२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

दुई वर्षमा पनि पूरा भएन ग्वार्को फ्लाइओभर

ललितपुरस्थित निर्माणाधीन ग्वार्को फ्लाइओभर निर्माणको काम ६० प्रतिशत सकिएको छ। दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौताका साथ सुरु गरिएको फ्लाइओभरको काम सुस्त देखिएको छ।  

आयोजना निर्माणको समयसीमा गत २०८० फागुन १२ मा सकिइसकेको छ तर फ्लाइओभरको काम अझै ४० प्रतिशत बाँकी छ। सम्झौताबमोजिमको समयसीमा गुजारिसकेको निर्माण कम्पनीले म्याद थपका लागि प्रस्ताव समेत गरिसकेको छ। चालु आर्थिक वर्षभित्र आयोजना निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गर्ने लक्ष्यसहित निर्माण कम्पनीले काम गरिरहेको छ।

निर्माण कम्पनीलाई म्याद थपका लागि सडक विभागले अनुमति दिएको छैन। सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जनले गत फागुन १२ गते निर्माण कम्पनीले पाएको दुई वर्षको समयसीमा सकिइसकेको बताए। उनका अनुसार, फ्लाइओभर निर्माणका लागि कम्पनीले सबै सामान ‘फिल्ड’ मा ल्याइसकेको छ।  

‘सबै सामग्री फिल्डमा ल्याइसकेकाले पुलमुनि पायलिङ र ड्रेसिङलगायतका काम बाँकी छन्’, महर्जनले भने, ‘पुलको दायाँ–बायाँ रिटेनिङ वाल लगाउने काम सम्पन्न भइसकेकोे छ।’ ग्वार्को फ्लाइओभर निर्माणको ठेक्का पाएको आशिष÷समानान्तर रेलिगेयर संयुक्त उपक्रम (जेभी) ले पाएको हो।

ग्वार्को फ्लाइओभर चार लेनमा बनाउने गरी उसले लागत अनुमानभन्दा ३८ प्रतिशत कम मूल्यमा (१७ करोड ३७ लाख रूपैयाँ) बराबरमा ठेक्का पाएको थियो। ठेक्का पाएपछि निर्माण कार्य सुरु गरेको निर्माण कम्पनीले कुल लागतको १० प्रतिशत ‘मोबिलाइजेसन’ रकमबापत एक करोड ६ लाख रूपैयाँ प्राप्त गरिसकेको छ।

म्याद थपको निर्णय नभएकाले निर्माण कम्पनीले बाँकी भुक्तानी भने पाउन सकेको छैन। त्यस्तै, ‘फ्लाइओभर’ को डिजाइन परिवर्तन गरेर निर्माण अघि बढाइएको हो। यसअघि पायलिङ पिलरको संख्या दुवैतिर चार÷चार वटा, गहिराइ ३४ मिटर र डायमिटर १.५ मिटर कायम गरिएको थियो।

नयाँ डिजायन अनुसार, पाइलिङ पिलरको संख्या दुवैतिर १२-१२ वटा कायम गरिएको छ। त्यसै गरी प्रत्येक पायलिङ पिलरको गहिराइ घटाएर ३० मिटर र डायमिटर १.२ मिटर कायम गरिएको छ। फ्लाइओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ ¥याम्प निर्माण गरिने छ। 

मुख्य संरचनाको डिजाइनमा भने कुनै पनि परिवर्तन नगरिएको उनले बताए। ‘फ्लाइओभर’ बनाउन भारतमा उपलब्ध उपकरणका आधारमा नयाँ डिजाइन गरिएको छ। ग्वार्को ‘फ्लाइओभर’ अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलमा निर्माण भइरहेको छ।

जसअनुसार निर्माण कम्पनीले नै आयोजनाको ‘सर्भे, डिजायन र निर्माण गर्नुपर्छ। ग्वार्को चोकमा निर्माणधीन सो फ्लाइओभर कुल ४५५ मिटर लम्बाइ र ६ मिटर उचाइको हुनेछ। फ्लाइओभर निर्माण सम्पन्न भए काठमाडौं उपत्यकाको ट्राफिक जाम कम हुने अपेक्षा गरिएको छ। चक्रपथ विस्तार आयोजनाको विस्तारित खण्डमा निर्माण भइरहेको उक्त फ्लाइओभर बनेपछि कोटेश्वर र कलंकीमा हुने जाम कम हुने आयोजना पक्षले जनाएको छ।

सातदोबाटो–एकान्तकुना फ्लाइओभर अर्को वर्ष

आगामी आर्थिक वर्ष २०८१-०८२ मा सातदोबाटो–एकान्तकुना फ्लाइओभर निर्माण सुरु हुने सडक विभागले जनाएको छ। यस वर्ष उक्त फ्लाइओभर निर्माणका लागि पुँजीगत स्रोतको सुनिश्चितता नभएकाले अघि बढाउन नसकिएको महर्जनले बताए। ‘यो वर्ष सातदोबाटो–एकान्तकुनामा फ्लाइओभरको स्रोत सुनिश्चितता नभएकाले ठेक्का लगाउन सकिएन’, उनले भने, ‘अर्को वर्ष स्रोत सुनिश्चित भएपछि ठेक्का निर्माण प्रक्रिया अघि बढ्छ।’

प्रकाशित: २१ चैत्र २०८० ०८:१७ बुधबार

ग्वार्को फ्लाइओभर सम्झौता निर्माण समयसी सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्र