१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

राैतापाेखरीमा खुल्दै छन् होमस्टे

नयाँ वर्ष ०८१ मा आन्तरिक पर्यटक बढेसँगै प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल रौतापोखरीमा सुरक्षित आवासको खाँचो छ। पर्यटकलाई व्यवस्थित आवास र खानपानका लागि रौतापोखरीमा होमस्टेहरू सञ्चालन गर्ने तयारी भएको हो।

आन्तरिक तथा बाह्य पर्यटक ह्वात्तै बढेपछि उनीहरूलाई स्थानीय अर्गानिक खाना र सुरक्षित बसोवासको व्यवस्था मिलाउनुपर्ने आवश्यकता महसुस गर्दै रौतापोखरीमा होमस्टे सञ्चालनमा ल्याउन लागिएको हो।

उदयपुरको मात्र नभएर प्रदेश १ कै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुप लिँदै गएको धार्मिक तथा ऐतिहासिक महत्वसमेत बोकेको रौतापोखरीमा हिजोआज आगन्तक बढेका छन्।

नयाँ वर्षमा ५० हजार हाराहारी आगन्तुकको सहभागिता रहेको थियो। यसरी पछिल्लो समय पर्यटकको आकर्षण ह्वात्तै बढेपछि उनीहरूलाई उपयुक्त सेवासुविधा दिने उदेश्यले होमस्टे सञ्चालन गर्न लागिएको रौतामाई गाउँपालिका ५ का वडाध्यक्ष पृथ्वी राईले बताए।

रौतापोखरीमा केही समयअघि मात्र होमस्टेसम्बन्धी तालिम दिइएको थियो। रौतापोखरी घुम्न आउने आगन्तुकलाई स्थानीय स्वादमा खानाका परिकार खुवाउने तथा सहज र सुविधाजनक बास राख्ने व्यवस्था मिलाउनका लागि होमस्टेहरू सञ्चालनमा ल्याउन लागिएको वडाध्यक्ष राईको भनाइ छ।

उनले त्यसकै लागि मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेन्डेक) तथा गाउँपालिकासँगको सहकार्यमा वडा कार्यालयले होमस्टेसम्बन्धी तािलम आयोजना गरिएको बताए। तालिम आयोजनापछि त्यसबाट उत्पादिन तालिमप्राप्त जनशक्ति सदुपयोग गर्दै बजारमा होमस्टेहरू सञ्चालन गर्न लागिएको उनले बताए।

पर्यटकको आगमन बढेसँगै रौतापोखरीको बजारीकरण पनि दिनदिनै बढ्दै गएकाले स्थानीय आवश्यकताअनुसार पर्यटकलाई खान, बस्नसँगै स्थानीय संस्कार, संस्कृतिको जानकारीसहित नौलो स्वाद पस्कन पनि चाँजोपाँजो मिलाइएको वडाध्यक्ष राईले बताए।

गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरका अनुसार रौतापोखरीमा पछिल्लो समय आन्तरिक पर्यटकको वृद्धि भएको छ। त्यसकारण होमस्टेहरू अनिवार्य देखेर यसबारे व्यावसायिक तालिम सञ्चालन गरिएको अध्यक्ष मगरले बताए।

आयोजकले ‘रौता सामुदायिक होमस्टे’ मार्फत २० जना प्रशिक्षार्थीले होमस्टेसम्बन्धी व्यावसायिक ज्ञान र सीप सिकेर आफैं होमस्टे सञ्चालन गर्न थालेका छन्। उनीहरूले खानाका परिकारदेखि होमस्टे सञ्चालन गर्ने तरिका, पर्यटकलाई स्वागत गर्नेदेखि सांगीतिक स्वाद दिनेसम्मको व्यवस्था होमस्टेहरूले दिनेछन्।

होमस्टेमा मकैको विस्कुट, मकै च्याख्लाको खिर, सिस्नुको सुप, जोगी खाना, मसला पुलाउ, लोकल कुखुराको चिकेन फ्राई, जिरा स्कुस, मेथी स्कुसको स्वाद चाख्न पाइने छ।

त्यसैगरी स्थानीय अन्नको कक्टेल, मुला तथा गाँजर र भुईं स्याउको अचार र जुस, स्कुसको हलुवा, लोकल कुखुराकै पोच अण्डाजस्ता परिकार पनि पाउने होमस्टे सञ्चालकहरूले बताएका छन्।

त्यसैगरी रौतापोखरी क्षेत्रको इतिहास, भूगोल, समाज र बसोवाससम्बन्धी जानकारी, पर्यटकीय तथा धार्मिक इतिहास, सामाजिक अवस्था, रौतापाखेरीको पहिचान र  महत्वका बारेमा होमस्टेहरूले पर्यटकलाई जानकारी गराउँदै आएका छन्।

स्थानीय उत्पादन र परिकार खुवाउने, रैथाने अन्नबाली र फलफूलको प्रचारप्रसार गर्ने र त्यसबाट पर्यटन प्रवद्र्धनका साथै आयआर्जन बढ्ने अपेक्षा गरिएको छ।

होमस्टेमा स्थानीय स्वादका परिकार पस्कँदै बजारीकरण गर्न सके सोही ठाउँको बाँझो जमिन उर्वर खेतीमा परिणत गर्न सकिने र युवापुस्ता विदेश पलायन हुनबाट रोकिने अपेक्षा पनि गाउँपालिकाको छ।

अध्यक्ष मगरले होमस्टेले युवा पुस्तामा लोप हुँदै गएको स्थानीय समुदायको भाषा, संस्कार, परम्परा, संस्कृति, रीतिरिवाज र भेषभूषालाई प्रवद्र्धन गर्न बल पुग्ने बताए। यसले एकातिर पर्यटन विकास हुने तथा अर्कातिर लोप हुँदै गएको संस्कार र संस्कृतिको जगेर्ना हुने बताए।

प्रकाशित: ५ वैशाख २०८१ १२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App