अनिल घिमिरे, बेङलोर, कात्तिक १९- प्रथम ट्वान्टी-२० दृष्टिविहीन विश्वकप क्रिकेटमा सानदार सुरुवात गरेको नेपाल सोमबार श्रीलंकासँग १ सय ७७ रनले पराजित भएको छ। नेपालले आइतबार बंगलादेशलाई ९ विकेटले पराजित गर्यो।
बेङलोर स्थित सेन्ट्रल कलेज क्रिकेट मैदानमा नेपालले टस जितेपछि श्रीलंकालाई ब्याटिङ गर्न निमत्यायो। बंगलादेशसँग पनि यही निर्णय गरेको नेपालका लागि सोमबार घातक बन्यो। श्रीलंकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाई ३ सय १४ रन बनायो। जबाफमा नेपालले ६ विकेट गुमाई १ सय ३७ रनमात्र बनाउन सक्यो।
श्रीलंकाली टोलीका नायक रविन्द्र थिए। उनले १ सय ३४ रन बनाए। बी १ (पूर्ण नेत्रहीन) समूहका खेलाडी रविन्द्रले मैदानको चारै तिर प्रहार गरे। उनले श्रीलंकालाई २ सय ७३ रनमा पुर्याएपछि अमर ओलीको बलमा बोल्ड भए। नेपाली कमजोर बलिङको फाइदा उठाउदै देशाप्रियाले १२ चौका प्रहार गर्दै ७५ रन बनाए। गुनावर्द्धनाले २९ र कुमाराले १६ रन बनाए। एक रन आउट भएको श्रीलंका इनिङमा सुर्यप्रसाद भट्टराईले १ विकेट लिए।
बलरहरुले अतिरिक्तमा धेरै रन खर्चिएकाले विपक्षी टोलीलाई ठूलो स्कोर बनाउन सहयोग पुगेको बताए। नेपाली बलरले ३५ वाइड, १९ बल र ४ लेग बाइ फालेका थिए।
सुर्यप्रसाद २ रनमै आउट भएपछि नेपालको सुरुआत राम्रो हुन सकेन्। अर्का ओपनर विक्रमबहादुर राना र रामप्रसाद पौडेलको प्रयासलाई श्रीलंकाका बलर र फिल्डरले रोकिदिए। पौडेल १३ रनमा रनआउट भए। रानाले २६ रन जोडे। सन्तोष सापकोटा ४, शंकर रेग्मी १६ र सुनिल सुवेदी ८ रनमा आउट भए। अमर ओली २१ रनमा अविजित रहे भने पदमबहादुर बडेलाले २५ रन बनाए। विकेटको सिधा बलिङ गरेको श्रीलंकन बलरहरुले अतिक्तिमा १९ रनमात्र खर्चे।
श्रीलंकाली प्रशिक्षक जयन्थले नेपाली टोलीको प्रदर्शनबारे कुनै प्रतिक्रिया नजनाए पनि खेल राम्रो भएको बताए। 'हामी अस्ट्रेलियासँगको अर्को खेलमा केन्द्रित छौं र हाम्रा कप्तान घाइते पनि छन्। आशा गरौं उनी अर्को खेलमा तयार हुनेछन,' उनले भने।
खेल दौरान थुप्रै कमजोरी देखिएकाले नेपाली प्रशिक्षक पौडेलले नेपाली टोलीको तयारी पर्याप्त नभएको बताउदै भने, 'फिल्डिङ हाम्रो सारै कमजोर बन्यो, जसको कारण हामीले विपक्षीलाई धेरै रन बनाउन दियौं र रनिङ विटविनमा पनि हाम्रो राम्रो थिएन।' चार नेपाली खेलाडी रन आउट भए। उनले अर्को खेलमा गल्ती सच्चाउने हो भने बाँकी खेलमा राम्रो गर्न सकिने जनाए। नेपालले मंगलबार दक्षिण अफ्रिकासँग खेल्ने छ।
१८ मंसिर २०६९
•
४ मिनेट पाठ