सत्ता गठबन्धनमा खटपट
१७ फागुन २०८०
•
८ मिनेट पाठ
सत्ता गठबन्धनमा खटपट
सत्तारुढ नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ। माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले गरेको यो निर्णयबाट एक वर्षअघि निर्माण भएको सत्ता गठबन्धनको भविष्यप्रति प्रश्नचिह्न खडा भएको हो।  




फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा भएको नेपाली कांग्रेस महासमिति बैठकमा महामन्त्री गगनकुमार थापाले पेस गरेको आगामी आमनिर्वाचनमा गठबन्धन नगर्नेसहितको प्रस्तावले सत्ता साझेदार दलहरूबीच आशंका जन्माएको थियो। त्यसको प्रतिक्रियास्वरूप माओवादी केन्द्रले पनि आगामी आमनिर्वाचनमा पार्टीले एक्लै प्रतिस्पर्धा गर्नेगरी तयारी गर्नुपर्ने निष्कर्ष निकालेको छ। सोहीअनुसार विभिन्न अभियान सञ्चालन गर्ने निर्णय माओवादी केन्द्रले गरेको छ।

आगामी निर्वाचनमा पार्टीले स्वतन्त्र रूपमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको जानकारी दिँदै माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘यो कार्यनीतिक विषय हो, रणनीतिक होइन। तत्कालीन अवस्थाले सबै कुरा निर्धारण गर्छ तर हाम्रो पार्टीले निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न तयारी थाल्नेछ।’

माओवादी केन्द्रले फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेपछि २०७९ फागुनमा बनेको कांग्रेस, माओवादीसहित निर्वाचनअघिको गठबन्धन फेरि संकटमा पर्ने आशंका गर्न थालिएको छ। गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता साझेदार दलबीच चुनावी तालमेल भएको थियो।

सोही क्रममा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी गठबन्धन दलहरूले उम्मेदवार बनाएका थिए। कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित सिटौला सत्ता गठबन्धनकै समर्थनमा अध्यक्ष हुनेमा आश्वस्तजस्तै छन्।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा दुवै सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउन चाहन्थे। तर राष्ट्रियसभा निर्वाचन परिणामपछि माओवादी र कांग्रेसबीच बढ्दै गएको चिसोपन महासमिति र स्थायी कमिटीको बैठकसम्म आइपुग्दा थप गहिरिएको छ।

माओवादीका नेताहरूले पूर्वसहमति अनुसार सरकारको नेतृत्व छाड्दा आफ्नो दलको संवैधानिक परिषद्मा कुनै प्रतिनिधित्व नहुने भएकाले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिनुपर्ने तर्क गर्दै आएका बेला स्थायी कमिटीले त्यसमा बल पुग्नेगरी निर्णय गरेको हो। यसले कांग्रेस र माओवादीबीचको दुरी बढाउने आशंका उत्पन्न भएको छ।

सत्ता गठबन्धन टुटाउन प्रमुख प्रतिपक्षी एमाले सक्रिय छ। यस्तो अवस्थामा राष्ट्रपति निर्वाचनका बेला जोडिएको गठबन्धन राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा आइपुग्दा टुट्ने त होइन भन्ने आशंका गर्न थालिएको छ।

एमालेसहितका दलहरूको समर्थनमा २०७९ पुस १० गते प्रधानमन्त्री बनेका दाहालले फागुन १० गते उक्त गठबन्धन औपचारिक रूपमा तोडेका थिए। त्यसपछि उनी निर्वाचनअघिको कांग्रेस नेतृत्वको गठबन्धनमा फर्केका थिए। सोही गठबन्धनको समर्थनमा दाहाल अहिले सरकारको नेतृत्वमा छन्।

निर्वाचनअघिको सहमति कार्यान्वयन नगरेको भन्दै दाहाल एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। त्यसपछि निर्वाचनअघिको गठबन्धनलाई निरन्तरता दिन नसकेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टीभित्रबाट तीव्र आलोचना भएको थियो। दाहालमाथि पनि नैतिक प्रश्न उठाइएको थियो।

पुस १० गतेको गल्तीलाई देउवा र दाहालले पुस २५ गतेदेखि नै सच्याउन सुरुवात गरेका थिए। दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर पुरानो गठबन्धन ब्युँताउने प्रयास थालेका उनीहरूले राष्ट्रपति निर्वाचनअघि त्यसलाई सार्थक पारेका थिए। त्यसपछि एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी संघदेखि प्रदेश सरकारबाट बाहिरिनु प¥यो। दाहाल नेतृत्वको सरकारमा कांग्रेस चैतमा सहभागी भएको थियो।

सत्ता साझेदार दुई ठूला कांग्रेस र माओवादीका पछिल्ला निर्णयले गठबन्धनका विषयमा आशंका जन्माएको छ। तर दुवै पार्टीका शीर्ष नेतानिकट स्रोत भने अहिलेको गठबन्धनमा कुनै तलमाथि नआउने दाबी गर्छन्। ‘दुवै पार्टीले राष्ट्रियसभा अध्यक्षमा दाबी गरेका हुन्, निर्वाचनअघि दलहरूको दाबी हुनु अस्वाभाविक होइन,’ स्रोतले भन्यो, ‘ यत्ति कुराले अहिलेको गठबन्धन तलमाथि हुँदैन र हुने अवस्थामा छैन।’

राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रले दाबी गर्ने निर्णय भएको बताउँदै माओवादी प्रवक्ता सापकोटाले पत्रकारसँग भने, ‘स्थायी कमिटीका अधिकांश सदस्यहरूले राष्ट्रियसभा अध्यक्ष छाड्न हुन्न भनेर कुरा उठाउनुभयो। त्यसैले उम्मेदवारी दिने निर्णय भएको छ।’

माओवादी निर्णयबारे जानकारी पाएको बताउँदै कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, ‘राष्ट्रियसभा अध्यक्षमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गठबन्धनले गर्ने हो। माओवादी निर्णयले कुनै समस्या ल्याउँछ जस्तो लाग्दैन।’ माओवादी निर्णयसहितका विषयमा पार्टी बैठकमा छलफल गरेर मात्र निष्कर्षमा पुग्ने उनले बताए।

राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा माओवादीले उम्मेदवार खडा गरे सत्ता गठबन्धनबाट एकभन्दा बढी उम्मेदवार हुनसक्ने देखिएको छ। कांग्रेसले यसअघि नै सिटौलालाई अध्यक्षमा अघि सार्ने तयारी गरिसकेकाले ऊ पनि पछि हट्ने अवस्था छैन। माओवादी अध्यक्ष एवं प्रधानमन्त्री दाहालले स्थायी कमिटीबाटै यस्तो निर्णय गराएर कांग्रेससँग अझ बार्गेनिङ गर्ने रणनीति लिएको स्रोत बताउँछ। 

बैठकमा कोसी प्रदेशमा कांग्रेसले असहयोग गरेका कारण राष्ट्रियसभा निर्वाचनमा आफ्नो दलका उम्मेदवारको हार भएको कुरा पनि उठाइएको थियो। कांग्रेसले राष्ट्रियसभा अध्यक्षको निर्वाचनकेन्द्रित भएर तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्न दाहाललाई अनुमति दिएको छैन। माओवादीका नेताहरूले बैठकमा सत्ता गठबन्धनभित्र कांग्रेसले पेलेको आरोप पनि लगाएका थिए।

अहिले राष्ट्रियसभामा माओवादी पहिलो, कांग्रेस दोस्रो, एमाले तेस्रो र नेकपा एकीकृत समाजवादी चौथो ठुला दल हुन्। माओवादी भने नेकपा एस र अन्य दलको सहयोगमा राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा पार्टीकै उम्मेदवार खडा गर्ने तयारीमा छ।

माओवादीले उर्मिला अर्याल वा झक्कु सुवेदीमध्ये एकलाई उम्मेदवार बनाउने तयारी थालेको छ। ‘माओवादीले पनि राष्ट्रियसभा अध्यक्षमा उम्मेदवार दिएमा सत्ता गठबन्धनभित्र दरार आउने निश्चित छ,’ गठबन्धन दलका एक नेताले भने।

पछिल्लो समय माओवादी अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि निकटता बढाइरहेका छन्। उनले ओलीसँग गोप्य भेट गरी वामपन्थीहरूको सहकार्यलाई जोड दिएको बताइएको छ।

जानकार स्रोतका अनुसार बालुवाटारस्थित एक व्यापारीको घरमा ओलीसँग भेट भएपछि माओवादी अध्यक्ष दाहालले राष्ट्रियसभा अध्यक्षमा पार्टीले उम्मेदवारी दिनेगरी तयारी गरेको स्रोतको दाबी छ। कांग्रेस महासमिति बैठकपछि माओवादीले एमालेको साथ खोजिरहेको छ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित वर्तमान सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच दाहालले दुई वर्ष सरकार चलाउने र त्यसपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने समझदारी बनेको छ। नेपालले एक वर्ष सरकारको नेतृत्व गरेपछि बाँकी समय कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने समझदारी २०७९ पुस २५ गते भएको दाबी नेताहरूले गर्दै आएका छन्।

कांग्रेस सभापति देउवा त्यसमा प्रतिबद्ध देखिन्छन्। तर कांग्रेसमा देउवा इतर समूह भने उनलाई फेरि प्रधानमन्त्री हुनबाट रोक्ने रणनीतिमा छ। देउवा प्रधानमन्त्रीको जिम्मेवारीमा पुगे उनले पार्टीको १५औं महाधिवेशन आफूअनुकूल बनाउने इतर पक्षको बुझाइ छ। पार्टी विधानको व्यवस्थाअनुसार देउवाले अब कांग्रेस सभापतिमा दाबी गर्न पाउँदैनन् तर प्रधानमन्त्री हुँदा पार्टी नेतृत्वमा आफूअनुकूल व्यक्ति ल्याउन उनलाई सहज हुने भय इतर पक्षमा छ। त्यसैले देउवालाई प्रधानमन्त्री हुन नदिने रणनीतिमा इतर पक्ष छ।

जनार्दनको फरक मत

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको कार्यविभाजनको निर्णयप्रति लिखित रूपमा असहमति जनाएका छन्। उनले दाहाललाई असहमति पत्र बुझाएका छन्।

‘कार्य विभाजन गर्दा पार्टी निर्माण गर्ने संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राख्नुको सट्टा कतिपय प्रदेशहरूमा कार्य विभाजन गर्दा स्थायी समितिका सदस्यलाई समेत बेवास्ता गरी विधिविपरीत आफ्नो अनुकूलतामा गरिएको निर्णयप्रति असहमति जाहेर गर्छु। जनप्रतिनिधिहरू पार्टीको इन्चार्ज नरहने नीति मलगायत कमरेडहरूलाई लागु गरेको भने पनि नारायण दाहाललाई बागमती प्रदेशको सहइन्चार्ज बनाउने निर्णयले के उद्देश्य रहेको छ भन्ने स्पष्ट गरेको छ,’ उपमहासचिव समेत रहेका शर्माले भनेका छन्।

राष्ट्रियसभा सदस्य नारायण प्रधानमन्त्रीका भाइ हुन्। स्थायी समिति सदस्य खगराज भट्टलाई सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेता र इन्चार्ज दुवैबाट पदच्युत गरिएपछि शर्माले कार्यविभाजनमा असहमति राखेका हुन्।

तोकिए इन्चार्ज

माओवादी बैठकले नेताहरूको कार्यविभाजन गरेको छ। बैठकले प्रदेश इन्चार्ज र सहइन्चार्ज पनि तोकेको छ। कोसी प्रदेश इन्चार्ज हरिबोल गजुरेल र सहइन्चार्ज सावित्रीकुमार काफ्ले, मधेस प्रदेश इन्चार्ज लिलामणि पोखरेल र सहइन्चार्ज विश्वनाथ शाह, बागमती प्रदेश इन्चार्ज अग्निप्रसाद सापकोटा, गण्डकी प्रदेश इन्चार्ज दिनानाथ शर्मा र सहइन्चार्ज हरिराज अधिकारी, लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल र सहइन्चार्ज कुलप्रसाद केसीलाई तोकिएको छ।

कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्ल तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल र सहइन्चार्ज बिना मगरलाई तोकिएको छ। प्रवक्ता सापकोटाका अनुसार प्रवास प्रदेश समिति मध्यपूर्व इन्चार्ज पम्फा भुसाल, प्रवास प्रदेश समिति भारत प्रदेश इन्चार्ज लक्ष्मण पन्त र सहइन्चार्ज टिबी पाठक, प्रवास प्रदेश समिति युरोप–अमेरिका इन्चार्ज सुरेन्द्रकुमार (राम) कार्कीलाई तोकिएको छ। यसैगरी विशेष प्रदेश समिति इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज यशोदा सुवेदीलाई तोकिएको छ।

माओवादी केन्द्रले मधेस÷तराई राष्ट्रिय जागरण अभियान चैत १५ गतेदेखि र हिमाल–पहाड–मधेस राष्ट्रिय एकता अभियान वैशाख १५ गतेदेखि सञ्चालन गर्ने भएको छ।
अर्को समाचार
एमसिसीले सत्ता गठबन्धनमा खटपटः धर्मसंकटमा दाहाल–नेपाल
१८ माघ २०७८
•
६ मिनेट पाठ
एमसिसीले सत्ता गठबन्धनमा खटपटः धर्मसंकटमा दाहाल–नेपाल
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका तर्फबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) संसद्मा पेस गर्ने बताएपछि सत्ता गठबन्धनमा खटपट सुरु भएको छ। प्रधानमन्त्री देउवाले तीन तहको निर्वाचनमा हाल सत्तामा रहेका दलहरूसँग गठबन्धन कायम राख्ने तर चालु अधिवेशनमा एमसिसी संसद्मा पेस गर्ने जनाएपछि खटपट सुरु भएको हो।




‘गठबन्धन कामय राखौं, एमसिसी संसद्मा टेबुल गरौं भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अलमलमा पर्नुभएको छ,’ स्रोतले भन्यो, ‘उहाँहरूले सार्वजनिक खपतका लागि अहिले पास हुँदैन चाहिँ भन्नुभएको छ।

यथार्थमा चुनावी गठबन्धन कायमै राख्न एमसिसी संसद्मा लैजान उहाँहरू सहमत हुनुभएको छ।’ तर दाहाल र नेपाल भने गठबन्धन कायम राख्ने नाममा एमसिसीको सौदाबाजी गर्न खोजेको भन्दै त्यसबाट उम्किन खोजिरहेका छन्। ‘गठबन्धन कायम राख्ने कि एमसिसी पास गर्ने भन्नेजस्तो कुरा आएपछि कांग्रेसले सौदाबाजी गरेको आभास भएको छ,’ एकीकृत समाजवादीका एक नेताले भने।

एमसिसीको मामिलामा माओवादी केन्द्र र एकीकृत समाजवादीले भने समान धारणा बनाएका छन्। स्थानीय तहको निर्वाचनमा गठबन्धन कायम राख्नुपर्ने प्रस्ताव गरेका दुवै पार्टी गठबन्धन कायम राख्ने कि एमसिसीबाट बाहिर निस्कने भन्ने दोधारमा छन्।

चालु अधिवेशनमै एमसिसी संसद्मा पेस गर्न प्रधानमन्त्री देउवाले छलफल थाल्दा माओवादी केन्द्रका अध्यक्ष दाहालले तत्कालै संसद्मा पेस गर्नेभन्दा पनि नेपालको कानुनसँग बाझिएका र विवादित बुँदालाई सच्याउनुपर्ने प्रस्ताव राखेका थिए। तर देउवाले अब पेस गर्न ढिलाइ गर्न नहुने जवाफ दिएका थिए। शुक्रबार र शनिबार साँझ एमसिसी पास गर्नेबारे देउवा, दाहाल र नेपालबीच छलफल भएको थियो।

सो छलफलका क्रममा एमसिसी संसद्मा पेस गर्ने, स्थानीय तहको निर्वाचन र संघीय संसद्को निर्वाचनसम्म हालको गठबन्धन कायम राख्ने तथा स्थानीय तहको निर्वाचन मिति टुंगो लगाउने सहमति भएको थियो। तर आइतबारबाट माओवादी केन्द्रभित्र सो विषयले विवादको रूप लिएको र एकीकृत समाजवादीभत्र पनि विवाद आएपछि तत्काल एमसिसी संसद्मा पेस गर्नबाट ती दुई पार्टी पछि हटेका हुन्।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले त अहिले एमसिसी पास गर्नेबारे कुनै सहमति नै नभएको बताएका छन्। उनले आइतबार राति सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका थिए। ‘कुनै भ्रममा नपरौं, प्रमले एमसिसीसँगको सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन। आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन।

गठबन्धनमा एमसिसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा पनि सत्य होइन। कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन,’ श्रेष्ठले लेखेका छन्। उता सोमबार देउवा, दाहाल र नेपालबीच भएको कुराकानीमा पनि दाहालले एमसिसीलाई संसद्मा लैजान आफ्नो दल असहमत रहेको जनाएका छन्।

एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले यही अवस्थामा एमसिसी पास नहुने बताएका छन्। ‘तपाइँहरूले सोचेजस्तो तुरुन्तै एमसिसी पास हुने होइन। गठबन्धन दलहरूबीच सहमति नभई पास हुँदैन,’ खनालले नागरिकसँग भने। उनका अनुसार प्रधानमन्त्री पनि यो विषयमा जानकार रहेका कारण बाहिर आएजस्तो हल्लाको भरमा एमसिसी पास हुँदैन।

उनका अनुसार गठबन्धनको बैठकमा तत्काल एमसिसी पास गरिहाल्नुपर्ने विषय उठेको छैन। उनले आफू पनि बैठकमा सहभागी भएको दाबी गर्दै एमसिसी संसद्मा पेस गर्ने विषयमा जानकारी नभएको दाबी गरे।

तर प्रधानमन्त्री देउवा जसरी पनि एमसिसी पारित गरेर जाने पक्षमा देखिएपछि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूको आग्रहमा सभामुख अग्नि सापकोटाले संसद्को बैठक १० दिन पर धकेलेपछि सत्ता गठबन्धनभित्र चिसोपना उत्पन्न भएको छ। प्रधानमन्त्रीलाई समेत जानकारी नदिई बैठक स्थगित गरेको विषयमा पनि गठबन्धनभित्र चिसोपना बढेको हो।

त्यसमाथि शनिबार चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सुङ थाओले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग एक घन्टा लामो कुराकानी गरेका थिए। दाहालले सो कुराकानी गोप्य राखेपछि गठबन्धनको मुख्य घटक कांग्रेस सशंकित भएको हो।

विगतमा चिनियाँ पक्षले एमसिसीलाई संसद्मा पेस नगर्न दबाब दिँदै आएको छ। खासगरी कम्युनिस्ट पार्टीका नेताहरूलाई चिनियाँ पक्षले दबाब र प्रभावमा पारेर संसद्बाट एमसिसी पास नगर्न दबाब दिने गरेको हो। शनिबार पनि यही विषय पूर्ववत् रूपमा दोहोरिएको आशंका कांग्रेसले गरेको छ। तर दाहालले यो विषयमा आधिकारिक जानकारी गराएका छैनन्। एमसिसी अनुदान सम्झौता सदनबाट पारित गराउने या नगराउने विषयमा सत्ता गठबन्धन दलमा शनिबार साँझ छलफल भएलगत्तै विदेश विभाग प्रमुख सुङसँग दाहालको कुराकानी भएको थियो।

सत्ता गठबन्धनको शनिबार साँझ बसेको बैठकपछि सत्ता गठबन्धन दलले एमसिसीबारे अध्ययन गर्न गठन गरेको कार्यदलसहित चार दलका शीर्ष नेताको अलग्गै बैठक बालुवाटारमा बसेको थियो। त्यसक्रममा एमसिसीबारे तुरुन्तै निर्णय गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवाले नेताहरूलाई चाँडो निर्णय दिन आग्रह गरेका थिए।

चीन सधैं एमसिसीको विपक्षमा रहँदै आएको छ। गत मंसिरको अन्तिम साता पनि चिनियाँ कम्युनिस्ट पार्टीका नेताले नेपालका राजनीतिक दलका नेताहरूलाई टेलिफोन गरी एमसिसी संसद्मा टेबुल नगर्न दबाब दिएका थिए। त्यतिबेला चिनियाँ पक्षले सत्ता गठबन्धनमा सहभागी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी तथा प्रमुख प्रतिपक्षी दल एमालेलाई यस्तो दबाब दिएको थियो।

चीन सरकारका अधिकारीहरूले नेपालका ठुला भनिएका सबै दललाई संसद्मा एमसिसी पेस नगर्न दबाब दिएको भए पनि त्यतिबेला पनि यो विषय गोप्य राखिएको थियो। त्यतिबेला चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिअन्तर्गतको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी) का उपमन्त्री चेन चाओले एमाले महासचिव शंकर पोखरेलसँग पनि कुराकानी गरेका थिए। उपमन्त्री चेनले पोखरेललाई महासचिवको पदभार ग्रहण गरेपछि बधाई दिने क्रममा दुई पार्टीबीच अन्तर सम्बन्धित विचारलाई अझ बढी बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिँदै एमसिसीमा पुनर्विचार गर्न आग्रह गरेका थिए।

उपमन्त्री चेनले नेपालमा संसद् अधिवेशन सुरु हुन लागेको र बैठकमा पेस गर्नुअघि एमसिसीलगायत यससँग सम्बन्धित अन्य प्रस्तावमा पुनर्विचार गर्न कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसँग समेत छलफल भएको जानकारी गराउँदै एमालेले पनि यो विषयमा पुनर्विचार गर्नुपर्ने बताएर दबाब दिएका थिए। शनिबार साँझ पनि दाहालसँग सुङले सोही विषयमा कुराकानी गरेको स्रोतको दाबी छ।  

‘एमसिसी पास गर्न एमाले आवश्यक पर्दैन’  

प्रमुख प्रतिपक्षी दल एमालेले एमसिसी संसद्मा ल्याउन र पास गर्न एमालेको आवश्यकता नपर्ने जनाएको छ। सत्तासँगै बहुमत छ भने उसैले पास गर्ने हो भन्दै संसद्मा टेबुल भएपछि मात्रै त्यसबारे धारणा सार्वजनिक गर्ने एमालेको भनाइ छ। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बहुमत भएपछि सरकारले नै यो विषयमा धारणा बनाउने बताए। उनले एमाले यथास्थितिमा एमसिसी पास गर्ने पक्षमा भने नरहेको समेत बताए। उनले केही बुँदा संशोधन गरियो भने एमसिसी पारित हुनेसमेत दाबी गरे।

‘एमसिसीको लेखापरीक्षण गर्ने अधिकार नेपाललाई हुनुपर्छ तर एमसिसीको बुँदामा त्यसको अधिकार अमेरिकालाई हुनुपर्छ भनिएको छ। नेपालमा विकसित हुने बौद्धिक सम्पत्ति अमेरिकामा निहित हुने भन्ने छ। नेपालको संविधानभन्दा माथि एमसिसी होइन। अरू केही बुँदामा आपत्ति छ।

धेरैजसो बुँदामा नेपालको भन्दा बढी अधिकार अमेरिका र भारतलाई दिइएको छ। यस्ता धेरै विषयमा एमालेको आपत्ति छ,’ उनले भने। तर पनि सरकारको विषय भएकाले संसद्मा टेबुल नभईकन यो विषयमा एमालेको धारणा बाहिर नआउनेसमेत उनले बताए। ‘एमसिसी पास गर्न बहुमत आवश्यक हो। त्यसमा दुई तिहाइ चाहिँदैन। सरकारसँग बहुमत छ भने संसद्मा ल्याए हुन्छ,’ उनले भने।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस