२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पूर्वीय सारंगीमा पाश्चात्य धुन !

तारको सम्बन्ध मात्रै रहेको गितार र सारंगी दुई फरक वाद्यवादन यन्त्र हुन्। गितारको तार हल्लाउँदा निस्कने र सारंगी रेट्दा निस्कने ध्वनि आफैंमा दुई फरक ध्रुवका संगीत हुन्। दुवै वाद्यवादन यन्त्रको इतिहास र पृष्ठभूमिसमेत विपरीत छ।

सारंगी पूर्वीय सभ्यतासँग जोडिएको छ भने गितार पश्चिमी संस्कृतिसँग। यिनको साइनो जोडेको छ त केवल त्यही तारले। यी दुवै वाद्यवादन यन्त्रका लागि भरिने शब्द र गाउने तरिकासमेत विपरीत नै छन्। तर कहिले कल्पना गर्नुभएको छ ? पूर्वीय संस्कृतिको वाद्यवादन यन्त्रबाट पश्चिमी समाजको गीत सुन्दाको अनुभव कस्तो हुन्छ होला ? सिधै भन्नुपर्दा हाम्रो परम्परामा मनोरञ्जनसँगै सन्देश संवाहकका रूपमा प्रयोग हुँदै आएको सारंगीबाट पश्चिमी समाजको गीत रेटिँदा कस्तो सुनिन्छ होला ? धेरै कल्पना गर्नै पर्दैन, त्यस किसिमको फ्युजनको प्रयासमा छिन् एक किशोरी रिभा शाह।

मात्र १४ वर्षकी रिभा सारंगीको धुनमा आफू मात्रै होइन, सुन्ने जति सबैलाई मन्त्रमुग्ध पार्छिन्। ६/७ वर्ष अगाडि आफ्नी आमाबाट पहिलो पटक ‘सारंगी’ भन्ने शब्द सुनेकी रिभाले रेट्न लागेको समेत धेरै भएको छैन।

दुई वर्ष अघिदेखि मात्रै सिकाइको चरणमा छिन्। आमाले भनेपछि टेलिभिजनमा सारंगी मिश्रित गीतसंगीत सुन्ने गरेको उनी बताउँछिन्। ‘खाली समय टिभी हेर्ने बेला, त्यसमा गीतहरू सुन्ने बेला सारंगी मिसिएको धुन सुनेकी हुन्थें। त्यसमै पहिलो पटक सुनेकी थिएँ,’ उनी थप्छिन्, ‘सारंगी सिकेको दुई वर्ष पुग्यो। १२ वर्षको उमेरमा पहिलो पटक सारंगी समातेकी थिएँ।’

पहिलो पटक ‘बाँझो खेतमा, छड्के सलाम छ मायालाई पहिलो भेटमा’ भन्ने गीत रेटेको उनलाई अझै सम्झना छ। बेलायतको राजधानी लन्डनमा जन्मेकी रिभाको हुर्काइ भने अस्ट्रेलियाको सिड्नीमा भइरहेको छ।

अहिले कक्षा १० मा पढिरहेकी उनी स्कुले जीवन रमाइलोमै बितिरहेको बताउँछिन्। सानैदेखि सबै प्रकारका संगीतमा निकै रुचि राख्ने रिभा ड्रमस्, पियानो, गितार, बाँसुरी र तबलासमेत बजाउँछिन्। तर सारंगीमै उनको मन गड्यो। त्यसको कारण के त?

जवाफमा उनी भन्छिन्, ‘सारंगी अन्य म्युजिक इस्टुमेन्टभन्दा फरक लाग्यो। यो त मलाई युनिक पनि लाग्यो। यसको धुनमा विलीन भएँ। परम्परागत रूपमा संगीतका माध्यमबाट कथा भन्ने शैली मन पर्‍यो। सुन्न र बजाउन पनि सजिलो लाग्छ मलाई। सारंगीमार्फत नेपाली समाजसँग जोडिन सजिलो हुँदोरहेछ।’

जन्मजात पश्चिम समाजको अन्तर्घुलनमा मिसिएकी रिभा नेपाली समाजसँग जोड्ने सेतुका रूपमा सारंगीलाई लिने गर्छिन्। धेरै परको कुरा के गर्नु, आफ्नै हजुरबा आमासँग नजिक बनाउने साधन बनेको छ उनलाई सारंगी। आफ्नो घरमा बजाउँदा पनि रमाइलो हुने गरेको उनको अनुभव छ। ‘अस्ति घरमा सारंगी बजाउँदा हजुरबा नाचिरहनुभएको थियो। त्यसले मलाई निकै खुसी प्रदान गर्‍यो। त्यस्ता साना साना कुराले पनि धेरै खुसी बनाउँछ मलाई,’ रिभाले सुनाइन्।

सानै उमेरमा संगीत क्षेत्रमा लम्कन खोजेकी रिभाको परिवारमा कोही पनि यस क्षेत्रमा काम गरेको पृष्ठभूमि भने छैन। नजिकका आफन्तसमेत यस क्षेत्रमा छैनन्। गर्व र घमण्डका साथ उनी भन्छिन्, ‘म मेरो परिवारको पहिलो र म्युजिकमा काम गर्ने एक मात्रै मान्छे हुँ।’ उनी कुटुम्बका किरण नेपालीलाई आफ्नो गुरु मान्छिन्।

ठुलाबामार्फत उहाँसँग जोडिएको उनको भनाइ छ। कोभिड–१९ को लकडाउनका बेला अनलाइन कक्षामार्फत पहिलो पटक उनले किरणलाई भेटेकी थिइन्। अनलाइनबाटै भेट भयो र अनलाइनबाट नै कक्षा सुरु पनि भयो। विद्यालयको लामो बिदाका बेला मात्रै नेपाल आउने गरेकी रिभाको अन्य सबै समय अस्ट्रेलियामै बित्ने गर्छ।

अस्ट्रेलियामा हुने सांगीतिक कार्यक्रममा समेत सहभागिताको अवसर पाउने गरेकी छन्। त्यहाँ आयोजना गरिने प्रतिस्पर्धात्मक कार्यक्रममा समेत उपाधि जितेको उनको अनुभव छ। अनुभवकै कुरा गर्ने हो भने नेपालको चर्चित परम्परागत सांगेतिक ब्यान्ड कुटुम्बसँग समेत उनले आफ्नो सारंगीको धुन साट्न पाएकी छन्।

‘कुटुम्बको टिम सिड्नी आएको बेला अवसर पाएकी थिएँ,’ उनी थप्छिन्, ‘केही समय अगाडि पाटनमा समेत उहाँहरूसँगको त्यो अवसर स्मरणीय बन्यो।’ अस्ट्रेलियामा नेपालीले आयोजना गर्ने चाडपर्वमा सहभागी भइरहने रिभालाई त्यहाँका नेपालीले पनि निकै माया गर्छन्। त्यहाँ आयोजना गरिने कार्यक्रममा बोलाइरहन्छन्। पन्ध्र हजारको संख्यामा रहेको भिडमा आफ्नो प्रस्तुति दिइसकेको उनको अनुभव छ। ५/६ हजारको संख्यामा रहेका मानिस माझ त प्रस्तुति दिइ नै रहेकी हुन्छिन्।

परम्परागत रूपमा गन्धर्व जातिले सरकारका सन्देश र चेतनामूलक प्रचारका कुरा आमजनतासमक्ष पुर्‍याउँदा सारंगीको धुनलाई प्रयोग गर्थे। चौतारामा सारंगी रेट्दै गर्दा त्यहीं पिपलको पातभित्र लुकेर चराले समेत सँगै धुन भर्ने गर्थ्याे। सारंगीको धुन र गन्धर्वको लयमा रहेको सन्देश आमजनको दिल र दिमागमा अमिट छापका रूपमा बस्थ्यो। मनोरञ्जन र सन्देश संवाहकको सेतुको काम गर्ने एक नेपाली मौलिक वाद्यवादन यन्त्र सारंगी पछिल्लो समय संकटमा छ। यो यन्त्र लोप हुने खतरामा छ।

नेपालमै बस्ने बालबालिका वा अहिलेको सांगीतिक क्षेत्रमा समेत करिब लोप हुने अवस्थामा पुगेको छ सारंगी। झन् अहिलेका बालबालिका त मोबाइल र सामाजिक सञ्जालको जञ्जालमा फसेको पनि थाहा नपाउने अवस्था छ।

कुनै बालबालिका संगीत क्षेत्रमा पाइला लम्काउन खोजे पनि उसको रोजाइ गितार र ड्रमसेट हुन्छ। जसमा उसको परिवारको समेत साथ रहन्छ। सारंगी उसले त के, उसको परिवारले समेत सोच्न सक्दैन। रिभा भने त्यही सारंगीमा आफूलाई पुनर्ताजकी प्राप्त हुने गरेको अनुभव सुनाउँछिन्।

तनावको बेला होस् वा विद्यालयको परीक्षाको बेला नै किन नहोस्, सारंगीको धुनले आनन्द प्रदान गर्ने गरेको उनको अनुभव छ। ‘ठुलो मासमा समेत रेट्न मन लाग्छ,’ गीत गाउँदै ताली बजाउँदै गर्दाको अनुभव सुनाउँदा उत्साहित मुद्रामा थिइन् उनी। आफ्ना उमेर समूहका बालबालिकालाई उनी पढाइसँगै आफ्नो रुचिको काम गर्न सल्लाह दिन्छिन्।

‘मोबाइल चलाउनु नै हुँदैन त भन्दिनँ तर कम चलाउँदा फाइदा हुन्छ। पढाइ एकदमै महत्त्वपूर्ण भएको बताउने उनी आफ्नो सपनालाई पछ्याइरहनुपर्ने बताउँछिन्। ‘म्युजिक, आर्ट, लेखन, पढाइ, फोटोग्राफी, डान्स जे गरे पनि एउटा हवी चाहिँ राख्नू। फोन पनि हेर्न चाहिँ हेनुू तर धेरै नहेर्नू,’ रिभाको सुझाव।

यति कम उमेरदेखि सांगीतिक क्षेत्रमा पाइला अगाडि बढाउँदै गरेकी रिभाले सपना भने अर्कै क्षेत्रमा देख्ने गरेकी छन्। उनले भविष्यको पेसा चिकित्सा क्षेत्रमा बिताउने सपना देखिरहेकी छन्। उनी अर्थोपेडिक सर्जन बन्न चाहन्छिन्।

‘पहिलो कुरा सबै संगीत मलाई मन पर्छ। झन् सारंगी त प्यासन नै हो। तर भविष्यमा अर्थोपेडिक सर्जन बन्न मन छ,’ उनी भन्छिन्, ‘तर संगीत मेरो साथी हो। अप्ठेरो समयमा यसले रिल्याक्स प्रदान गर्छ।’ संगीतमा आफूले सुरक्षित भविष्य नै नदेखेको उनको भनाइ छ।

अज्ञानी भावका साथ खुलेर हाँस्दै उनी भन्छिन्, ‘म्युजिकका माध्यमबाट ठुलो बन्न गाह्रो नै छ। मसँग क्षमता छ तर म उत्कृष्ट त भइनँ नि, अन्य मानिसका तुलनामा। तर संगीतमा पूर्णविराम लगाउन मन छैन।’ रिभाले नेपाली मौलिक बाजा सारंगी रेटेकोप्रति उनकी आमा सुधिरा शाह पनि प्रोत्साहन नै दिने गरेकी छन्।

वास्तममा भन्ने हो भने आमा सुधिराकै आत्मबलबाट रिभाले सारंगीसँग साइनो गाँसेकी हुन्। ‘साथीहरू माझ पहिला पहिला सुधिराकी छोरी भनी चिन्ने मान्छेले अहिले रिभाको मामु भनेको सुन्दा गर्व महसुस हुन्छ,’ सुधिरा सुनाउँछिन्।

अन्त्यमा जोडौं सुरुकै प्रसंग, पूर्वीय संस्कृतिको वाद्यवादन यन्त्रबाट पश्चिमी समाजको गीत सुन्दाको अनुभव कस्तो हुन्छ होला? यसको प्रयासमा छिन् रिभा। उनले हामीलाई रेटेरै सुनाइन्। हलिउड गायक जोन लेजेन्डको चर्चित गीत ‘अल अफ मी’। ‘अल अफ मि’ सँगै थाहै नपाइने गरी रेटिन् रिभाले ५० वर्ष पुरानो नेपाली गीत ‘रेशम फिरिरी, रेशम फिरिरी...।’

प्रकाशित: २८ पुस २०८० ०२:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App