१७ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

एक दशकपछि लिलामीको सूचना, करोडौँ राजस्व घाटा

फाइल।

अवैध सवारी साधनहरू कवाडीमा परिणत भएपछि गौर भन्सार कार्यालयले लिलामीको सूचना निकालेको छ। दश वर्षभन्दा लामो समयदेखि थन्किएर कवाड बनिसकेका सवारी साधनको लिलामीका लागि कार्यालयले सूचना प्रकाशित गरेको हो।

तस्करी चोरी र अवैध सामान ओसारपसारमा प्रयोग भएका सवारी साधनहरू विभिन्न स्थानबाट सुरक्षा निकायले बरामद गरी कारबाहीको लागी दाखिला गरेको एक दशकपछि लिलामको सूचना निकाल्दा करोडौँको राजस्व गुमेको छ।

सुरक्षा निकायले २०६८ सालदेखि बरामद गरेको जिप, कार, ट्रक, मोटरसाइकल र ट्याम्पो भन्सार कार्यालयले त्यतिकै राखेको थियो। सवारीहरू बर्खाको बेला डुबानमा परेर कवाड बनिसकेका छन्।

भन्सार कार्यालयका अनुसार लिलाम गर्न लागेको ९२ वटा मोटरसाइकल दर्ता हुने खालका छन्। तर बरामदको बेला राम्रो अवस्थामा रहेका ११३८ वटा मोटरसाइकल कवाडी भइसकेका छन्। यसरी हजारौँ मोटरसाइकल यातायातमा नगई कवाडमा जाँदा करोडौँ राजस्व गुमेको हो। कवाडी भएको सामानबाट करिब ३९ लाख ५८ हजार ३२५ मात्र आउने देखिएको छ।

यसैगरी चार पाङग्रे जिप, कार, ट्रक, भ्यान, ट्र्याक्टर जस्ता ७० वटा सद्धे सवारी कवाड बनाएर भन्सारले लिलाम गर्न लागेको छ। ती सवारी साधनको मूल्याङ्कन ३१ लाख ९७ हजार ४२५ कायम गरिएको छ। समयमा लिलाम गरिएको भए झण्डै २ करोड माथिको राजस्व आउने भन्सारकै कर्मचारीहरू बताउँछन्।

गौर भन्सार कार्यालयका निमित्त प्रमुख शिवहरि निरौलाले २०६८ सालदेखिका सवारी साधनहरू लिलाम हुन नसकेर कवाड बनिसकेको बताए। अधिकांश सवारीहरू वर्षाका बेला डुबेर पार्टपुर्जा खिया लागेर कामै नलाग्ने भएका छन्। गौर भन्सार सबैभन्दा डुबान हुने क्षेत्रमा पर्छ।

लिलाम प्रक्रिया झन्झटिलो भएकोले पनि राजस्वमा कमी आएको हो। भन्सारमा दाखिला भएका सवारी साधनहरूको लिलाम प्रक्रिया अघि उत्पादन वर्ष पत्ता लगाउन सम्बन्धित एजेन्सीलाई लेखेर पठाउनु पर्छ। त्यहाँबाट खुलेर आएपछि भन्सार विभागको प्राविधिक इन्जिनियरको टोलीले मूल्याकंन गर्छन्। कवाडमा जाने भए त्यसलाई कम र चल्ने अवस्थाको भए बढी मूल्याकंन गरिन्छ। त्यसपछि राष्ट्रिय दैनिकमा २१ दिने सूचना निकालेर लिलाम गर्नुपर्ने प्रावधान छ।

विगत एक दशकदेखि भन्सारले प्रक्रिया नै अगाडि नबढाएपछि धेरैजसो सवारी साधन कवाडमा परिणत भएको हो। सुरक्षाकर्मीले भारत र नेपालबाट चोरी, तस्करका प्रयोग भएका मोटरसाइकल र चार पाङग्रे सवारी साधन बरामद गरी भन्सारमा दाखिला गर्दै आएको छ।

प्रकाशित: ५ चैत्र २०८० २०:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App