२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

तुवाँलोले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेन, पर्यटकहरू अझै जहाज उड्ने पखाईमा

बाक्लो तुवाँलोले गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै खुल्न सकेको छैन। तरपनि पर्यटकहरु जहाज कुरेर विमानस्थलमै बसिरहेका छन्।  

पोखरा विमानस्थलमा पर्यटकहरू बिहानैदेखि जहाज उड्ने पखाईमा छन्। विमानस्थल पर्यटकहरूले भरिएको छ। भिजिबिलिटी अपुग हुँदा विमानस्थल खुल्न नसकेको हो। विमानस्थल नखुलेपछि पोखरा आउने र पोखराबाट विभिन्न सहरमा हुने हवाई उडान प्रभावित बनेका छन्।  

विमानस्थलका एकजना प्राविधिकका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी अहिले २ हजार मिटर मात्र छ। बिहानदेखि २५ सय मिटर रहेको भिजिबिलिटी दिउँसो झनै घटेर २ हजार मिटरमा झरेको छ। पोखराबाट उडानका हुनका लागि कम्तीमा ३७ सय मिटर भिजिबिलिटी चाहिन्छ।  

विमानस्थल नखुलेर उडान नै अनिश्चित भएपछि यात्रुले धमाधम रद्द गर्न थालेका छन्। विमानस्थल खुल्ने टुंगो नलागेको भन्दै यात्रु आफैले टिकट रद्द गर्न थालेको हवाई कम्पनीका पदाधिकारीको भनाई छ। ‘तोकिएको समयमा उडान नभएपछि यात्रु आफैले टिकट रद्द गर्दे गाडीमा गन्तव्य तय गर्न थालेका छन्। कुनबेला विमानस्थल खुल्ने भन्ने नै यकिन छैन,’ ती कर्मचारीले भने।

हवाई कम्पनीका अनुसार पोखरा आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढी थियो। अझ शनिवारको बिदाका लागि शुक्रवारको दिन पारेर पोखरा आउने हवाई यात्रु बढी हुने गरेका थिए। त्यही अनुसार शुक्रवारको हवाई उडानको अकुपेन्सी निकै नै माथि थियो। तर, उडान नै अनिश्चित भएपछि यात्रु नै पोखरा आउन नपाएको उनीहरूको भनाई छ।

‘यो बेला हवाई उडानको अकुपेन्सी दर निकै नै राम्रो थियो। तर, उडान नै हुन सकेन। विमानस्थल नै नखुलेपछि यात्रुले आफै विकल्प अपनाए,’ उनले भने। हवाई कम्पनीका अनुसार यतिबेला सबैजसो उडानमा ८० प्रतिशत भन्दा बढी सिटका लागि यात्रुले टिकट बुकिङ गरेका थिए।  

विमानस्थल नखुल्दाको मार पर्यटन क्षेत्रमा परेको भन्दै व्यवसायीले चिन्ता जनाएका छन्। पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन्, ‘तुवाँलोले गर्दा विमानस्थल खुल्न सकेन। विमानस्थल नखुलेपछि यात्रु पोखरा आउन पाएनन्। पर्यटन क्षेत्रमा त्यसले नोक्सान पुगेको छ।’ कुन बेला विमानस्थल खुल्ने भन्ने टुंगो नलाग्दा त्यसको अप्ठेरो यात्रुले खेपेको उनले बताए।

भिजिबिलिटी अपुग भएपछि काठमाडौँबाट जहाज पोखरा आउन नसकेको ती प्राविधिकले बताए। उनका अनुसार पोखरामा रात्री बिसान गरेका जहाज बिहान उडेर काठमाडौँ गएपनि काठमाडौँबाट पोखरा आउन सकेका छैनन्। ती प्राविधिकका अनुसार पोखराबाट उडेर काठमाडौँ जानका लागि १६ सय मिटर भिजिबिलिटी भए पुग्छ।  

‘पोखरामा जहाज अवतरण गर्नका लागि ३७ सय मिटरको भिजिबिलिटी चाहिन्छ। तर पोखराबाट उडेर जाँदा १६ सय मिटर भए पुग्छ,’ ती प्राविधिकले भने, ‘बाक्लो तुवाँलोका कारण हवाई उडान नै अस्तव्यस्त बनेको छ।’ 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सामान्य अवस्थामा बिहान ६ बजे खुल्ने र बेलुकी ९ बजेपछि उडान सकिने गरी सञ्चालन हुने गरेको छ। तर, उडान अवधि ढिला भएमा रात्रि उडानको समय अझै पछाडि समेत धकेलिने गरेको छ।  

तुवाँलोले उडान नभएपछि हवाई सेवा प्रभावित भएको छ। हवाई कम्प निले विभिन्न रुटका उडान रद्द गरिसकेका छन्। बुद्ध एयरका नौ वटा उडान रद्द भइसकेका छन्। बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार पोखरा–काठमाडौँका ६, पोखराबाट नेपालगन्ज, भैरहवा र भरतपुरका एकएक गरी नौ वटा उडान रद्द भएका छन्। बुद्धले यतिबेला पोखरा–काठमाडौँ रुटमा दिनमा १७ वटा उडान गरिरहेको छ।

‘पोखरामा जहाज अवतरण गर्नका लागि ३७ सय मिटरको भिजिबिलिटी चाहिन्छ। तर पोखराबाट उडेर जाँदा १६ सय मिटर भए पुग्छ,’ ती प्राविधिकले भने, ‘बाक्लो तुवाँलोका कारण हवाई उडान नै अस्तव्यस्त बनेको छ।’ 

‘पोखरामा रात्रिकालीन बिसान गरेको जहाज बिहान उडेर काठमाडौँ आएको हो। त्यसपछि पोखरामा भने जहाज अवतरण गर्न सक्ने अवस्था छैन,’ कर्णले भने, ‘भिजिबिलिटी नै अपुग छ। बाक्लो तुवाँलोले गर्दा कतै केही देख्न सकिने अवस्था छैन।’ उनका अनुसार हावा चलेर तुवाँलो नहटेसम्म उडान हुन कठिन छ। हवाई कम्पनीका अनुसार पछिल्लो केही दिनदेखि पोखरासँगको हवाई उडानमा तुवाँलोले गर्दा अनिश्चित भएको छ। ‘कुन बेला विमानस्थल खुल्छ भन्ने नै यकिन छैन। हिजो–अस्ति पनि मध्यान्ह पछि मात्र विमानस्थल खुल्ने गरेको थियो,’ उनले भने।

प्रकाशित: १४ वैशाख २०८१ १६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App