ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको आज मृत्यु भएको छ।
आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका थिए। घाइतेमध्ये आठ वर्षीया प्रिया गिरी र तीन वर्षीय एलिसा गिरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
उनीहरुको उपचारका क्रममा किष्ट अस्पतालमा राति ७ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको छ। एक जनाको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ।
प्रवक्ता सुवेदीका अनुसार घर मालिक ३५ वर्षीय सञ्जय गिरीको भेन्टिलेटरमा र उनकी श्रीमती ३२ वर्षीय रुपा गिरीको आइसियुमा राखेर उपचार भइरहेको छ। अर्का घाइते नित गिरीको अवस्था सामान्य छ। गिरीलाई साधारण वार्डमा सारिएको छ।
केही दिनअघि आगो निभाउने क्रममा जलेर ललितपुरको गोदावरीका शङ्कर र रमेश पहरीको मृत्यु भएको थियो।
प्रकाशित: २४ वैशाख २०८१ २२:४५ सोमबार