काठमाडौं- बलात्कारीलाई सजाय दिने कानुनी व्यवस्था अपर्याप्त रहेको कानुनविद र सभासदले बताएका छन्। बलात्कार जघन्य अपराध भएकाले पीडकलाई आजीवन काराबासको सजाय हुनुपर्ने उनीहरूले जनाएका छन्।बलात्कारीलाई अधिकतम २० वर्ष (जन्मकैद) थुनामा राख्ने मुलुकी ऐनको व्यवस्था संशोधन नभए पीडितले न्याय पाउन नसक्ने नेपाली कांग्रेसका नेता तथा सभासद रमेश लेखकले बताए। 'मुलुकी ऐनले जन्मकैदको व्यवस्था गरे पनि बलात्कारजस्ता जघन्य अपराध नघटेकाले ऐन तत्काल संशोधन गर्नुपर्छ,' उनले भने, 'बलत्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्छ भनेर आवाज उठिरहे पनि नेपालले हस्ताक्षर गरेका विभिन्न सन्धिका कारण सम्भव छैन।'
उनका अनुसार कानुनमा उल्लिखित 'जबर्जस्ती करणी' लाई सच्याएर 'इच्छाविपरीत गर्ने प्रयास भए' मा बलत्कार हुने गरी परिभाषित गरिनुपर्ने बताए। बलात्कारका घटनाका विषयमा सरकारले अपराधशास्त्रीय दृष्टिकोणले अनुसन्धान गर्नुपर्ने उनको धारणा छ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेवाङले कानुनको कमजोरीलाई प्रयोग गरी अपराधीहरू उम्किएकोप्रति सजग रहेको जनाउँदै संसदमा विचाराधीन संहिताहरू जतिसक्दो चाँडो पारित गराउन भूमिका खेल्ने बताए। संसदले ऐन संशोधनलाई महŒवका साथ लिएको पनि उनको भनाइ थियो।
वरिष्ठ अविक्ता तथा पूर्व महान्यायाधिवक्ता युवराज संग्रौलाले पीडितले प्रतिरोध नगरेको आधारमा भइरहेको बलत्कारमा संलग्नहरू न्यायको कसीमा आउन नसकेको बताए। 'बलात्कारका क्रममा संघर्ष र प्रतिरोध नभए सहमति भनी अदालतबाट व्याख्या हुनुले कतिपय पीडित न्याय पाउनबाट वञ्चित छन्,' संग्रौलाले भने, 'कसैले हुँदैन वा नाइँ भनेको अवस्थामा गरिएका सम्पूर्ण यौनकार्य बलात्कार हुन्, त्यहीअनुसार कानुन संशोधन हुन आवश्यक छ।'
'कानुन अपूर्ण'
काठमाडौं स्कुल अफ लले गरेको अध्ययनले हाल कायम कानुन र अदालतका फैसलाले पूर्ण न्याय नदिएको निष्कर्ष निकालेको छ।
मुलुकी ऐनमा रहेको जबर्जस्ती करणी भनी गरिएको परिभाषा संकुचित रहेको र त्यसले बलात्कार जस्तो जघन्य अपराधलाई साँघुरो पारेको अध्ययनको निष्कर्ष रहेको छ। क्षतिपूर्ति र राहत तथा तत्काल अन्तरिम राहतको व्यवस्था ऐनमा हुन नसकेकाले गर्दा समाजमा जिउन पीडितले थप संर्घष गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ।
३५ दिनभित्र मुद्दा दायर गर्नुपर्ने भनी तोकिएको हदम्याद असान्दर्भिक रहेको अध्ययनले देखाएको छ। ३५ दिने म्यादले कतिपय मुद्दालाई अदालतसम्म पुग्न रोकेको अध्ययनको निष्कर्ष छ। हालको व्यवस्था खारेज गरी ६ महिनादेखि १ वर्षसम्मको हदम्याद व्यवस्था राख्न उपयुक्त हुने अध्ययन टोलीले सुझाव दिएको छ।
यस्तै, बलात्कारको घटनामा सुनुवाइ गर्दा पीडितको पूर्ण गोप्यता सुनिश्चित हुन नसकेको पनि अध्ययनमा देखिएको छ। अदालतसमक्ष गलत बयान दिने समस्या कायमै रहेकाले त्यसका लागि छिटोछरितो सुनुवाइको व्यवस्था हुनुपर्ने अध्ययनको निष्कर्ष छ।
स्कुलले विभिन्न देशका कानुन र नेपालको अदालतबाट भएका फैसला तथा कानुनको तुलनात्मक अध्ययन गरेको थियो।
०१ चैत्र २०७१
•
४ मिनेट पाठ