१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

‘निजी क्षेत्रसँगको सहकार्यबाट मात्र अर्थतन्त्र सबल’

मुलुकको अर्थतन्त्र समस्यामा परेका बेला निजी क्षेत्रसँगको सहकार्यमा मात्र अर्थतन्त्र सबल हुने सरोकारवालाले बताएका छन्। उनीहरूले निजी क्षेत्रको मनोबल नबढाउँदासम्म लगानी वृद्धि नहुने धारणा पनि राखे।

नेपाल उद्योग परिसंघको २१ औं वार्षिकोत्सव समारोहका अवसरमा बोल्ने प्रधानमन्त्रीदेखि निजी क्षेत्रका प्रतिनिधिले अर्थतन्त्रलाई गतिशील बनाउन सामूहिक प्रयत्न गर्नुपर्ने बताए।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताएका छन्। प्रधानमन्त्री दाहालले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको बताए। ‘अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ,’ प्रधानमन्त्री दाहालले भने ‘निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा म स्पष्ट पनि छु।’

अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको बताए। निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र परिणाममुखी कामका लागि प्रोत्साहित गर्ने काममा सरकार जिम्मेवार भएर लागिरहेको स्पष्ट पारे।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट सरकारले सुधार गर्न खोजेको जानकारी दिँदै प्रधानमन्त्रीले अर्थतन्त्रको सबलीकरण मात्रै नभई देखिने गरी नयाँ उत्साह र सन्देश प्रवाह गर्ने तयारीमा सरकार लागिपरेको बताए। 

‘दबाबका बीचमा पनि उत्पादन र रोजगारीमा केन्द्रित हुने र जनतामा आत्मविश्वास पैदा गर्ने सोच र तयारीमा सरकार छ,’ प्रधानमन्त्री दाहालले भने, ‘सोहीअनुरूप मौद्रिक नीतिलाईसमेत अगाडि बढाउने छौं।’ अर्थतन्त्रमा सुधार मात्र नभएर केही गुणात्मक परिणाम ल्याउन जरूरी रहेको उनले बताए।

निजीक्षेत्रको समस्या अर्थतन्त्रको समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘निजीक्षेत्रको समस्या भनेको अर्थतन्त्रको समस्या हो। अर्थतन्त्रमा रहेको समस्या समाधान गर्न सक्ने पूर्ण क्षमता यो सरकारमा छ र समाधान गर्नेछ।’ 

पछिल्लो समय अर्थतन्त्रमा सुधारका महत्वपूर्ण सूचकहरू देखा पर्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चालु आर्थिक वर्ष अर्थतन्त्रका लागि आशा लाग्दो वर्ष हुने विश्वास व्यक्त गरे।

वस्तु तथा सेवा निर्यातमा आशा लाग्दो अवस्था देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विद्युत्, जस्तापाता, सिमेन्टजस्ता वस्तु निर्यातले देशको अर्थतन्त्रलाई सबल तुल्याउने विश्वास व्यक्त गरे।

पर्यटन आगमनमा उल्लेख्य सुधार आएको र सूचना प्रविधिको क्षेत्रले पनि आशा जगाएको बताउँदै उनले यस्ता गतिविधिले राष्ट्रिय आम्दानी र पुँजी निर्माणमा ठूलो योगदान दिने विश्वास व्यक्त गरे।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्रमा अस्वाभाविक संकुचन आउँदा, समग्र माग बढ्न नसक्दा उद्योग व्यवसाय बन्द हुने क्रम बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे।

उनले समग्र बजार मागमा सुधार आउन नसक्दा कम उत्पादन गरिरहेका उद्योगहरूको उत्पादन लागत बढिरहेको बताउँदै उद्योगहरूमा गरिएको अघोषित लोडसेडिङले थप मर्माहत बनाएको बताए।

‘एकातिर विद्युत् खपत बढाउन नेपाल विद्युत् प्राधिकरण लागिरहेको छ, अर्कोतर्फ धेरै विद्युत् खपत गरिरहेका उद्योगहरूमै १६ घण्टासम्म लोडसेडिङ गराइरहेको छ,’ उनले भने, ‘यो कस्तो नीति हो हामीले बुझ्न सकेका छैनौं।’

निजी क्षेत्र आत्तिएको अग्रवालले बताए। मुलुकको अर्थतन्त्र, नेपाली निजी क्षेत्रको प्रकृति र संकट झेल्न सक्ने सामथ्र्य अन्यत्रभन्दा भिन्न रहेको बताउँदै सरकारले प्रोत्साहन गरे अर्थतन्त्रमा रहेको चुनौतीको पनि सामना गर्न सक्ने बताए। 

‘निजी क्षेत्रलाई हौसला प्रदान गर्न आवश्यक छ,’ उनले भने, ‘उद्यमी व्यवसायीलाई सम्मानपूर्ण हुनुपर्छ।’ अर्थ मन्त्रालयले नयाँ बजेटको तयारी गरिरहेको बताउँदै आगामी बजेटले स्वदेशी उद्योगहरूको प्रवर्द्धन गर्ने रणनीति लिनुपर्ने आवश्यकता रहेको अध्यक्ष अग्रवालले बताए।

‘स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आगामी बजेट कोसेढुंगा सावित होस्’, उनले भने, ‘स्वदेशी वस्तुहरूको अधिकतम प्रयोग, प्रयोगका लागि प्रोत्साहन गर्ने नीतिले मात्रै हाम्रो अर्थतन्त्रलाई बलियो बनाउँछ।’

परिसंघले कानुन सुधारमा विशेष ध्यान दिन आग्रह गर्दै विस्तृत अध्ययन गरेरै २४ वटा ऐन तथा नियमावली संशोधन गर्न, पाँच वटा ऐन खारेज गर्न र तीन वटा नयाँ कानून ल्याउन सुझाव दिए पनि कार्यान्वयन नभएको उनले बताए। 

उद्योग, उर्जा, पर्यटन, सूचना प्रविधि, निर्माण तथा पूर्वाधार, कृषिजस्ता प्रतिस्पर्धी क्षमता बढी भएका क्षेत्रमा तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कामको सुझाव दिएकाले कार्यान्वयन गर्न आग्रह गरे।

‘उद्योग व्यवसायलाई प्रोत्साहन नदिँदा देशभित्र रोजगारीको अवसर सिर्जना हुन सकिरहेको छैन’, उनले भने, ‘रोजगारी नहुँदा युवाहरूको विदेश पलायन हुने क्रम बढ्दो छ।’

अर्थतन्त्रमा चौतर्फी चुनौती र समस्या रहेको भन्दै ठूलो शल्यक्रियाको खाँचो रहेको बताए। ‘शिथिल अर्थतन्त्र उकास्न सोचिरहेका छौं’, अध्यक्ष अग्रवालले भने, ‘कर्मठ उद्योगी व्यवसायीको अभावमा मुलुकले समृद्धि हासिल गर्न सक्दैन।’ 

उद्योग व्यवसाय बचाउनु, प्रोत्साहन गर्नु, उद्योगीलाई सम्मान गर्नु राज्यको दायित्व रहेको बताउँदै उद्योगी व्यवसायीको मनोबल गिराएर, अपमानित गरेर समृद्धिको लक्ष्य हासिल हुन नसक्ने धारणा राखे।

‘स्वदेशी लगानीलाई पहिले प्रवद्र्धन गरौं, लगानीकर्तालाई प्रोत्साहित गरौं, सम्मान गरौं,’ उनले भने, ‘स्वदेशी लगानी बढ्यो भने नै विदेशी लगानीकर्ताको पनि नजर नेपालमा पर्छ।’

प्रकाशित: ५ वैशाख २०८१ ०८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App