१७ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

रहेनन् वरिष्ठ कथाकार परशु प्रधान

वरिष्ठ कथाकार परशु प्रधानको निधन भएको छ। गएराति काठमाडौं बानेश्वरस्थित निवासमा ८० वर्षको उमेरमा उनकाे निधन भएको हो।

परशु प्रधान बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानका बुबा पनि हुन्। उनका छाेरा प्रतीक प्रधान नागरिक दैनिकमा पनि प्रधान सम्पादककाे रूपमा आबद्ध रहेका थिए। उनका अर्काे छाेरा प्रतिबोध व्यवसायमा छन्।

उनकाे प्रधानको अहिले बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ।

कथाकार प्रधानको जन्म २००० सालमा भोजपुरमा भएको हो। नेपाली साहित्य र राजनीति शास्त्रमा एमए गरेका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए।२०२६ सालदेखि प्रशासन सेवामा लागेका उनले राष्ट्रिय समाचार समिति र साझा प्रकाशनमा  पनि जागिर खाएका थिए।

प्रधानकी जीवनसँगिनी कल्पना प्रधान पनि लेखन क्षेत्रमा चिनिएकाे नाम हाे। उनी वरिष्ठ बालसाहित्यकार हुन्। उनले जेठो छोरा प्रतीक प्रधानलाई खुसी बनाउने क्रममा ‘मेरो सानो खरायो आज कता हरायो’ जस्ताे चर्चित कविता लेखेकी थिइन्। याे उनको पहिलो कविता हो। त्यसअघि उनी लोककथाहरू लेख्थिन्।

खोटाङमा २००३ सालमा जन्मिएकी उनको खास नाम जानुकादेवी रेग्मी हो। खोटाङको बालसाहित्यलाई चिनाउने श्रेय पनि उनैलाई जान्छ। उनका धेरै पुस्तक प्रकाशित छन्। बालकथाका २४, बालकविताका ६ र बालउपन्यास ५ गरी ३५ पुस्तक छापिएका छन्। उनले बालसाहित्यका मात्र एक दर्जनभन्दा बढी पुरस्कार पाइसकेकी छिन्। बुढ्यौलीमा पनि उनी उत्तिकै सक्रिय छिन्।

परशु प्रधानले नेपाली साहित्यमा ठूलो योगदान पुर्‍याएका थिए। उनले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेका थिए। २०२५ मा सबै बिर्सिएका अनुहारहरू प्रकाशित गरेका उनका १३ कथासंग्रह प्रकाशित छन्।

त्यस्तै बक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया कथासंग्रह हुन्।

सीताहरू र घर कथोपन्यास पनि प्रकाशित छन्। उनका एक दर्जन जति बालकथा पनि प्रकाशित छन्। नानीको कथा, सुनको छाती, रीताको स्कूल लगायतका बालकथासंग्रह प्रकाशित छन्। प्रारम्भमा परशु प्रधान र भूमिकै भूमिकामा परशु प्रधान भन्ने भूमिका संग्रह पनि प्रकाशित छन्।

उनी निर्भीक कथाकारकाे रूपमा पनि परिचित छन्। उनले सरकारी पदमा रहँदै पञ्चायतकालमा हुने भ्रष्टाचारविरूद्धकाे सुन्दर कथा ‘डल्ले खोला’ लेखेका थिए। खाेटाङकाे ‘डल्ले खोला’ लाई आधार बनाएर लेखिएकाे प्रतीकात्मक साे कथा गरिमामा छापिएको थियो। त्यसले निकै हलचल मच्चाएको थियो।

त्यसैगरी भोजपुरः एक अध्ययन, सजिलो नागरिक शास्त्र, सगरमाथा अञ्चलको भूगोल, सामान्य ज्ञान डाइजेस्ट २९ संस्करणसम्म प्रकाशित भएका छन्।

इमानदार र स्वाभिमानकाे पर्याय बनेका उनलाई नेपाल साहित्य संस्थान पुरस्कारसहित दुई दर्जन पुरस्कारबाट सम्मान गरिएको थियो।

प्रकाशित: ६ चैत्र २०८० ०७:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App