२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ठूला सडक परियोजनामा चिनियाँ निर्माण कम्पनीको ढिलासुस्ती

कतै डीपीआरमा अलमल, कतै निर्माण अधुरो

नारायणगढ–बुटवल सडक खण्ड। तस्बिर: नागरिक

नेपालका ठूला तथा रणनीतिक महत्त्वका सडक परियोजना निर्माणमा चिनियाँ निर्माण कम्पनीले ढिलासुस्ती गर्ने गरेको छ। चिनियाँ निर्माण कम्पनीले ठेक्का पाएका सडक परियोजनाहरूमा समस्या देखिएका छन्।

जसको पछिल्लो उदाहरण दोस्रो चरणको चक्रपथ विस्तार परियोजनालाई हेरे पुग्छ। चिनियाँ अनुदानमै बनाउने भनिएको दोस्रो चरणको चक्रपथअन्तर्गत कलंकीदेखि महाराजगञ्जसम्मको सडक विस्तार सुरु गर्न चिनियाँ कम्पनीले लामो समयदेखि आनाकानी गर्दै आएको छ।

लामो समयदेखि चक्रपथ विस्तार कार्य छिट्टै अघि बढाउने भनेर चिनियाँ पक्षले आश्वासन मात्रै बाँडिरहेका छ तर आयोजनास्थल (फिल्ड)मा अहिलेसम्म पनि गएको छैन्। कतिसम्म भने चिनियाँ पक्षले परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) समेत नबनाइ आयोजना मात्र ओगटेर बसेको देखिन्छ।

एक वर्षअघि नै पूर्वतयारी र साइट क्लियरेन्सको काम सकिए पनि चिनियाँ पक्षले अनेक बहाना बनाउँदै आएको छ। ६ महिनाभित्र डिपिआर फाइनल गरिसक्ने जनाएको चिनियाँ कम्पनीले एक वर्ष बित्दासमेत डिपिआर टुंग्याएको छैन्। २०७९ चैतमा चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीले डिपिआर बनाउने जिम्मा पाएको थियो।

दोस्रो चरणमा कंलकीदेखि धोबी खोलापुल (चाबहिल)सम्म सडक विस्तार गर्नुपर्छ तर महाराजगन्जदेखि चाबहिलखण्डमा जग्गा अधिग्रहण र ठूल्ठूला पूर्वनिर्मित संरचना भत्काउनुपर्ने हुँदा चिनियाँ पक्षले महाराजगन्जसम्म मात्र सडक विस्तार गर्ने रुचि देखाएको थियो। कुल ११ किलोमिटरको सो सडकखण्डलाई आठ लेनमा विस्तार गर्ने सरकारी योजना छ।

त्यस्तै, पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने नारायणगढ–बुटवल सडक विस्तारमा पनि चिनियाँ निर्माण कम्पनीले चरम ढिलासुस्ती गर्दै आएको छ। साढे तीन वर्षमा सम्पन्न गर्ने सम्झौताका साथ सुरु भएको सडक विस्तार योजना तोकिएको समयसीमाभित्र सम्पन्न हुनु त परको कुरा निर्माण कम्पनीले पटक पटक म्याद थप्दै लम्ब्याउँदै गएको छ।

सडकखण्ड विस्तार कार्य सुरु भएको पाँच वर्षमा मुस्किलले ५० प्रतिशत मात्र निर्माण कार्य सकिएको छ। चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियर कर्पोरेसनले निर्माण गरिरहेको सडकखण्डको विस्तारकार्य २०७५ फागुन ९ गतेदेखि मात्र सुरु भएको थियो।

कुल ११४ किलोमिटर सडकखण्डमध्ये पूर्वीखण्ड ६५ किलोमिटरको ४८.२२ प्रतिशत र पश्चिमखण्डको ४७ प्रतिशत निर्माण सकिएको आयोजनाले जनाएको छ। सो आयोजनाअन्तर्गत पश्चिम खण्डका आयोजना प्रमुख शशांक मिश्रले कोरोना महामारी, निर्माण सामग्रीको अभावलगायतका समस्याका कारण सडक विस्तारमा ढिलाइ भएको बताए।

त्यस्तै, चिनियाँ निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्ट्रक्सनले ठेक्का पाएको मुग्लिन–पोखरा सडकखण्ड विस्तार कार्य पनि ढिलो गरिरहेको छ। साढे तीन वर्षमा सम्पन्न गर्ने सम्झौतासहित कम्पनीले सन् २०२१ अप्रिल १२ मा सडक विस्तार कार्य सुरु गरेको थियो।

सन् २०२४ अप्रिलभित्र सम्पन्न हुनुपर्ने समयसीमा छ तर हालसम्म आयोजनाको भौतिक प्रगति ५० प्रतिशत मात्र छ। अर्थात् तोकिएको समयसीमा भित्र आयोजना सम्पन्न नहुने निश्चित प्रायः छ। चिनियाँ कम्पनीले म्याद थप नगरी सो सडक विस्तारकार्य सम्पन्न गर्न सक्ने अवस्था छैन।

सडक आयोजनाको पूर्वीखण्ड (मुग्लिन–जामुने) सम्मको निर्माणकार्य सन्तोषजनक रहे पनि पश्चिम खण्डमा पर्ने (जामुने–पोखरा खण्ड) को कार्य निकै सुस्त छ। पूर्वीखण्डको निर्माण कार्य ४० प्रतिशत सम्पन्न भए पनि पश्चिम खण्डको निर्माण प्रगति भने १० प्रतिशत मात्रै छ।

कुल ४१ किलोमिटर सडक विस्तारको काम सम्पन्न गर्न केही समय म्याद थप गर्नुपर्ने पूर्वीखण्डका आयोजना प्रमुख श्यामकुमार यादवले बताए। पश्चिम खण्डमा आयोजना निर्माण सुरु हुनुपूर्वका पूर्वतयारीका काम अघि बढ्न नसक्दा सडक विस्तारले अपेक्षित गति लिन सकेको छैन।

त्यस्तै चिनियाँ निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको सडक परियोजना हो, कमला–कन्चनपुर सडक विस्तार परियोजना। यसअघि चाइना रेल्वे–२ इन्जिनियरिङ ग्रुपले तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो। हालसम्म आयोजनाको समग्र ४५ प्रतिशत निर्माणकार्य सम्पन्न भएको आयोजना प्रमुख प्रदीपराज शाक्यले बताए।

सन् २०२३ अक्टोबारसम्म सम्पन्न गर्ने सम्झौता सकिएर एक वर्षको म्याद थप गरेको निर्माण कम्पनीले आउँदो २०२४ डिसेम्बरसम्म विस्तार कार्य सम्पन्न गर्न चुनौतीपूर्ण रहेको शाक्य बताउँछन्।

‘बनको अवरोध र निर्माण सामग्रीको अभावलगायतका समस्याले विस्तार कार्यमा असर पुग्यो,’ उनले भने, ‘आउँदो २०२४ डिसेम्बरसम्म सडक विस्तार कार्य सम्पन्न गर्ने चुनौती छ।’

कुल ८७ किलोमिटरमध्ये सो सडकखण्डको पहिलो प्याकेज पूर्वीखण्ड कन्चनपुरदेखि कुशाहासम्म ३९ किलोमिटर पर्दछ भने दोस्रो प्याकेजअन्तर्गत पश्चिम खण्ड सिरहाको बलानदेखि कमलासम्मको लम्बाइ ४७ किलोमिटर पर्छ।

चिनियाँ ऋण लगानीमा निर्माण गर्ने गरी अघि बढेको रसुवागढी–स्याफ्रुबेंसी सडक खण्ड विस्तार कार्य पनि लामो समयदेखि अघि बढ्न सकेको छैन्। चिनियाँ निर्माण कम्पनीले दुई वर्षअघि नै सडक निर्माण कार्य सुरु गरेको थियो तर अहिलेसम्म उक्त खण्डको सडक निर्माण र विस्तारको काम अधुरै छ।

कुल १७ किलोमिटर सडक खण्डको निर्माण कार्य छिट्टै अघि बढ्ने सडक विभागले जनाएको छ। यीबाहेक चिनियाँ निर्माण कम्पनीका अन्य कतिपय सडक आयोजनाहरूमा उस्तै ढिलासुस्ती छ। दुई वर्ष लामो कोरोना महामारी, त्यसपछि मुलुकमा देखिएको आर्थिक मन्दीको प्रत्यक्ष असर विदेशी कम्पनीले लिएका आयोजनामा परेको विभागका उपमहानिर्देशक डा. विजय जैशीले बताए।

‘लामो समयको कोरोना महामारी, त्यसपछि मुलुकमा उत्पन्न तरलता अभाव र मन्दीको प्रत्यक्ष असर विदेशीले जिम्मा लिएका आयोजनामा पनि पर्न गयो। त्यसकारण त्यस्ता आयोजनाहरूलाई म्याद थप गरेर सम्पन्न गर्ने दिशातर्फ अघि बढेका छौं’, उनले भने।

खासगरी, जग्गा अधिग्रहण, रुख काट्न बनको अवरोध, खानेपानीका पाइप, बिजुलीको पोल तथा तारलगायत पूर्वतयारीका काम नगरी आयोजनाको ठेक्का प्रक्रिया अघि बढाउँदा समस्या आएको विज्ञहरू बताउँछन्। 

प्रकाशित: २३ चैत्र २०८० १०:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App