३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
कला

कान्छो छोरा

लघुकथा

स्वदेशका डाँडाकाँडा ट्रेकिङ गर्ने मेरो बाल्यकालदेखिकै इच्छा हो। त्यसबेलादेखि जमाइरहेको इच्छा आफू पूर्ण रूपले स्वतन्त्र भएपछि पूरा भयो।

पढाइ पूरा भएपछि बुबाआमाले बिहे गरिदिन हतार गर्नुभएको थियो। एक वर्ष जति पहिले आफ्नै  देशका पहाड र तराई घुम्छु। जागिर खाएर बिहे गर्छु भनेर उहाँहरूको चित्त बुझाएपछि मेरो देशदर्शनको क्रम सुरु भयो।

देशदर्शनको क्रममा पहिले मेरो पूर्वी पहाडका कुनाकन्दरा घुम्ने विचार आयो। दुई हप्ताको ट्रेकिङको लक्ष्य राखेर त्यो बेलालाई चाहिने हलुका खाद्य पदार्थ, लुगाफाटा, स्लिपिङ ब्याग आदि ट्रेकिङ र्‍याकमा राखे। आफूले जम्मा पारेका केही नगद कम्मरमा बलियोसँग बाँधेर घरबाट हिंडे।

उकालीओराली, भन्ज्याङ-चौतारी आदि घुम्दै पहाडी सरल र सहृदयीहरूको आतिथ्य ग्रहण गर्दै अगाडि बढें। उनीहरूको सरल ह्रदय र सोझोपनले मलाई धेरै प्रभाव पार्यो। निम्न अवस्थाकाहरूले समेत आफूलाई  स्वागत गरेको, पाहुनालाई भगवान् मानेर गच्छेले भेटेसम्म स्वागत गर्ने चलन उनीहरूमाझ हराइसकेको रहेनछ।

उनीहरू जति कर गरे पनि पैसा लिन मान्दैन थिए। एकदिन एउटा थुम्को उक्लिएर माथि पुग्दा  एउटै मात्र पराले छाप्रो देखें। त्यो धुवाँले कालै भएको थियो। धुवाँ आएको देखेर हतारिंदै त्यहाँ पुगें। त्यो छाप्रामा केही मैला ओढ्ने ओछ्याउनेमा एकजना बुढा पल्टिएकाे अनि एउटी कुप्री बुढी कुखुरालाई चारो छर्दै गरेकी भेटें।

“आमा सञ्चै छ’’ भनेर सोधपुछ गर्दा बुढा बिरामी, हुर्केकी छोरी एउटा “दार्जलिङतिरबाट आएको हुँ। तपाईकी छोरीलाई म लान्छु। सिन्दूरपोते लगाएर सुख दिएर राख्छु’ भनेर लाग्यो।

एउटा छोरा थियो। त्यो पनि “दिदीभिना भेटेर काम गर्छुं, धन कमाउँछु’ भनेर हिंडेको पनि दस वर्ष जति भयो। बुढो पनि बिमारी छ। साथमा आधार एउटा कान्छो छोरा छ। कताबाट यो कान्छो हामीलाई सहारा दिन आइपुग्यो। कान्छा तातो चिया खान पानी लिन नजिकै खोलामा गएको छ। त्यतिञ्जेल तपाई उखु टोक्दै गर्नुस्’’ भन्दै ती कुप्री आमा कम्मरको हसियाँ समाउँदै एक लर्को उखु काटेर एउटा टुक्रा मलाई दिइन्। बुढी माउको आतिथ्यले म धेरै प्रभावित भएँ। त्यसै बीच उनले पानी लिन गएको कान्छो छोरालाई “ए कान्छा चाँडै आइज’ भनेर बोलाइन्। सुकेको पत्करमा कोही हिंडेको सर्‍याकसुरुक्क आवाज आयो।

बुढी माउले “कतिबेर लागेको कान्छा’’ भनिन्। त्यसबेला आधा जति पानी भएको सानो, पुरानो र मैलो बाल्टिनको ह्यान्डिल मुखले च्यापेर एउटा पांग्रे कुकुर उनको अगाडि उभियो।

प्रकाशित: २८ फाल्गुन २०८० १३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App