२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

देउडामा मौलिकता खोजिरहेका चक्र बम

केही दिन अगाडि युट्युबमा होरी गीत सार्वजनिक भयो-कति राम्रो होली फागुनमा। होलीको मौसम भएर होला, सुदुरपश्चिमको पहाडी जिल्लामा गाइने गीत र तराईको राना थारुले गाउने गीतलाई मिसाएर प्रस्तुत गरिएको ‘कति राम्रो होली फागुनमा’ बोलको होरीले राम्रो प्रतिक्रिया पाइरहेको छ। यस गीतका सर्जक तथा गायक हुन् चक्र बम।

गीतमा सुदूरपश्चिमको संस्कृतिसँगै रानाथारु समुदायले परम्परागत रूपमा मनाउने होलीको वर्णन गरिनुका साथै देशको रोजगारीको अवस्थालाई समेत समेटिएको छ। कुनै चाडपर्व लक्षित गीत सिर्जना गर्नु र त्यसभित्र व्यावसायिकता खोज्नु कलाकारको धर्म र कर्म नै हो। तर, सांस्कृतिक गीत भएकाले व्यावसायिकताका लागि अनावश्यक फूलबुट्टा नभरी मौलिक चालचलन झल्कने संस्कृतिलाई उजागर गरिएको गायक बलले बताए।

‘यो होली पर्वको गीत हो। विशेषगरी सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइने यो एउटा लय र ताल हो। त्यससँगै तराई जिल्लामा राना थारु समुदायमा गाइने होली पर्वको मेलोडीलाई बाँधेर एउटै गीतमा बुन्ने प्रयास गरेको छु,’ बमले सुनाए।

यसअघि पनि देउडामा ‘फ्युजन’ शैली मिसाउने गरेका चक्र यो गीतमा भने मौलिकता कायम राखेको बताउँछन्। ‘हिजोका दिनदेखि नै मैले एकअर्काको संगीतलाई एउटैमा जोड्ने प्रयास समेत गरिरहेको हुँ। यो एक विशुद्ध पर्व र त्यहाँको संस्कृतिसँग जोडिएको गीत हो,’ उनले भने, ‘अन्य गीतमा पनि मैले दुई गीतबिच फ्युजन गर्ने गरेको थिएँ तर यस गीतमा मौलिकताभित्र रहेर काम गरेको छु। भिडियो र अडियो दुवैमा मौलिकता कायम गर्ने प्रयास गरिएको छ।’

देशभित्र विविधता छ। धेरै किसिमका संस्कृति छन्। सबैका मौलिक संगित छन्। त्यसमा पनि सुदूरपश्चिमभित्र अझ धेरै विविधता पाइन्छ। बाहिरबाट सुदुरपश्चिमको संगीत भन्नासाथ देउडालाई मात्र चिन्ने प्रचलन छ। तराईमा राना थारु, चौधरी, पहाडतिर जिल्लाअनुसार विविधता छ। यो देशको सम्पत्ति हो। यस्तो सम्पत्तिलाई आत्मसात गर्नुपर्ने गायक बमको भनाइ छ। त्यसैअनुसार होरी गीत तयार पारेको उनले बताए।

कुनै एक गीत मात्रै ३० मिलियन अर्थात् तीन करोड पटकसम्म हेरिएको उनको आधिकारिक युट्युब च्यानलमा प्रायः सबै गीतको दर्शक संख्या दश लाखमाथि नै छ। तर पनि उनलाई कुनै एक क्षेत्रभन्दा माथि उठ्न नसकेको, कुनै एक भेगमा मात्रै सीमित रहेको भन्ने आरोप लाग्ने गरेको छ। भविष्यमा अन्य भेगका सांगेतिक क्षेत्रमा समेत काम गर्ने उनको योजना छ।

‘अहिले पूर्वको झापाको मान्छेले देउडा सुन्छ, मलाई चिन्छ। भोलिका दिनमा म अरू भेगका गीतमा काम पनि गर्छु। अहिले यति धेरै व्यस्त भइयो कि अन्य काम नै गर्न सकिएन।’

उनी आफूलाई क्षेत्रीय कलाकार भन्न भने पटक्कै रुचाउँदैनन्। आफूले नेपाली सांगीतिक जगत्को मूलधारमै काम गरिरहेको उनको दाबी छ। ‘मैले गरिरहेको काम नै मूलधारको काम हो। भोलिका दिनमा यो भाषा नै केन्द्रमा हुनसक्छ। नेपाली भाषा खसबाट आएको भन्ने अवगत नै छ। अहिले बाहुल्य कम भएको मात्रै हो,’ बमले भने। 

प्रकाशित: १७ चैत्र २०८० १४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App