५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने

एसियाली विकास बैंक (एडिबी)ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ ।  

एडिबीको ५७औं वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलीसी पुगेका अर्थसचिव मधुकुमार मरासिनीसँगको साइड लाइन वार्तामा एडिबी अध्यक्ष मासात्सुगु आसाकावाले उक्त प्रतिबद्धता जनाएका हुन् । 

सचिव मरासिनीले जलवायु परिवर्तनमा नगण्य योगदान भए पनि नेपाल त्यसबाट उच्च प्रभावित मुलुकको सूचीमा रहेको भन्दै त्यससँग जुध्न सहयोग बढाउन प्रस्ताव गरेका थिए । जवाफमा अध्यक्ष मासात्सुगुले नेपाललाई जलवायु परिवर्तनका नकारात्मक प्रभावसँग जुध्न सहयोग बढाइने बताए ।

‘जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेका समस्याहरुका बारेमा म जानकार छु’, मासात्सुगुको भनाइ उद्धृत गर्दै भेटमा सहभागी अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले भने, ‘थप सहयोगका लागि एडिबी तत्पर छ ।’  

भेटका क्रममा सचिव मरासिनीले एडिबीले नेपालको विकासमा पुर्याएको योगदानको कदर गर्दै विकास वित्तको कमी पूरा गर्न थप सहयोगका लागि आग्रह गरेका थिए । सचिव मरानिसीले अर्थमन्त्री वर्षमान पुनका तर्फबाट अध्यक्ष मासात्सुगुको कार्यकालमा एडिबीले नेपालमा सहयोग बढाउने अपेक्षा गरिएको समेत उनले बताए । 

सचिव मरासिनीले अर्थमन्त्री वर्षमान पुनका तर्फबाट अध्यक्ष मासात्सुगुलाई नेपाल भ्रमणको निमन्त्रणा दिए । जवाफमा मासात्सुगुले उपयुक्त समयमा नेपाल भ्रमण गर्न आश्वासन दिएका थिए ।  

यस्तै सचिव मरासिनीले एडिबी उपाध्यक्ष इङ्गमिङ्ग याङ्गसँग पनि भेटे गरेका छन् । त्यस क्रममा नेपालमा निजी क्षेत्रको विकास, निजी लगानी विस्तार, पोर्टफोलियो कार्यान्वयनमा सुधार, पाइपलाइनमा रहेका विकास आयोजना मुख्य गरी जलासययुक्त दूधकोशी जलविद्युत आयोजना, मेलम्ची खानेपानी आयोजना र बजेटरी सहायताका कार्यक्रमहरु समयमै सम्पन्न गर्नेबारे सहमति भएको सहसचिव नेपालले जानकारी दिए । 

नेपालका अनुसार सहुलीयतपूर्ण श्रोत परिचालन बढाउन कार्यान्वयन क्षमतामा सुधार गर्नुपर्ने तथा जलवायु वित्तमा पहुँच बढाउन दुर्व पक्षले सहकार्य गर्ने समझदारी भएको बताए । उपाध्यक्ष याङ्गले जारी कन्ट्री साझेदारी प्रेमवर्क तयारी विश्व बैंकसँगको सहकार्यमा भइरहेकामा अन्य मुलुकका लागि समेत यो नमुना हुनसक्ने बताइन् । 

भेटमा नेपालका तर्फबकाट सचिव मरासिनी र सहसचिव नेपाल तथा एडिबीका तर्फबाट उपाध्यक्ष याङ्गसहित कार्यकारी निर्देशक सुपक चइयावान, दक्षिण एसिया हेर्ने महानिर्देशक ताकेयो कोनिसीसहितका पदाधिकारी सहभागी थिए ।

प्रकाशित: २२ वैशाख २०८१ १४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App