फेरि अन्योलमा कांग्रेस महाधिवेशन
१४ साउन २०७८
•
३ मिनेट पाठ
फेरि अन्योलमा कांग्रेस महाधिवेशन
क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा परेको छ। महाधिवेशन पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशन अन्योलमा परेको हो। महाधिवेशन सुरु हुन एक महिनामात्र बाँकी रहँदा कांग्रेसले बुधबारसम्म क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन।




केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको सदस्यता छानबिन समितिले मंगलबार ८ लाख क्रियाशील सदस्यताको टुंगो लगाउँदै प्रतिवेदन बुझाएको छ। तर बारा र सप्तरीको नयाँ क्रियाशील सदस्यको फाइल खोलिएको छैन भने धनुषा र सर्लाहीका एक/एक निर्वाचन क्षेत्रको सदस्यता विवाद कायमै छ। सात सयभन्दा बढी वडाको सदस्यता टुंगो लाग्नै सकेको छैन। समितिले बुझाएको प्रतिवेदनमा पनि अझै प्राविधिक पक्ष मिलाउन बाँकी छ । त्यसलाई मिलाएर बिहीबार मध्याह्नसम्म अन्तिम प्रतिवेदन बुझाउन बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले समितिलाई निर्देशन दिएको छ।

बारा र सप्तरीको नयाँ सदस्यको फाइल नै नखोलेको भन्दै नेताहरूले छानबिन समितिप्रति असन्तुष्टि जनाएका छन्। ‘सदस्यता फाराम नै नखोली त्यहाँ समस्या रहेको के गरी थाहा भयो’ भन्ने प्रश्न गर्दै नेताहरूले ती दुई जिल्लालाई पनि प्रक्रियामा लैजान समितिलाई निर्देशन दिएका छन्। ‘छानबिन समितिले बुझाएको प्रतिवेदनमा केही प्राविधिक पक्ष मिलाउन बाँकी छ,’ समिति सदस्य श्यामकुमार घिमिरेले भने, ‘त्यसलाई मिलाएर प्रतिवेदन बुझाउनेछौं।’

त्यस्तै, विभिन्न दलबाट कांग्रेस प्रवेश गरेकाहरूको संगठन समायोजनका क्रममा वितरण गरिएको क्रियाशील सदस्यतालाई लिएर विवाद छ। संस्थापनइतर पक्षले सभापति शेरबहादुर देउवाले एकलौटी ढंगबाट सदस्यता दिएको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने जनाउँदै आएको छ। समायोजनका विषयमा उठेका प्रश्नसहित बारा, सप्तरी, सर्लाही, धनुषासहितको सदस्यता विवाद टुंगो लगाउन फेरि कांग्रेसले अर्को समिति गठन गरेको छ। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, मीनेन्द्र रिजाल र रमेश लेखकलाई विवाद समाधानका लागि जिम्मेवारी दिइएको छ। ‘विवादित जिल्लाको सदस्यता हेरेर टुंगो लगाउन एउटा चुस्त समितिले काम गर्नेछ,’पूर्वउपसभापति गोपालमान श्रेष्ठले भने, ‘त्यसले विवाद समाधानका लागि प्रयास गर्नेछ।’

सिटौलासहितको समितिले विवाद बाँकी रहेका जिल्लाको सदस्यतालाई एकसरो हेर्न कम्तीमा १०/१२ दिन लाग्ने बताउँदै कांग्रेस नेताहरूले अब भदौ १६ गतेदेखि महाधिवेशन गर्ने कुरा कठिन रहेको बताएका छन्। निर्वाचन समितिले अहिलेसम्म निर्वाचन निर्देशिका पनि निर्माण गरिनसकेको जानकारी दिँदै क्रियाशील सदस्य संख्याका आधारमा भूगोलबाट प्रतिनिधि चयन गर्ने कुराले पनि तल्लो तहमा अधिवेशन गर्न जटिलता छ।

सभापति देउवाले बुधबार पनि पछिल्लोपटक तोकिएको मितिमै महाधिवेशन हुने दाबी गरेका छन्। सोहीअनुसार तयारीमा लाग्न देउवाबाट निर्देशन आएको जानकारी दिँदै पूर्वउपसभापति श्रेष्ठले भने, ‘उहाँले अन्तिम मिति कायमै राखेर अन्य कार्यतालिका संशोधन हुने बताउनुभएको छ। तर मैले भदौमा हुन कठिन देखेको छु।’

साउन १२ गते तय गरिएको अधिवेशनको कार्यतालिका प्रभावित भएसँगै अब तोकिएको समयमा महाधिवेशन गर्न कठिन रहेको भन्दै श्रेष्ठले कोरोना भाइरसको बढ्दो संक्रमण र बर्खा पनि चुनौतीको विषय बनेको बताए। सर्वोच्च अदालतले पनि कोरोना भाइरस संक्रमणको आठ महिनालाई शून्य समय मानेकाले त्यसलाई उल्लेख गर्दै महाधिवेशन केही महिना सार्न सकिने बताउँदै श्रेष्ठले दुईचार महिना सार्न पार्टी बैठकमा यसअघि नै आफूले प्रस्ताव गरेको बताए। ‘सर्वोच्चले भनेको आठ महिना नै समय लिनुपर्छ भन्ने होइन, अहिले असाध्यै टाइट समय भयो,’ उनले भने, ‘त्यसलाई अलि सहज हुनेगरी महाधिवेशन गरौं। निर्वाचन आयोगले पनि समय दिन्छ ।’

संस्थापनइतर समूहले देउवाले बेलैमा महाधिवेशन गराउन्नन् भन्ने आरोप लगाउँदै आएको छ। सभापति देउवा त्यस्तो आरोप खेप्ने पक्षमा नभएको उल्लेख गर्दै श्रेष्ठले भने, ‘सकियो भने भदौ १६ देखि नै महाधिवेशन गरौंला नत्र त्यसपछि हेरौंला। तर, अहिलेको अवस्थामा सम्भव देखिँदैन।’पार्टी विधानले दिएको एक वर्ष अतिरिक्त समय मात्र होइन, संवैधानिक व्यवस्थाअनुसार पनि कांग्रेसले भदौमा महाधिवेशन गनैपर्ने बाध्यता छ।
अर्को समाचार
अप्ठेरोमा कांग्रेसः अन्योलमा महाधिवेशन
०२ फागुन २०७७
•
५ मिनेट पाठ
अप्ठेरोमा कांग्रेसः अन्योलमा महाधिवेशन
पूर्वर्निधारित मितिअनुसार नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन अब पाँच दिनमात्र बाँकी छ। केन्द्रीय समितिको एक वर्षअघिको निर्णयअनुसार पाँच दिनपछि अर्थात् यही फागुन ७ देखि १० गतेसम्म कांग्रेस १४औं महाधिवेशन काठमाडौं हुनुपर्ने हो। त्यसअनुसार अहिलेसम्म सम्पूर्ण तयारी सकेर पार्टीको आगामी नीति र नेता कस्तो हुनुपर्छ भन्ने छलफलमा कांग्रेस जुट्नुपर्ने हो। तर महाधिवेशन फागुन ७ देखि त सुरु हुँदै छैन नै कहिले हुन्छ भन्ने पनि निश्चित छैन।




महाधिवेशनको पूर्वाधारका रुपमा रहेको क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सुरु भएको एक वर्ष भयो। त्यसको टुंगो लाग्नु त परको कुरा भयो, अहिलेसम्म एक तिहाइ सदस्यता नवीकरण र वितरणको काम पनि सकिएको छैन। अन्तिम भन्दै पटकपटक म्याद थपिए पनि काम हुन सकेको छैन। पछिल्लोपटक सकिएको सदस्यता वितरण र नवीकरण म्यादको सीमा पनि शुक्रबार सकिएको छ। पार्टीका अनुसार शनिबार बिहानसम्म ४५ जिल्लाका ५७ निर्वाचन क्षेत्रबाट जम्मा १ लाख ४० हजार सदस्यता नवीकरण र नयाँ फारम वितरण अभिलेख केन्द्रीय सफ्टवेयमा इन्ट्री भएको छ। अर्घाखाँची, पाल्पा, गुल्मी, लम्जुङ, कालिकोट र पाँचथर जिल्लाले करिबकरिब सदस्यता नवीकरण र वितरणको काम पूरा गरे पनि कतिपय जिल्लामा वितरण सुरु नै भएको छैन। झन्डै पाँच लाख क्रियाशील सदस्य रहेको कांग्रेसले त्यति नै संख्यामा नयाँ सदस्यता वितरण गर्ने निर्णय गरेको छ। कांग्रेस महाधिवेशनको सबैभन्दा पेचिलो विषय नै सदस्यता वितरण र त्यसको टुंगो लगाउनु हो।

त्यतिमात्र होइन अन्य पार्टीबाट प्रवेश गरेकाको समायोजन पनि कांग्रेसले गर्न सकेको छैन। २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मुखमा कांग्रेससँग एकीकरण गरेको तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको समायोजन विवाद अझै चार जिल्लामा मिल्न बाँकी छ। अखण्ड नेपाल पार्टी, अखण्ड नेपाल पार्टी समानान्तरसँगको समायोजन सकिए पनि सुनिल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेस प्रवेश गरेका नेताकार्यकर्ताको समायोजन पनि सकिएको छैन। समायोजन विवाद हुँदा सप्तरी, बारा र सिन्धुपाल्चोक जिल्लामा क्रियाशील सदस्यता फारम अहिलेसम्म पुगेको छैन।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले ती जिल्लाको विवाद मिलाउन केन्द्रीय कार्य समितिलाई भनेको थियो। तर केन्द्रीय समितिले फेरि निर्वाचन समितिलाई नै विवाद टुंगो लगाउने अधिकार दिएको छ। निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले विवाद पेचिलो बने पनि टुंगो लगाउने प्रयास जारी रहेको बताए।

१३औं महाधिवेशनअघि टुंगो लाग्न बाँकी क्रियाशील सदस्यताका विषयमा पनि कांग्रेसले अहिलेसम्म निर्णय लिएको छैन। पार्टीका तल्लो निकायलाई छलेर वा समय घर्केपछि आएका र विवादका कारण इलाम, भक्तपुर, बाँके, कैलाली, नुवाकोट, पर्सा र सिन्धुपाल्चोक–२ को सदस्यता टुंगो लाग्न सकेको थिएन। पहिलेकै टुंगो लाग्न बाँकी र अहिले वितरण भइरहेको सदस्यता विषयमा निर्णय गर्न महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू मीनेन्द्र रिजाल, रमेश लेखक र जीवन परियार रहेको अनौपचारिक समिति कांग्रेसमा सक्रिय छ।

प्रक्रिया नपुगेकालाई प्रक्रिया पुर्‍याएर सदस्यता दिने निर्णय भएको जानकारी दिँदै केन्द्रीय सदस्य लेखकले भने, ‘तत्कालीन छानबिन समितिले त्यतिबेला जे निर्णय गरेको छ, त्यसअनुसार नै सदस्यता दिने हो।’

कांग्रेसको १४औं महाधिवेशन अन्योलमा परेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्रको आन्तरिक विवादले प्रतिनिधिसभा विघटन गरेका छन्। उक्त विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन रहे पनि कांग्रेसका लागि आमनिर्वाचन तयारीमा जुट्ने कि महाधिवेशनमा भन्ने प्रश्न अर्को चुनौती बनेको छ। अदालतले प्रतिनिधिसभा विघटन सदर गरे कांग्रेसका लागि महाधिवेशनभन्दा आमनिर्वाचन प्राथमिकतामा पर्ने देखिन्छ।

२०७४ सालको निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रले गठबन्धन गरेपछि संसदमा कांग्रेसको उपस्थिति कमजोर छ। अदालतले प्रतिनिधिसभा विघटन सदर गरी निर्वाचनका पक्षमा निर्णय दिए त्यसलाई पार्टीको अवस्था र छवि सुधार गर्ने अवसरका रुपमा उपयोग गर्ने संस्थापन पक्षको तयारी देखिन्छ। तर संस्थापन इतर पक्षका केही नेताले भने संसद् पुनःस्थापना र महाधिवेशनलाई जोड दिइरहेका छन्। संस्थापन र इतर पक्षका नेताहरू फरक दुई धारमा उभिनुलाई आगामी दिनमा सत्तामा पुग्ने र टिक्ने रणनीतिका रुपमा हेरिएको छ।  

सभापति देउवासहित संस्थापन पक्ष महाधिवेशनअघि आमनिर्वाचन हुँदा पार्टीको अवस्थामा आमूल सुधार हुने विश्लेषणमा छ।  

संस्थापन इतर पक्ष भने आमनिर्वाचनअघि नै महाधिवेशन गराएर नेतृत्वमा पुग्न चाहन्छ। इतर पक्ष पार्टी नेतृत्वमा पुग्न आमनिर्वाचनअघि नै सहज हुने आकलनमा छ। देउवाको नेतृत्वमा आमनिर्वाचनमा जाने अवस्था आए प्रतिनिधिसभाको टिकट वितरणदेखि सबै ठाउँमा संस्थापन पक्ष हाबी हुने र निर्वाचनबाट थप शक्तिशाली भएर आउने इतर पक्षको बुझाइ छ।

अदालतले संसद् पुनस्र्थापना गरिदियो भने कांग्रेसले सम्पूर्ण ध्यान १४औं महाधिवेशनमा केन्द्रित गर्न सक्छ। तर पुनस्र्थापना पनि नहुने र वैशाख १७ र २७ का लागि तय भएको निर्वाचन मिति केही साता वा केही महिना पर सरेको अवस्थामा कांग्रेसका लागि थप चुनौती खडा हुनेछ। केन्द्रीय कार्य समितिले केही दिनभित्र पार्टी विधानले दिएको पाँच वर्षे (अतिरिक्त एक वर्षसमेत) कार्यकाल गुजार्दैछ। त्यसपछि पार्टीको वैधानिकता जोगाउन उसले संवैधानिक व्यवस्थाको सहारा लिनुपर्नेछ। महाधिवेशन भएको साढे पाँच वर्षभित्र अर्को महाधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअनुसार पनि कांग्रेसले भदौभित्र महाधिवेशन गर्नुपर्ने हुन्छ। उक्त समयभित्र महाधिवेशन गर्न नसके पार्टीको वैधतालाई जोगाउन उसले संविधान र कानुनका अन्य छिद्रहरूको सहारा लिनुपर्ने हुन्छ।

फागुन ३ गते प्रतिनिधिसभा विघटनको विरोधमा सबै जिल्लामा प्रदर्शनलगत्तै ४ गते पदाधिकारी, पूर्वपदाधिकारीसहितको बैठक राख्ने तयारी कांग्रेसले गरेको छ। उक्त बैठकले अहिलेसम्म भएका विरोधका कार्यक्रमको समीक्षा गर्नेछ। ७ गतेअघि नै केन्द्रीय समितिको बैठक राखेर विरोधका थप कार्यक्रम सार्वजनिक गर्ने तयारी छ। फागुन ३ गतेको विरोध प्रदर्शनलगत्तै पार्टी पदाधिकारीसहितका नेताहरूको बैठक बस्ने जानकारी दिँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘त्यसपछि बस्ने केन्द्रीय समितिको बैठकले आन्दोलनसहितका सबै विषयमा जे गर्नुपर्ने हो त्यो गर्नेछ।’

केन्द्रीय समिति बैठकले फागुन ७ देखि तय भएको १४औं महाधिवेशन सरेको निर्णय पनि गर्नेछ। तर बैठकले महाधिवेशनको नयाँ मिति भने तय गर्ने छैन। ‘अदालतमा विचाराधीन मुद्दाका विषयमा पनि पदाधिकारी बैठकमा समीक्षा हुनेछ। तर महाधिवेशनको नयाँ मिति आगामी केन्द्रीय समिति बैठकबाट आउँदैन,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘संसद् पुनस्र्थापना भएन भने हाम्रो प्राथमिकता महाधिवेशनभन्दा निर्वाचन हुन्छ। पुनस्र्थापना भयो भने पनि अब महाधिवेशन भदौमै हुने हो।’
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस