निर्वाचनका सर्त
१९ जेष्ठ २०७०
•
१२ मिनेट पाठ
निर्वाचनका सर्त
नेपालका बुद्धिजीवी, व्यापारी, राजनीतिकर्मी र सर्व साधारण सबैको एउटै प्रश्न छ :  होला त मंसीर सम्ममा व्यवस्थापिका र संविधान सभाका लागि चुनाव? के नेपाली जनताले बासी प्रतिनिधिबाट मुक्ति पाएर ताजा जनादेश दिन पाउलान्? संविधान सभाको विघटन सँगै उब्जेको यस प्रश्नले अहिले विशेष महत्व पाउनुमा नेपाली राजनीतिको सशक्त खुड्किलो मानिने स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगन नै हो। साथै, चुनाव हुन्छ वा हुँदैन भनेर कसैले किटान गर्नसक्ने अवस्था पनि छैन। अहिलेका राजनीतिक शक्ति चुनावको पक्ष र विपक्षमा मात्र विभक्त भएका होइनन् मौकाअनुसार दुवै स्थितिमा आफ्नो पक्ष बलियो बनाउने रणनीतिमा लागिपरेका पनि छन्। यिनैका क्रियाकलापले नेपालको राजनीतिक भविष्यका आउँदा छ महिना निर्क्यौल गर्नेछन्।
राजनीतिक सिद्धान्तको आधारमा चुनावको पक्षमा हुनुपर्ने शक्ति नेपाली कांग्रेस हो। छयालीस सालको आन्दोलनपश्चात राजनीतिक धारमा अर्थपूर्ण रुपमा परिवर्तन भएको शक्ति नेकपा (एमाले) हो। एमालेलाई कसैले पनि गैरलोकतान्त्रिक शक्ति भन्न सक्दैन, केबल यसका अध्यक्ष कहिलेकाहीं 'घोर अतिवाम' हुन रुचाउनु हुन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टी कुनैपनि रूपमा लोकतन्त्रको छहारीबाहिर बाँच्दैन र उसले यो स्वीकारेको पनि छ। नेपालमा लोकतन्त्र संस्थागत गर्नसक्ने क्षमता र इच्छा भएको अर्को शक्ति लोकतान्त्रिक नागरिक समाज हो। उल्लेखित सबै शक्तिले जसरी पनि निर्वाचन गराउनु पर्छ भनेर समवेत स्वरमा आवाज उठाउन सके नेपाली बुद्धिजीवी र स्वतन्त्र व्यक्तिका साथै अन्तर्राष्ट्रिय शक्तिले पनि यिनलाई सहयोग गर्नेमा कुनै शंका छैन। बुद्धिजीवी, मध्यम वर्गीय र व्यावसायिक वर्ग सडकमा आएर कुनै राजनीतिक माग अगाडि सारे भने कसैले उपेक्षा गर्न सत्तै्कन। एनेकपा (माओवादी)ले २०६६ सालमा गरेको सात दिने बन्दका विरोधमा आएको 'सेतो कमिज'को जुलुसले यस समूहको प्रभाव र शक्ति देखाई पनि सकेको छ।
लोकतान्त्रिक शक्तिहरु नै निर्वाचनमा 'अर्जुन दृष्टि' लगाएर हिंड्ने भन्दा चुनाव हुन्छ कि हुँदैन भनेर आआफँै अस्पष्ट देखिएका हुनाले तिनले सही नियतले उठाएका विषय पनि चार दिशा फर्केजस्ता भएका छन्। नेपाली कांग्रेसका नेताले बारम्बार मुखले घोषणा गरेका भए पनि लोकतान्त्रिक शक्तिको मोर्चा बन्न सकेको छैन। यिनै सबै कारणले गर्दा निर्वाचनको वातावरण बन्नुभन्दा बिथोलिन सहयोग पुगेको छ।
नेपालको सबैभन्दा पुरानो दल र लोकतन्त्रको सबैभन्दा सशक्त आवाज नेपाली कांग्रेसले पछिल्ला दिनमा लोकतन्त्रको मर्मप्रतिकूल कदम चालिदिनाले चुनाव विरोधीलाई बल पुगेको छ। प्रधान न्यायाधीशको अध्यक्षतामा सरकार बनाउनुभन्दा बाबुराम भट्टराईको सरकारलाई चुनाव गराउन दिएको भए बढी लोकतान्त्रिक हुन्थ्यो भन्ने बहस अब पुरानो भइसकेको छ। नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले यसलाई गल्ती मानिसकेको अवस्थामा धेरै लामो गलफती गरिरहनै परेन। तर, अहिले फेरि मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा दिनुपर्ने कोइरालाको मागले चुनावी वातावरण धमिलिने छाँट देखिएको छ। निर्वाचन आयोगमा विधिवत् दर्ता पनि नभएको र चुनावै नचाहने दललाई निर्वाचनमा ल्याउन रेग्मीको राजीनामाको प्रमुख भूमिका हुन्छ भन्नु अत्यन्त कमजोर तर्क हो। यसै पनि, वैद्य माओवादी शक्ति सन्तुलन मिलेन भनेर चुनावमा नआउने भन्नु आफैँमा हास्यास्पद छ। सिद्धान्ततः उसलाई यसले फरक पार्दैन। तर लोकतान्त्रिक दलहरु यही विषयमा बढी लहसिएको देखिनु माओवादीको आधारभूत सिद्धान्त पनि नबुझे सरह हो। २५ बुँदे बाधा अड्काउ फुकाउने निर्णय बदर गराएर बाधा अडकाउ फुकाउको नयाँ अभ्यास हुनथाल्यो भने अहिलेसम्म बनेको चुनावी वातावरण पनि बिथोलिने जोखिम बढ्नेछ।
एमालेका अध्यक्ष र दलका अन्य शक्तिशाली नेताको आपसी खिँचातानीले पनि निर्वाचनको वातावरण बनाउन अप्ठेरो पारिरहेको छ। एमालेका अध्यक्ष चार दलीय संयन्त्रमा जेमा सहमत हुन्छन् उनको दलले त्यसको ठीक विपरीत निर्णय गर्नेगरेको छ। दलबाट संगठित निर्णय गराउन नसकेपनि एमालेको अधिकांश संगठन लोकतन्त्रप्रति प्रतिबद्ध छ तर यसले कांग्रेससंग लोकतन्त्र संस्थागत गर्ने कार्यमा सहकार्य गरेमा मात्र निर्वाचन हुनसक्छ।
नेपालको लोकतान्त्रिक नागरिक समाजले आफ्नो आवाज बुलन्द ढंगले प्रस्तुत गर्न नसक्दा पनि विगतमा अलोकतान्त्रिक काम गर्ने शक्तिलाई पुठ मिलेको छ। प्रधान न्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउनु हुँदैन भनेर नागरिक समाजले धेरै आवाज उठायो, त्यस्तै लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धानको आयोगको प्रमुख बनाउनु हुन्न भन्ने आवाज पनि त्यत्तिकै सशक्त ढङ्गले अगाडी बढ्यो तर सामाजिक संजाल अर्थात् फेसबुक र टि्वटरमा मात्र। रेग्मीको निर्णय नगर्न राष्ट्रपतिलाई दबाब दिन गएको जुलुसमा जम्मा १८ जनामात्र थिए (यो लेखक पनि त्यसमध्येको एक थियो)। कार्कीको विरोध गर्दै राष्ट्रपति कार्यालय घेर्न गएको जुलुसमा रामकुमारी झाँक्रीजस्ती लडाकु युवा नेताको साथ हुँदाहुँदैपनि  दुईसय जना पनि जम्मा हुन सकेको देखिएन। जनस्तरमा दबाब सिर्जना गर्न नसकिएपछि राष्ट्रपतिले मात्र अडान लिन सक्छन् भनेर आशा गर्नु अर्थहीन थियो र दुवै अवस्थामा त्यस्तै भयो। अहिले आएर प्रधान न्यायाधीश पदबाट रेग्मीलाई राजीनामा गराउनु पर्छ भन्ने नागरिक समाजको मागले निर्वाचन गराउन सहयोग पुर्‍याउँदैन भनेर नागरिक समाजकै वरिष्ठ सदस्यले पनि बोल्न थालेका छन्। नागरिक समाजले निर्वाचनको पक्षमा एकजुट भई बुलन्द आवाज उठाउन सक्ने हो भने कुनै राजनीतिक शक्तिले पनि यसलाई पन्छाउन सक्ने अवस्था रहने थिएन।
निर्वाचन भए वा नभएको दुवै अवस्थामा आफ्नो शक्ति घटेको देख्न नचाहने एनेकपा (माओवादी) अहिले राजनीतिको केन्द्रमा छ। उसले मात्र चाहेर निर्वाचन संभव नभएता पनि चाहेको अवस्थामा चुनाव बिथोल्न यथेष्ट शक्ति र स्रोत एमाओवादीसँगै छ। यस दलको निर्वाचनप्रतिको सैद्धान्तिक प्रतिबद्धता भने छैन। विसं २०६५ को चुनावी नतिजाको हाराहारीमा आफ्नो स्थान रहने हो भने उ निर्वाचनमा जान्छ होइन भने जाँदैन। वैद्य पक्षीय नेकपा–माओवादीले चुनावमा भाग नलिने र बिथोल्न पनि नसक्ने हो भने एनेकपा (माओवादी) चुनावमा जान हच्किनेछैन। तर वैद्य समूहले प्रचण्ड–बाबुराम समूहसँग कुनैपनि प्रकारको चुनावी तालमेल नगरी निर्वाचनमा जान्छु भन्यो भने एनेकपा माओवादीलेनै चुनाव भाँड्न षडयन्त्र गर्ने प्रशस्त संभावना रहन्छ।
निर्वाचन भएपनि वा नभएपनि आफ्नो शक्ति सन्तुलनमा फरक नपरे हुन्थ्यो भन्ने चाहना राख्ने अर्को राजनीतिक शक्ति मधेसी मोर्चा हो। सधैँ कुनै न कुनै रुपमा शक्तिको वरिपरि रहने र भारतद्वारा निर्देशित भूमिकामा अभिनय गर्न रुचाउने आरोप लागेको यस शक्तिले के गर्छ भन्ने निर्क्योल निकाल्न निकै गाह्रो छ। तर निर्वाचनबाट भारतले रुचाएको व्यक्ति वा शक्तिले जित्ने अवस्था देखिएमा यस शक्तिले चुनाव बिथोल्नेछैन भन्ने विश्वास गर्न सकिन्छ।
अन्त्यमा, निर्वाचन गर्न वा गराउन खिलराज रेग्मीको सरकारको आत्मविश्वास महत्वपूर्ण छ। यो सरकारले लोकतान्त्रिक दल र नागरिक समाजसँग राम्रो सम्बन्ध विकास गरेर निर्वाचनमा जाने निधो गर्ने हो भने निर्वाचन ऐनमा न्यूनतम राजनीतिक सहमति जुट्न गाह्रो हुँदैन। कांग्रेस र एमालेले निर्वाचनमा सहयोग गरेको खण्डमा एनेकपा माओवादी पनि आफूलाई निर्वाचन भाँड्ने खेलाडीको रुपमा प्रस्तुत गर्नसक्ने अवस्था रहँदैन। नागरिक समाजले पनि सम्पूर्ण शक्ति अहिलेको प्रक्रियालाई सही बाटोमा लगाउनका लागि खर्च गर्नुभन्दा अलिकति लचिलो भई देशको भविष्य रेखा कोर्नका लागि थोरै सम्झौता गर्दै निर्वाचनका लागि देश र जनतालाई तयार गर्नुपर्ने देखिन्छ। संविधान सभा र व्यवस्थापिकाको निर्वाचन र स्थानीय निकायको निर्वाचन हुन सकेको खण्डमा मात्र नेपाललाई अगाडि बढाउने सपना साकार पार्न सकिन्छ।


अर्को समाचार
वैद्यलाई निसर्त वार्ताको निम्तो
१९ साउन २०७०
•
९ मिनेट पाठ
वैद्यलाई निसर्त वार्ताको निम्तो
काठमाडौं - उच्चस्तरीय राजनीतिक समितिले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहित मोर्चामा रहेका दलहरूलाई बिनासर्त वार्तामा आउन आह्वान गर्दै पत्र पठाउने भएको छ।
अघिल्लो पत्रमा रहेको 'दोस्रो संविधानसभा निर्वाचनका लागि छलफल गर्ने' भन्ने शब्दावलीलाई मोर्चाले सर्तको रूपमा व्याख्या गर्दै वार्ता अस्वीकार गरेपछि समितिको शनिबार बसेको बैठकले 'सर्तविहीन पत्र पठाउने' निर्णय गरेको हो। समितिले मोर्चालाई पठाउन लागेको यो तेस्रो पत्र हो।
वैद्यको चाहनाअनुसार नै राजनीतिक समितिले संविधानसभा निर्वाचन भन्ने शब्दावली हटाएर पत्र पठाउन लागेको हो। पत्रमा वैद्यले चाहेको भाषा नै उल्लेख गरिनेछ। बैठकमा सहभागी एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठले 'उहाँ (वैद्य) ले भनेकै भाषामा पत्र पठाउने निर्णय भएको' बताए।
समितिमा संलग्न दलका नेताहरूले वैद्यसँग अनौपचारिक कुराकानी गरेपछि राजनीतिक समितिले औपचारिक निर्णय गरेको हो। ती अनौपचारिक छलफलमा वैद्यले प्रकट गरेको भावलाई समेटेर पत्र लेख्ने निर्णयमा राजनीतिक समिति पुगेको हो। एकीकृत माओवादी नेता श्रेष्ठका अनुसार 'छलफलमा व्यक्त भावलाई समेटेर त्यसैअनुसार पत्र लेख्ने निर्णय गरिएको हो।'
वैद्यले अनौपचारिक छलफलमा 'दोस्रो संविधानसभाको विषयमा कुराकानी गर्ने' भनी पत्रमा उल्लिखित अंश नै सर्त भएको जिकिर गरेका थिए। उनले अहिलेको समसामयिक राजनीतिक परिस्थिति र त्यसबाट उत्पन्न समस्याहरूको विषयमा वार्ता गर्न सकिने आशय व्यक्त गरेका थिए। त्यसैअनुसार तेस्रो पत्रमा 'वर्तमान राजनीतिक परिस्थिति तथा राजनीतिक समस्या समाधानका लागि छलफल गर्ने' भन्ने पदावली राखिने भएको छ।
बैठकमा सहभागी एमाले नेता रघु पन्तले 'संविधानसभा भन्ने शब्द उल्लेख नगरी वर्तमान राजनीतिक परिस्थितिमा छलफल गर्ने' आशयको शब्दावली राखी पत्र पठाउन लागेको जानकारी दिए। यसअघिको पत्रमा 'दोस्रो संविधानसभा निर्वाचनका लागि' भन्ने शब्दावली राखिएको थियो जसलाई वैद्यसहितको मोर्चाले सर्तको रूपमा लिएको थियो।
त्यस्तै, दोस्रो पत्रमा उल्लिखित '३३ दलीय भनेर चर्चामा आएको' भन्ने शब्दावली राखेर सामान्य शिष्टाचारसमेत पालना नगरेको भन्दै मोर्चाले आपत्ति जनाएको थियो।
पन्तका अनुसार पहिले पठाइएका दुई पत्रलाई सर्तको रूपमा लिइएपछि उनीहरूले खोजेकै भाषामा तेस्रो पत्र पठाइएको हो। निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट दलहरूलाई वार्तामा ल्याउन राजनीतिक समिति लचिलो हुँदै यस किसिमको निर्णय गरेको पनि उनले बताए।
स्रोतको भनाइमा समितिले यसलाई अन्तिम पत्रको रूपमा लिएको छ। त्यति मात्र नभएर वार्ताको प्रक्रियालाई छिटोभन्दा छिटो नटुंग्याए निर्वाचन प्रक्रिया प्रभावित हुन सक्ने निष्कर्ष निकाल्दै समिति लचिलो भएको हो। समितिले वार्ता प्रक्रियालाई एक हप्तामा सल्टाउनुपर्ने निष्कर्ष पनि निकालेको छ। त्यस्तै वैद्य नेतृत्वको माओवादी निर्वाचन प्रक्रियाप्रति प्रतिबद्ध भए/नभएको परीक्षण गर्न पनि समिति यो निष्कर्षमा पुगेको हो।
समितिको यो निर्णयलाई वैद्य माओवादीले सकारात्मक रूपमा लिएकाले मोर्चा वार्ताको टेबलमा आउने सम्भावना छ। 'बिनासर्तको पत्र आए वार्तामा बस्न सकिन्छ भन्ने हाम्रो नीतिगत निर्णय नै हो', नेकपा–माओवादीका प्रवक्ता पम्फा भुषालले नागरिकसँग भनिन्। वैद्य माओवादीले मंसिर ४ को निर्वाचन सार्नुपर्ने र अहिलेको सरकार परिवर्तन गरी दलीय सरकार हुनुपर्ने अडान राखिरहेको विषयमा जिज्ञासा राख्दा भुषालले भनिन्, 'हाम्रा पनि अडान छन्, उहाँ (प्रमुख चार दल) हरूको पनि आफ्नै अडान छन्, वार्तामा बसेपछि नै ती विषयमा कुराकानी हुन्छ।'
त्यसो त वैद्यले शनिबार कांग्रेस सभापति सुशील कोइरालासँगको भेटघाटमा 'मंसिर ४ को निर्वाचन स्थगित गर्न र दलीय सरकार बनाउनुपर्ने अडान' राखेका थिए। वैद्यले आफ्ना यी दुई मागको सम्बोधन गरी नयाँ सहमति गरेको अवस्थामा निर्वाचनमा भाग लिने बताएका थिए जसलाई कोइरालाले ठाडै अस्वीकार गरेका थिए। निर्वाचन सार्न र सरकार परिवर्तन गर्न सके आफ्नो राजनीतिक विजय हुने वैद्यको बुझाइ छ। त्यसैले पनि वैद्यले मंसिर ४ को निर्वाचनमा रुचि देखाएका छैनन्।
वार्ताका लागि आह्वान गरिएको पत्रमा समेत 'संविधानसभा निर्वाचन' भन्ने शब्दावली राख्न नचाहने वैद्य माओवादीको अडानले निर्वाचनमा रुचि नभएको देखाउँछ। तैपनि निर्वाचन बहिष्कार गरेर के गर्ने भन्ने विकल्प नभएको स्थितिमा वैद्यको यो अडानलाई कतिपयले पत्र र शब्दावलीको राजनीति गरेर 'फेस सेभिङ' खोजेको रूपमा व्याख्या गरेका छन्। राजनीतिक समितिले जसरी पनि वार्तामा ल्याउन पाए वैद्य माओवादीको रणनीति थाहा हुने भएर लचिलो बनेको हो। 'वार्तामा आएपछि उनीहरू निर्वाचनप्रति प्रतिबद्ध भए/नभएको थाहा हुन्छ। र, वार्ता छाडेर हिँडे जनताको नजरमा उनीहरू नै एक्लिन्छन् भन्ने निष्कर्षसाथ समितिले सर्तरहित पत्र पठाएको हो,' समितिको बैठकमा भएको कुराकानी उद्धृत गर्दै एक नेताले भने।
राजनीतिक विश्लेषक मुमाराम खनाल संस्थापन र विद्रोही दुवै पक्षसँग विकल्पहरू कम भएको बताउँछन्। 'सरकार, राजनीतिक समिति र आन्दोलनरत दुवै पक्षसँग विकल्पहरू कम छन्। त्यही कारण समिति लचिलो भएको छ भने वैद्य माओवादीले पनि शब्दावलीको राजनीतिमार्फत आफ्नो अडानलाई फेस सेभिङ गर्न खोजिरहेको छ,' विश्लेषक खनालले भने।
राजनीतिक समितिको वैठकले चुनावी प्रक्रियामा असन्तुष्ट उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल, अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीलगायत दलहरूसँगको वार्ता प्रक्रियालाई पनि तीव्रता दिने निर्णय गरेको छ। साथै सबै दल निर्वाचन प्रक्रियामा सहभागी हुने स्थितिमा समानुपातिकतर्फको सिट संख्या बढाउन सकिने कुरामा पनि दलहरू सकारात्मक भएका छन्।
उच्चस्तरीय समितिमा रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र एकीकृत माओवादी नै समानुपातिक सिट संख्या बढाउन लागेका छन्। तर, मोर्चा र माओवादीको यो रणनीतिलाई कांग्रेस–एमालेले भने 'निर्वाचन नगराउने खेल' को रूपमा टिप्पणी गरेका छन्।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस