२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

थाप्राङ–तिपाङ जोड्ने पुल निर्माण

फाइल तस्बिर

चितवनको इच्छाकामना गाउँपालिकाको वंग्याङ खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। सो पुलले इच्छाकामना–१ को थाप्राङ–तिपाङलाई जोडेको छ।

बहत्तर मिटर लामो सो पुल गाउँपालिका र दातृ संस्थाको लगानीमा निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए। उनले पुल निर्माणपश्चात् स्थानीयलाई बाह्रै महिना आवतजावत गर्न सजिलो हुने बताए।

चेपाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा पुल निर्माणपछि जनजीवन सहज भएको छ। अध्यक्ष गुरुङले भने, ‘पुल निर्माणपछि स्वास्थ्य उपचार गर्न समेत स्थानीयलाई सहज भएको छ।’ पुल निर्माणपछि चितवन मात्र नभई धादिङका नागरिकलाई समेत सहज भएको छ।

इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले थाप्राङ–तिपाङ क्षेत्रका नागरिकको सांस्कृतिक सम्बन्ध जोडिएको उल्लेख गर्दै पुलले उनीहरुलाई थप नजिक बनाएको बताए। ‘तिपाङभन्दा माथि पनि साना–साना बस्ती छन्’, उनले भने, ‘यहाँको चेपाङ समुदायलाई बर्खामा चार महिना आवतजावत गर्न सकस हुने गरेको थियो, अब बाह्रै महिना निर्धक्क हिडडुल गर्न सजिलो हुनेछ।’

वि.सं. २०७८ मा पुल निर्माण कार्य थालिएको हो। सो ठाउँमा बिजुली र बाटोघाटोको समस्या छ। स्थानीय राजेशले चेपाङ पुल निर्माणपछि बाटो छोटिएको र आवतजावतमा सहज भएको बताए। थाप्राङ माइत भएकी सुनिता चेपाङले पुल नहँुदा हिउँदमा मात्र माइत आउनुपर्ने बाध्यता रहेको भन्दै अब चाहेको समयमा माइत आउन पाइने बताए। झण्डै रु ३३ लाखको लागतमा पुल निर्माण गरिएको हो। रासस

प्रकाशित: १० वैशाख २०८१ ०६:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App