विपदमा काभ्रे: अधिक मानवीय तथा संरचनामा क्षति
२५ असोज २०८१
•
८ मिनेट पाठ
विपदमा काभ्रे: अधिक मानवीय तथा संरचनामा क्षति
गत साताको अबिरल वर्षामा बाढी, पहिरोले काभ्रेपलाञ्चोकमा अधिक मानवीय क्षति हुन पुग्यो। स्थानीयका गास–बास–कपाससँगै भौतिक संरचना पूर्ण रुपमा क्षति भयो। जिल्लामा १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० वटा तहमा बाढी, पहिरोमा परी ७७ जनाले ज्यान गुमाए। यो सङ्ख्या यस् विपद्मा मृत्यु हुनेमध्ये ३१ दशमलव ५६ प्रतिशत हो।




यसपटकको बाढी, पहिरोबाट काभ्रेपलाञ्चोकको पनौती नगरपालिका तथा बेचानचोक र रोशी गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेका छन्। बाढी, पहिरोमा परी जिल्लामा अझै पाँच जना बेपत्ता र ७५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

मृतकमध्ये पनौतीमा एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापको महिलाको मृत्यु भएको हो। घटनामा हालसम्म ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएका छन्।

जिल्लामा करिब १० हजार परिवार प्रत्यक्ष प्रभावित बनेको विपद् व्यवस्थापन समितिको अनुमान छ। बाढी, पहिरो र डुबानबाट बढी प्रभावितको यकिन तथ्याङ्क सार्वजनिक अझै हुन सकेको छैन।

सडक, विद्युत् र सञ्चार सम्पर्क हुन नसकेका कारण जिल्लाका प्रभावितको क्षतिको विवरण प्राप्त हुन नसकेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए। उनका अनुसार भौतिक संरचना, कृषि तथा पशुपंक्षीको यकिन क्षति विवरण आउन अझै केही दिन लाग्नेछ।

प्रारम्भिक तथ्याङ्क अनुसार समितिले पनौती एक हजार पाँच सय, रोशीमा छ सय, बेथानचोकमा एक हजार, मण्डनदेउपुरमा पाँच सय, नमोबुद्धमा तीन सय, धुलिखेलमा एक सय, बनेपा एक सय, पाँचखालमा एक सय, तेमालमा तीन सय, चौंरीदेउरालीमा एक सय, भुम्लुमा एक सय, महाभारतमा एक सय र खानीखोलामा एक सय गरी चार हजार नौ सय त्रिपाल, नौ हजार आठ सय म्याट र सोही सङ्ख्यामा ब्ल्याङ्केट उपलब्ध गराउन गृह मन्त्रालयलाई अनुरोध गरेको छ।

बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारका लागि जिल्लास्थित स्थानीय तहलेसमेत राहत रकम घोषणा गरेका छन्। बाढीपहिरोले सयौँ परिवार घरबारविहीन भएका छन् भने क्षतिग्रस्त भएका विभिन्न सडकमा यातायात सेवा अझै अवरुद्ध छ।

प्रभावित क्षेत्र विद्युत् र सञ्चारविहीन अवस्थामा रहेका छन्। सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेका स्थानीय तहमध्ये काभ्रेपलाञ्चोकका आठ तह हुन्। घोषित तह रोशी, पनौती, बेथानचोक, तेमाल, नमोबुद्ध, मण्डनदेउपुर, चौंरीदेउराली र महाभारत गाउँपालिका रहेका छन्।

जिल्लाका प्रभावित केही स्थानमा स्थानीय बेपत्ता अवस्थामै रहेका छन्। यसकारण मृतकको सङ्ख्या बढ्ने सम्भावना देखिन्छ। प्राप्त विवरण अनुसार जिल्लामा ७५ जनाको निधन भएको छ। निधन भएकाको प्रहरीले मुचुल्का प्राप्त गर्न नसक्दा मृतकमा सूचीकृत गर्न सकिएको छैन।

सरकारले दिने भनेको मृतक प्रतिव्यक्तिको परिवारलाई दुई लाख रूपैयाँका दरले नगद उपलब्ध गराउने काम तीव्र रूपमा भएको छ। पहिलो चरणमा ५५ जनालाई उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालयको टोली घर घर पुग्न थालेको छ। पहिलो चरणमा पनौती, मण्डनदेउपुर, नमोबुद्ध, बेथान्चोक र रोशी गाउँपालिकाका ५५ परिवारलाई दुई लाखका दरले राहत उपलब्ध गराउन शुरु गरिएको ढकालले बताए।

यस्तै विपदबाट घर, बहाल, आवास नस्ट भएका वा खाद्यान्न बाली तथा जग्गा जमिन वा पसल व्यवसाय समेत नोक्सानी भई तत्काल गुजाराको लागि खाद्यान्न समेत नभएका वा दुवै अवस्थाका पीडित परिवारलाई प्रतिपरिवार पाँच जनासम्म सदस्य भएमा १५ हजार र बढी भएमा २० हजारका दरले नगद सहायता उपलब्ध गराउने भएको छ। यसका लागि स्थानीयको सूची सङ्कलनका लागि स्थानीयले प्रक्रिया अघि बढाएको छ।

हालसम्म समितिलाई प्राप्त विवरणअनुसार पनौती–१२ मा करिब सात सय परिवार घरबारविहीन, १ नं वडामा ४० परिवार घरबारविहीन भएका छन् भने एक सय घर भत्किएका छन्। वडा नं २ मा ५२ घर, वडा नं ३ मा २५ घर पूर्ण रुपमा क्षति भएका छन्। यस्तै वडा नं ११ मा तीन सय ३७ घर भत्किएको जनाइएको छ।

समितिले तत्काल बेथान्चोक, चौंरीदेउराली र रोशी गाउँपालिकालाई चार थान पाल उपलब्ध गराई स्वास्थ्य सेवा सुचारु गरेको छ। पूर्वाधार, खाद्य कृषि तथा पशुपंक्षी, आश्रयस्थल, स्वास्थ्य, शिक्षा, बजार अनुगमन, खानेपानी सरसफाई तथा स्वच्छन्दता, सामाजिक संरक्षण र वातावरण तथा पोषणका लागि सरोकारवाला कार्यालयहरुको संयोजकत्वमा जिम्मेवारी दिएको समितिले जनाएको छ।

विसं २०२८ पछिको दोस्रो विपत्ति मानिएको काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा मूल्याङ्कनसमेत गर्न कठिनाइ हुने गरी क्षति भएकाले यकिन विवरण प्राप्त हुन समय लाग्ने बताइन्छ।

विशेषगरी बेथान्चोक, रोशी, तेमाल, पनौती, बनेपा, धुलिखेल, मण्डनदेउपुर, नमोबुद्ध, चौंरीदेउराली, खानीखोला, भुम्लु लगायतका तहमा धेरै मानवीय तथा भौतिक क्षति भएको छ।

राष्ट्रिय जनगणना २०७८ मा सामुदायिक प्रश्नावलीमार्फत प्रत्येक वडा कार्यालयमा गई सोधिएका प्राकृृतिक विपत् तथा जोखिमबारे सोधिएको प्रश्नानुसार काभ्रेपलाञ्चोक जिल्लाको कूल एक सय ३५ वडामध्ये बाढीको जोखिम ४९ (३६ दशमलव ३० प्रतिशत) वडा, पहिरोको जोखिम एक सय १५ (८५ दशमलव १९ प्रतिशत) वडा, भूक्षयको जोखिम ४३ (३१ दशमलव ८५ प्रतिशत) वडामा देखिएको थियो।

यस्तै जिल्लाका विभिन्न क्षेत्रमा डुबान, आँधी हुरी बतास, चट्याङ्ग, असिना, अतिबृष्टि, खण्डबृष्टि, लू, शीतलहर, सुख्खा वा खडेरी, आगलागी (बस्तीमा), बन डढेलो, हिमताल विस्फोट, हिमपहिरोलगायतका जोखिम छन्।

जिल्लामा बाढीपहिरोबाट करिब चार हजार पशुपंछी मरेको अनुमान गरिएको छ। सबैभन्दा धेरै पनौती नगरमा दुई हजार सय सय पशुपंछी मरेका छन्। जिल्लास्थित पशु सेवा कार्यालयका निमित्त प्रमुख डा. निशान्त शर्मा गेलालका अनुसार जिल्लाका १३ वटै तहबाट प्रारम्भिक तथ्याङ्क सङ्कलन  भइरहेको छ।

सञ्चार सम्पर्क नभएका कारण यकिन तथ्याङ्क आउन केही दिन लाग्ने भएकाले प्रारम्भिक तथ्याङ्क सङ्कलन गरी खोज, उद्धार तथा उपचार र राहतका कार्यक्रम शुरु गरिएको गेलालले बताए। उनका अनुसार मरेका पशुहरुको व्यवस्थापन, घाइते पशुको उपचार तथा आहारका लागि स्थानीय तहमार्फत सहयोग उपलब्ध गराइएको छ। स्थानीय सडकमार्ग सञ्चालन लगत्तै प्रभावित तहमा सहयोग उपलब्ध गराइने गेलालले बताए।

जिल्लाको रोशी, चौँरीदेउराली, महाभारत, खानीखोलालगायतका तहमा भएको क्षतिको विवरण नै प्राप्त भएको छैन। प्राप्त जानकारी अनुसार धुलिखेलमा दुई सय ९१, बनेपामा ६९, नमोबुद्धमा १२, मण्डनदेउपुरमा तीन, पनौतीमा दुई हजार एक सय, पाँचखालमा चार सय ४०, बेथानचोकमा ८०, भुम्लुमा नौ सय ८७ र तेमालमा २५ वटा पशुपन्छी मरेको कार्यालयले जनायो।

यसमध्ये ५२ वटा गाई, ४० वटा भैसी, एक सय ६४ वटा बाख्रा, एक सय १३ वटा बंगुर, एक हजार एक सय २९ कुखुरा, चार सय चार वटा हाँस, पाँच वटा खरायो गरी चार हजार सातवटा पशुपन्छी मरेको प्रारम्भिक तथ्यांक प्राप्त भएको हो। मरेका पशुको उचित ब्यवस्थापन हुन नसक्दा गाउँभर गन्ध फैलन थालेको स्थानीय बताउँछन्।

यसैगरी बाढी, पहिरोले काभ्रेपलाञ्चोकमा कम्तिमा ९२ विद्यालयमा क्षति पुगेको छ। जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको जिल्ला शिक्षा एकाईले जनाएको छ।

अविरल वर्षाका कारण बाढी, पहिरो आएदेखि विद्यालय पूर्ण रुपमा बन्द गरिएको छ भने विद्यालयले अर्को सूचना जारी नगरेसम्म विद्यालय नै बन्द रहने क्षतिग्रस्त विद्यालय सार्वजनिक सूचनामार्फत जानकारी गराएका हुन्।

एकाई प्रमुख देवकी ढकालले बाढीपहिरोबाट जिल्लाको पनौती नगरपालिकामा १३, रोशी गाउँपालिकामा १२, बेथानचोक गाउँपालिकामा पाँच, भुम्लु गाउँपालिकामा १०, तेमाल गाउँपालिकामा सात, धुलिखेल नगरपालिकामा पाँच, पाँचखाल नगरपालिकामा १३, चौँरीदेउराली गाउँपालिकामा २८, बनेपा नगरपालिकामा तीन, खानीखोला गाउँपालिकामा चार र मण्डनदेउपुर नगरपालिकामा छ विद्यालयमा क्षति पुगेको जानकारी दिए।

उनका अनुसार बाढीपहिरोबाट सबैभन्दा धेरै विद्यालयमा क्षति पुगेको स्थानीय तह रोशी, पनौती र बेथानचोक हुन्। “रोशी, पनौती र बेथानचोकका अधिकांश विद्यालयमा अधिक मात्रामा क्षति पुगेकाले तत्काल सञ्चालन गर्नसक्ने अवस्था छैन”, उनले भने।

एकाईका अनुसार बाढी, पहिरोका कारण पनौतीमा तीन, रोशीमा दुई, तेमालमा दुई र धुलिखेल नगरमा एक विद्यार्थीको मृत्यु भएको छ। उनले जिल्लाका क्षतिग्रस्त विद्यालयमा के कसरी सञ्चालन गर्न सकिन्छ भन्नेबारे माथिल्ले निकायसँग समन्वय गरेर मात्रै निर्क्याेल गरिने बताए।

उनका अनुसार बाढीपहिरोले क्षति पुर्‍याएको जिल्लाको दुई स्थानीय तह नमोबुद्ध नगर र महाभारत गाउँपालिकाको विद्यालयमा पुगेको क्षति विवरण आइपुगेको छैन।

यसैबीच जिल्लाका विपद् प्रभावित चार तहलाई बागमती प्रदेश सरकारले २०÷२० लाख रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। गत शनिबारको मन्त्रिपरिषद् बैठकले काभ्रेपलाञ्चोकको रोशी, बेथानचोक र तेमाल गाउँपालिका तथा पनौती नगरलाई २० लाख रूपैयाँका दरले सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो।

यस्तै नमोबद्ध र मण्डनदेउपुर नगर तथा चौंरीदेउराली र महाभारत गाउँपालिकालाई १० लाख रूपैयाँका दरले रकम पाँच करोड ८० लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो।

असोज १२ गते रोशी खोलाको बाढीले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिको सीमास्थल चौकीडाँडामा बगाएपछि उक्त स्थानबाट सडकसम्पर्क टुटेपछि रोशी गाउँपालिकाको विपद् पीडित तथा राजमार्ग हुँदै मध्यपहाडी क्षेत्र एवं पूर्वी तराईबाट आएका अलपत्र यात्रुलाई भोलिपल्टदेखि हेलिकप्टरमार्फत उद्धार गर्न थालिएको थियो।

राजधानीसँग मध्यपहाडी क्षेत्र हुँदै पूर्वसँग जोड्ने एक मात्र छोटो दूरीको उक्त राजमार्ग गत शनिबार विहानदेखि नै ठप्प छ। नमोबुद्ध नगरपालिका–६ र रोशी गाउँपालिका–७ को सीमास्थल उक्त स्थानमा रोशी खोलाले कटान गर्दै सडक बगाएपछि माथि ठूलो भीर भएको र रोशी खोलाको बहाबका कारण सो स्थानबाट पैदलसमेत आवतजावत गर्न सकिएको थिएन।

विभिन्न स्थानमा बाढीले सडक अवरुद्ध बनाएपछि उक्त राजमार्गमा अड्किएका सवारीसाधन सञ्चालन काभ्रेपलाञ्चोकको भकुण्डेबेंसी र सिन्धुलीको नेपालथोकबाट सडक मर्मतको कामसमेत थालिएको जनाइएको छ।

सडक डिभिजन कार्यालय भक्तपुरले गत मङ्गलबारदेखि रोशी खोलाको बाढीले सबैभन्दा बढी अवरुद्ध तथा क्षतिग्रस्त सडक मर्मतको काम सुरु गरेको थियो। साथै, विभागले बगाएको चौकीडाँडाको दुई सय मिटर सडकमा अस्थायी रुपमा सडक निर्माण थालेको जनाइएको छ।

रोशी खोलाको बहाबलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन हुने गरी निर्माण थालिएको कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनीयर सुमन योगेशले बताए। एकतर्फी भए पनि यातायात सञ्चालन गर्ने गरी अस्थायी रुपमा सडक बनाउन थालिएको उनले जानकारी दिए।

- रासस, राजकुमार पराजुली
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
अपराध
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
Whatsapp
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्।
Whatsapp
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेश...
Whatsapp
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
राजनीति
Clock ३६ मिनेट अघि | ० मिनेट पाठ
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन...
Whatsapp
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो।
Whatsapp
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
Whatsapp
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
Whatsapp
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा आठ जना पक्राउ परेका छन्।
Whatsapp
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
Whatsapp
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।
Whatsapp
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस