काठमाडौं, माघ २१ (नागरिक)- सरकारले राष्ट्रपति रामवरण यादवको चारदिने भारत भ्रमणको कार्यक्रमलाई स्वीकृत गरिसक्दा पनि उपराष्ट्रपतिको शपथका विषयमा भने अझै टुंगो लागेको छैन। राष्ट्रपति र उपराष्ट्रपतिलाई समेत मातृभाषामा शपथ लिन बाटो खोल्ने गरी संविधानको सातौँ संशोधन गरिसके पनि उपराष्ट्रपतिको शपथमा कानुनी अन्यौल देखिएको हो।
महान्यायाधीवक्ता भरतबहादुर कार्कीले हाल निस्क्रिय रहेका उपराष्ट्रपति परमानन्द झाले नेपालीमा शपथ नलिए पुनः कानुनी विवाद आउनसक्ने सुझाव प्रधानमन्त्रीलाई दिएपछि कानुनी अन्यौल बढेको हो। कार्कीले उपराष्ट्रपतिलाई नेपाली मै शपथ लिन लगाउन उपयुक्त हुने सुझाव दिएका छन्।
सर्वोच्चले कानुन अनुसार नेपाली भाषामा शपथ लिन दिएको निर्देशन अटेर गरेपछि उपराष्ट्रपति परमानन्द झाको पद निस्क्रिय रहेको हो।
भारत भ्रमण स्वीकृत
भारतीय समकक्षी प्रतिभा पाटिलको निम्तोमा राष्ट्रपतिले फागुन ३ देखि ६ सम्म भारत भ्रमण गर्न सरकारले स्वीकृति दिएको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राष्ट्रपतिको भ्रमण कार्यक्रम स्वीकृत गरेको हो।
राष्ट्रपतिको भ्रमण दलमा छोरी अनु यादवसमेत छिन्। राष्ट्रपतिको भ्रमणमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री शरद्सिंह भण्डारीसहित २७ सदस्यीय टोली दिल्ली जाने तय भएको जानकारी सरकारका प्रवक्ता शंकर पोखरेलले जानकारी दिए।
भ्रमण दलमा राष्ट्रपति कार्यालयका सचिव वामन न्यौपाने, राष्ट्रपतिका सल्लाहकार राजेन्द्र दाहाल, हरि शर्मा, स्वकीय सचिव ललित बस्नेतलगायत उच्च अधिकारी रहनेछन्।
राष्ट्रपति यादवले भारत भ्रमणका क्रममा भारतीय समकक्षी तथा आफूसित भेटवार्ता गर्ने भारतीय प्रधानमन्त्रीसहितका नेतासित वातावरण विनाशले आक्रान्त चुरे क्षेत्रको संरक्षणका लागि सहयोग गर्न आग्रह गर्ने जानकारी स्रोतले दिएका छन्।
राष्ट्रपतिले चुरेको विनाशले पानीको मूल सुक्दै गएको र तराईमा मरुभूमिकरण बढ्दै गएकामा चिन्ता प्रकट गर्दै त्यसको रोकथामका लागि भारतीय सहयोगका लागि आग्रह गर्न लागेका हुन्।
स्रोतका अनुसार उनले भारतलाई साउथ एसिया सेन्टर स्थापनाका लागिसमेत सहयोग गर्न प्रस्ताव राख्ने भएका छन्। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संविधानसभाले प्रयोग गर्दै आएकाले राष्ट्रपति भ्रमणका क्रममा साउथ एसिया सेन्टर बनाइदिन आग्रह गर्न लागिएको हो।
२० माघ २०६६
•
३ मिनेट पाठ