१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्वकपमा नेपालको अर्को हार

काठमाडौं– दोस्रो दृष्टिविहिन ट्वान्टी–२० विश्वकपको अन्तिम खेलमा नेपाल श्रीलंकासँग १ सय ३१ रनले पराजित भएको छ।

जारी प्रतियोगितामा नेपालले पाँचौ हारको सामना गरेको हो। प्रतियोगितामा नेपाल यसअघिका खेलमा अस्टे«लिया, बंगलादेश,  पाकिस्तान र वेस्ट इन्डिजसँग पराजित भएको थियो। नेपालले प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा दक्षिण अफ्रिकालाई हराएको थियो।

पुनेस्थित एमवाइसी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको श्रीलंकाले २ विकेट गुमाई २ सय ७४ रन जोडेको थियो । श्रीलंकाका लागि सुराङगा साम्पाथले १ सय ११ रन जोडेका थिए । तर सुराङगा रिटायर्ड हर्ट भएका थिए । उनले ४८ बलमा १९ चौका र १ छक्का प्रहार गरेका थिए ।

ओपनर रुवान बासान्थाले ७६ रन जोडे । उनले ४१ बलमा ८ चौका प्रहार गरेका थिए । श्रीलंकाका रुवान करुनाथिलाकाले ३३ र केभिदु साहान कुमाराले अविजित ३२ रन जोडे । खेलमा नेपालले २१ रन अतिरिक्त दिएको थियो ।

२ सय ७५ रनको लक्ष्य ललिएर आएको नेपालले पूरा २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १ सय ४३ रन मात्रै जोड्न सक्यो ।

ओपनर सुनील थापा मगरले ३८ रन बनाए । उनले ३० बलमा ४ चौका प्रहार गर्दै नेपाली टोलीको स्कोर बढाउने प्रयास गरे । तर सुनील चन्दना कुमाराबाट बोल्ड भएका थिए । यसैगरी नेपालका लागि कृतन श्रेष्ठ दुवालले प्रभावशाली ब्याटिङ गर्ने क्रममा ३७ रन बनाए । उनले ४७ बलमा २ चौका प्रहार गरेका थिए । पदमबहादुर बडैलाले १८ बलमा २३ रनको योगदान दिए । पदमले ३ चौका प्रहार गरेका थिए । नेपालका लागि अब्दुल जाहिद फाकिरले १० रन जोडे । लोकबहादुर थापा ८ रन बनाएर पवेलियन फर्किए । ओपनिङ ब्याट्सम्यान विक्रमबहादुर राना पहिलो बलमै आउट भएका थिए ।

नेपाली टोलीका प्रशिक्षक रिजन प्रजुले श्रीलंकाविरुद्ध फिल्डिङ कमजोर भएको बताए । उनले भने, ‘श्रीलंका हामी भन्दा निक्कै उत्कृष्ट टोली हो । उनीहरुलाई पराजित गर्न मुस्किल थियो । तर पनि हामीले जितका लागि पूरा प्रयास गरेका थियौं । तर फिल्डिङमा सोचेजस्तो प्रदर्शन हुन नसक्दा निराश हुनुप¥यो । हामीले हातमा आएको बललाई समेत रोक्न नसक्दा श्रीलंकालाई ५०–६० रन बढि दियौं । यसले श्रीलंकाको स्कोर बढाउन सहयोग गर्‍यो।’

नेपालले श्रीलंकाको दुई विकेट लिने क्रममा दुवै खेलाडीलाई रन आउट गरेको थियो।

नेपालका सुनील थापा मगरले रुवान वासान्थालाई र रमेशबहादुर बानिँयाले रुवान करुनाथिलालाई रनआउट गराएका थिए।

 

 

 

प्रकाशित: २४ माघ २०७३ ०१:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App