रै मृत्यु हुन्छ। ल्यान्डसेटले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार प्रत्येक दिन १५ हजारको जन्मदर्ता प्रमाणपत्र नलिँदै मृत्यु हुन्छ।
मृत्यु भइरहने ठाउँमा सेवा पुर्याए महिला तथा बच्चाको मृत्युदर ७५ प्रतिशतले घटाउन सकिन्छ। फोरमका अनुसार यसका लागि वार्षिक एकजनामा १.१५ डलर खर्च गर्नुपर्छ। 'थोरै लगानीले राम्रो प्रतिफल पाउन सरकार एवं गैसरकारी क्षेत्रले यसमा लगानी बढाउन जरुरी छ,' पिएनसिएचकी प्रमुख तथा अफ्रिकी दूत ग्राका मिचेलले भनिन्।
फोरमले संसारभर मातृ र बालमृत्युदर घटाउन परिवार नियोजनको प्रवर्द्धनमा जोड दिए पनि कम्तीमा २ अर्ब महिला तथा किशोरीलाई परिवार नियोजन सेवा प्राप्त छैन।
मिचेलले विश्वमा १४ वर्षमा महिला र बालबालिकाको जीवनरक्षामा धेरै उपलब्धि हासिल भए पनि प्रयाप्त नरहेको बताइन्। 'संसारका धेरै देशले लगानीको प्राथमकितामा राखेको भन्ने गरे पनि अझै धेरै महिला र बालबालिबा समेटिन सकेका छैनन्,' उनले भनिन्, 'हामीले थुप्रै जीवन बचाउनका लागि लगानी बढाउन आवश्यक छ, उनीहरू जहाँसुकै बसेका किन नहुन्।'
मिचेलले नवजात, बाल र महिला स्वास्थ्यमा सबै देशले आ–आफ्ना चुनौती पत्ता लगाएर रणनीति बनाउन आवश्यक रहेकोमा जोड दिइन्। उनले राजनीतिक प्रतिबद्धता, लगानी वृद्धिजस्ता कुराले मात्रै जीवनरक्षा सम्भव हुने बताइन्।
दक्षिण अफ्रिकाकी स्वास्थ्यमन्त्री डा. एसेन मस्वालादीले महिला स्वास्थ्यलाई विश्वव्यापी गर्न अरुको सफलता र चुनौती हेरेर सिक्नुपर्ने बताइन्।
नर्वेकी प्रधानमन्त्री इर्ना सोलबर्गले बाल र महिला स्वास्थ्यका जोखिम घटाउनका लागि शिक्षामा लगानी बढाउन सुझाव दिइन्। उनले महिला शिक्षित भए कम उमेरमा हुने गर्भाधारण, प्रजनन स्वास्थ्य समस्या, यौन तथा लैंगिक हिंसा न्यूनीकरण हुने बताइन्। 'नवजातको सुरक्षा र बालपोषण सरसफाइमा पनि शिक्षित महिलाले जोड दिन सक्छन्,' उनले भनिन्, 'महिला शिक्षित भए मात्रै देश शिक्षित हुन्छ। '
नेपालका स्वास्थ्यसचिव डा. प्रवीण मिश्रले नवजात मृत्युदर घटाउन सरकारले जिल्ला तहसम्म आइसियु सेवा विस्तार गर्न लागेको जानकारी दिए। 'संविधानले नै मातृ र बाल स्वास्थ्यलाई अधिकारका रूपमा स्थापित गरिसकेकाले हामी यसमा लगानी बढाउन तयार छौं,' उनले भने।
पिएमएनसिएचको नयाँ रिपोर्टअनुसार ७५ देशले महिला तथा बालबालिका क्षेत्रका सहस्राब्दी लक्ष्य पूरा गर्दैछन्।