१७ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

मनहरीको रजैया–दर्दरा मोटरेबल पुल शिलान्यास

रजैया–दर्दरा पुलको शिलान्यास गर्दै मुख्यमन्त्री जम्कट्टेल लगायत।

मकवानपुरको मनहरी गाउँपालिकाको-९ र ५ नम्बर वडा जोड्ने रजैया–दर्दरा मोटरेबल पुलको शिलान्यास गरिएको छ।

सोमबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुलको शिलान्यास गरेका हुन्। २०७९ कात्तिक ३० गते अनुमति स्वीकृत भएको यस पुलको २०८० वैशाख १५ गते बिटिआरएस निर्माण सेवा काठमाडौँसँग सम्झौता भएको थियो।

२४ करोड ७ लाख ९१ हजार ७०६ रुपैयाँमा सम्झौता भएको पुल तीन वर्षमा सम्पन्न गर्नुपर्ने उल्लेख छ। २५६ मिटर लम्बाई र ५ मिटर ४० सेन्टिमिटर चौडाइमा निर्माण हुने पुलको ६ वटा स्पान रहनेछ।

आगामी २०८३ वैशाख ४ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख रहेको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख बीरेन्द्र चौधरीले जानकारी दिए।

यो पुल निर्माण पश्चात् मनहरी गाउँपालिकाको-५ र ९ नम्बर वडा तथा गाउँपालिकावासी नै लाभान्वित हुने ५ नम्बर वडाका अध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिए। ‘यो पुल निर्माणका लागि धेरै सङ्घर्ष गरेका छौं। तोकिएको समयमै सम्पन्न गराउन आवश्यक सहयोगका लागि तयार छौं’, उनले भने।

पुलको शिलान्यास गर्दै बागमतीका मुख्यमन्त्री जम्कट्टेलले गाउँ-गाउँमा विकास निर्माणको काम धमाधम सुरु हुनु सङ्घीयताको उपज भएको बताए। विकास निर्माणको काममा राजनीति गर्न नहुने सुझाव दिँदै उनले सबैको सहयोग प्राप्त भएमा तोकिएको समयमै पुल निर्माण कार्य सम्पन्न हुने बताए।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले राष्ट्रिय निकुञ्जका कारण विकास निर्माणका काममा अवरोध र ढिलाइ हुने गरेको धारणा राखिन्।

साबिक हाँडी खोला क्षेत्रमा अहिले ५ वटा पक्की पुल निर्माण भइरहेको छ भने राजमार्गबाट हाँडी खोला जोड्ने गरी तीन वटा पक्की पुलको निर्माणको काम भइरहेको छ।

यो पुल निर्माण पश्चात् मनहरीको ९ वटै वडामा आउजाउमा कुनै समस्या नहुने दाबी गरिएको छ। कार्यक्रमका वक्ताहरूले पुल निर्माणको क्रममा कुनै समस्या आए समाधानमा सामूहिक रुपमा लाग्ने प्रतिबद्धता समेत जनाएका छन्।

प्रकाशित: ५ चैत्र २०८० २१:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App