२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

व्यावसायिक च्याउ खेतीप्रति आकर्षण

हाइटेक प्रविधिबाट

पोखरा महानगरपालिका ११ मा ध्रुवबहादुर थापाले काहुँ सिस्नेरी एग्रो फर्म सञ्चालन गरेको केही समय मात्रै भयो। विगतमा खाद्यान्न आपूर्तिको काम गर्ने उनले व्यावसायिक च्याउ खेतीप्रतिको आकर्षण भने कोरोना कहरको समयदेखि सुरु गरेको हो।

कोरोनाकालीन समयमा आएको व्यावसायिक च्याउखेतीको सोचलाई व्यवहारमै उतारेका थापाले २०७४ देखि नै त्यसका लागि अध्ययन एवं अन्य प्रक्रियागत काम सुरु गरेका थिए।

उनले चिस्यानसहितको आधुनिक प्रविधियुक्त टनेलमा हाल च्याउखेती गरिरहेका छन्। यसका लागि चीनबाट सामान ल्याएको छ। २०७७ फागुनमा निर्माणका काम सकेपछि च्याउखेती थालिएको र चिस्यानसहितको हाइटेक प्रविधिको टनेल तयार गर्न करिब ५० लाख खर्च भएको उनको भनाइ छ।

थापाले उत्पादन राम्रो हुँदाका अवस्थामा दैनिक करिब पाँच सय किलोग्रामसम्म गोब्रे च्याउ टिप्दै आएका छन्। कन्ये च्याउ सामान्य टहरामा उत्पादन गर्न सकिए पनि गोब्रे च्याउ भने हाइटेक प्रविधि जडित टनेलभित्र नै गर्नुपर्ने उनको अनुभव छ। आफूले उत्पादन गरिरहेको च्याउको खपत पोखरामा नै हुने गरेको उनले सुनाए।

टनेलबाट यस याममा तीन हजार किलोग्राम च्याउ उत्पादन भइसकेको जानकारी दिँदै उनले थप एक हजार किलोग्राम उत्पादन हुने अनुमान गरिएको बताए। उनले च्याउ दुई सय ७० मा बिक्री गर्दै आएका छन्। खुद्रा बजारमा भने तीन सयदेखि तीन सय २५ सम्म च्याउ बिक्री भइरहेको उनको भनाइ छ।

थापाको च्याउखेती फर्ममा हाल तीन जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने थप पाँचजनाले आवश्यकताअनुसार रोजगारी पाइरहेका छन्। च्याउ टिप्ने बेलाका समयमा भने १२÷१३ जना कर्मचारीलाई प्रतिघण्टाका आधारमा पनि काममा लगाइने उनले जानकारी दिए।

महानगरपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत च्याउ पकेट कार्यक्रमका लागि गत आर्थिक वर्षमा थापासहित तीन जना च्याउ उत्पादक कृषक रकम उपलब्ध गराइएको थियो, जसमा संरचना निर्माण, मल, बीउलगायतका लागि ५० प्रतिशत अनुदानस्वरुप १२ लाख उपलब्ध गराएको थियो।

चालु आर्थिक वर्षमा उक्त कार्यक्रमको निरन्तरता दिँदै थापाको काहुँ सिस्नेरी एग्रो फर्मलाई ५० प्रतिशत अनुदानस्वरुप ६ लाख उपलब्ध गराइएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए।

च्याउका फाइदा

बहुपोषणयुक्त च्याउमा ३५ प्रतिशत प्रोटिन पाइन्छ भने क्यालोरी तथा चिल्लो पदार्थको मात्रा कम हुन्छ। यसमा एर्गो थियोनिन भन्ने तत्व हुन्छ, जसले चाउरीपना हटाउनुका साथै छालाको सुरक्षा गर्दछ। यसमा एन्टी अक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ।

रोग प्रतिरोधात्मक क्षमता हुने च्याउमा भिटामिन डि प्राप्त हुन्छ भने निकै कम मात्रामा कार्बोहाइड्रेड हुन्छ। नियमित रुपमा च्याउ खानाले उच्च रक्तचाप, सुगर आदि नियन्त्रण गर्न मद्दत पुग्दछ भने क्यान्सरको जोखिम कम गर्नुका साथै तौल घटाउन पनि उपयोगी मानिन्छ।

महानगरको सहयोग

पोखरा महानगरपालिका कृषि महाशाखाले व्यावसायिक कृषिमा क्रियाशील कृषकलाई केही न केही रुपमा सहयोग गरिरहेको महाशाखा प्रमुख मनोहर कडरिया बताउँछन्। पोखरा पर्यटकीय क्षेत्र भएका कारण यहाँ च्याउको खपत राम्रै हुने उनको भनाइ छ। च्याउको माग पनि बढ्दो भएकाले यसको विविधीकरण गर्नुपर्छ भन्ने महानगरको सोच रहेको उनले बताए।

उनका अनुसार मूल्यका दृष्टिले सीताके च्याउ सबैभन्दा महंगो पर्छ भने गोब्रे र कन्ये च्याउ त्योभन्दा सस्तोमा पाइन्छ। किसानले राम्रो मूल्य पाउनुका साथै उपभोक्ताले फरक स्वाद पाउन सकुन् भन्ने सोचका साथ च्याउको विविधीकरणलाई आफूहरूले जोड दिएको उनको भनाइ छ।  

सुरुमा कन्ये च्याउको उत्पादन राम्रो भएको बताउँदै उनले उक्त च्याउ भने प्लाष्टिकका टनेलमासमेत उत्पादन गर्न सकिने जानकारी दिए। महानगरपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको च्याउ पकेट कार्यक्रमबाट काहुँ सिस्नेरी एग्रो फर्मलाई सहयोग गरेको उनले बताए।

उनका अनुसार महानगरपालिकाले च्याउ उत्पादक कृषकको हितलाई दृष्टिगत गर्दै कन्ये च्याउका लागि एक सय ३० र गोब्रे च्याउका लागि दुई सय ६० न्यूनतम समर्थन मूल्य पनि तोकिसकेको छ। –रासस

प्रकाशित: १७ वैशाख २०८१ १३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App