भोजपुरे खुकुरी: माग बढ्यो, कालीगढको अभाव
०८ माघ २०७९
•
४ मिनेट पाठ
भोजपुरे खुकुरी: माग बढ्यो, कालीगढको अभाव
ख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमासमेत हुने गरेको छ। यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ।




देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरी दक्ष कालीगढ अभावमा मागअनुसार उत्पादन गर्न समस्या रहेको व्यवसायीको भनाइ छ। पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले खुकुरी बनाउने कालीगढ पेसा लोप हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ।  

खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालीगढ अभावले उत्पादनमा कमी आएको स्थानीय व्यापारीको भनाइ छ। खुकुरी बनाउने पेसा नयाँ पुस्ताको रोजाइँमा नपर्दा उत्पादनमा कमी आएको देखिन्छ। यहाँ भोजपुरे, सिरुपाते, बाँसपाते, चित्लाङे, कोचिमुडा, पानवाला, धारखोले, बोखिमेलगायतका खुकुरी बन्ने गरेका छन्। यस्ता खुकुरी विश्वबजारमा समेत प्रख्यात छ। यी खुकुरीको बजारमा धेरै माग हुने गरेको छ। यहाँ उत्पादन भएका खुकुरी आकारअनुसार न्यूनतम एक हजार रुपैयाँदेखि अधिकतम १० हजार रुपैयाँसम्म पर्ने व्यवसायीको भनाइ छ।

यहाँको खुकुरीको मागलाई धान्नै मुस्किल रहेको स्थानीय व्यापारीको भनाइ छ। विदेश तथा बाहिरका जिल्लाबाट दुईदेखि चार सयसम्म खुकुरीको माग आउने भए पनि धेरै माग भएको खण्डमा धान्न समस्या हुने रञ्जिता खुकुरी उद्योगका सञ्चालक गणेश गजमेरले बताए। ‘भोजपुरे खुकुरीको माग धान्न मुस्किल छ’, गजमेरले भने, ‘विदेशसँगै, देशका विभिन्न ठाउँबाट माग आउँछ। मागअनुसारको खुकुरी उत्पादन गर्न सकिएको छैन।’

कालीगढ पेसालाई बचाइराख्नका लागि खुकुरी बनाउनेलगायतका तालिम सञ्चालन गरिए पनि युवाशक्ति विदेश जाने लहरले समस्या भएको स्थानीय खुकुरी उद्योग सञ्चालक हीरा श्रेष्ठ बताउँछन्। पेसालाई जोगाइराख्न राज्यले विशेष खालको कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको सुझाव छ।

‘भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारबाटसमेत हुने गरेको छ’, व्यवसायी श्रेष्ठले भने, ‘खुकुरी बनाउने दक्ष कालिगढको सङ्ख्या बर्सेनि घट्दै गएको अवस्था छ। बाहिरबाट आएको माग पूरा गर्न सकिएको छैन। पेसालाई जोगाएर अर्को पुस्तामा लैजानुपर्ने अवस्था छ।’

दशक अघिसम्म धेरै कालीगढ भए पनि पछिल्लो समयमा आएर व्यावसायिक रूपमा यो काम गर्ने मानिसको सङ्ख्या न्यून हुँदै गएको छ। बढी मेहेनत गर्नुपर्ने साथै व्यवसाय गर्नका लागि आवश्यक हुने कच्चा पदार्थ अभावसँगै नयाँ पुस्तामा यसप्रति मोह कम भएकाले यो पेसा सङ्कटमा पर्दै गएको कालीगढ हर्कबहादुर विश्वकर्माले बताए।

‘खुकुरी बनाउने कालीगढ पेसा सङ्कटमा पर्ने अवस्था छ’, विश्वकर्माले भने, ‘खास गरेर यो पेसालाई पुस्तान्तरण गर्न सकिएन। नयाँ पुस्ताले यो पेसालाई निरन्तरता दिन छाडेको अवस्था छ। अलिक समयपछि कालीगढ पाउन मुस्किल पर्छ।’ पेसालाई लोप हुनबाट बचाउन राज्यले प्राथमिकता दिनुपर्ने विश्वकर्माले बताए। मानिसले कालीगढ पेसालाई अपहेलनाका रूपमा लिने भएकाले पनि नयाँ पुस्ताको रोजाइँमा नपरेको उनको कथन छ।

‘चार दशक बढी समयबाट यो काम गरिरहेको छु’, उनले भने, ‘यतिका समय यही पेसा गर्दा पनि आर्थिक अवस्था कमजोर नै छ। मेहेनत बढी गर्नुपर्छ। आम्दानी कम छ।’ नयाँ पुस्तालाई यसतर्फ आकर्षित गरेर पेसालाई बचाउन सकिने उनको भनाइ छ।

स्थानीय सरकार सञ्चालनमा आए पनि प्रोत्साहनमूलक सहयोग नपाएको कालीगढ प्रेमकुमार लुवारले बताए। व्यवसायलाई सञ्चालन गर्न स्थानीयस्तरमा पाउने कच्चा पदार्थको समेत अभाव रहेको उनको भनाइ छ।

‘राज्यको तर्फबाट हामीले सहयोग पाउन सकेका छैनौँ’, उनले भने, ‘हामीलाई व्यवसाय सञ्चालन गर्न धेरै समस्या छ। हामीलाई दैनिक कामकाजको लागि चाहिने, कोइला, बिँड, दापका लागि चाहिने काठ आदिको समस्या हुन्छ।’ सामुदायिक वनबाट सहजरूपमा ल्याउन पाउने अवस्था नरहेको उनीहरूको भनाइ छ। आफूहरूले उत्पादन गरेका खुकुरीले पनि मेहेनतअनुसारको मूल्य पाउन नसकेको कालीगढहरूको भनाइ छ। खुकुरी उत्पादन गर्ने कालीगढहरू बिचौलियाको मारमा समेत पर्ने गरेका छन्।

मेहेनतअनुसारको आम्दानी लिन समस्या हुने भएकाले पनि कालीगढ पेसामा लाग्नेहरुको सङ्ख्या घट्दै गएको टेम्केमैयुङ–५ मझौलेमा कालीगढ पेसा गर्दै आका गोर विश्वकर्माले बताए। पुराणा पुस्ताले पुर्खौली पेसालाई संरक्षण गर्दै आएको भए पनि राज्यले संरक्षणमा ध्यान नदिएको उनको भनाइ छ।  

‘कालीगढ काममा दुःख छ’, उनले भने, ‘पराम्परागत तरिकाबाट फलाम कुटेर परिवार धान्ने अवस्था छैन। सामुदायिक वनका कारण कच्चा पदार्थ जुटाउन नै समस्या छ। राज्यले हामीलाई यहाँ लाग्ने विद्युत्, फलाम, खुकुरी बनाउन आवश्यक पर्ने मेसिन, उपकरण खरिदमा सहयोग गरे हुने। त्यही भएर पनि धेरैले अब त पेसा नै छाडिसके।’

राज्यले यही पेसा गरेर जीवनयापन गर्न सक्ने वातारण निर्माण गरिदिए पेसाको संरक्षणमा टेवा पुग्ने विश्वकर्माको भनाइ छ। ‘पेसाको संरक्षण अहिलेको आवश्यकता हो’, विश्वकर्मा भने, ‘यो पेसा गरेर सम्मानपूर्वक बाँच्ने आधार बनाउन आवश्यक छ। राज्यले त्यो वातावरण बनाइदिनुपर्‍यो। राज्यबाट पनि खास प्रोत्साहन छैन। यो काम गरेर आनन्दले बाँच्न सक्ने अवस्था भएमा नयाँ पुस्ता पनि आकर्षित हुने थिए।’

जिल्लाको पहिचानलाई जोगाउँदै आएको खुकुरी बनाउने कालीगढ पेसा लोप हुँदै जानु दुःखद् रहेको जानकारहरूको भनाइ छ। पेसालाई जोगाउन राज्यले कालीगढहरूको समस्याको पहिचान गरी आवश्यक साथ सहयोगसँगै प्रोत्साहन गर्नुपर्ने उनीहरुले बताउने गरेका छन्। विदेश जाने लहरका कारण गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरनहरू बन्द हुँदा यतिबेला गाउँघरका लागि पनि सदरमुकामबाट नै खुकुरी लाने गरेको व्यवसायीको भनाइ छ।
अर्को समाचार
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
२५ मिनेट अघि
•
१ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
पोखरा। गण्डकी प्रदेश प्राकृतिक रूपमा मात्र होइन, भाषा र संस्कृतिको हिसाबले पनि धनी छ। यहाँ १०३ जातजातिले ७२ मातृभाषा बोल्छन् भनिन्छ। सांस्कृतिक हिसाबले पनि विविधतापूर्ण संस्कृति रहेको गण्डकी देशकै भाषा, संस्कृतिमा नमुना मानिन्छ।




तर नवपुस्ताले आफ्नो भाषा बोल्न छाड्दै गएका छन्। मौलिक लोकभाका हराउँदै गएको छ भने परम्परागत संस्कृति पुस्तान्तरण हुन नसक्दा लोपोन्मुख अवस्थामा पुगेका छन्।

यही नयाँ पुस्ताले बोल्न छाड्दै गएको भाषा, मौलिक लोकभाका र लोपोन्मुख संस्कृति संरक्षणमा गण्डकी प्रज्ञा–प्रतिष्ठान लाग्ने भएको छ। जसका लागि आगामी वार्षिक कार्य योजना तयार गरेर कार्यक्रमको प्राथमिकीकरण गरिएको प्रतिष्ठानले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

प्रतिष्ठानको मंसिर ११ र १२ गते बसेको प्राज्ञ सभा बैठकले मौलिक भाषा, लोकभाका, बाजा, नाच र संस्कृतिलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने लक्ष्यसहितको वार्षिक कार्य योजना पारित गरेको कुलपति प्रा.डा.कुसुमाकर न्यौपानेले बताए।

‘दशौं प्राज्ञ सभाबाट पारित कार्ययोजनामा लोपोन्मुख सांस्कृतिक सम्पदाको खोज, अनुसन्धान, संरक्षण र पुस्तान्तरणलाई विशेष जोड दिइएको छ’,उनले भने। सीमित स्रोतसाधनबाट अधिकतम उपलब्धि हासिल गर्ने लक्ष्य राखेको प्रतिष्ठानले प्रदेशको बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय पहिचानलाई संरक्षण गर्दै सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने गरी योजना बनाएको उनले बताए।

प्रतिष्ठानको वार्षिक कार्ययोजनामा गण्डकीका मुख्य १० भाषाका कक्षा सञ्चालन गर्ने उल्लेख छ। प्रतिष्ठानले चालु आर्थिक वर्षमा तमु (गुरुङ), मगर, नेपाल, दुरा, ढुट÷खाम, थारु, तामाङ, छन्त्याल, कुमाल र दरै भाषाका कक्षा सञ्चालन गर्ने प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार भाषा संरक्षण अन्तर्गत लोपोन्मुख भाषा र लिपिको अनुसन्धान, शब्दकोश निर्माण तथा लोकभाषाका शब्द सङ्कलन गरी ग्रन्थ प्रकाशन गर्ने योजना पनि प्रतिष्ठानको छ।

युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष्ठले बताए।

त्यस्तै, प्रतिष्ठानले गण्डकी प्रदेशको कामकाजी भाषाका रूपमा घोषित गुरुङ र मगर भाषालाई व्यवहारमै उतार्नका लागि आवश्यक कार्यमा सहकार्य गर्ने भएको छ।

‘गण्डकी प्रदेश सरकारले गुरुङ र मगर भाषालाई कामकाजी भाषाका रूपमा विकास गर्ने उद्देश्यले अघि सारेको नीतिलाई कार्यान्वयनमा सघाउने प्रतिष्ठानको योजना छ’,उनले भने,‘यसका लागि सम्बन्धित पक्षसँग छलफल तथा परामर्श गरी भाषा र लिपिलाई व्यवस्थित गरिनेछ।’

प्रतिष्ठानले भाषा संरक्षण र शुद्ध प्रयोगलाई प्रोत्साहन गर्न ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी अभियान’लाई निरन्तरता दिने भएको छ। यसअघि देखि नै सञ्चालनमा रहेको यो अभियानलाई प्रभावकारी बनाउने गरी प्रतिष्ठानले कार्य योजना बनाएको सदस्य सचिव श्रेष्ठले जानकारी दिए। जसका लागि ३५ जना भाषा शिक्षक तयार गरिएको उनले बताए।

उनका अनुसार शुद्धतालाई प्रोत्साहन गर्न प्रतिष्ठानले शुद्ध पुस्तकहरूको प्रतिष्ठान आफैले प्रकाशन गर्नेदेखि गण्डकीका लेखकहरूले प्रकाशित गरेका शुद्ध पुस्तकहरूलाई गण्डकी वर्ष पुस्तक घोषणा गरी पुरस्कृत गर्ने, स्थानीय, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय गोष्ठी तथा सम्मेलन आयोजना गर्नेसम्मका कार्यक्रम तय भएको छ।

प्रतिष्ठानले भाषासँगै हराउँदै गएका लोकसंस्कृतिको संरक्षणलाई पनि प्राथमिकतामा राखेर कार्य योजना बनाएको छ। लोकगीत, लोकगाथा, लोककविता, लोककाव्य, लोकभाका, लोककथा, लोकनाटक, उखान, टुक्का र गाउँखाने कथाको सङ्कलन गर्ने प्रतिष्ठानको योजना रहेको जनाइएको छ।

विभिन्न जातजातिका संस्कृतिको सर्वेक्षण, किंवदन्ती, जनश्रुति र लोकमन्त्रको सङ्कलन तथा होमस्टे संस्कृतिको दस्तावेजीकरणसमेत गरिने कार्य योजना बनेको सदस्य सचिव श्रेष्ठले बताए।

विशेष गरी लोपोन्मुख अवस्थामा रहेका मौलिक लोक भाकालाई नयाँ पुस्तासम्म पुर्‍याउन प्रतिष्ठानले संरक्षण अभियान सञ्चालन गर्ने, यानिमयाँ, सुनिमयाँ, साहिँलो दाइ, रेरे साइँलो, घुम्टेको भाका, कठै, सिलोक र कैकदमैजस्ता मौलिक भाकाको संरक्षणसँगै पुस्तान्तरण कार्यक्रम सञ्चालन गरिने पनि श्रेष्ठले जानकारी दिए।

त्यस्तै, एकोहोरी तथा दोहोरी गीतको संरक्षण र सम्बद्र्धनका कार्यक्रम पनि समेटिएका छन्। परम्परागत बाजा र नाचको संरक्षणका लागि धिमे, ढोङ्गी, टुना, खैजडी, मादल, सारङ्गी, अर्बाजो, मौरी, छ्याँडु र नौमती बाजा बजाउने तालिमलाई निरन्तरता दिइने भएको छ।

साहित्य र सिर्जनाको संरक्षणका लागि गण्डकी साहित्य डिजिटल अभिलेख निर्माण, स्रष्टाका सिर्जनाको संरक्षण, पुस्तक लेखनमा अनुदान र प्रतिभा प्रस्फुटन कार्यक्रम सञ्चालन गरिने श्रेष्ठले बताए। ‘स्मृतिमा स्रष्टा, धूनमा कविता’ कार्यक्रम गरिने उनले बताए।

ललितकलातर्फ ‘रङमा लोमान्थाङ’, ‘कला अङ्कुर अभियान’ र प्रादेशिक ललितकला प्रदर्शनी आयोजना गरिने जनाइएको छ। कोमागाने पार्कलाई खुला आर्ट ग्यालरीका रूपमा विकास गर्न पहल गर्ने प्रतिष्ठानको योजना रहेको श्रेष्ठले बताए।

नाट्यकलाको विकासका लागि नाटक लेखन तथा निर्देशन कार्यशाला, विद्यालय रङ्गमञ्च अभियान र नाटकलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न पहल गर्ने कार्य योजना बनेको श्रेष्ठले जानकारी दिए।

‘ललितकलातर्फ ‘रङमा लोमान्थाङ’, ‘कला अङ्कुर अभियान’ र प्रादेशिक ललितकला प्रदर्शनी आयोजना गरिनेछ। कोमागाने पार्कलाई खुला आर्ट ग्यालरीका रूपमा विकास गर्न पहल गर्ने प्रतिष्ठानको योजना छ’,उनले भने।

नाट्यकलाको विकासका लागि नाटक लेखन तथा निर्देशन कार्यशाला, विद्यालय रङ्गमञ्च अभियान र नाटकलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न पहल गरिने उनले बताए।

भाषा र संस्कृतिलाई प्राथमिकतामा राखेको प्रतिष्ठानले अनुसन्धानलाई पनि उत्तिकै महत्त्व दिएको छ। प्रतिष्ठानले अनुसन्धानका लागि अनुदानको व्यवस्था गरेको छ भने गण्डकीका प्रतिभा ग्रन्थ निर्माण गर्ने, गण्डकीका संघसंस्थाहरु शीर्षकमा अनुसन्धान गर्रा ग्रन्थ तार गर्ने, गण्डकी प्रदेशका भाषा, कोट, किल्ला तथा गढीहरु, मठमन्दिर, गुम्बा तथा थान, लोकमन्त्र, लोकविश्वास, औषधीमुलो, लोकगीत, लोककविता, लोकगाथा, लोककाव्य, लोककथा, उखान, लोकनाटक, टुक्का, गाउँखाने कथा, लोकबाजा, लोककला, प्रथा, पुरातत्व, नदीनाला, लोकजीवन, पर्यटनलगायत बारेको अनुसन्धानमा जोड दिइने सदस्य सचिव श्रेष्ठले जानकारी दिए।

प्रतिष्ठानले आफ्नै कार्यालय भवन बनाउनका लागि जग्गाको खोजी गर्ने भएको छ भने गण्डकी प्रदेशले स्थापना कालदेखि नै जोड दिँदै आएको सांस्कृतिक ग्राम निर्माणका लागि पहल गर्ने भएको छ।

साथै कला प्रदर्शनी गृह निर्माण, स्रष्टा चौतारी निर्माण, गन्धर्व डबली निर्माण र एक जिल्ला एक सांस्कृतिक घर निर्माणका लागि पनि पहल गरिने श्रेष्ठले बताए।

त्यस्तै, लोपोन्मुख संस्कृतिको डकुमेन्ट्री बनाउने, स्रष्टाको बायोग्राफी बनाउने लगायतका कार्यलाई पनि प्राथमिकता दिइने उनले बताए।
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेश...
Whatsapp
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन...
Whatsapp
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो।
Whatsapp
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
Whatsapp
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
Whatsapp
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा आठ जना पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
Whatsapp
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।
Whatsapp
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका...
Whatsapp
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन्...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
Whatsapp
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस