७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

पूर्वपरिचित

लघुकथा

 ऊ सौराहा चोक पुग्दा बस हिंड्न लागेको रहेछ। उसले हिजै टिकट काटेकाले सिट सुरक्षित भएकोमा ऊ ढुक्क थियो। टिकट हेरेर ऊ दस नम्बरको सिटमा बस्यो। छेउको सिटमा एउटी युवती थिई। युवती झ्यालबाट बाहिर हेर्दै थिई। उसले अनुहार देखेन। उसले नियालेर हेर्‍यो, जिउडाल आकर्षक थियो। रामनगर पुगेपछि युवतीले टाउको घुमाई। युवतीको अनुहार देख्दा ऊ अत्तालियो। ऊ सरिता रहिछ। उनीहरूको ३ वर्षअघि मात्र छोडपत्र भएको थियो।

बेनीघाट पुगेपछि उसले हिम्मत गरेर सोध्यो- सरिता तिमी कहाँ जान लागेकी?

उसले यति मात्र भनी-काठमान्डू।

त्यसपछि मौनता छायो। उसले विनोदलाई हेर्दै हेरिन। मलेखु पुगेपछि चियानास्ताका लागि बस रोकियो।

उसले अनयास नै भन्यो-सरिता झरौं, चिया खाऔं।

उसले भनी-नाइँ, मन छैन।

उसले जोड गर्दै भन्यो-सरिता प्लिज, सरिताले एकपटक उसको अनुहारमा हेरी र आज्ञाकारी बालकझैं बसबाट झरेर विनोदसँग चिया पसलतिर लागी। मुखामुख गरेर एउटा टेबुलमा बसेर चिया पिउन थाले।

विनोदले एक्कासि सोध्यो-सरिता तिमीले विवाह गर्‍यौ?

सरिताले टाउको हल्लाई र विनोदसँग प्रतिप्रश्न गरी-हजुरले?

विनोदले भन्यो-खै, अहिलेसम्म। सरिताले कुनै प्रतिक्रिया जनाइन। ड्राइबरले हर्न बजायो। नौबिसे पुगुन्जेल बोलचाल भएन।

नौबिसे पुगेपछि विनोदले एक्कासि सोध्यो-सरिता! विवाहको बारेमा के विचार छ?

 सरिताले छोट उत्तर दिई - कतिपल्ट विवाह गर्नु। गोंगबुमा बसबाट ओर्लेपछि विनोदले सोध्यो-सरिता! तिम्रो फोन नं. पुरानै हो?

सरिताले सहमतिमा टाउको हल्लाई र आफ्नो गन्तव्यतिर लागी।

-रामबाबु घिमिरे

प्रकाशित: २७ वैशाख २०८१ १३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App