४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपालको घाँस तिब्बतले किन्ने, किसानका लागि निर्यातको बाटो खुल्यो

तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालबाट ओट घाँस र जनावरको दाना खरिद गर्ने भएको छ।

सोमवार काठमाडौंमा एक कार्यक्रमकाबीच तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालका दुई कम्पनीसँग सम्झौता गरेको हो। प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपाल क्राउन एग्रिकल्चर इन्टरप्राइजेज र न्यु होप नेपाल कम्पनीसँग क्रमशः ओट घाँस र जनावरको दाना खरिदको सम्झौता गरेको हो।

नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदुत चेन सोङको उपस्थितिमा घाँस र दाना निर्यात गर्नेबारे सम्झौता भएको हो।

नेपालको दक्षिणी तराईको हावापानी र माटोको अवस्था ओट ग्रासको विकासको लागि उपयुक्त मानिन्छ। ओट घाँसमा कच्चा फाइबरको मात्रा राम्रो हुन्छ। जुन याक जस्ता पशुका लागि  महत्वपूर्ण मानिन्छ।

तिब्बतमा ओट ग्रासको ठूलो माग छ। आन्तरिक उत्पादनले यो माग पूरा गर्न नसकेपछि सरकारले घाँस आयात गरिरहेको छ। नेपालबाट उच्च गुणस्तरको ओट घाँस र पशु दानाको आपूर्तिलाई प्रभावकारी रूपमा सुधार गर्न तिब्बत सरकारले नेपाली किसानसँग सहकार्य गरेको हो। घाँस लैजाने कम्पनी तिब्बत प्लेटु ब्लु एग्रिकल्चरका निर्देशक झ्याङ्ग जियाङ्गले तिब्बतका दुग्ध फार्महरू र किसानहरुको लागि चीनको अर्को क्षेत्रबाट घाँस ल्याउनुभन्दा तातोपानी र केरूङ नाका हुँदै नेपालबाट घाँस किनेर लैजान सहज र सस्तो हुने बताए। यसले नेपाली जनताको आय आर्जन बढ्ने र रोजगारी समेत सिर्जना हुने भएकाले पनि चीनले नेपालमा उत्पादित घाँस आयातलाई प्राथमिकतामा राखेको बताए।

२०७८ सालमा चिनियाँ विदेशमन्त्रीले नेपालको भ्रमण गर्दा नेपालबाट चीनमा घाँस निर्यात गर्ने सम्बन्धी ‘प्रोटोकल’मा हस्ताक्षर गरेका थिए। त्यसपछि चितवनको एक नेपाली कम्पनीले हाइलेज (घाँसको विशेष प्रकार) बनाएर तिब्बत पठाइरहेको छ। सम्झौतासँगै नेपाली किसानले ठूलो परिणाममा घाँस खेती गर्नसके निर्यात गर्ने ढोका खुलेको छ।

प्रकाशित: १८ वैशाख २०८१ १२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App