१७ वैशाख २०८१ सोमबार
image/svg+xml
विचार

‘क्रोनी क्यापिटलिज्म’को राज

सन् १९९७ को एसियन मौद्रिक संकटलाई चित्रण गर्न खुबै प्रयोग भएको शब्द हो ‘क्रोनी क्यापिटलिज्म’ अर्थात् याराना पुँजीवाद। नेपालको अर्थतन्त्र र आर्थिक विकासलाई चित्रण गर्न पनि यो शब्दले सटीक अर्थ राख्छ। यस लेखमा नेपालमा भएका क्रान्तिहरू र क्रान्तिपश्चात् मौलाएको ‘क्रोनी क्यापिटलिज्म’लाई संक्षेपमा विश्लेषण गरिएको छ।

क्रोनी क्यापिटलिज्मका केही मुख्य विशेषतामध्ये सबैभन्दा ठूलो विशेषता भनेको नै राजनैतिक सम्बन्धका आधारमा राज्य संयन्त्रलाई प्रयोग एवंदुरुपयोग गरी व्यापार व्यवसायमा सरिक हुने र धन आर्जन गर्ने आर्थिक क्रियाकलाप हो। क्रोनी क्यापिटलिज्ममा मूलतः आर्थिक रूपमा अस्तित्वमा नभएका र पेसागत रूपमा आफ्नो दक्षता साबित गर्न नसकेका व्यक्तिहरू राजनैतिक रूपमा सलबलाउने, नेतृत्व पनि सोही किसिमको हुने र राज्य वा सत्तालाई आफ्ना र आफूसँग नजिक भएका वा आफ्नो आर्थिक स्वार्थ पूर्ति गर्न एकाकार हुने व्यक्तिहरूमार्फत व्यापार व्यवसाय गर्न लाइसेन्स दिने, प्राकृतिक स्रोत र साधन कब्जा गर्न लाइसेन्स दिने, विभिन्न शीर्षक र बहानामा कर छुट दिने, सानादेखि ठूलाठूला ठेक्कापट्टाका कामहरू या त आफ्नालाई दिने वा कमिसन लिएर दिने वा दुवै गर्ने, राज्यको ढुकुटीलाई चरम रूपमा दुरुपयोग गर्ने लगायतका आर्थिक बेथितिमा क्रोनी क्यापिटलिज्म मौलाएको हुन्छ। आफ्ना मान्छे र राजनैतिक दलका कार्यकर्तालाई पाल्नका लागि राज्य संयन्त्रको चरम दुरुपयोग हुन्छ। कर्मचारीतन्त्र पनि दल र नेताको निगाहामा निर्भर हुन पुग्छ। नेतालाई वा शक्तिमा बस्ने व्यक्तिलाई खुसी पार्ने क्षमता भए सफल होइन्छ भन्ने अवधारणाले जरो गाड्छ।

शक्तिमा बस्ने व्यक्तिलाई खुसी पार्ने क्षमता भए सफल होइन्छ भन्ने अवधारणाले जरो गाडेको छ।

नेपालमा भएका प्रत्येक क्रान्ति खास गरी २०४७ र २०६३ सालमा भएका परिवर्तनपश्चात्क्रोनी क्यापिटलिज्म रात एक गुणा र दिन दुइ गुणाका दरले बढेको देखिन्छ। क्रोनी क्यापिटलिज्मको बढोत्तरीले राज्यको एउटा अंग मात्रै नभएर सम्पूर्ण अंगहरूलाई नै आफ्नो कब्जामा लिन पुगेकोछ। परिणामतः क्रोनी क्यापिटलिज्म कार्यपालिकी र विधायिकी क्रियाकलापको केन्द्रमा रहेर काम गर्न थालेको छ। त्यति मात्रै नभएर न्यायालय, नागरिक समाज, मिडिया लगायत समाजकासबै महत्वपूर्ण अंगहरूलाई पनि क्रोनी क्यापिटलिज्मले आफ्नो नियन्त्रण वा प्रभाव राखेको छ। अर्को अर्थमा भन्दा क्रोनी क्यापिटलिज्मले राज्यलाईनै कब्जा गरेको छ। यस्तो अवस्थामा क्रोनी क्यापिटलिज्मको विरुद्धमा मुखरित भएका आवाजहरूलाईनै गलत देखाउनेसम्मको डरलाग्दो अवस्था समाजमा सिर्जना भएको छ। आजको नेपालको अवस्था यस्तै छ भन्दा हिनताबोध हुन्छ तर यो यथार्थलाई इन्कार गर्न सकिन्न।

केही समययता श्वेतपत्र लगायतका दस्तावेज र मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिले पनि यही कुरालाई पुष्टि गरेको छ। अझै महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक भएपश्चात् त क्रोनी क्यापिटलिज्मका नाइके स्वयं राजनैतिक नेतृत्वनै रहेछ भन्ने कुरा प्रस्ट भएको छ। किन एकपछि अर्को गरेर भएका क्रान्ति र राजनैतिक परिवर्तनहरू क्रान्ति र परिवर्तनको मूल उद्देश्यबाट विचलित भई क्रोनी क्यापिटलिज्मका लागि उर्वर अवस्था सिर्जना गर्ने साधन बन्न पुगे भन्ने सवाल गम्भीर रूपमा उठ्न पुगेको छ।

जबसम्म नेपालको आन्तरिक अवस्थालाई जर्जर बनाउने क्रोनी क्यापिटलिज्मको अन्त्य गर्ने योजना र त्यसको द्रुत कार्यान्वयन हुन सक्दैन, तबसम्म ओली सरकारले गर्ने कार्य र विकासका योजनाले पनि क्रोनी क्यापिटलिज्मलाई नै टेवा पुग्नेछ।

यातायातमा देखिएको सिन्डिकेट, शैक्षिक क्षेत्रमा देखिएको रजगज, वित्तीय क्षेत्रमा देखिएको नियन्त्रण, जलविद्युत्को क्षेत्रमा देखिएको कब्जा, निर्माण लगायतका क्षेत्रमा देखिएको सेटिङ, अधिकारको दुरुपयोग, कर्मचारी संगठन र राजनीति, र न्यायको किनबेच जस्ता कार्यहरूक्रोनी क्यापिटलिज्मका केही उदाहरण मात्रै हुन्।

मुलुकलाई क्रोनी क्यापिटलिज्मले किन ग्रस्त बनायो र यसको सम्बोधन कसरी गर्न सकिन्छ भन्ने सवालबारे यस लेखमा सांगोपांगो रूपमा विश्लेषण गर्न नसकिए पनि केही मूलभूत पक्षहरूबारे संक्षेपमा विश्लेषण गरिएको छः

१. लोकतन्त्रले शक्तिलाई नियन्त्रण गर्छ र शक्तिलाई कानुनको शासनभित्र राख्छ। तर शक्तिमा पुग्ने र शक्तिका आधारमा कानुन र प्रणालीलाई नै आफ्नो नियन्त्रणमा राख्ने जुन संस्कार नेपाली समाजमा ऐतिहासिक रूपमा नै जरा गाडेर बसेको थियो, त्यसलाई हाम्रा कुनै पनि क्रान्ति र परिवर्तनले छुन सकेनन्।

२. क्रान्ति र परिवर्तनका अग्रणी व्यक्तित्वहरू वा नेतृत्वदायी व्यक्तिहरूले पनि नेपाली समाजमा ऐतिहासिक रूपमा नै जरा गाडेर बसेको संस्कारलाई न त आफूले त्याग्न सके न त त्यस्तो संस्कारलाई सामाजिक रूपमा त्याग्न समाजको नेतृत्व गर्न सके।

३. प्रत्येक क्रान्ति र राजनैतिक परिवर्तनको मुख्य उद्देश्य कानुनको शासनमार्फत प्रणाली विकास गर्ने र प्रणालीका आधारमा शासन गर्ने हुनुपर्ने थियो। तर प्रणालीभन्दा व्यक्तिलाई प्रधानता दिने र व्यक्तिलाई रिझाएर प्रणालीलाई नै कब्जा गर्न सकिने जुन राजनैतिक संस्कार राणा काल र पञ्चायतमा हाबी थियो त्यही संस्कार र प्रवृत्तिलाई हामीले जानी वा नजानी राष्ट्रिय संस्कारकारूपमा मान्यता दियौँ।

४. क्रोनी क्यापिटलिज्मले जीवनको उद्देश्य नै परिमार्जित गरिदिन्छ। अर्थात् जोखिम लिएर लगानी गर्ने र मेहनत एवं आविष्कार गरी नयाँ वस्तु वा सेवा उत्पादन गर्नुको सट्टामा राज्यको शक्तिलाई दुरुपयोग गरी धन आर्जन गर्ने प्रवृत्तिक्रोनी क्यापिटलिज्मको सारभित्र पर्छ। क्रोनी क्यापिटलिज्मको यो चरित्र र नेपाली समाजमा देखापरेको ‘जसरी पनि पैसा कमाऊ’ भन्ने प्रवृत्तिको समायोजन सामाजिक रूपमा नै भएको छ। जसलाई हाम्रा क्रान्ति र परिवर्तनले तोड्न सक्नुपथ्र्याे तर तोड्न सकेनन्। त्यसैले नेपाली समाजमा सम्पन्न भएका राजनैतिक क्रान्ति र परिवर्तनले सामाजिक रूपान्तरण गर्न सकेको देखिँदैन। जे जुन रूपान्तरण देखिन्छ, त्यो क्रोनी क्यापिटलिज्मले भित्र्याएको आडम्बर हो, जसले पञ्चायतकालमा भन्दा बेसी असमानता सिर्जना गरेको छ। जसको उदाहरणकारूपमा गिनी इन्डेक्सलाई लिन सकिन्छ।

हाम्रा विगतका क्रान्तिले खासै गरी माओवादी कालमा हिंसाका भरमा परिवर्तन गर्न सकिन्छ भन्ने गलत सोच र अवधारणलाई समाजमा स्थापित गर्ने नकारात्मक संस्कार मुलुकमा भित्रियो। परिवर्तन हिंसाबाट होइन, सामाजिक संस्कार र सकारात्मक रूपमा वैयक्तिक सोच बदलेर मात्रै हुन सक्छ भन्ने मान्यता नेतृत्वले स्थापित गर्न सकेन।

त्यसैले निर्वाचनपश्चात्को ओली सरकारले केही राम्रा वा प्रशंसनीय कार्य गरे पनि क्रोनी क्यापिटलिज्मले नेपाली समाजमा पु-याएको क्षति सम्बोधन गरीक्रोनी क्यापिटलिज्मलाई अन्त्य गर्न सक्नुपर्छ। वास्तवमा क्रोनी क्यापिटलिज्म नै भ्रष्टाचार समेतको मूल जड भएको हुनाले क्रोनी क्यापिटलिज्मको अन्त्य गर्न सकेको खण्डमा मात्रै ओली सरकार सफल हुनेछ। भारत भ्रमणको समयमा प्रधानमन्त्री ओलीले जे जसरी नेपालको शिर उच्च राख्ने कार्य गरे त्यो प्रशंसनीय छ। अन्तर्राष्ट्रिय कानुनका आधारमा दुई देशबीचको सम्बन्धलाई व्याख्या गर्ने र नदीको पारवहनमार्फत समुन्द्रसम्म नेपालको पहुँच सम्बन्धमा जे जस्ता उपलब्धि ओली सरकारले गरेको छ, त्यसको कार्यान्वयन हुँदा नेपालको भूपरिवेष्ठित अवस्थामा ठूलै परिवर्तन आउन सक्छ। तर जबसम्म नेपालको आन्तरिक अवस्थालाई जर्जर बनाउने क्रोनी क्यापिटलिज्मको अन्त्य गर्ने योजना र त्यसको द्रुत कार्यान्वयन हुन सक्दैन, तबसम्म ओली सरकारले गर्ने कार्य र विकासका योजनाले पनि क्रोनी क्यापिटलिज्मलाई नै टेवा पुग्नेछ।

तसर्थ ओली सरकारले अब निम्न कार्य गर्न सकेको खण्डमा मात्रै मुलुकले राहत पाउन सक्ने देखिन्छ :

क) क्रोनी क्यापिटलिज्मको अन्त्य गर्नका लागि योजना बनाउने र सोको द्रुत कार्यान्वयन गर्ने।

ख) सत्ता र शक्तिलाई कुनै दल वा सो दलका कार्यकर्ता पोस्ने संयन्त्र नबनाई सम्बन्धित विषयमा विज्ञता भएका सक्षम व्यक्तिलाई मेरिटका आधारमा उत्तरदायित्व दिने।

ग) मुलुकको स्रोत र साधनलाई केही सीमित व्यक्तिहरूको कब्जामा पर्न नदिने।

घ) कानुनको शासनलाई संस्थापित गर्ने। उदाहरणका लागि, संविधानले पक्राउ परेको व्यक्तिलाई सोको कारणसहितको सूचना दिनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ। तर पक्राउ परेको व्यक्तिलाई दिएको थुनुवा पुर्जीसमेत निजका कानुनव्यवसायीलाई दिनबाट प्रहरी थुना केन्द्रहरूले मनाही गर्ने पञ्चायती शैली अझै पनि मुलुकमा जीवित छ। यस्ता साना साना सवालको पनि व्यक्तिको जीवनमा धेरै ठूलो अर्थ हुन्छ। यस्ता मौलिक अधिकारलाई निसर्तरूपमा लागू गर्ने र त्यस्तो अधिकारको प्रयोग गर्नबाट वञ्चित गर्ने प्रहरी कर्मचारीलाई कडा दण्ड गर्न सक्नुपर्छ।

अन्त्यमा, अब ठूला कुरा गरेर मुलुक रूपान्तरण हुन सक्दैन। संविधानवाद भित्रबाट मुकुकलाई अघि बढाउन र क्रोनी क्यापिटलिज्मलाई अन्त्य गर्न सकेको खण्डमा मात्रै मुलुकले निकास पाउन सक्छ।

वरिष्ठ अधिवक्ता

प्रकाशित: ९ वैशाख २०७५ ०६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App