२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

नयाँ पुस्तालाई निगालोका सामग्री बुन्ने सीप सिकाउँदै वडा

जुम्लाको तातोपानी गाउँपालिका ४ ले नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहेको छ। जुम्लाका विभिन्न समुदायमा कामका लागि आवश्यक पर्ने विभिन्न सामग्री बुन्ने व्यक्ति र सीप नै लोप हुने अवस्थामा पुगेका बेला यहाँको ४ नम्बर वडाले नयाँ युवा पुस्तालाई उक्त सीप हस्तान्तरण गर्ने काम गरेको हो।

युवाले सीप सिक्ने इच्छा व्यक्त गरेपछि आफूले सीप सिकाउने विधि अपनाएको वडा अध्यक्ष अम्मर बहादुर रोकायाले बताए। निगालोका सामाग्री बनाउन थालेपछि अहिले स्याकुँ (पानी पर्दा ओड्ने परम्परागत छाता), सुपो अन्नबाली छान्ने भाडो,डालो,छाप्री रोटी राख्न प्रयोग हुने भाडो लगायतका सामाग्री बनाउन सिकेका छन्।  

उनले भने,‘सिक्ने भनेर इच्छा व्यक्त गर्नेहरुलाई सीप दिएको हुँ।’ तातोपानी ४ का खड्क सार्कीले परम्परागत सीप नै हराएर जाने अवस्था भएकाले निगालोका सामाग्री बुन्ने सीप सिक्न थालेको उनी बताउँछन्। ‘पहिला त निकै गाह्रो महसुस भएको थियो, सिक्दै जाँदा सहज हुने रहेछ’, बुनेको सामग्री देखाउँदै उनले भने।

‘यो हाम्रो जुम्लाको सबै समुदायका गाउँ ठाउँमा सामग्री नभइ हुँदैन, यसको आवश्यकता पूरा गर्न अब आफै बुन्नसक्ने भएको छु।’ यसैबीच उनी सँगै सीप सिकिरहेका पृथ्वी सार्कीले बुन्न आए पनि थालनी गर्ने र चोया काट्न अझै अभ्यास कम भएको सुनाए। ‘नयाँ पुस्तालाई खासै चासो नभएको अवस्थामा हामीले भने चोयाबाट बन्ने विभिन्न सामग्री बुन्ने सीप सिकिरहेका छौ’, उनले भने।

परम्परागत सीप हस्तान्तरणका लागि जुम्लाको तातोपानी- ४ नम्बर वडाको आयोजना तथा सामाजिक विकास कार्यालय जुम्लाले आर्थिक सहयोग गरेपछि यहाँका दलित युवाले सो अवसर पाएका हुन्। एकातिर जन्मदेखि मरणसम्म आवश्यक गर्ने सामग्री बनाउने सिप सिक्न पाउनु र अर्कोतिर सजावट तथा कलात्मक सामग्री बनाउने तालिम लिन पाउनु खुसीको कुरा भएको सहभागीहरु बताउँछन्।

‘सामग्री देख्दा कसरी बुन्ने र उत्पादन कसरी गर्ने होला भन्ने खुल्दुली लागिरहेको थियो, अहिले आएर घरमा नै बसेर सिक्ने अवसर मिल्यो’, खड्क र पृथ्वीले एकै स्वरमा भने।

अब परम्परागत सामग्री बनाउनेसँगै व्यावसायिक बन्ने बाटो खुल्ने आत्मविश्वास बढेको र व्यावसायिक रुपमा अगाडि बढ्न मद्दत पुग्ने उनीहरुकाे भनाइ छ। काम सिक्न पाउनु राम्रो कुरा भएकाले सिक्न थालेको उनीहरुको बताउँछन्। 

नयाँ युवा पुस्तालाई हस्तारण गर्न र संरक्षणका लागि सीप सिकाइएको वडा कार्यालयले जनाएको छ। काठ दाउरा बोक्ने समयमा डोको,जेठमा रोपाई गर्दा अत्यधिक माग हुने स्याकुँ,डालो छाप्री,लगायतका सामाग्री बनाउने सिप सिक्दा अब आम्दानी बढ्ने भन्दै सार्कीले खुसी व्यक्त गरे।

तालिममा वडाभित्रका १० दलित युवाले सो सीप सिकिरहेका छन्। उनीहरुलाई १५ दिने तालिम प्रदान गरिएको थियो। निगालाका सामग्री बनाउन जान्ने व्यक्तिको पनि अभाव बन्दै जानु र आवश्यक परेका बेलामा बजारमा तत्काल किन्नका लागि पनि खोज्दै हिँड्नुपर्ने अवस्था आएका बेला नयाँ पुस्तालाई उत्पादन गर्ने सीप प्रदान गर्न तालिम आयोजना गरेको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाईले बताए।

सीप सिकाइसँगै त्यसले परम्परा धान्ने, सीप हस्तान्तरण हुने र आम्दानी समेत गर्न सकिने भएकाले पनि तालिमको आयोजना गरेको उनको भनाइ छ।

यता जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जंगलमा खेर गईरहेको निगालोको सदुपयोग पनि हुने, परम्परागत कला पनि बच्ने र आम्दानी पनि हुने भएकोले यस्ता तालिमको निरन्तरता दिनुपर्ने बताए। सिप मुलक कार्यक्रम सञ्चालन गरी यूवालाई उत्पादनसँग जोड्ने र स्रोतको प्रयोग हुने गरी नीति बनाउन गाउँपालिकालाई आग्रह गरे।

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले निगालोका सामाग्री निर्माणले वनजंगलमा पाईने कच्चा पर्दाथ ९निगालो०को सदुपयोग हुने र आयआर्जन पनि बृद्धि हुने बताए। निगालोबाट बन्ने सामाग्रीको उत्पादन बृद्धि तथा व्यवसायीकरणका लागि पालिकाले ठोस नीति बनाएर लगानी गर्ने उल्लेख गरे।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले परम्परागत सिपको संरक्षण गर्दै आयआर्जन बृद्धि हुने खालका कार्यक्रममा लगानी बढाउन जरुरी रहेकोमा जोड दिए।

जुम्लाका आठै पालिकाको वन जंगलमा पर्याप्त मात्रामा निगालो पाईन्छ। तर बढ्दो बेरोजगारी न्युनिकरण गर्न निगालोको सदुपयोग र यूवा रोजगारीमा स्थानीयतहहरुले लगानी गर्न सकेका छैनन्। जसका कारण प्राकृतिक स्रोत खेर गईरहेको छ।

प्रकाशित: १२ वैशाख २०८१ ०९:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App