१७ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

दक्ष कामदारलाई शून्य लागतमा कोरियाली रोजगारी

दक्ष कामदारको लागि शून्य लागतमा दक्षिण कोरियाको इ–७ भिसामा म्यानपावरले नेपाली श्रमिक पठाउने गरी कार्यविधि बनेको छ। इ–७ भिसामा तोकिएको मापदण्डभित्र रहेका म्यानपावर कम्पनीले दक्ष कामदार पठाउने भएका छन्। कार्यविधिमा म्यानपावर कम्पनीको आफ्नै स्वामित्वको तालिम केन्द्र हुनुपर्ने व्यवस्था गरिएको छ।

भाषा प्रशिक्षण तालिम केन्द्रमा कोरियाली भाषा पढाउने प्रशिक्षकको आधिकारिक प्रमाणपत्र प्राप्त कम्तीमा दुईजना भाषा प्रशिक्षक हुनुपर्नेछ। पूर्णकालीन रूपमा उपयोग गर्न सकिने गरी करार सम्झौता भएका तालिम केन्द्रले पनि मान्यता पाउनेछन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको ‘कोरियामा दक्ष÷सिपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि २०८० अनुसार उक्त भिसामा श्रमिकहरू जाँदा लाग्ने शुल्क रोजगारदाताले नै बेहोर्नुपर्ने छ।

श्रमिक पठाउँदा म्यानपावर कम्पनीहरू तथा दक्षिण कोरियास्थित सम्पर्क वा शाखा कार्यालयले कुनै पनि शुल्क श्रमिकबाट उठाउन पाउने छैनन्। कोरियास्थित सम्बद्ध एसोसिएसनले पनि श्रमिकबाट कुनै किसिमको शुल्क लिन नपाउने व्यवस्था कार्यविधिमा छ।

त्यस्तै, श्रमिकहरूको सहजीकरणका लागि आवश्यक कल्याणकारी सेवा तथा काम गर्ने प्रयोजनका लागि दक्षिण कोरियामा दर्ता तथा अनुमति प्राप्त एसोसिएसनसँग सम्झौता गरेको हुनुपर्नेछ। सीप तथा भाषा प्रशिक्षण प्रदायक संस्थाले सञ्चालन गर्ने सीप तथा भाषा प्रशिक्षण एवं परीक्षणको शुल्क समेत सम्बन्धित रोजगारदाताले बेहोर्नुपर्नेछ।

श्रम मन्त्रालयले निर्धारण गरेको कार्यविधिमा गरिएको व्यवस्था अन्तर्गत ‘नेपाली नागरिकलाई रोजगारीका लागि कोरिया पठाउँदा लाग्ने हवाई भाडा, बिमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा योगदान, सामाजिक सुरक्षा कोषमा योगदान र श्रम स्वीकृतिमा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने भनिएकोमा सोही बमोजिम र अन्यको हकमा मन्त्रालयले तोकेबमोजिम हुनेछ।’

कोरियाको इ–७ भिसा भनेको कुनै निश्चित क्षेत्रमा विशेषज्ञता वा प्राविधिक सिप हासिल गरेका दक्ष विदेशी श्रमिकहरूलाई काम गर्न दिइने भिसा हो। यो भिसामा जाने आप्रवासी श्रमिकले परिवार पनि सँगै लैजान सक्छन्।

श्रम मन्त्रालयका अधिकारीहरूका अनुसार यो भिसामा पारिश्रमिक तीन हजार अमेरिकी डलर (चार लाख नेपाली रूपैयाँ) हाराहारी छ। ओभरटाइम खट्दा कमाइ राम्रै हुने उनीहरू बताउँछन्।

कोरियाली रोजगारदाताले पनि उच्च सिपयुक्त श्रमिकलाई शून्य लागतमा लैजाने जानकारी म्यानपावर व्यवसायीहरूको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले दिए। ‘कोरियाले यो भिसामा १६ वटा मुलुकबाट श्रमिक लगिरहेको छ,’ उनले भने, ‘अब अहिले नेपालबाट लैजान लागेको हो। पहिला यो भिसा खेर गइरहेको थियो। कार्यविधि बनिसकेकाले अब छिट्टै श्रमिक पठाउने प्रक्रिया थाल्ने हो।’

इजाजतपत्र प्राप्त संस्थाले श्रमिक छनौट गर्दा पारदर्शी ढंगले योग्यता क्रमका आधारमा गर्नुपर्नेछ । श्रमिक छनौट प्रक्रिया सरकारबाट नै गर्ने भनेर रोजगारदाताले अनुरोध गरेमा वैदेशिक रोजगार विभागको कोरिया हेर्ने शाखाले छनोट गर्न पाउने र यो शाखाले पनि पारदर्शी ढंगले योग्यताक्रमका आधारमा छनोट गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ।

उनले थपे, ‘कोरियाली सरकारले यस्तो दक्ष सिपयुक्त कामदार चाहियो भनेर माग गर्छ। उनीको आवश्यकता अनुसारको दक्ष कामदारको खुलासा नेपालमा हामी गर्छौं। त्यसपछि कोरियाली सरकारले नै सिपयुक्त दक्ष नेपाली कामदारको चेकजाँच गरेर इ–७ भिसामा कोरिया लैजाने हो।’

इ–७ भिसामा कोरिया जान इच्छुक श्रमिकले कोरिया सरकारबाट मान्यता प्राप्त निकायबाट आधारभूत कोरियाली भाषा, ज्ञान र पेशागत सीप परीक्षा उत्तीर्ण गर्नुपर्नेछ। यो भिसामा दक्षिण कोरिया जानेहरूले श्रम मन्त्रालयको प्रतिष्ठान वा त्यसअन्तर्गत नेपाल सरकारबाट सञ्चालित तालिम केन्द्रहरूबाट तालिम लिन सक्नेछन्।

त्यस्तै वैदेशिक रोजगारसम्बन्धी तालिम सञ्चालनको अनुमति प्राप्त संस्थाबाट पनि तालिम लिन सकिने उनले बताए। कोरिया जान शारीरिक तथा मानसिक रूपमा स्वास्थ्य भएको प्रमाण चाहिन्छ। असल चरित्र भएको भनेर नेपाल प्रहरीबाट जारी चारित्रिक प्रमाण लिएको हुनुपर्नेछ। लागुपदार्थ वा मादकपदार्थ दुव्र्यसनमा नलागेको प्रमाण हुनुपर्ने उनले बताए।

श्रम विज्ञहरू कोरियाको इ–७ भिसा नेपाली श्रमिकहरूका लागि राम्रो अवसर हुने बताउँछन्। मलेसिया तथा खाडीलगायत मुलुकमा भन्दा काम र कमाइका दृष्टिले दक्षिण कोरिया उपयुक्त भएको उनीहरू बताउँछन्।

कोरियाले इ–७ भिसामा नेपालबाट मात्रै नभएर अन्य मुलुकबाट पनि श्रमिक लैजाने हुँदा यो अवसर सुरक्षित गर्न नेपालले पनि तत्काल पहल गर्नुपर्ने विज्ञहरू बताउँछन्। कोरियामा इ–७ भिसामा श्रमिक पठाउन सरकारले त्यहाँको सरकारसँग छुट्टै श्रम सम्झौता तथा समझदारी गर्नुपर्ने आवश्यकता विज्ञहरूले औंल्याएका छन्।

कोरियाले विशेष गरी इलेक्ट्रिकल–इलेक्ट्रोनिक–मेकानिकल इन्जिनियरिङ, हार्डवेयर–सफ्टवेयर विकासलगायत विभिन्न क्षेत्रमा विशेषज्ञता भएका व्यक्तिहरूलाई इ–७ भिसा दिइरहेको छ। कोरियाको इ–७ भिसा अन्य सेवा सुविधा पनि राम्रो हुने उल्लेख छ।

यस्तो भिसामा काम गर्नेहरूका लागि बिमालगायतका सुविधा पनि रोजगारदाताले उपलब्ध गराउँछन्। यस्तो भिसा अवधि सुरूमा तीन वर्ष हुन्छ। विशेष अवस्थामा पाँच वर्षसम्म हुने कार्यविधिमा उल्लेख गरिएको छ।

प्रकाशित: ६ चैत्र २०८० १०:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App