दीपक भट्टराई, काठमाडौं, वैशाख २१- प्रधानमन्त्री पुष्पकमल दाहालको राजिनामापछि अर्को सरकार निर्माणका लागि नयाँ समीकरण बनाउने खेल सुरु भइसकेको छ। नेपाली कांग्रेसको समर्थन पाएर सत्ताको प्रमुख बागडोर सम्हाल्न नेकपा एमाले तयार देखिएको छ। तर प्रधानमन्त्री को बन्ने, अझै प्रष्ट हुन सकेको छैन। न सरकारको समीकरणमा कुन कुन दल समावेश हुने नै प्रष्ट भएको छ।
कांग्रेसले प्रधानमन्त्री पद त्याग्न सक्ने
सरकार गठनका चार विकल्प :
१) एमालेको नेतृत्वमा कांग्रेस, फोरम, तमलोपा, सद्भावना र माले (अन्य दलसहभागी हुँदा नहुँदा फरक नपर्ने) को समर्थनमा सरकार
२) कांग्रेसको नेतृत्वमा एमाले, फोरम, तमलोपा, सद्भावना र माले (अन्य दलसहभागी हुँदा नहुँदा फरक नपर्ने) को समर्थनमा सरकार
३) माओवादीको नेतृत्वमा सर्वदलीय सरकार (कांग्रेस, एमालेसहितका दल)
४) फोरमको नेतृत्वमा कांग्रेस, एमाले, तमलोपा, सद्भावना र माले सहितको सरकार
संविधानसभामा माओवादीको २ सय ३८ सिटपछि एकसय १४ सिटसहित दोस्रो ठूलो राजनीतिक दलका हैसियतले कांग्रेसले सत्ताको नेतृत्व गर्न पाउने भए पनि कांग्रेस त्यसका लागि तयार देखिएको छैन।
एमालेलाई प्रजातान्त्रिक शक्ति मान्ने र माओवादीलाई कम्युनिस्ट अधिनायकवादी शक्ति मान्ने कांग्रेसले माओवादी-एमाले गठवन्धन फुटाउन पनि सरकारलाई अप्ठेरो स्थिति सृजना गर्दिरहेको थियो। एमालेले सुरुदेखि नै राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने भनाइ राखिरहेको मात्र थिएन, उसले पटक पटक माओवादी नेतृत्वको सरकारमा कांग्रेसलाई सहभागी गराउन प्रयास पनि गरेको थियो।
संविधानसभाको निर्वाचनमा पराजय भोगेपछि कांग्रेस सत्तामा जानु हुँदैन र सरकारमा सहभागी भइहाले पनि त्यस्को नेतृत्व लिनु हुँदैन भन्नेमा कांग्रेसका दोस्रो दर्जका नेताहरु एकमत जस्तै छन्। शेरबहादुर देउवा, विमलेन्द्र निधी, अर्जुननरसिहं केसीलगायतका नेताहरु सरकारको नेतृत्व तत्काल लिएर अपसज खेप्ने पक्षमा छैनन्। कांग्रेस राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा अडिग छ। १० महिनाअगाडि माओवादीले सरकार निर्माण गर्ने बेलामा नै एमालेलाई सरकारको नेतृत्व गर्न गरिएको अनुरोधबाट कांग्रेस अहिले पनि पछाडि हटेको छैन।
कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला आफूबाहेक कांग्रेसभित्रका अन्य कुनै पनि नेतालाई प्रधामन्त्रीको पदमा पुर्याएर पार्टीभित्र उसको राजनीतिक उचाई बढाउने पक्षमा छैनन्। यसअगाडि देउवालाई प्रधानमन्त्री बनेपछि पार्टीमा आएको फुट र गुटबन्दीलाई आफू बाचुन्जेल फेरि बेहोर्न नपरोस् भन्नेमा कोइराला सचेत छन्।
कोइरालाको स्वास्थ्यस्थिति पनि प्रधानमन्त्री पदका लागि अहिले योग्य छैन।
एमालेका तर्फबाट प्रधानमन्त्रीका लागि झलनाथ खनाल अगाडि
कांग्रेसपछि संविधानसभामा एक सय ९ सिट रहेको एमाले सरकारको नेतृत्व लिन तयार भएको छ। एमालेलाई सरकारको नेतृत्व लिन माओवादीले समर्थन नगरेमा कांग्रेस, मधेशी जनअधिकार फोरम (५१ सिट), तराई मधेश लोकतान्त्रिक पार्टी (१९ सिट), सद्भावना पार्टी (९ सिट), नेकपा माले (९ सिट) सम्मको समर्थन चाहिन्छ।
एमालेमा प्रधानमन्त्रीका प्रमुख दावेदार भनेका यसका अध्यक्ष झलनाथ खनाल हुन्। उनी एमाले संसदीय दलका नेता पनि हुन्। संसदीय दलका नेताका हैसियतमा पनि उनको दावेदारी प्रमुख छ। उनी माओवादीप्रति तुलनात्मक रुपमा रुपमा नरम पनि देखिन्छन्। उनको नेतृत्वमा माओवादी पनि सरकारमा सहभागी हुन सक्ने विश्लेषण एमालेले गर्न सक्छ।
तर, प्रधानमन्त्री पदमा दावी गरे एमालेभित्र खनालले अध्यक्ष पद छोड्नुपर्ने दबाव पर्न सक्छ। नेता केपी ओली पक्षधरले उनलाई प्रधानमन्त्री पदमा सकभर जान नदिने र गइहाले पनि पार्टी अध्यक्ष पदमा बस्न नहुने प्रस्ताव उन समक्ष ल्याउन सक्छन्।
अन्तरिम संविधानअनुसार प्रधानमन्त्रीका लागि संविधानसभा सदस्य हुन जरुरी छ। खनाल संविधानसभामा प्रत्यक्ष निर्वाचनअन्तर्गत इलामबाट विजयी हुन्।
प्रधानमन्त्रीको दाबेदारमा माधव नेपाल
एमालेमा प्रधानमन्त्रीका अर्का दावेदार भनेका माधव नेपाल हुन्। तर नेपाल संविधानसभा निर्वाचनमा काठमाडौं र रौतहट गरी दुई दुई स्थानबाट पराजय भोगेका हुन्। उनी मन्त्रिपरिषद्बाट मनोनित भइ संविधानसभामा पुगेका छन्। नेपाललाई नयाँ संविधान बनाउने प्रमुख जिम्मेवारी दिन माओवादीसहित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै प्रमुख दलको सहमतिमा 'संविधानसभा संवैधानिक समिति" मा लगिएको हो। त्यस आधारमा पनि उनलाई प्रधानमन्त्री पदमा जान अप्ठेरो छ। तर, पार्टीभित्रैको ओली पक्षधर मात्र होइन कांग्रेसको सहित समर्थन भने खनालले भन्दा नेपालले सजिलोसँग पाउनेछन्।
प्रधानमन्त्रीमा पुष्पकमल दाहाल र बाबुराम भट्टराई
संविधानसभामा सबैभन्दा ठूलो दल (२ सय ३८ सिट) भएकाले माओवादीको नेतृत्वमा फेरि नयाँ सरकार बन्न पनि अप्ठेरो छैन। यसका लागि प्रधानमन्त्री दाहाल नै फेरि सरकार संचालन गर्न पाउनेछन्। सोमबार प्रधानमन्त्रीको राजिनामापछि बसेको एकिकृत नेकपा माओवादीको सचिवालय बैठकले माओवादीको सहभागिता बिना नयाँ सत्ता समिकरण नबन्ने टुंगोमा पुगिसकेकोछ।
माओवादीलाई सरकारमा लान अन्य दललाई तत्कालका लागि अप्ठेरो छ। कम्तिमा पनि प्रधानसेनापति रुक्माङ्गत कटवाल पदमा रहेसम्म माओवादी सत्तामा जानेछैन। कटवाललाई हटाउने र राष्ट्रपतिले प्रधानसेनापतिमा काम गर्न कटवाललाई दिएको पत्र फिर्ता लिनुपर्ने अडान उसले राखिरहनेछ।
माओवादीले फोरम (५१ सिट)को समर्थन पाएमा नेकपा माले (९) र अन्य साना दलका साथमा सरकार बनाउन सक्नेछ। कांग्रेस र एमालेलाई मेख मार्न पनि त्यस्तो गठवन्धन बनेमा त्यस्को नेतृत्व फेरि पुष्पकमल दाहालले लिन सक्नेछन्।
अन्य सहमतिको अवस्थामा सरकार बनाउनुपर्ने भए माओवादी नेता बाबुराम भट्टराई पनि प्रधानमन्त्रीको रुपमा अगाडि आउनेछन्। तर, माओवादी अध्यक्ष दाहालसँगै पार्टीभित्रका उनका धेरै प्रतिस्पर्धीलाई पछाडि छोड्न भट्टराईलाई अप्ठेरो छ।
अन्य दलहरुमा पनि प्रधानमन्त्री पदका लागि विवाद भए भने भट्टराईको उम्मेदवारी सशक्त बन्न सक्छ। उनले नेतृत्व गरेको सरकारमा कांग्रेस र एमालेले उप प्रधानमन्त्रीको पद पाउनेछन्। उनका लागि छिमेकी मुलुक सँधै सहयोगी हुने भनाइ पनि पटक पटक प्रकाशमा आइरहन्छ नै।
प्रधानमन्त्रीमा फोरमका उपेन्द्र यादव
सत्ताको वास्तविक साँचो चाँहि अहिले फोरमका हातमा छ। उसको समर्थन बिना सरकार बनाउन अहिले कांग्रेस, एमाले र माओवादी सबैलाई अप्ठेरो छ। २०५१ सालपछि तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सूर्यबहादुर थापा कांग्रेसको समर्थनमा र लोकेन्द्रबहादुर चन्द एमालेको समर्थनमा सरकारमा आएजस्तै यादव प्रधानमन्त्री बनेर आउनेछन्।
यादवको नेतृत्वमा सरकार बनाउँदा पुरानै संसदीय खेल पुनरावृत्ति भएको आरोप दलहरुलाई लाग्नसक्छ। त्यसैले यादव प्रधानमन्त्री बन्ने संभावना तत्कालका लागि कमजोर छ।
