पोखरा– सर्वसाधारणका लागि अत्यावश्यक मानिएका औषधिहरुको खुद्रा मूल्य सरकारले तोक्ने भएको छ। अहिले कम्पनीपिच्छे फरक रहेको मूल्यमा एकरुपता ल्याई बिरामीमाथिको ठगी रोक्ने उद्देश्यकले मूल्य निर्धारण गर्न लागिएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले दिए।
'यो कम्पनी राम्रो हो त्यसैले यसको औषधि महँगो छ भनेर बिक्री भइरहेको छ,' मन्त्रीले नागरिकसँग भने, 'अब त्यस्तो हुन दिन्नौं।' खास रोगका खासखास किसिमको औषधिको मूल्य एउटै बनाउने चलन भारतमा चलिरहेको भए पनि नेपालमा त्यस्तो हुन नसकेको उनले बताए। सरकारले वितरण गर्ने निःशुल्क ७० थरीबाहेकका महत्वपूर्ण औषधिको मूल्य बजारका भरमा छाड्न नसकिने उनको धारणा थियो।
अधिकारीका अनुसार अहिले बजारमा १२/१३ हजार थरी औषधि पाइन्छ। ती सबैको नसके पनि केहीको मूल्य तोकेर सुरुवात गर्ने वर्षैपिच्छे तोक्ने चलन चलाएर थिति बसाल्ने मन्त्री अधिकारीले जानकारी दिए। उनका अनुसार एन्टिबायोटिक औषधिसहित उच्च रक्तचाप र मधुमेह लगायतका औषधिलाई प्राथमिकता दिएर मूल्य तोकिनेछ। 'अहिले जति सकिन्छ त्यति औषधिको मूल्य तोकिन्छ र वर्षैपिच्छे तोक्दै गए सबैको तोक्न सकिएला,' मूल्य निर्धारणको गृहकार्यमा जुटिरहेका स्वास्थ्य मन्त्रालयका अधिकारी जागेश्वर गौतमले नागरिकसँग भने, 'अरु कुरामा जस्तो मोलमोलाइ नगरिने हुँदा औषधिमा व्यापक ठगी भइरहेको छ।'
औषधिको मूल्य निर्धारणका लागि अहिले गृहकार्य भइरहेको र १५ दिनपछि केही नतिजा निकाल्न सकिने उनले विश्वास व्यक्त गरे। 'विज्ञहरु पनि जुटेर गृहकार्य गरिरहेका छन्,' उनले भने, 'सबै प्रक्रिया पुर्याकएरै मूल्य निर्धारण गर्छाैं।' उनका अनुसार अहिले धेरै चल्तीमा हुने औषधिहरुको सूची उतार्ने काम भइरहेको छ।
गृहनगर पोखरा आएका बेला नागरिकसँग कुरा गर्दै मन्त्री अधिकारीले थुप्रै वर्षअघि मूल्य तोकिएयता बेवास्ता गरिँदा औषधिको बजार स्वतन्त्रजस्तै बनिरहेको बताए। औषधि उपचारजस्ता संवेदनशील विषयमा निजी क्षेत्र हावी हुनुहुँदैन भनेरै आफूले डाक्टरहरुको परामर्श शुल्क निर्धारण गरी कार्यान्वयनमा ल्याएको दाबी पनि गरे। असोज १ गतेदेखि लागु हुने गरी डाक्टरहरुको योग्यता र अनुभवका आधारमा श्रेणी बनाई शुल्क लिन पाउने व्यवस्था सरकारले गरेको छ। मन्त्री अधिकारीले सर्वसाधारणको उपचारमा संवेदनशील बनेरै ३५ थरी निशुल्क औषधिलाई बढाएर ७० पुर्याकएको पनि बताए।
भर्खरै डाक्टरहरुको परामर्श शुल्क तोकेको मन्त्रालयले अब ल्याब परीक्षण शुल्कमा पनि नियन्त्रण गर्ने मन्त्री अधिकारीले जानकारी दिए। 'तोकिएको शुल्क देखिने गरी टाँस्नुपर्ने प्रावधान पनि बनाउँछौं,' उनले भने, 'डाक्टरको फिस र यस्ता कुराको मूल्यबारे अनुगमन गर्न नागरिक समाजले सघाउनुपर्छ।'
सोमबारै सुशासनका लागि नागरिक समाजले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सरकारी स्वास्थ्य निकायमा डाक्टरहरुको पूर्ति ९२ प्रतिशत पुर्या्एको जानकारी पनि दिए। 'देशभरिका स्वास्थ्य संस्थामा अब ८ प्रतिशत दरबन्दीमात्रै खाली छ,' उनले भने, 'अब त्यो पनि पूरा गराउँदैछौं।' स्वास्थ्य जनशक्ति उत्पादक निजी संस्थाले मुलुकलाई आवश्यक पर्ने विशेषज्ञभन्दा पैसा कमाइ हुनेमा ध्यान दिइरहेको आरोप उनले लगाए। पैसा भइन्जेल निजीमा जाने र सकिएपछि सरकारीमा गएर निशुल्क खोज्ने प्रवृत्ति अन्त्य गर्न मन्त्रीले सर्वसाधारणसँग अपील पनि गरे।