१७ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

प्रेरणादायी पुस्तक दौडधुपै दौडधुपको जीवन

पुस्तक

हरेक मान्छेकाे आआफ्नै खाले कथाव्यथा हुन्छन्। आफूलाई दु:खी र अरूलाई हाँसीखुसी देख्नु मानवीय स्वाभाव नै हाे। आफ्नाे दु:ख पहाड र अरूकाे दु:ख केही जस्ताे नमान्नु मान्छेकाे स्वभाव नै बनेकाे छ।

मान्छेका जीवनमा उतारचढाव आइरहन्छ। जीवन न खाेजे जस्ताे हुन्छ न साेचे जस्ताे। साेचे जस्ताे भए जिन्दगीमा कसैले पनि विवशताकाे आँसु खसाउनु पर्दैन थियाे। उच्च ओहदा मान्छेकाे ठूलै खालकाे कथाव्यथा हुन्छन् भने सामान्य मान्छेकाे पनि  त्यहीअनुसारकै कथाव्यथा हुन्छन्।

फरक यत्ति हो कोहीले लेख्छन् त कोहीले लेख्दैनन्। लेखक सोमबहादुर जिसीले भने ‘दौडधुपै दौडधुपको जीवन’ भनेर जीवन भाेगाइका विविध कुरा लेखेका छन्।

२०२८ साल मंसिर २९ गते धुर्कोट गाउँपालिका-१, नयाँ गाउँ अरौदी, गुल्मीमा जन्मिएका स्रष्टा जिसीले उक्त पुस्तक बुबा प्रेमबहादुर जिसी तथा आमा देउरूपा जिसीलाई समर्पण गरेका छन्। छोरी प्रशंसा जिसी र छोरा प्रसन्न जिसीले प्रकाशित गरेकाे पुस्तकको  पृष्ठभूमि र वंशावलीसहित सत्ताइस शीर्षकमा तयार पारेका छन्।

उनले बुवाको स्वर्गवास, साइकल दुर्घटना दाजु, घर बनाउने सोच, आमा, हृदय र चिताको ज्वाला एकैसाथ, जुम्लाको बसाइ, बीस वर्षपछि सन्धिखर्क, पोखराकमा सै प्र अधिकृतको कार्यभार सम्हाल्दा, कलेज पढ्दा जीवन साथी, देशवासीकै रुवाबासी, द्वन्द्वको अन्त्य, लाख बत्ती पूजा र महाभूकम्प जस्ता विविध शीर्षकका लेख लेखेका छन्।

उनले परिशिष्ट क हाम्रो वंशावली र परिशिष्ट खमा ससुरालीको वंशावाली भनेर प्रस्तुत गरेका छन्।

पुस्तकको अन्त्यमा पाएको पदक, गरेका तालिम, खेलकुदका  प्रमाण पत्र, प्रशंसापत्र तथा वंशावली उतारेका छन्।

लेखकले कृतिमा आफूले भोगेको पितृ वियोग, भातृ वियोग, मातृ वियोगलाई मन छुने गरी सरल रूपमा प्रस्तुत गरेका छन्। उनले वियोगका दुखान्त घटनालाई मात्रै प्रस्तुत गरेका छैनन्, रमणीय भ्रमणलाई पनि सटिक ढंगले प्रस्तुत गरेका छन्।

उनले भूमिकामा उक्त कृति साहित्य या दर्शन हैन, मानव जीवनमा सधैं दौडधुपै दौडधुप हुने भएकाले कृतिको नाम दौडधुपै दौडधूपै राखेको बताएका छन्।

लेखकले कृतिमा कतै नेपाली र कतै अंग्रेजी तिथिमितिको प्रयोग गरेका छन्। उनले कतैकतै दुवै भाषाको तिथिमिति पनि प्रयोग गरेका छन्।

उनले कृतिमा चौत्तीस वर्से सैनिक जीवनका अनुभव र अनुभूतिलाई पनि प्रस्तुत गरेका छन्। सैनिक जीवनको दौडधुप र हतारोलाई समावेश गरेका छन्।

राष्ट्र सेवक सैनिक सधै एक ठाउँ बस्न पाउँदैनन्। हरेक ठाउँहरू गइरहनुपर्ने हुँदा प्रत्येक कुरा नयाँ हुन्छ।

सरकारको नीति र निर्देशन अनुसार एक ठाउँबाट अर्को ठाउँ गइरहनुपर्ने भएकाले सैनिकका प्रत्येक पाइला उत्तिकै सम्झनायोग्य र नौलो हुने गरेको छ। उनले आमाबाबु र भाइ बितेको धेरै वर्षपछि सो पुस्तक तयार पारेका हुन्।

दौडधुपै दौडधुपको जीवनमा उनले आमाबुबाले आफ्नो सन्तानका लागि कति लागिपरेका हुन्छन् भन्ने कुरालाई मार्मिक ढंगले प्रस्तुत गरेका छन्। आफ्नी आमा निकै हँसिली, सबैसित मिल्ने र जोसुकै पाहुना आए पनि मीठोमसिनो पकाएर खान दिएको सम्झना गरेका छन्।  

आमाले भातभान्साको साथ साथै खेतीपाती, पशुपक्षी र कृषि कर्मकमा रमाएको कुरा उल्लेख गरेका छन्।

लेखकले इमानदारीसाथ सानो छँदाको कुरा प्रस्तुत गरेका छन्। उनले बाल्यकालको उपद्रयाइँ र चञ्चलतालाई कहीं कतै ढाँटेका छैनन्। नढाँट्नु सत्य बोल्नु लेखक जिसीको लेखकीय वैशिष्ट हाे।

लेखकले  आफ्नो लेखनमा आफूलाई निर्भीक रूपमा प्रस्तुत गरेका छन्। उनले सानो छँदाका धेरै कुरालाई पुस्तकमा समावेश गरेका छन्। बुबाले रोपाइँ गरेको फकटामा भोलिपल्टै फेरि साइँला बाबाले जोतेर रोपाइँ गरेको कुरा लेखेर त्यतिबेला पनि साँधसीमना मिच्ने गरेको उल्लेख गरेका छन्। कृतिमा सानैदेखि समाजको अन्याय, अत्याचार  रकमीहरूको फटयाइँबाट दुखेका उनले बताएका छन्।

बुबाले तयार पारिदिएको कालोपाटी जतन नगरेको, त्यतिबेला ४ कक्षादेखि मात्रै अंग्रेजी पढ्न पाइने जस्ता विविध कुरा उल्लेख गरेका छन्।

लेखकले शान्ति, राजनैतिक स्थिरता र राष्टको दिगो विकास नभएकोमा दु: ख व्यक्त गरेका छन्। राजनैतिक अस्थिरता राष्ट्रको दिगो विकास र शान्तिका लागि बाधक भएको स्विकारेका छन्।

साँच्चिकै मान्छे सबैका आआफ्नो खाले भोगाइ, गुनासो र बिस्मात हुन्छ। कतिले लेख्छन् त कतिले लेख्दैनन्। उनकाे कृतिमा दैनिकी, यात्रासंस्मरण, कविता, उपन्यास जस्ता साहित्यका विविध विधाको रस पाउन सकिन्छ।

सुन्दर आवरण र लोभलाग्दो पेपरमा रहेको उक्त कृतिको मूल्य १४० रुपैयाँ महँगो भन्न मिल्दैन। लेखक जिसीले आफ्नो कृतिमा साहित्यको सैद्धान्तिक पक्ष अँगालेका छैनन्। उनले माैलिक ढंगले आफ्नाे भाेगाइका कुरा प्रस्तुत गरेका छन्।

संस्मरण शैलीमा लेखिएका उनको दौडधुपै दौडधुपको जीवन कृति पठनीय र संग्रहनीय देखिन्छ। यस्ता कृतिले समय र जीवन बुझेर मान्छेलाई बाँच्न प्रेरणा दिइरहन्छ। यति सुन्दर कृतिका लागि लेखक जिसीलाई बधाई तथा धन्यवाद।  

प्रकाशित: ५ चैत्र २०८० ११:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App