जनस्वास्थ्य जोगाउन सुर्ती, चिनी र मदिरामा ‘कडा कर’को माग
१० जेष्ठ २०८३
•
३ मिनेट पाठ
जनस्वास्थ्य जोगाउन सुर्ती, चिनी र मदिरामा ‘कडा कर’को माग
जनस्वास्थ्यमा गम्भीर असर पार्ने सुर्तीजन्य, चिनीयुक्त तथा मदिराजन्य पदार्थमा अत्यधिक कर वृद्धि गर्न सांसदहरूले प्रतिबद्धता व्यक्त गरेका छन्।




‘जनस्वास्थ्य संरक्षणका लागि चिनी, मदिरा र सुर्तीजन्य पदार्थमा कर वृद्धिको उपयोगिता’ विषयक अन्तरक्रियामा संसदीय समितिका सभापति तथा सदस्यहरूले यस्ता पदार्थको उपभोग नियन्त्रण गर्न कडा कर नीति आवश्यक रहेको बताएका हुन्। कार्यक्रम नेपाल विकास अनुसन्धान परिषदले आयोजना गरेको थियो।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति डा. ओजस्वी सेरचन ले राज्यको दायित्व केवल राजस्व संकलन गरेर आर्थिक वृद्धिमा सीमित नहुने बताउँदै जनस्वास्थ्य सुरक्षा सुनिश्चित गर्नु पनि सरकारको प्रमुख जिम्मेवारी भएको उल्लेख गरिन्।

उनले भनिन्, ‘स्वस्थ नागरिक नै समृद्ध राष्ट्रको आधार हुन्। त्यसैले सरकारको भूमिका कर उठाउने मात्र होइन, जनस्वास्थ्य जोगाउने पनि हो।’

डा. सेरचनले जंकफुड, इनर्जी ड्रिंक्स, मदिरा र सुर्तीजन्य पदार्थको सबैभन्दा बढी असर युवा पुस्तामा परेको भन्दै यसले क्यान्सर, मुटुरोग तथा कलेजोसम्बन्धी रोगको जोखिम बढाएको बताइन्। विश्वका धेरै मुलुकमा यस्ता पदार्थमा कर वृद्धि गर्दा सकारात्मक परिणाम आएको उल्लेख गर्दै उनले नेपालमा पनि प्रमाणमा आधारित स्वास्थ्य नीति निर्माणमा जोड दिइन्।

सांसद तोसिमा कार्की ले राज्यले सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कम्तीमा ५० प्रतिशत कर वृद्धि गर्नुपर्ने विषय अर्थमन्त्रीसमक्ष राखिएको जानकारी दिइन्। यस्ता पदार्थबाट संकलित कर स्वास्थ्य बीमा कोषमा प्रयोग गर्न सके स्वास्थ्य सेवा सुधारमा ठूलो योगदान पुग्ने उनको भनाइ थियो।

नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगका कारण मुखको क्यान्सर लगायत अन्य क्यान्सरका बिरामी बढ्दै गएको उल्लेख गर्दै उनले नियन्त्रणका लागि कठोर नीति आवश्यक रहेको बताइन्।

प्रतिनिधिसभा सदस्य गंगादेवी श्रेष्ठ ले करको दायरा विस्तार गरेर यस्ता हानिकारक पदार्थको प्रयोग नियन्त्रण गर्न सकिने धारणा राखिन्। ‘सम्भव भएसम्म यस्ता पदार्थको उत्पादन नै रोकिनुपर्छ, विकल्पमा अत्यधिक कर वृद्धि गरेर पनि नियन्त्रण गर्न सकिन्छ,’ उनले भनिन्।

कार्यक्रममा नेपाल विकास अनुसन्धान परिषद का कार्यकारी निर्देशक डा. जय कुमार गुरुङ ले दक्षिण एशियाली मुलुकको तुलनामा नेपाल सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न निकै पछाडि रहेको बताए।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सुर्तीजन्य पदार्थमा ७५ प्रतिशतसम्म कर हुनुपर्ने भए पनि नेपालमा हाल ४१ प्रतिशत मात्र कर रहेको उनले जानकारी दिए। उनका अनुसार बंगलादेशमा ७३ प्रतिशत, श्रीलंकामा ६८ प्रतिशत, भारतमा ६८ प्रतिशत, माल्दिभ्समा ६५ प्रतिशत र पाकिस्तानमा ६१ प्रतिशत कर लाग्दै आएको छ।

‘नेपालमा हरेक वर्ष कर वृद्धि भएको भनिए पनि त्यसको प्रभाव अत्यन्त न्यून देखिएको छ,’ डा. गुरुङले भने।

उनले विश्व स्वास्थ्य संगठनले सन् २०३५ सम्म सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा स्वास्थ्य करमार्फत वास्तविक मूल्य ५० प्रतिशतसम्म बढाएर नसर्ने रोग नियन्त्रण गर्न सदस्य राष्ट्रलाई निर्देशन दिएको स्मरण गराए।

परिषदले आगामी आर्थिक वर्षदेखि सुर्तीजन्य पदार्थलाई प्रभावकारी करको दायरामा ल्याउन चुरोटको प्रति खिल्लीमा कम्तीमा ५० देखि ५५ प्रतिशतसम्म कर वृद्धि गर्न सुझाव दिएको छ। साथै स्थानीय तहमार्फत सुर्ती बिक्री गर्ने पसल अनिवार्य दर्ता गरी कर संकलन र जनचेतना अभियान सञ्चालन गर्नुपर्ने प्रस्ताव गरिएको छ।

त्यसैगरी चिनीयुक्त पेय पदार्थमा ‘कम चिनी–कम कर, बढी चिनी–बढी कर’ प्रणाली लागू गर्नुपर्ने सुझाव दिइएको छ। गुलियो जुस, चिया, कफी, फ्लेभर्ड मिल्कलगायतलाई पनि करको दायरामा ल्याउन तथा शुद्ध पानी, चिनीरहित दूध, चिया र कफीलाई करमुक्त गर्न परिषदले आग्रह गरेको छ।

चिनीयुक्त पेय पदार्थबाट संकलित अतिरिक्त राजस्व मधुमेह रोकथाम, राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम र नसर्ने रोग नियन्त्रण कार्यक्रममा लगानी गर्नुपर्ने सुझाव पनि परिषदले दिएको छ।

त्यसैगरी मदिराजन्य पदार्थमा लाग्ने अन्तःशुल्कलाई प्रभावकारी रूपमा बढाउनुपर्ने आवश्यकता औंल्याउँदै परिषदले नेपालमा हाल केवल २ प्रतिशत मात्रै कर वृद्धि भइरहेको जनाएको छ। यस्तो न्यून वृद्धिदरले मदिरा खपत नियन्त्रण गर्न नसक्ने भएकाले जनस्वास्थ्य सुधारका लागि कर प्रणाली पुनरावलोकन आवश्यक रहेको निष्कर्ष कार्यक्रममा प्रस्तुत गरिएको थियो।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
१ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस