२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

तुवाँलोले ढाकेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्नै सकेन

पोखरामा बास बसेका जहाज काठमाडौं फर्किए, तर पोखरा आउन भने सकेनन्

तुँवालोले ढाएिको पोखरा। तुँवालोले ढाकेर भिजिविलिटी घटेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्न सकेको छैन। तस्बिरः सन्तोष/नागरिक

बाक्लो तुँवालोले गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै खुल्न सकेको छैन। भिजिविलिटी अपुग हुँदा विमानस्थल खुल्न नसकेको हो। विमानस्थल नखुलेपछि पोखरा आउने र पोखराबाट विभिन्न सहरमा हुने हवाई उडान प्रभावित बनेका छन्।  

विमानस्थलका एकजना प्राविधिकका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भिजिविलिटी अहिले २ हजार मिटर मात्र छ। बिहानदेखि २५ सय मिटर रहेको भिजिविलिटी दिउँसो झनै घटेर २ हजार मिटरमा झरेको छ। पोखराबाट उडानका हुनका लागि कम्तिमा ३७ सय मिटर भिजिविलिटी चाहिन्छ।  

भिजिविलिटी अपुग भएपछि काठमाडौंबाट जहाज पोखरा आउन नसकेको ती प्राविधिकले बताए। उनका अनुसार पोखरामा रात्रीबिसान गरेका जहाज बिहान उडेर काठमाडौं गएपनि काठमाडौंबाट पोखरा आउन सकेका छैनन। ती प्राविधिकका अनुसार पोखराबाट उडेर काठमाडौं जानका लागि १६ सय मिटर भिजिविलिटी भए पुग्छ।  

‘पोखरामा जहाज अवतरण गर्नका लागि ३७ सय मिटरको भिजिविलिटी चाहिन्छ। तर पोखराबाट उडेर जाँदा १६ सय मिटर भए पुग्छ,’ ती प्राविधिकले भने, ‘बाक्लो तुँवालोका कारण हवाई उडान नै अस्तव्यस्त बनेको छ।’ 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सामान्य अवस्थामा बिहान ६ बजे खुल्ने र बेलुकी ९ बजेपछि उडान सकिने गरि संचालन हुने गरेको छ। तर, उडान अवधि ढिला भएमा रात्री उडानको समय अझै पछाडि समेत धकेलिने गरेको छ।  

तुँवालोले उडान नभएपछि हवाई सेवा प्रभावित भएको छ। हवाई कम्पनिले विभिन्न रुटका उडान रद्द गरिसकेका छन। बुद्ध एयरका नौवटा उडान रद्द भईसकेका छन। बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णका अनुसार पोखरा–काठमाडौंका ६, पोखराबाट नेपालगञ्ज, भैरहवा र भरतपुरका एकएक गरि नौवटा उडान रद्द भएका छन। बुद्धले यतिबेला पोखरा–काठमाडौं रुटमा दिनमा १७ वटा उडान गरिरहेको छ।

‘पोखरामा जहाज अवतरण गर्नका लागि ३७ सय मिटरको भिजिविलिटी चाहिन्छ। तर पोखराबाट उडेर जाँदा १६ सय मिटर भए पुग्छ,’ ती प्राविधिकले भने, ‘बाक्लो तुँवालोका कारण हवाई उडान नै अस्तव्यस्त बनेको छ।’ 

‘पोखरामा रात्रीकालिन विसान गरेको जहाज बिहान उडेर काठमाडौं आएको हो। त्यसपछि पोखरामा भने जहाज अवतरण गर्न सक्ने अवस्था छैन,’ कर्णले भने, ‘भिजिविलिटी नै अपुग छ। बाक्लो तुँवालोले गर्दा कतै केही देख्न सकिने अवस्था छैन।’ उनका अनुसार हावा चलेर तुवाँलो नहटेसम्म उडान हुन कठिन छ। हवाई कम्पनिका अनुसार पछिल्लो केहीदिनदेखि पोखरासँगको हवाई उडानमा तुवाँलोले गर्दा अनिश्चित भएको छ। ‘कुन बेला विमानस्थल खुल्छ भन्ने नै यकिन छैन। हिजो–अस्ती पनि मध्यान्ह पछि मात्र विमानस्थल खुल्ने गरेको थियो,’ उनले भने  

विमानस्थल नखुलेर उडान नै अनिश्चित भएपछि यात्रुले धमाधम रद्द गर्न थालेका छन। विमानस्थल खुल्ने टुंगो नलागेको भन्दै यात्रु आफैले टिकट रद्द गर्न थालेको हवाई कम्पनिका पदाधिकारीको भनाई छ । ‘तोकिएको समयमा उडान नभएपछि यात्रु आफैले टिकट रद्द गर्दे गाडीमा गन्तव्य तय गर्न थालेका छन। कुनबेला विमानस्थल खुल्ने भन्ने नै यकिन छैन,’ ती कर्मचारीले भने।

हवाई कम्पनिका अनुसार पोखरा आउने आन्तरिक र बाह्य पर्यटकको संख्या बढि थियो। अझ शनिबारको बिदाका लागि शुक्रबारको दिन पारेर पोखरा आउने हवाई यात्रु बढी हुने गरेका थिए। त्यही अनुसार शुक्रबारको हवाई उडानको अकुपेन्सी निकै नै माथि थियो। तर, उडान नै अनिश्चित भएपछि यात्रु नै पोखरा आउन नपाएको उनीहरुको भनाई छ।

‘यो बेला हवाई उडानको अकुपेन्सी दर निकै नै राम्रो थियो। तर, उडान नै हुन सकेन। विमानस्थल नै नखुलेपछि यात्रुले आफै विकल्प अपनाए,’ उनले भने। हवाई कम्पनिका अनुसार यतिबेला सबैजसो उडानमा ८० प्रतिशत भन्दा बढी सिटका लागि यात्रुले टिकट बुकिङ गरेका थिए।  

विमानस्थल नखुल्दाको मार पर्यटन क्षेत्रमा परेको भन्दै व्यावसायीले चिन्ता जनाएका छन। पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन, ‘तुँवालोले गर्दा विमानस्थल खुल्न सकेन। विमानस्थल नखुलेपछि यात्रु पोखरा आउन पाएनन। पर्यटन क्षेत्रमा त्यसले नोक्सान पुगेको छ।’ कुन बेला विमानस्थल खुल्ने भन्ने टुंगो नलाग्दा त्यसको अप्ठेरो यात्रुले खेपेको उनले बताए।

प्रकाशित: १४ वैशाख २०८१ १६:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App