१७ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

आफ्नाले नै आफ्नाको खुट्टा तान्दारहेछन्!

मुक्तक

१) मुक्तक

बोल्दा मसँग हरेक पटक साइनो लाएर बोले हुन्थ्यो,

खोल्नै परेपछि दिल, धौ फुकाएर खोले हुन्थ्यो।

सोच्छु, हाम्रो यो खुशी जीवनभरि फुल्ला नफुल्ला

यस्तो लाग्छ बाध्यतामा खतरा पनि मोले हुन्थ्यो।

२) मुक्तक

बगर भयो जिन्दगी,थोरै रस चुसाइदिएँ,

कुवा थिएँ आज नदी भएर सुसाइदिएँ।

तिमी मलाई जस्तो ठान, स्वतन्त्र छौ,

म ढुङ्गो हुँ , अपवाद बनेर टुसाइदिएँ।

३) मुक्तक

सिंहासनमा बसेकाले मोज गरेकै छन्,

झुप्रासनमा बस्नेलाई चारो छरेकै छन्।

कृषिप्रधान देश हाम्रो क्या गजब, वा,

खान नपाई भोक भोकै मर्ने मरेकै छन्।

४) मुक्तक

आफ्नाले नै आफ्नाको खुट्टा तान्दारहेछन्,

तन्काएर गुलेली मट्याङ्ग्राले हान्दारहेछन्।

यस्तै हो, सुन्दर मन दुई पैसामा बिक्री गरेपछि,

बेइमानले जेजे भन्छ त्यही त्यही मान्दारहेछन्।

५) मुक्तक

कारखाना हो जिन्दगी अलिकति धागो र पल्लाले चल्छ,

गरिबको जीवन एकमुठी खोले र फापरको डल्लाले चल्छ।

यस्तै हो यहाँ खुराफातीहरू नै चल्तापूर्जा भएर निस्केपछि,

केही हुनै पर्दैन, यो देश फोकटका हल्लै हल्लाले चल्छ।

६) मुक्तक

आँखामा छचल्किने पानी मनको स्वामित्वमा हुन्छ,

बादलभन्दा माथि जून आफ्नै अस्तित्वमा हुन्छ।

सम्बन्ध सकिन्छ पदको अहङ्कारले, यत्ति बुझ्नू,

मान्छेको परिचय व्यक्तिमा होइन व्यक्तित्वमा हुन्छ।

७) मुक्तक

किनकिन अचेल मलाई रात मन पर्दैन,

चोट मात्र दिने तिम्रो जात मन  पर्दैन।

खोला बनी बगरलाई रुवाएर भाग्ने,

निष्ठुरी र निर्मम तिम्रो घात मन पर्दैन।

८) मुक्तक

कतिपय सम्बन्धमा छिद्राछिद्रा प्वालहरू भेटिन्छन्,

कतै नाघ्नै नसक्ने बाध्यताका पर्खालहरू भेटिन्छन्।

इतिहास कहाँ छ र हुटिट्याउँ एक्लैले सगर थामेको,

विश्वासभित्र पनि अविश्वासका अरिङ्गालहरू भेटिन्छन्।

९) मुक्तक

घोडालाई डोरी लगाएर लगाम पिटिन्छ,

आकार बनाउन आरनमा फलाम पिटिन्छ।

जहाँ अड्डा जमाउँछ साम्राज्यवादले त्यहाँ,

अँध्यारा बस्तीमाथि लागेको घाम पिटिन्छ।

१०) मुक्तक

अपेक्षित सपनाहरू खण्डित छन्, 

अकारण निमुखाहरू दण्डित छ्न्।

अरूलाई झार्ने,आफ्नालाई तार्ने,

यत्रतत्र सर्वत्र, चिप्ला पण्डित छन्। 

प्रकाशित: ६ चैत्र २०८० १३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App